प्रख्यात लेखक चार्ल्स डिकेन्स त्यो बेलाकी प्रेमिका एलेन टर्नान र उनकी आमासँग पेरिस यात्राबाट फर्कंदै थिए । उनीहरूको मुकाम लन्डन हुँदै थियो । जब केन्टको गाउँ इलाका पार गरेर लन्डनतिर रेल सोझियो, सन् १८६५ जुन ९ का दिन दिउँसो ठीक ३.१३ मा लन्डन पुगिसक्नु पर्ने थियो तर पुगेन ।

त्यो रेल बीचैमा नराम्रोसँग दुर्घटनामा पर्यो । दुर्घटनाको मूल कारण चाहिँ दिउँसो भए एउटा लिक सफाईमा राम्रोसँग ध्यान नदिइएकाले लिक उबडखाबड बन्न पुगेको थियो । रेलको धर्मराउँदै गर्दा केही डब्बा छुटे र अगाडिका केही डब्बा र इन्जिनले लिक छोड्न पुगे ।

लिक छोडेका डब्बा र इन्जिन नराम्रोसँग पल्टिए र हिले ठाउँमा गएर जोतिए । यस दुर्घटनामा लेखक जोगिए । सामान्य उपचारपछि उनी अन्य सर्वसाधारणलाई मलमपट्टी लगाउनतिर ध्यान दिए । सो दुर्घटनामा १० जना यात्रुको तत्काल मृत्यु भयो भने ४० जना घाइते भए ।

एउटा यात्रु त स्वयं लेखककै अँगालोमा बित्यो । बित्नुअघि लेखकसँग उसले रक्सी पिएर आफ्नो दुखाई कम गर्ने आग्रह गर्यो र डिकेन्सले पनि आफूसँग भएको रक्सी दिई यात्रुको अन्तिम इच्छा पूरा गरिदिए ।

यत्रो दुर्घटनामा उनले आफ्ना सरसामग्री मात्र बचाएनन्, पेरिस यात्रामा रहँदा लेखेको नयाँ उपन्यासको पाण्डुलिपि पनि जोगाउन सफल भए । यो दुर्घटनाले उनको जीवनभर प्रभाव पार्यो । बेलाबेलामा उनी बेहोस हुन्थे र दुर्घटनाको आतङ्कले काम्ने गर्थे ।

र, पनि उनले सो उपन्यास प्रकाशन गरी छाडे, जसलाई आवर म्युचुअल फ्रेन्ड नामकरण गरिएको थियो ।

रोचक त के छ भने सो घटनाको पाँच वर्षपछि उनको मृत्यु पनि ९ जुन १८७० मा हुन पुग्यो ।

अज्ञात महिलाको उद्धार गर्दै लेखक डिकेन्स