
२
उल्हन कोरनेट इल्यीन भर्खरै मात्र ब्युँझेको थियो । बितेको साँझ उसले आठ बजेदेखि जुवा खेल्न शुरु गरेको थियो र बिहान एघार बजेसम्म नै लगातार पन्ध्र घण्टा खेलेको खेल्यै गर्यो । उसले निकै ठूलो रकम हारिसकेको थियो, तर कति ठूलो रकम थियो भन्ने त स्वयं उसैलाई समेत थाहापत्तो थिएन । उससँग निजी तीन हजार रुबलको अतिरिक्त पल्टनको खजानाका अरु पन्ध्र हजार रुबल पनि थिए । ती दुवै रकम उसले एकै ठाउँमा मिलाइसकेको थियो र कतै आफ्नो निजी रकम मात्र होइन, पल्टनकै रकमबाट समेत हारिएको त छैन भन्ने डरले गर्दा ऊ बाँकी रहन गएको रकम गन्न समेत धक मानिरहेको थियो । मध्यान्हतिर ऊ सुत्न भनेर पल्टेको थियो र तुरुन्त नै भुसुक्कै निदाइहालेको थियो । यस्तो निःस्वप्न निद्रा त केवल युवावस्थामा र त्यसमा पनि जुवामा ड्याक्कै हारेपछि मात्र लाग्न सक्छु । ऊ साँझको छ बजेतिर उठ्यो- ठीक त्यसै बखत जब ग्राफ तुर्बिनले होटलमा पाइला टेके । भुइँमा ठाउँठाउँमा तासका चक्की र खरीका टुक्राहरू छरिएका थिए भने कोठाको ठीक माझमा राखिएका टेबुलहरूमा दागहरू लागेका थिए । ती सबै कुरा देखेर उसलाई बितेको रातभरि जमेको जुवाको झल्यास्स सम्झना भएर आयो र ऊ झसङ्ग भयो । खास गरी आफ्नो आखिरी चक्की गुलामको सम्झना भयो जसले गर्दा उसलाई पाँच सय रुबलको टुट्टा पर्न गएको थियो । तर पनि उसको मनले चाहिं अझै वास्तविक स्थिति स्वीकार्न चाहिरहेको थिएन । त्यसैले तकियामुन्तिरबाट उसले आफ्नो पूँजी निकाल्यो र त्यसलाई गन्न थाल्यो । केही नोटहरू उसले तुरुन्त चिनिहाल्यो जुन जुवा खेल्दा कैयौँ पल्ट एकहातबाट अर्को हातमा परिसकेका थिए । उसलाई आफ्ना सबै चालहरूको पनि सम्झना भयो । उसले आफ्नो पूरै तीन हजारको रकम गुमाइसकेको थियो । यस बाहेक पल्टनको रकमबाट अढाई हजार रुबल हारिसकेको थियो ।
उल्हनले लगातार चार रातसम्म खेलेको थियो । मास्को छोड्दा उसैको हातमा पल्टनको रकम पनि सुम्पिएको थियो । जब ऊ ‘क’ शहरमा पुग्यो त्यतिखेर घोडा-चौकीको रेखदेखकर्ताले तत्कालै ताजा घोडा पाउन सकिन्न भनेर रोकिदियो । तर यो त बाहना मात्रै थियो । गाँठी कुरा के थियो भने एक रात त्यहाँ सबै आगन्तुकहरूलाई रोक्ने विषयमा घोडा-चौकीको रेखदेखकर्ता र होटलको मालिकबीच मिलिमतो कायम थियो । उल्हन पनि मनमौजी स्वभावको पट्दो न ठहरियो । पल्टनमा भर्ती पाएको हुँदा मास्कोमा उसले आफ्ना आमाबाबुबाट हालसालै तीन हजार रुबल हात पारेको थियो । चुनावका दिनहरूमा ‘क’ शहरमा निकै रमझम हुनेछ भन्ठानेर उसले केही दिन त्यहाँ रोकिनुपरे पनि कुनै नोक्सान परिहाल्ने देखेन । बरु मोज लुट्न पाइने आशाले गर्दा ऊ खुशी समेत भयो । नजिकै कतै एक जना उसको परिचित बिर्तावाल पनि बस्थ्यो । ऊ घर-गृहस्थी भएको एक कूलीन सज्जन थियो । बिर्तावालका छोरीसैयाहरूसँग पनि थोर बहुत जिस्किन पाइने कुरा उसले सोच्यो । यत्तिकैमा अश्वारोही सेनाको अफिसर त्यहाँ आइपुग्यो र उसले आफ्नो