
हिन्दी सिनेमामा एउटा ताजा अनुहार देखा परेकी छन् । एन्ड्रिया केविचुसा भारतको उत्तरपूर्वी क्षेत्र नागाल्यान्डबाट बलिउड सिनेमामा छिर्ने सीमित व्यक्तिमध्येमा परेकी छन् । मोडलिङ हुँदै सिनेमा र भारतीय नागरिक भए पनि मंगोल अनुहारका कारण विविध किसिमका विभेद उनले सहनु परेका अनेक उदाहरण छन् ।
उनीसँग इन्डिया टुडे म्यागेजिनले उनीसँग गरेको कुराकानीः
तपाईं त १५ वर्षकै उमेरमा मोडलिङमा छिर्नुभयो नि ?
अँ, म सिलोङमा पढ्दै थिएँ । जम्मा १० कक्षा पढ्दै गर्दा मोडलिङको अफर आयो । बबुरी मलाई त मोडलिङको म पनि थाहा थिएन । म त चिकित्सक बन्न चाहन्थेँ । म हुर्किएको नागाल्यान्डको कोहिमा शहरका मानिसहरू मोडलिङका बारेमा निकै थोरै जान्दछन् । जब मलाई मोडलिङको अफर आयो, म त छक्कै परेँ । एजेन्सीका मानिसहरू मुम्बईबाट कोहिमास्थित मेरा बा‑आमालाई नै भेट्न आए र मनोरञ्जन र मोडलिङ उद्योगका बारेमा बुझाए । अभिभावक नै राजी भएपछि म गर्मी र जाडोका बिदाका बेला फोटो सूट गर्न मुम्बई जाने गर्थें । जब २०१९ मा हाइस्कुल पूरा गरिसक्दा म १८ वर्षकी भएँ र म त मुम्बई सरेँ ।
शुरूमा नै तपाईंले ‘अनेक’जस्तो राम्रो प्रोडक्सनको फिल्म पाउनु भयो नि ?
मोडलहरूले प्रायः ससाना भूमिका पाइरहेका हुन्छन् । २०१९ को नोभेम्बर महिनामा मेरो एजेन्टले फिल्मको भूमिका राम्रो भएको र छुटाउन नहुने सुझाव दियो । म चाहिँ सानातिना भूमिका होलान् भन्ने सोचिरहेकी थिएँ तर पनि भेट्न गएँ । निर्देशक अनुभव सिन्हाले त फिमेल लिडकै रूपमा अनुबन्ध गर्न खोज्दा फिल्म खेल्ने कि नखेल्ने भन्ने दुविधामा परेँ । न त मैले कुनै एक्टिङ गरेकी थिएँ न त फिल्मको कथाअनुसार मलाई बक्सिङको अनुभव थियो । तर पूर्वोत्तर भारतबासीका लागि मैलेजस्तो अवसर कहाँ पाउँथे र ! मेरा मम्मी ड्याडीले पनि यो त धेरै ठूलो अवसर हो भन्नु भएपछि म पनि फिल्मका लागि राजी भएँ ।
अनेक फिल्ममा बक्सरको भूमिका भएकी युवती आइडोका लागि कस्तो तयारी गर्नुभयो त ?
फिल्म खेल्छु भन्नेबित्तिकै मेरा लागि तालिमको व्यवस्था मिलाइयो । हिन्दी मेरो उति राम्रो छैन । त्यसमा पनि मैले काम गर्नु पर्यो । अभिनयको कक्षाहरू पनि लिनु परो । मलाई बाइक चलाउन आउँदैनथ्यो । त्यो सिकेँ । तर सबैभन्दा रमाइलो चाहिँ बक्सिङ सिक्दा नै आयो । यसमा निकै आवश्यक कौशल मैले सिकेँ जस्तो लाग्यो ।
तपाईं त कोरियन ड्रामा बढी मन पराउनु हुँदो रहेछ है ?
अँ, मेरो पुस्ताका प्रायः युवायुवती के‑पप कल्चरसँग नजिक छन् । म पनि यसमा भिज्न पुगेँ ।
केही नयाँ दर्शक कोरियाली शृंखलाहरू हेर्न चाहे के हेर्ने सुझाव दिनुहुन्छ ?
ब्वाइज ओभर फ्लावर्सबाट हेर्न शुरू गर्नुस् । त्यसपछि हस्पिटल प्लेलिस्ट र ट्रु ब्युटी पनि तपाईंलाई मन पर्न सक्छ । मेरो सबैभन्दा मनपर्ने शृंखला चाहिँ रिप्लाई १९८८ हो ।
नागाहरूलाई ज्यादै मनपर्ने खान्कीका बारेमा बताउनु न ?
हामी नागाल्यान्डबासीहरूको सबैभन्दा मन पर्ने खान्कीमा अखुनी प्रमुख हो । यसै नामको फिल्मसमेत बनिसकेको छ । बोस टेंगा पोर्क र रिच किङ चिलीजस्ता कुरा पनि त्यहाँ धेरै प्रयोग गरिन्छन् तर खोर्सानीको त्यो प्रजाति चैँ तपाईंले खान गाह्रै होला । म पनि खान सक्दिनँ ।
बच्चै बेलादेखि तपाईं फिल्म हेर्नुहुन्थ्यो र ?
म त धेरैजसो वेस्टर्न (पश्चिमा फिल्म) र कोरियन फिल्म नै हेर्थें । हिन्दीमा कल हो न हो र ओम शान्ति ओम मात्र हेरेकी छु । तर यी फिल्म म यति धेरै पटक दोहोर्याएर हेरेकी छु कि प्रत्येक संवाद म तपाईंलाई सुनाउन सक्छु । खासगरी हिन्दी फिल्ममा हामीजस्ता अनुहार देखिँदैनन् । देखिए पनि गलत तरिकाले देखाइन्छन् । मैले त डैनी डेंजोंग्पा र लिन लेसरामले मात्र एउटा तह पार गर्न सकेको पाएँ । तर क्रमशः गलत तरिकाले प्रस्तुत गर्ने तरिकाहरू परिवर्तन हुँदै आएका छन् । त्यसमध्ये अनेक फिल्म एउटा उदाहरण हुन सक्छ ।
तपाईंले जातिवादी व्यवहार पनि भोगेको कुरा गर्नुभयो । भोगेका केही कुरा बताउन मिल्छ ?
हुन त मसँग त्यस्तो कुनै गम्भीर घटना भएका छैनन् । शुरूमा म मुम्बई आउँदा मेरो अनुहार हेरेर चिनियाँ ठान्ने वा ठट्टा गर्नेजस्ता त सामान्य कुरा नै हुन् । बेग्लै भाषा र अनुहारका कारण शारीरिक छेडछाड झेल्नु पर्यो । खासगरी बालबालिकाहरूले नराम्रो टिप्पणी गर्थे । अब ती बच्चालाई गाली पनि के गर्ने ? मनमा नराम्रो त पर्थ्यो नै । बालबालिकालाई संवेदनशील बनाउन अभिभावकको पनि हात हुन्छ । उनीहरूले मिहिनेत गर्नुपर्छ । अनेकजस्तो फिल्महरू धेरै बन्नुपर्छ र तिनीहरूसम्म यसको सन्देश पुग्नुपर्छ भन्ने लाग्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

