कविता : एकतर्फी शत्रु !
अरूण बराल


दुश्मन ठानेको थिइनँ ।
शत्रु मानेको थिइनँ ।
तिमीले एकतर्फी घोषणा गर्यौ–
तँ शत्रु होस् ।
तँ पत्रु होस्
अब तँ सडकमा पुग्छस् ।
०००
मलाई माफ गरिदेऊ मित्र !
म अहिले सडकमै छु ।
०००
सडकको मान्छेलाई झार्ने ठाउँ हुँदैन
सडकको मान्छेलाई हार्ने ठाउँ हुँदैन
०००
तिम्रो सफेद पोशाकमा हिलो नलागोस् भनेर
तिम्रो बार्दलीसम्म ढुंगा नपुगोस् भनेर
तिम्रो सवारीमा चक्काजाम नहोस् भनेर
मैले दुश्मनी नमोलेकै हो
असाध्यै दया लागेर तिम्रो
शत्रुता नसाँधेकै हो ।
०००
मलाई एकचोटि माफ गरिदेऊ साथी !
आशिर्वाद दिन्छु तिमीलाई–
मसँग कहिल्यै नझुक्नू ।
सडकभन्दा तल झुक्ने ठाउँ हुँदैन ।
जमीनभन्दा मुनि लुक्ने ठाउँ हुँदैन ।
०००
मलाई माफ गरिदेऊ मित्र !
मैले तिमीलाई शत्रु घोषणा गरेको छैन ।
तिमीले एकतर्फी घोषणा गर्यौ–
तँ शत्रु होस् ।
तँ पत्रु होस् ।
अब तँ सडकमा पुग्छस् !