साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कोरोना डायरी शृङ्खला ३६

३ भाद्र २०७७ (१९ अगस्त २०२०)

कोरोना डायरी लेख्न छोडेको थिएँ । चैत्र ११–२०७६ देखि…. सम्म दैनिकी जस्तो लेखेँ । अब कोरोनाको आक्रमण अलिक मत्थर होला जस्तो लागेको थियो । जनजीवन अलिक सामान्य जस्तो लाग्यो र छोडेँ ।

bahulako diary small and inside post

हिजो केही स्मरणीय घटना घटे । दिनको फेसबुकमा डा. इन्दुप्रभादेवीले लेखिन्ः डा शान्ति थापा दिदीलाई अश्वस्थ देखेर मन दुखेको छ । मलाई मात्र होइन यताका धेरे व्यक्तिलाई प्रेरणा दिने प्यारी व्यक्तिलाई अहिले उभिनै गाह्रो छ र पनि अझै अनेक काम गर्ने इच्छा पालेर बस्नु भएको छ । धेरै दिन अस्पतालमा बसेर घर फर्कनु भएको छ दिदी । दिदीको शीघ्र स्वास्थ्य आरोग्यको कामना गर्दछु ।

अनि मैले पनि त्यहीँ उनको स्वास्थ्यलाभको कामना गरेँ । बेलुका इन्दु बहिनीलाई सोधेँ— स्थिति कस्तो छ ? उनले भनिन् अलिक जटिल छ दाजु । किनभने शान्ति दिदी र उहाँका भाइ मात्र बस्नु हुन्छ घरमा । दुवै जना अविवाहित । कलेज अध्यापक भाइ— तिनै हुन् असमर्थ दिदीलाई हेर्ने सिहार्ने पनि ।

निकैबेर सोचेँ चिन्ता गरेँ— मानिसले एक निर्णय लिएपछि अर्को निर्णय लिन नभ्याई कति छिटो कुइनेटो काटेर अर्कै ठाउँमा पुग्दोरहेछ जीवनगति । एक निर्णयले कत्रा परिवर्तन वा परिणाम लुकाएर राख्तोरहेछ कुनैबेला खोल्ने गरी ।
त्यति नै गरेँ । दिनभरि कामको हल्का थकान संग्रह हुँदै थियो । तर त्यस्तो गल्ने थकान मलाई कहिल्यै लाग्दैन । बेलुका नौ सम्ममा अन्तिम फोनहरु थन्क्याउँछु कापी कलम बन्द गर्छु । झपक्क निद्रा लाग्ने गरीको मात्र थकान आएर शिरमा बसेको हुन्छ । त्यो आनन्दकर कुरा न धेर न थोर ।