परिचय दियो । त्यसै साँझ कुनै कूविचार नलिएर नै उसले होटलको ठूलो बैठकमा आफ्नो मित्र लुखनोभ र अन्य जुवाडीहरूसँग उसको चिनापर्ची गराइदियो । त्यसै बेलादेखि अहिलेसम्म नै उल्हन जुवाको खालमै बसिरहेको थियो । आफ्नो चिरपरिचित बिर्तावालकहाँ जाने त के आफ्नै यात्रा जारी राख्न समेत उसले घोडाहरूको खोजखबर गरेन । लगातार चार दिनदेखि ऊ आफ्नो कोठाबाट बाहिर समेत निस्केको थिएन ।
इल्यीनले लुगा फेर्यो, चिया खायो र टहल्दै झ्यालनेर पुग्यो । तासको खेल मात्रै सम्झनामा आइरहेको हुँदा केही घुमफिर गरेर त्यसलाई बिर्सिदिने उसले विचार गर्यो । आफ्नो ज्याकेट लगाएर ऊ बाहिर निस्कियो । सडकमा रातो झिंगटे छाना भएका सेता घरहरू खडा थिए । घाम तिनैको पछिल्तिर ढल्किसकेको थियो र आकाशबाट फुस्फुसे हिउँ झरिरहेको थियो । आजको दिन पनि सुतेर नै बित्यो र अब त रात समेत पर्न आँटिहाल्यो भन्ने विचार मनमा उब्जेर खिन्न भयो ।
‘यो बितेको दिन अब कहिल्यै पनि फर्केर आउनेछैन !’-उसले सोच्यो ।
अनि ऊ मनमनै गुनगुनायो- ‘मैले त आफ्नो सारा यौवन नै बर्बाद गरेँ ।’ परन्तु आफ्नो यौवन वास्तवमा नै बर्बाद भइसकेको ठानेर उसले यस्तो विचार गरेको होइन । साँच्ची भन्ने हो भने उसले यस विषयमा कहिल्यै सोचेको समेत थिएन । यो वाक्य उसलाई अनायास सम्झना भएर आएको हुनाले त उसले यो कुरा गुनगुनाएको थियो ।
“अब के गरुँ ?’- ऊ सोच्न लाग्यो । – “कसैसित सापटी लिएर यहाँबाट गइहाल्नु बेस !’ त्यतिखेर नै सडकको पेटीबाट एउटी महिला गुज्रेर गई । महाकी मूर्ख होली जस्ती छे ! अचानक यस्तो विचार उसको मनमा फुर्यो । ‘यहाँ सापटी नै कससँग माग्ने र ! व्यर्थैमा यो यौवन बितिहाल्यो ।’ ऊ त्यतैतिर फटाफट लम्कियो जहाँ पसलहरूको पंक्ति रहेको थियो । एउटा पसलबाहिर एउटा व्यापारी फ्याउरोको छालाबाट बनाइएको भुवादार ओभरकोट लगाएर उभिइरहेको थियो र ग्राहकको बाटो ताक्तै थियो । ‘त्यो अट्ठा नफ्याँकेको भए आफूले हारेको रकम फिर्ता भइहाल्ने थियो । ‘ एउटी भीखमङ्गा बुढिया उसको पछिपछि लाग्दै सुँक्क सुँक्क गर्दै थिई । ‘कोही यस्तो मान्छे नै छैन जससँग सापटी माग्न सकियोस् !’ भालुको छालाले बनाइएको भुवादार ओभरकोट लगाइराख्ने कुनै मान्छेको गाडी नजिकैबाट गुञ्जेर गयो । एउटा चौकीदार उभिइराखेको थियो । ‘के म कुनै सनसनी मच्चाउने कुरा गर्न सकुला ? यी मान्छेहरूमाथि गोली चलाइदिउँ त अहँ, यसबाट पनि कुनै मजा आउने छैन । व्यथैंमा मैले आफ्नो यौवन बर्बाद गरेँ । एहे, घोडाहरूका यी साजबाजहरू कति राम्रा रहेछन् ! यी सब बेच्नलाई नै यहाँ राखिएका हुन् । तीनघोडे बग्गीमा सयर गर्न पाए क्या मजा हुँदो हो ! ए, भाइ ! होटलमै फर्क् ! केही बेरपछि लुखनोभ आइहाल्ने छ र फेरि खेल जमिहाल्ने छ ।’ ऊ होटलमै फर्कियो र आइपुग्नासाथ फेरि पैसा गन्न थाल्यो । अहँ, पहिलोपल्ट गन्दा पनि कुनै गल्ती भएको थिएन । यस पल्ट पनि पल्टनको रकममा अढाई हजार नै नपुग निस्कियो । “म पहिलो बाजि नै पच्चीस रुबल दाउमा थापुँला, दोस्रो पल्ट ‘कर्नर’को दाउ, अनि दाउको रकम सात गुना बढाइदिउँला, त्यसपछि पन्ध्र, तीस र साठी गुना बढाएर तीन हजार रुबलसम्म पुर्याउँला । अनि घोडाको यो साजबाज खरिद गरेर यहाँबाट गइहालुँला । तर त्यस बजियाले मलाई दाउ मार्न दिने छाँट छैन र व्यथैंमा मैले आफ्नो यौवन बर्बाद गरेँ ।’ लुखनोभले कोठामा प्रवेश गर्दा उल्हनको मथिंगलमा यस्तै उस्तै विचारहरू घुमिरहेका थिए ।
धेरै बेर भो र, मिखाइल भासिलिच, उठ्नुभएको ?”-लुखनोभले सोध्यो । अनि आफ्नो सुलुत्त परेको नाकबाट सुनौला चश्मा बिस्तारै झिक्यो र गोजीबाट रातो रेशमी रुमाल झिकेर त्यसले चश्माको ऐना पुछ्न थाल्यो ।
“हैन भर्खरै उठेको हुँ । मस्तसँग सुतेँ ।”
“भर्खरै मात्र एक हुस्सार यहाँ आइपुगेको छ । जाभाल्शेभ्स्कीको कोठामा बसेको छ । …सुन्नुभो ?”
“अहँ, सुनिनँ !..खै, अरु कहाँ छन् नि ?”
“उनीहरू प्याख्रिनलाई भेट्न गए क्या रे ! छिटै आइपुग्ने छन् !”
नभन्दै छिटै नै अरुहरू पनि आइपुगे : स्थानीय सुरक्षासेनाको एक अफिसर जो जहिले पनि लुखनोभको साथमा रहन्थ्यो, ग्रीसको एक व्यापारी जसको ठूलो र खैरो नाक सुगाको ठुँग जस्तो थियो भने आँखा चाहिं भित्र गाडिएका र निकै काला थिए, एक भट्टको मालिक बिर्तावाल जसको जीउ मोटो र थसुल्लो थियो, जो रातभरि आधा-आधा रुबलको च्याँखे थापेर जुवा खेल्थ्यो । सबका सब नै जति सक्यो चाँडो जुवाको खेलमा जम्न हतारिएका देखिन्थे । परन्तु मुख्य जुवाडीहरूमध्ये कोही पनि यस विषयमा कुरा चलाउन चाहँदैनथ्यो । लुखनोभ त झन् बडो आरामले बसेर मास्कोमा गुण्डागर्दीको बारेमा चर्चा गर्दैथियो ।
“जे भए तापनि मास्को एक निकै ठूलो शहर हो, राजधानी पनि हो !” -उसले भन्न शुरु गर्यो ।- “तर गुण्डागर्दीको अखाडा बनेको छ । त्यहाँ त राति राति गुण्डाहरू हातमा अंकुश लिएर हिँड्छन्, भूतप्रेत बनेर सडकहरूमा घुमफिर गर्छन्, मूर्खहरूलाई तर्साउँछन् र यात्रुहरूलाई लुट्छन् । कसैले केही भन्न सक्तैन । आखिर पुलिस के सोच्दैछ ? रहस्य त यसैमा पो छ ।
उल्हन खूब ध्यान दिएर गुण्डागर्दिको बयान सुनिरहेको थियो । तर आखिरमा उसको धैर्य टुटिहाल्यो । ऊ चूपचाप उठ्यो र बाहिर निस्केर नोकरलाई तास ल्याउन अह्रायो सबभन्दा पहिले मोटो बिर्तावालले भन्यो ।
“माहानुभाव हो, यो स्वर्ण मौका किन व्यर्थमा व्यर्थमा बर्बाद गर्ने हो ? ल, आउनोस् एक दुई हात खेलिहालौं ।
“हो त नि ! तपाईले हिजो राति आधा-आधा रुबलको च्याँखे थापेर नै केही दाउ हात पारिहाल्नु भएको छ’ त !”- ग्रीकले जवाफ दियो ।
“ठीक हो ! खेल्ने पनि त अब बेला भैहाल्यो ।”- सुरक्षा-सेनाको अफिसरले भन्यो ।
इल्यीनले लुखनोभतर्फ पुलुक्क हेर्यो । दुवैका आँखा जुधे । तर लुखनोभ चाहिँ मजासँग पहिले झैँ नै गुण्डाहरूको बयान गर्दैथियो । कहिले तिनको भूतप्रेतको भेषभूषाको वर्णन गर्थ्यो भने कहिले चाहिं तिनका ठूल्ठूला नंग्राहरूको !
