बहुमुखी प्रतिभाका धनी उपेन्द्र ‘पागल’को भौतिक रुप आज हाम्रो बीच छैन । उहाँ बित्नु भएको पनि केही वर्ष मात्र भयो । तर पनि उहाँ रचना र सिर्जनाहरूमा अझै पनि हामीसँगै सशरीर हुनुहुन्छ । स्रष्टा कहिल्यै मर्दैन । व्रह्माण्डमा मानव अस्तित्व रहेसम्म स्रष्टा बाँचिरहन्छ । त्यसैले मलाई लाग्छ, उपेन्द्र ‘पागल‘दाई यहीँ हामीसँगै हुनुहुन्छ ।

तीर्थ निरौला

सुनसरीमा २००३ वैशाख २३ गतेका दिन जन्मिनु भएका वरिष्ठ साहित्यकार एवं वरिष्ठ चित्रकार उपेन्द्र ‘पागल’ दाइसँगको मेरो सम्बन्ध निकै पुरानो हो । उहाँ पूर्वका नामूद चित्रकार हुनुहुन्थ्यो । म पनि पूर्वकै कला अनुरागी भएकोले उहाँसँगको मेरो सम्बन्धलाई चित्रकारिता विधाले जोडेको हो । पछिपछि उहाँसँगको मेरो विधागत सम्बन्ध क्रमशः बाक्लिदै जाँदा हाम्रो घनिष्टता झन् भन्दा झन् बढ्दै गएको थियो । उहाँ मलाई माया गर्नुहुन्थ्यो र धेरै चित्र कोर्न हौसाउनु हुन्थ्यो ।

स्रष्टा उपेन्द्र ‘पागल’ साहित्य, जागीर र प्राध्यापन पेशामा बाक्लिएर लाग्नु भन्दा पूर्व उहाँ पूर्णकालीन चित्रकार हुनुहुन्थ्यो । जुन सम्झना अझै मेरो मानस पटलमा छरिएको छ । त्यसताका उहाँले विविध शैली र माध्यमहरुमा निकै चित्रहरू सिर्जना गर्नुभएको सम्झना आउँछ । उहाँले सिर्जना गर्नु भएको दृष्यचित्रहरू, भावप्रधान चित्रहरू र मुहार चित्रहरू अझै पनि उहाँका घरका भित्ताहरूमा र अन्यन्त्र स्थानहरूमा देख्न सकिन्छ । उपेन्द्र दाइका चित्रहरू प्रायः यथार्थवादी धारका र अभिव्यञ्जनावादी शैलीमा कोरिने गर्थे । उमेरको हिसाबले र कलाकर्मको हिसाबले विगतको दिनमा म सानै थिए । पूर्वाञ्चलको कला गतिविधिमा उहाँ हामीभन्दा ठूलो, सिनियर र आदरणीय हुनुहुन्थ्यो । उहाँले विशेषतः चित्रकारितामा मेरो जाग्दै गरेको प्रतिभालाई मायाको दृष्टिकोणले हेर्ने गर्नुहुन्थ्यो । र, बारम्बार हौसला प्रदान गरिरहनु हुन्थ्यो । उतिबेला हामी केही किशोर कलाकार साथीहरू मिलेर धरानको विविध स्थानहरूमा सामूहिक कला प्रदर्शनीहरू गर्ने गर्दथ्यौँ । त्यस्तो प्रदर्शनीमा प्रायः उपेन्द्र दाइको पनि कला समावेश हुने गर्दथ्यो । पुराना दिनहरूमा सुनसरीमा कला सम्बन्धीका कुनै पनि कला गतिविधिहरू भएमा उहाँसँग प्रायः मेरो भेट भइहाल्थ्यो । यो क्रम निकै वर्षसम्म चल्यो । तर पछि अकस्मात उपेन्द्र दाइको चित्रकारितामा उपस्थिति पातलिँदै गएको देखियो । त्यतिबेला पूर्वतिर चित्रकारिताको गतिविधि प्रायः कमै हुन्थे । पछिल्लो दिनमा उपेन्द्र दाइ कला माहोलमा खासै नदेखिनु र म धरानबाट बेलैमा काठमाडौँ पढ्न जानुले धेरै वर्षसम्म हाम्रो सम्पर्क हुन सकेन । मलाई लाग्छ, त्यतिबेला पछिका दिन र वर्षहरूमा सायद उहाँ जागीर र साहित्य रचनामै तल्लिन रहनु भयो । कार्य व्यस्तताका बाबजुद कलामा उहाँको सक्रियता पातलिएको मैले अनुभव गरेँ । उतिबेला पूर्वाञ्चलमा कलाकारहरु औँलामा गन्न सकिन्थे । त्यस्तो परिवेशमा उपेन्द्र दाइको उपस्थिति, योगदान उल्लेख्य र संस्मरण योग्य छ । उहाँ पूर्वाञ्चलमा कलाक्षेत्रमा पु-याउनु भएको योगदानलाई भुल्न सकिँदैन । एकमुष्ठ भन्नुपर्दा उहाँ पूर्वाञ्चलमा कलाक्षेत्रका एक वरिष्ठ अभियन्ता हुनुहुन्थ्यो ।