हिजो चहिँ सन्ध्यापछि अर्को पनि अलिक बेचैन गराउने सङ्केत आयो । सेवा छोरीले मण्डिखाटारदेखि फोन गरिन्— बुबा, राष्ट्रकवि माधव घिमिरेबारे केही सुन्नु भो ?
छैन नानी, के उनको अवस्था ?
निकै गम्भीर भन्ने आयो । परिवारजनसितको फोन होला बुबासित ?
मसँग अरुको थिएन । बिरामीकै फोनमा गर्ने होस आएन । त्यसो त गर्दा पनि पोहोरैदेखि अरुले उठाएर उहाँलाई दिने गर्नुहुन्थ्यो । अनि तत्काल भाइ देवेन्द्रसँग सोधेँ ।
अहिले पाँच बजेर ५६ मिनेटमा बिदा लिनु भया अरे । आर्यघाट आजै लाने कि भोलि टुङ्गो छैन । उहाँको छोरा राजीवको फोन यो हो, ९८४१२०१८०३० ।
मैले तत्काल सेवालई दिएँ । फोन राखिसक्ता मेरा विद्यार्थी गोपी ढुङ्गानाको फोन आयो— सर यस्तो प-यो— राष्ट्रकविको देहान्त । सरको एउटा छोटो आर्टिकल पाए भोलि पाठक समक्ष पु-याउन सक्थेँ होला ।
नागरिक दैनिकमा काम गर्ने गोपीकृष्ण ढुङ्गाना मेरा पुराना विद्यार्थी, सज्जन तर मैले ठानेँ यति बेला थालेर एक दुई घण्टामा लेख्न सकौँला ? त्यो राम्रो हुँदैन होला नि । युनिकोडमा हान्नु प-यो, आजै हो इन्टर्नेट सर्विस प्रदायकले दिउँसोदेखि नेट जोड्न सकिरहेको छैन । वाचा गरौँला ‘हुन्छ’ भनेर भरे अभर पार्दा नराम्रो हुन्छ अनि सत्य कुरा बताएँ ‘सरी भाइ ।’
अनि एक सर्को सम्झेँ— दुई वर्ष पुगेछन् मैले माधव घिमिरे विशेषाङ्कको लागि ३५ पृष्ठ लामो लेख लेखेको । मुकुन्दराज वाग्ले ‘पथिक’ले स्तरीय पत्रिकामा निकाले । त्यसबाट पनि लिन सकिन्थ्यो तर साइबरको तार चुँडिएको म असमर्थ भएँ । एकैछिन व्यतीत नभै गोपी ढुङ्गानाले फोन गरे— सर माधव घिमिरेज्यूको बारेमा केही शब्दमा हजुरको धारणा माग्नु प-यो । ‘हुन्छ भाइ, टिप्नुहोस’ भनेर म बोलेँ— महाकवि देवकोटा, सिद्धिचरण श्रेष्ठ र माधव घिमिरे नेपाली साहित्यका तीन ताराको रुपमा स्थापित छन् । आधुनिक नेपाली कविताका सुदृढ स्तम्भ लोक, गीत र शास्त्रीय छन्दलाई नेपालीमा स्थापित गर्ने उहाँ सुललित भाकाका परिस्कृत कवि उहाँका अनेक योगदान मध्ये एक हो राष्ट्रिय चेतनालाई, भावनालाई, गौरवलाई, ढुकढुकीलाई जनमानसका हृदयमा स्थपित गर्न । कक्षा दुईदेखि पढ्न थालेको उहाँलाई पचपन्न वर्ष बिते पढ्दैछु । उहाँ करोडौँ नेपालीका जातीय ढुकढुकी हुनुहुन्छ । अन्त्यमा उहाँलाई सम्झेर यत्ति गुनगुनाउँछुः नेपाली हामी रहौँला कहाँ नेपालै नरहे…. ।
अर्को फोन आयो डा. नवराज लम्साल भाइको रेडियो नेपालबाट । लम्साल भाइ माधव घिमिरेबाट प्रभावित गीत र महाकाव्यका विशिष्ट स्रष्टा विद्वान् हुन् । उनले पनि यस्तै केही धारणा मागे । मैले अलिकति बोलेँ— रेर्ड गरेर भरेँ सुनाउने ।
आजको साँझ यस्तै भो ।