“चक्की बाँड्ने हैन त ?”- उल्हनले सोध्यो ।
“के हतारो छर?”
“बेलोभ”- उल्हनले बोलायो । कुन्नि किन हो, उसको मुख रातो भयो । “खै,मेरो निम्ति खाना ल्याऊ त ! एक गेडा अन्न पनि मेरो मुखमा परेको छैन अझै । शैम्पन ल्याऊ र सात पनि ल्याएर यहाँ राखिदेऊ !”
ठीक त्यसै बेला ग्राफ र जाभाल्शेभ्स्की कोठामा पसेका थिए । कुरैकुरामा तुर्बीन र इल्यीन एउटै फौजी डिभिजनमा छन् भन्ने पनि थाहा हुन गयो । उनीहरूमा तुरुन्तै मित्रता भैहाल्यो । गिलास जुधाएर उनीहरूले शैम्पन स्वाट्टै पिए र केही मिनेटपछि त घनिष्ठतापूर्वक ‘तिमी’ भनेर सम्बोधन गर्दै कुरा गर्न लागिहाले । ग्राफलाई इल्यीन अति मन परिसकेको प्रतीत हुन्थ्यो । ग्राफ उसतर्फ हेर्दै मुसुमुसु हाँस्थे र उसको जवानीलाई लक्ष्य गर्दै छेड पनि हान्थे ।
“यस्ता पो हुन्छन् त उल्हन !” – ग्राफ भन्दै थिए । – “क्या गजबका जुँगा ! क्या सुहाउँदो जुँगा !”
इल्यीनको माथिल्लो ओठनेरका रौं एकदमै फुलेका थिए ।
“के तास खेल्ने सुरसार त भइरहेको होइन ? मलाई लाग्छ, तिम्रो जीत हुनेछ, इल्यीन ! तिमी खप्पीस खेलाडी हौ, हैन र ?” – मुस्कुराउँदै ग्राफले थपे ।
“हो, तैयार हुँदैछन् ।” – लुखनोभले तासको चाङ खोल्दै भन्यो । – “के तपाई पनि सामेल हुनुहुनेहोइन र, ग्राफ ?”
“अहँ, आज होइन । मैले खेल्न थालें भने त तपाईहरूको आङको लुगा समेत बाँकी रहने छैन । मैले खेल्न थालें भने त ब्यांकहरूको समेत टाट उल्टन लाग्छ । तर अहिले त आफूसित पैंसो नभएको बेला पर्यो । जे जति थियो त्यो सबै भोलोचोक नजिकै घोडाचौकीमा नै हारिसके । त्यहाँ कुन्नि किन हो पैदल फौजको एक जवानले मेरो खल्ती साफ गरिहाल्यो । हातमा औंठी लगाइराखेको थियो उसले । जरूर पनि कुनै नामी तासबाज हुँदो हो !”
“के तिमीले त्यहाँ घोडा-चौकीमा निकैबेर रोकिनु पर्यो र ?” -इल्यीनले सोध्यो ।
“पूरै बाईस घण्टा ! त्यो हरामी घोडा-चौकीको मलाई जहिले पनि सम्झना रहनेछ । साथै त्यहाँको रेखदेखकर्ताले पनि मलाई कदापि बिर्सन सक्नेछैन !”
“किन, हँ ?”
