सन् ८० र ९० को दशकमा सिनेमा हल जाने तपाईंहरूमध्ये कति जनाले हिन्दी फिल्म टार्जन हेर्नुभयो ? त्यो फिल्मको मूल कथा कसले लेखेको थियो होला भनेर कहिल्यै सोधखोज गर्नु भएको छ ? छैन भने पख्नुस्, आज हामी त्यसका बारेमा तपाईंलाई जानकारी दिन्छौँ ।
हेमन्त बिर्जे नामका एक जना अभिनेताको शुरूवाती फिल्ममध्ये यो एक थियो तर यसको जुन कथा छ, त्यो ओरिजनल कथा होइन । वास्तविक कथा अमेरिकी कथाकार एडगर राइस बोरोग हुन् ।
सन् १९१२ को अक्टोबर महिनामा उनले अल स्टोरी म्यागेजिनमा टार्जनको कथा पहिलो पटक लेखेका थिए ।
टार्जनको कथानकअनुसार जंगलमा बेलायती कुलीन वर्गको एउटा बालक हराउँछ । जोन क्लेटन द्वितीय नामक सो बालकलाई अफ्रिकाको जंगलमा मन्गानी नामक ठूला चिम्पान्जीले हुर्काउँछन् । जंगलमा हुर्कंदा उसले मानिसको भाषा सिक्दैन, जनावरको भाषा सिक्छ । पछि मानिससँग सम्पर्क भएपछि उसले बिस्तारै भाषा सिक्छ । त्यो केटोको जंगलयात्रादेखि शहरयात्रासम्म वर्णन गरिएको यो कथा यति लोकप्रिय भयो कि उनलाई यसबारे थप कथा लेख्न पाठकहरूले घच्घच्याइरहे ।
म्यागेजिनमा कथा छापिएको दुई वर्षपछि एडगरले उपन्यास नै निकाले, टार्जन अफ द एप्स । पहिलो पुस्तक सुपरडुपर हिट भएपछि उनले टार्जन शृंखलाका २३ उपन्यास लेखे र ती सबै उत्तिकै रूचाइए ।
टार्जन संसारमै सबैभन्दा बढी चिनिएको साहित्यिक पात्रको नाउँ बन्न पुग्यो । यसको लोकप्रियताका कारण नै यसमाथि फिल्म, रेडियो, टेलिभिजन, कमिक्सहरू बजारमा निस्किए । यसका नक्कलप्रति पनि बजारभरि छरिए ।
केहीले टार्जनलाई रूडयार्ड किप्लिङको द जंगल बुकको नक्कल पनि ठाने । स्वयं किप्लिङले भने बेस्वादको नक्कल भनेर टिप्पणी गरेका थिए । किप्लिङले द जंगल बुक सन् १८९४ मा लेखेका थिए । द जंगल बुक क्लासिक साहित्यमा गनिन्छ ।
उपन्यास रूचाइएपछि सोही उपन्यासलाई फिल्ममा रूपान्तरण पनि गरियो । शुरूवाती फिल्महरू पनि उत्तिकै रूचाइएको थियो । तर पछिल्लो समय जङ्गलका बारेमा यति धेरै कुरा टेलिभिजनहरूमा आए कि त्यसको रहस्य र रोमान्च क्रमशः घट्दै जान थाल्यो । यसै कारण सन् २०१६ मा पछिल्लो पटक लिजिन्ड अफ टार्जन फिल्म रिलिज हुँदा धेरैले उति चासो दिएनन् ।
[embedyt] https://www.youtube.com/watch?v=eah80eMZMgc[/embedyt]
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।