सन्ध्या सकिन लाग्यो । डाटा खोलेर पर्खिरहेका सन्देशतिर दृष्टि लगाएँ । सर्वप्रथम डा. तुलसीेले लेख्नुभएको एक अनुच्छेदमा आँखा पुगे— दाजुको लामो प्रविष्टि पढेँ । यसरी हत्तपत्त फेसबुकमा समय नखर्चिने दाजुले आजै दिउँसो लेख्नु भएछ ः फेसबुक नामक यस संस्थाका सम्पूर्ण मित्रहरुमा नमस्कार । सबैलाई कोरोनातन्त्रले जकडेको यस विषयमा परिस्थितिमा सुसमाचार सोध्ने कुरा पनि भएन । आज बिहानै भाइ डा. गोविन्दलाई फोन गर्दा निकैबेर कोरोनाले उब्जाएको समाजिक दुर्दशासँगै प्रत्येक व्यक्तिको मानसिक स्थिति बारेमा निराशाका कुरा गरे । सधैँ सकारात्मक सोच राख्ने भाइमा पनि अन्यौल उत्पन्न भएछ । मैले डा. विष्णुविभु, ठाकुर बेलबासे लगायत पाँच छ जना मित्रहरुसित पार्ता गरेँ, सबैले कोरोनाकै पीडा दोहो-याए मनमा भयबोध छ कुनबेला को के भइन्छ खै कसरी कहिले पार पाइने हो, अनिश्चितता छ । यतिबेला हामी सबै आत्मकेन्द्रित बनेका छौँ । परचिन्तन छैन यतिबेला । कसरी आपूm बाँच्ने यत्ति मात्र छ । मध्य दिउँसोको शहर पनि दाहसंस्कार सकेर मलामी फर्किएपछिको स्मशान घाट जस्तै शून्य हुने गरेको छ । व्यक्ति व्यक्तिका बीचमा परस्परमा शंका, उपशंका, कसले कसलाई कोरोना सार्ने हो । छि छि दुरदुर बढेको छ आपसमा । मानिसका बीच विश्वासको संकट उत्पन्न हुँदैछ । यो ज्यादै भयावह कुरा हो । हल्ला गरिएको छ पैसामा, पत्रपत्रिकामा, तरकारीमा, माछामासुमा, दूधको प्याकेटमा, गाडीमा अर्थात् जताततै कोरोना छ । अनि मान्छेले कहाँ कसरी बाँच्ने त ! सरकारसँग सम्बद्ध सबैले सन्त्रास मात्र देखाउने ! स्वास्थ्य प्रवक्ताले हस्पिटलमा उपचारको व्यवस्था हुन सक्तैन भन्ने । कति विडम्बापूर्ण छ हाम्रो बँचाइ ! यिनै र यस्तै चिन्तनमा आज मैले पनि लेखन कार्य गर्न सकेको छैन । हामीलाई आश्वस्त पार्न सक्ने कोही कतै छ कि ? जय ब्रहण्ड नायक ॐ ॐ ॐ ।
दाजुका यी शब्द पढेर मन अलिक उद्विग्न पनि भयो । तर यस्तै छ । निरुपाय छौँ । प्रत्येक व्यक्तिलाई महाकालले ताकेको छ । एक व्यक्ति आखिर आफैँमा नितान्त एक्लो छ परिवारमा समूहमा रहेका बेला मात्रै उसमा साहस पलाउने हो । आज प्रत्येक व्यक्ति फुक्लेको छ । आफ्नो प्राण बचाउन सकौँ भन्ने प्रार्थना गर्छ । एक्लाएक्लै लड्नु छ, कसरी ?
निकै गाढा बेलुका भयो । हरि भाइले दाजुको रित्तोघर शीर्षक कथा वाचनको अडियो पठाए । यो एक मास्टरपिस हो सन्यौँ । कोरोना डायरीका ६२ पृष्ठ छापिएका थिए तिनलाई एक सर्काे हेरेर टुङ्ग्याएँ । यत्तिकैमा एक सरकारी सूचना आयो— काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा भोलिदेखि सात दिनसम्म कडा निषेधाज्ञा लागु हुनेछ । यातायात चल्ने छैनन्अरु सबै प्रकारका भेला सम्मेलन दैनिकी अवरुद्ध हुनेछन् ।