“के भयो भने मेरो गाडी त्यहाँ पुग्नेबित्तिकै त्यो मोरो रेखदेखकर्ता मेरो सामुन्ने परिहाल्यो । महाठग होला भन्ने त उसको अनुहारले नै बताइरहेको थियो । घोडा त छैनन् भनेर उसले सूचना दियो । मैले अब त एउटा नियम नै बनाइसकेको छु । जब कसैलाई घोडा छैनन् भनेर जवाफ दिन्छ त्यतिखेर म सरासर रेखदेखकर्ताकै कोठामा दाखिल भैहाल्छु । आफूले लाइराखेको भुवादार ओभरकोट समेत फुकाल्दिनँ । रेखदेखकर्ताको अफिसमा जाने होइन, बरु उसको डेरामा नै पुग्छु र कोठामा पस्नासाथ सबै झ्याल-ढोका खोल्ने हुकुम दिन्छु । मानौं, कोठामा धुवाँ रूङिरहेको होस् ! त्यहाँ पनि मैले त्यस्तै गरें । तिमीलाई थाहै छ, बितेको महीना कस्तो ठिहिर्याउने जाडो थियो ! झण्डै बीस डिग्री जाडो थियो । रेखदेखकर्ताले मसँग बहस गर्ने सुर कस्यो । मैले जमाएर उसको बङ्गारामा एक घुस्सा दिएँ। एउटी बुढिया, केही साना केटीहरू र आइमाइहरू चिच्याउन लागे । उनीहरू भाँडाकुँडा बोकेर गाउँतिर जान तयार भए । मैले ढोकैनेर बाटो छेक्तै भनें “घोडा दिने हो भने म हिंडिहाल्छु, नत्र त कसैलाई बाहिर निस्कन दिनेछैन । सबैलाई यहाँ जाडोमा कठ्याङ्ग्रने गरेर डल्याएर राख्नेछु !’
“खूब राम्रो तरीका हो यो !” – थसुल्लो बिर्तावालले खित्का छोड्दै भन्यो । “जाडोमा साङलाहरूलाई जस्तै ठिहिर्याएर ठीक पार्नुपर्छ यिनलाई !”
“तर मैले उनीहरूमाथि निगरानी राखिनँ । म कतै हिंडे । त्यसै बखत घोडा-चौकीको रेखदेखकर्ता र ती आइमाईहरू त्यहाँबाट कुलेलम भइहाले । केवल एउटी बुढिया मात्र त्यहाँ बाँकी रहन गई । ऊ आतसखानामाथिको कोप्रोमा पल्टिरहेकी थिई र हाछयूँ गर्दै छिंका हाल्दैथिई । ऊ लगातार भगवान्को नाम पनि जप्दैथिई । उसैलाई मैले बन्धक बनाएँ । त्यसपछि हाम्रो बीचमा सम्झौताको कुराकानी हुन थाल्यो । रेखदेखकर्ता फर्केर आयो र टाढै उभिएर बुढियालाई मुक्त गरिदिनको लागि मसँग बिन्तिभाउ गर्न थाल्यो । तर मैले आफ्नो कुकुर ब्ल्यूहरलाई उसैउपर छोडिदिएँ । ब्ल्यूहर पनि यस्ता रेखदेखकर्ताहरूको गन्ध राम्ररी नै खुट्टयाउन सक्छ । तैपनि त्यस हरामीको छोरोले भोलिपल्ट बिहान मात्रै मलाई घोडा दियो । त्यसैले गर्दा त्यस फौजी जवानसँग मेरो भेटघाट हुन गएको थियो । म बगलको कोठामा पसे र उससँग तास खेल्न लागें । … तपाईहरूले मेरो ब्ल्यूहरलाई देख्नु त भएको छ के ? ए, ब्ल्यूहर ! … यता आ !”
ब्ल्यूहर दगुर्दै आइपुग्यो । सबै जुवाडीहरूले बडो मायालु दृष्टि लगाएर उसतर्फ हेरे । तर पनि उनीहरूको ध्यान त कुनै अर्कै कुरामा छ भन्ने स्पष्ट नै थियो ।
“तर, महाशय हो, तपाईहरू किन खेल्नुहुन्न नि ? मेरो कारणले तपाईंहरूको खेल बिग्रन नपाओस् ! म त गफाडी न ठहरेँ !” तुर्बीनले भने । “जे होस्, “माया निर्माया पनि एक राम्रो खेल हो ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२२ कार्तिक २०८२, शनिबार 








