Sahitapost Uttam Kriti 2078- Short list- Hohahola by krishna murari dhungel

२०७७ सालमा, साहित्यपोस्टको संयोजन तथा क्रान्तिकारी नेतृ योगमायाका अध्येता उत्तमप्रसाद पन्तको सौजन्यमा स्थापित “साहित्यपोस्ट उत्तम कृति पुरस्कार– २०७८”का लागि ११ पुस्तकहरूको छनौट भइसइसकेको छ । यसै सन्दर्भमा सर्वोत्कृष्ट एक कृतिको घोषणा गर्नुअघि उत्कृष्ट एघार कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट उत्तम कृति पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो ।

यहाँ उत्कृष्ट एघारमा छनोट भएको यात्रा-वृतान्त विधाकाे कृति ‘होहाहोलाका स्रष्टा कृष्णमुरारी ढुङ्गेलसँगको संवाद प्रस्तुत गरिएको छ ।

तपाईँको पहिलो कृति “साहित्यपोस्ट उत्तम कृति पुरस्कार”का लागि उत्कृष्ट पुस्तकको सूचीमा पर्न सफल पर्यो । कस्तो अनुभूति गरिरहनुभएको छ ?

अत्यन्तै गौरव र सुखानुभूति महसुस गरेको छु । यसले भविष्यमा अझै राम्रा कृतिहरू सिर्जनाका लागि थप ऊर्जा प्राप्त भएको छ ।

“साहित्यपोस्ट उत्तम कृति पुरस्कार”का लागि ११ कृति छनोट भएका छन् । अर्थात् तपाईँका प्रतिस्पर्धीका रुपमा बलिया कृतिहरु छन् । तपाईँले पुरस्कार जित्नु वा नजित्नुले तपाईँको साहित्यिक यात्रामा के अर्थ राख्छ ?

प्रथमतः मैले पुरस्कार पाउँछु नै भनेर लेखेको होइन । केटाकेटी हुँदा विकसित मुलुकहरूका समाचार सुनेर, पत्रिका पढेर, तस्बिर र पोष्टकार्ड हेरेर वा चलचित्रको दृश्यमा हेरेर कल्पना गरिन्थ्यो । अहिले आफ्नै आँखाले हेरेर, भोगेर र अनुभूत गरेर पाठकहरूसमक्ष ती ठाउँका विकाश, कला, संस्कृति, व्यवस्थापन आदिका बारेमा जानकारी दिने प्रयासका साथै अन्य विकसित मुलुकका दाँजोमा विकाश र व्यवस्थापन राम्रो नभए तापनि प्राकृतिक सौन्दर्य, कला र संस्कृतिका हिसाबले हामी र हाम्रो देश नेपाल संसारमै अब्बल छ भन्ने कुरा यसै नियात्रामार्फत पाठकहरूसमक्ष प्रस्तुत गर्न पाएकोमा अत्यन्त खुसी छु । पुरस्कार जित्नु वा नजित्नुले मलाई र मेरो सिर्जनालाई खासै असर गर्दैन । यदि पुरस्कार जितेमा खुसी नहुने त को होला र ?

“होहाहोला” किन लेख्नु भयो ?

होहाहोला लेख्नुको मुख्य कारण आफू जन्मिएको माटोप्रतिको अगाध प्रेम हो । अनि त्यस ठाउँप्रतिको जानकारीका लागि पठकज्यूहरूसमक्ष आफ्नो अनुभूति प्रस्तुत गरेको हुँ । पुस्तक प्रकाशन र वितरणका लागी फिनिक्स बुक्सलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

यात्रा–वृत्तान्त (नियात्रा) लाई नेपाली साहित्यमा कम पढिने विधा हो । जोखिम लिएजस्तो लाग्दैन ?

यात्रा-वृत्तान्त (नियात्रा) नेपीली साहित्यमा कम पढिने विधा भए डा. तारानाथ शर्मा, घनश्यामराज कर्णीकार, ध.च. गोतामे, डा. ध्रुवचन्द्र गौतम, कृष्ण धरावासी आदि लेखकका पुस्तकहरू हामीले उहिल्यै पढेर किन आनन्द लिन्थ्यौँ होला र ? म त यात्राको वर्णन पढ्दा अत्यन्त रमाउँछु ।

“होहाहोला”ले पुरस्कार पायो भने आर्थिक राशिले के गर्नु हुन्छ होला ?

होहाहोलाले पुरस्कार पाउन सफल भएमा विपन्न वर्गका नाबालकलाई स्कूलदेखि कलेजसम्म पढाउने छु ।

अन्त्यमा, भविष्यको साहित्यिक यात्राका योजनाहरु के के छन् ?

कवितासङ्ग्रह, उपन्यास र अमेरिकामा भेट भएका मानिसहरूका बारेमा लेखेका कुराहरू प्रकाशित गर्ने योजना छ । कतै अन्य मुलुकहरूमा घुम्ने सौभाग्य मिलेमा पुन: अर्को नियात्रा लेख्ने प्रयास गर्ने छु । अन्त्यमा प्रश्नका लागि साहित्यपोस्टप्रति अत्यन्त आभारी छु ।