उपत्यकामा फैलियो भन्छन् । यसलाई फैलाइयो । निर्दाेष मानिसले दुखीहरुले, गरीखानेहरुले यसलाई फैलाउन बाध्य हुनुप-यो । घर छोडेर बाहिर निस्कन बाध्य हुनु प-यो । हिजो गुरु छोराले फोन ग-यो— बुबा अरु ठिकै छ तर स्थिति भयावह छ । न्यूरोडमा पसल छ चर्को भाडा, निकै दिन खोलिहे-यौँ तर खोल्नु नखोल्नु बराबरै भयो । अब छोडेर कतै उम्किने ठाउँ छैन, अब भोलिदेखि ता नखोल्ने पनि । अब गरौँ कोरोनाले मार्ने भयो, नगरौँ भोकले मार्ने भयो । एकबार मर्ने चोला जेसुकै होला भन्नु जस्तो भइसक्यो बुबा ।
पच्चीस तीसको अविवाहित युवा श्रम गरेर बुबा आमा पाल्दै काठमाडौँमा बसेको आज यति निराशाका कुरा ग-यो । वास्तवमा यो शहरमा बस्ने ८०% नेपालीको गाथा हो हिजैदेखि ठेला बन्द भए । सागशब्जी, फलफूल बन्द भयो । औषधी र दूध मात्र खुल्ने भन्दछन् । बिहानै बाटातिर हेरेँ— माष्क भिरेर उँधो झर्ने दुई जना देखेँ अरु सुनसान छ सारा भोका कुकुर भुक्ता पनि असमर्थ भएर पल्टिरहेका देख्छु ।
असहाय छन् सबै कसैको कोही सहारा छैन । प्रत्येक व्यक्ति प्रत्येक पल कामिरहेको छ, लुकिरहेको छ । हाम्रा मास्तिर घर बनाउने बाटा छेउका छिमिकीहरुले पनि हिजैदेखि छोडिसकेछन् ।
औषधी किन निस्केन ? शक्तिशाली देशहरु गर्दै होलान् बेलाबेला कावाहरुले हल्ला फिट्तै पनि । नेपालको हेटौँडामा दबाइ निस्कियो, फेरि रोग चट पार्ने बेसार पानी आयो, त्यसपछि आयुर्वेदी ओषधी निशुल्क बाँड्दै हिँड्नेहरु देशमा सक्रिय भए, भारतले निकाल्यो, इरानले, बेलायतले, चीनले अमेरिकाले र अन्त्यमा रुसले । मानव अस्तित्व नै घोर संकटले छाएको छ सारा चौपट हुँदैछ । मानवजाति कति वर्षसम्म यस्तो युद्ध लडेर सकिन्छ कि फेरि बौरिन्छ ? एकान्तमा, निर्जन ठाउँमा, पाखाभित्तामा खेतिपाति गरेर एकपेट खानेहरु नै धन्य होलान् ।
एसइइको परीक्षा विद्यालयले नै लियो । केन्द्रले सकेन । त्यही सदर भो । सबैले एक ग्रेड प्राप्त गरे । यो कोरोनाको उपहार जस्तो । अघि २०४७ सालमा , २०६४ सालमा सबै शिक्षक कर्मचारी स्वतः स्थायी भएका थिए त्यस्तै हो । तर अब यो जीवन कहिलेदेखि भयमुक्त होला कहिलेदेखि निर्भयतापूर्वक बाटामा हिँड्ला ? फ्याक्टरी कारखाना कहिलेदेखि चल्लान् त्यो भन्न मुश्किल छ ।
वरिपरि अन्धकार देखिन्छ । अदृश्य शक्तिले लडाएको पराजित हामीलाई कारागारमा थुनेर अदृश्य ताला–चाबीले बन्द गरेको छ ।
राष्ट्रकविको अन्त्यष्टि आजै भयो । सरकारी सम्मानसाथ थोरै व्यक्ति आर्यघाट पुगे । उही नेपाल हामी रहौँला कहाँ नेपालै नरहे… धून बजाउँदै । म जान सकिन भयले । अर्काे पनि एउटा गीत रहेछ— आफ्नो चोला उठेपछि मात्र गाइदिनू भनेर उनले आफ्नी छोरी शान्तिलाई दिएको— यसरी होस् मरण…. । शब्दको अनन्त शक्तिसँग आजीवन खेलेका महान् राष्ट्रहरुले आफ्नो अन्त्यकालको पनि कल्पना गर्दारहेछन् चाहनालाई वाणी दिँदा रहेछन् । बालकृष्ण समको पनि एउटा नामी कविता छ— इच्छा यो छ महेश अन्तिम जसौ त्यो मृत्यु शैय्यामहा…. ।