वरिष्ठ चित्रकार, साहित्यकार, समालोचक र कविका रुपमा परिचित उपेन्द्र ‘पागल’ दाइसँग धेरै वर्षको टुटेको मेरो सम्पर्कलाई पछिल्लो चरणमा फेसबुकको मेसेन्जरले पुनः जोडिदिएको हो । के खोज्छस् कानु आँखो भनेजस्तै हामी जोडिन थालेपछि हाम्रो फोन वार्ता नियमित हुन थाल्यो । र, एकचोटि प्रत्यक्ष रुपमा भेट्ने वाचा भयो । प्रायः म काठमाडौँ बस्ने र उहाँ सुनसरीमा बस्ने भएकोले धरान आउँदा उहाँलाई भेट्ने वाचा मैले गरेको थिएँ । त्यही वाचानुरुप म काठमाडौँबाट धरान र धरानबाट स्कुटीमा उहाँको घर झुम्का पुगेको थिएँ । त्यसबखत उहाँ आँखाको समस्या र अन्य दीर्घ रोगले गल्नु भएको मैले पाएँ । यसबीच उहाँसँग मेरो लामै भलाकुसारी भयो । कला गतिविधिका कुराहरू भए ।

मैले उपेन्द्र दाइलाई निकै सालिन र भद्र व्यक्तित्वको रुपमा बुझ्ने गरेको छु । म काठमाडौँमा छँदा आफ्नो आँखाको समस्या भएको कुरा फोनबाट बारम्बार बताउने गर्नुहुन्थ्यो मलाई । र भन्नु हुन्थ्यो, ‘तीर्थ भाइ, तपाईं हामी चित्रको काम गर्ने भएकाले आँखामा बढी जोडदिनु पर्छ, त्यसैले आफ्नो आँखाको ख्याल गर्नु, मेरो त आँखामा समस्या आइसक्यो । मेरो आँखामा जलविन्दु भएको छ भनेर डाक्टरले दबाई दिएका छन् ।’

उहाँको यस किसिमको हृदयको विशालताप्रति म नतमस्तक छु ।

उपेन्द्र दाइ एक वरिष्ठ कलाकार हुनुको साथै एक प्रतिभाशाली, वरिष्ठ साहित्यकार पनि हुनुहुन्थ्यो । आज उहाँका थुप्रै कविता संग्रह, समालोचना, निबन्ध, कथा, गीत र आलेखहरूले नेपाली साहित्यको भण्डारलाई सुशोभित पारेको छ । कलाकार ‘पागल’को तुलिका जति उत्कृष्ट र वजनदार लाग्छन्, त्यति नै वजनदार र सटिक हुन्छन् उहाँका कविताहरू । यहाँ उहाँका केही कविताका टुक्राहरू हेरौँ ।

“राखेर साक्षी धरती
लाखौँ मायासित चुम्बन तिमीलाई
बगी जाने रातहरूका
विरह व्याथाझैँ मेरो धडकन तिमीलाई…।”

“बिहान बेलुकी दुई जून रोटीभित्र
टुक्राटुक्रा पारेर अप्ठ्याराहरू
निलिदिन्छु पानीसित मन र जोवन
रातभरि दिनभरि गुजारा गर्नलाई…।”

“कसैको म सम्झना गर्छु
तर स्मृति कहाँ छ ?
अप्राप्य भएर पनि जीवनमा
ऊ निमेषमै भएझैँ लाग्छ…।”

स्रष्टा उपेन्द्र ‘पागल’ कवि, चित्रकार, निबन्धकार र समालोचक मात्र हुनुहुन्थ्यो, शैक्षिक क्षेत्रमा पनि उहाँको अतुलनीय योगदान रहेको छ । लामो समय प्राध्यापक भएर कलेजका विधार्थीहरूलाई शिक्षाको ज्योति छर्नु भएको थियो । उहाँका रचनाहरू शीतका थोपा (खण्डकाव्य), जीवन भागिरहेछ (कविता संग्रह), गोरेटो खोजिरहेछ (कविता संग्रह), अल्मलिएका पाइलाहरू (कविता संग्रह), उपेन्द्रका निबन्धहरू (निबन्ध संग्रह), उपेन्द्र पागलका कथाहरू (सामाजिक कथा संग्रह), आजको निर्धो मान्छे (कविता संग्रह) आदि लगायत अन्य थुप्रै साहित्यिक आलेख र रचनाहरू उहाँका प्रकाशित कृतिहरू हुन् ।

आफ्नो जीवनकालमा उहाँले चित्रकारिता विधाबाट र साहित्यिक विधाबाट थुप्रै सम्मान तथा पुरस्कारहरू पाउनु भएको छ । २०२० मा उहाँ सुनसरीबाट जिल्लास्तरीय चित्रकलामा र २०३४ सालमा कोशी अञ्चल स्तरीय चित्रकला प्रतियोगितामा पुरस्कृत हुनुभयो । यस्तै २०५२ सालमा कमर्सियल आर्टिस्ट सङ्घबाट सम्मानित हुनुभयो । र, नेपाल ललितकला प्रतिष्ठानबाट पनि सम्मानित हुनुभयो । वि.स. २०६८ सालमा साहित्य र कलामा योगदान गरेबापत उहाँलाई पिण्डेश्वर विधापीठले विशिष्ठ सम्मान ग-यो । यसरी नै षडानन्द प्रतिभा पुरस्कार, जीवन स्मृति सम्मान र पुरस्कार, सुनसरी साहित्य प्रतिष्ठानबाट सम्मान, दिपेश राई सम्मान लगायतका दर्जनौं सम्मान र पुरस्कारले उहाँ विभूषित हुनुभयो । अन्तमा पूर्वाञ्चलका वा राष्ट्रकै यस्ता नक्षत्रलाई हामीले नबिर्सौं ।