सामान्य नागरिकका पनि केही इच्छा हुन्छन्, सन्तानलाई ती सुनाइराखेर जान्छन् कतिले ।
बाटाका गाडी साधन रोकिन थालेका थिए । भरेदेखि हुने कफ्र्युले । कसैले यसरी जाऔँ पनि भनेन मलाई पनि आर्यघाट जाने आँट आएन । शोक शन्ताप्तहरुले रातभरिमा फेसबुक–वाल भरेका थिए । धेरै जसो आफूसित खिचेका तस्वीर राखेर आफू राष्ट्रकविसँग जोडिएको क्षण सम्झँदै । कवि श्रष्टाहरुमा यति धेरै लोकप्रिय, त्यसरी जसलाई पनि भेट दिने, भेटेकालाई चिन्ने र तस्वीर खिचाउने यस्तो लोकप्रिय स्वभाव थियो माधव घिमिरेको । यताका तीन वर्षमा पाँचपल्ट जति मेरो भेट भएछ उद्देश्यपूर्ण— आसामका साहित्यरका ज्ञानबहादुर छेत्रीको नेतृत्वमा यहाँ साहित्यकार समूह आउँदा, लेखक संघले भेटघाट गरी शुभकामना प्रकट गर्ने लक्षमा जाँदा, दमकका उत्तरकुमार श्रेष्ठलाई भेट्टाउन लाँदा, लक्ष्मी खनालको समूहमा जाँदा । दिनमा एक टोली जाँदो हो— त्यसको अभिलेख कति हो कति ।
हाम्रो परिवारमा पच्चीस छब्बीस सालको वनारसदेखि दाजुले चिन्नु भो, ३१ सालदेखि मैले पछि गएर भाइ देवेन्द्रले । छोरी सेवाले पनि बीबीसीको लागि अन्तर्वार्ता लिइन् । दाजुले कति लेख्नु भो, मैले लेखेँ । २०३४ सालमा पापिनी आमाबारे लेखेर समालोचना सिकेँ । तर भाइ देवेन्द्रले समय र सिर्जना भन्ने ग्रन्थमा समावेश गरेको शीर्ष लेख एउटा उत्कृष्ट कुरा हो । आजको कान्तिपुरमा फूल्को थुँगा बगेर गयो…. शीर्षक लेख मूूल पृष्ठमा पनि भाइ देवेन्द्रकै रहेछ कत्रो आनन्द लाग्यो । यसको उप शीर्षक छ— कविवर माधव घिमिरेको अन्येष्टि आज राष्ट्रिय सम्झनाका साथ ।
दिनभरि कोरोनाको अदृश्य भयले ढाकेजस्तो भयो । बिहानको पत्रिकाले लेख्यो— संक्रमित एकै दिनमा हजार नाघे । विज्ञ भन्छन्— जनस्वास्थ्यको हिसाबले हामी उच्च जोखिमतिर गइरहेका छौँ । अनि कोभिड १९ को हिजोसम्मको तथ्याङ्क यसरी प्रस्तुत छः
जम्मा संक्रमित २८ हजार २५७
नयाँ संक्रमित १ हजार १६
निको भएका १७ हजार ५८०
मृत्यु ११६
हालसम्मा पीसीआर परीक्षण ५४२,८६६
यो सबै कुरा नेपालको जनसंख्याको वर्तमान परिप्रेक्षमा हेर्नुपर्छ । सन् २०२० को नेपालको जनसंख्या दुई करोड ९३ लाख देखाउँछ
पूरा भएको २०७७ साल भाद्र ४ गते बिहिबार बिहान

गीत यस्तो छः
त्यसरी हओस् मरण
जसरी सुन्छन् तारामा गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छमन् सूर्यका स्वर्ण किरण
त्यसरी होओस् मरण
सुन्दर सृष्टि निहारी मुखैले चिम्लौँ नयन
बिहानीपख रातको, कुसुम पारिजातको जासरी जान्छ झरेर
भुइँमा बिनाप्रचन, त्यसरी होओस् मरण
मुटुमा चोट नपरी टुटेर जाओस् बन्धन
बादलको सेतो रासमा दुई मूर्ति पासमा
जसरी शिर नुहाई, आफैँमा हुन्छन् अर्पण
त्यसरी होओस मरण
अमरपुरी सभामा आफैँलाई गरुँ वरण
त्यसरी होओस् मरण ।

प्रतिक्रिया
Loading...