यस स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।
यसैक्रममा साताका पुस्तकमा योपटक छ पुस्तक । ‘आफैँ भए सुन्दर’देखि ‘जब एउटा मान्छे हराउँछ’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।
१. आफैँ भए सुन्दर – कलानिधि दाहाल
वरिष्ठ साहित्यकार कलानिधि दाहालको नवीनतम् पद्यकविता सङ्ग्रह हो – आफैँ भए सुन्दर । समग्रः शार्दूलविक्रीडित छन्दमा तयार गरिएको सङ्ग्रहमा उनान्नव्वे थना कविताहरु सङ्ग्रहित छन् । दाहालका एउटै छन्दको लयभित्र पनि फरक फरक स्वाद भिटिन्छन् । कविताहरुमा प्रकृति चित्रण, ऋतु वर्णन, मानवीय स्वभावको उत्खनन्, मनोलोकको अनुभूति, जीवनका आरोहअवरोहहरु प्रतिबिम्बित रहेका छन् ।
‘कलानिधिका कविताहरु जुनसुकै विषयमा सिर्जना भएका भए पनि तिनमा नजानिँदो तरिकाले आध्यात्मिक सञ्चेतना र आत्मिक संवेदनाले स्पर्श गरेको देखिन्छ ।’, पुस्तकको भूमिकामा डा. देवी नेपाल लेख्छन्, ‘वस्तुसत्य र आत्मसत्यका बिचको द्वन्द्वात्मक परिवेशले उहाँलाई निकै सताएको देखिन्छ । उहाँ कवितामा मान्छे नै देवता भएको तर्क अगाडि सार्नुहुन्छ तर परमानन्द प्राप्तिप्रतिको अदृश्य लोभ भने कतै कतै टुप्लुक्क टुप्लुक्क उदाएको पाठकलाई थाहा हुन्छ ।’
पुस्तकलाई ओरिएन्टल पब्लिकेसनले बजारमा ल्याएको हो । १७० पृष्ठमा फैलिएको कृतिको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
२. जात – शेखर ढुङ्गेल
‘जात’ शेखर ढुङ्गेलकृत नवीनतम् कथासङ्ग्रह हो । १८ थान कथाहरु सङ्ग्रहित यो कृति मुख्यः वर्तमानका मानिसहरुको भावना र भोगाइको दस्ताबेज हो । सङ्ग्रहित कथाहरु नेपाली समाजसँग परोक्षरुपमा गाँसिएको छ । कतिपय प्रसंगले नेपालबाहिर रहेको नेपाली हृदयको विचार गर्छ भने कतिपय अवस्थाले नेपालभित्र रहेको नेपाली समाजको चरित्र चित्रण गरेको छ ।
‘मानिस सुखका पछिल्तिर लाग्दा गुमाइरहेको आफ्नो खुसी, हाँसो वा उमङ्गका पछाडि कति धेरै वेदना वा रुवाइ छ भन्ने सन्देश बोल्ने यी कथा साँच्चै नै मर्मपूर्ण छन् ।’ पुस्तकको भूमिकामा महेश पौड्याल लेख्छन्, ‘पीडालाई भोग्नु र लेख्नुमा ठूलो अन्तर छ । त्यो अन्तरलाई हेर्ने, बुझ्ने वा महसुस गर्ने कथाकार शेखर आफैँ सफल र समृद्ध लेखनको विजयी थपमा लागिरहून् ।’
पुस्तकलाई पल्लव प्रकाशनले बजारमा ल्याएको हो । १ सय ५९ पृष्ठमा फैलिएको कृतिको मूल्य ३ सय ५० रहेको छ ।
३. बेवारिसे लौरो – कर्ण दयाल ‘सोराडी’
कवि कर्ण दयाल ‘सोराडी’को कविताकृति हो – बेवारिसे लौरो । व्यङ्ग्य र विद्रोही चेतना अभिव्यक्त भएका यो कविताकृतिमा हलिया, कमैया, मजदुर, किसान, दलितलगायत उपेक्षित तप्काका मानिसको पक्षमा सहानुभूति देखिन्छ । त्यस्तै, राज्यसत्ता, शोषक–सामन्त तथा दलालपतिप्रति गहिरो व्यङ्ग्यले अचेत आक्रोश भेटिन्छ ।
‘देश र जनताको मुहार फेर्ने हुङ्कारका साथ भएका जनयुद्ध एवं क्रान्तिका दौरान सोझासीधा जनता केवल लौरो बनेको कारुणिक यथार्थ उनले उद्घाटन गरेका छन् ।’ भूमिकामा कवि राजेन्द्र तारकिणी लेख्छन्, ‘ती लौरोहरु आज बेवारिसे छन्, खोलो तरेर जानेहरु जनताको दुःखसँग साक्षात्कार गर्न फर्किएका छैनन् । यस्तै विविध भावका कविताहरुको सञ्जयन हो, बेवारिसे लौरो ।’
कृतिलाई युरेका पब्लिकेसनले बजारमा ल्याएको हो । १ सय १६ पृष्ठमा फैलिएको कविताकृतिको मूल्य २ सय रुपियाँ रहेको छ ।
४. सप्तकोसीको किनारबाट – कृष्णविनोद लम्साल
कृष्णविनोद लम्साल कृति ‘सप्तकोसीको किनारबाट’ अनुसन्धानात्मक आख्यान हो । उपन्यासले प्राचीन ग्रन्थहरुमा वर्णित वराहक्षेत्रलाई मुख्य पृष्ठभूमि बनाएको छ । त्यसका साथै यसौँ वर्षको इतिहास बोकेका रामधुनी, औलिया मठ, विष्णुपादुका, मैनामैनी, बेलकालगायत ऐतिहासिक महत्वका स्थान तथा विषयवस्तुमा उपन्यास केन्द्रित छ ।
‘… हिमाल, पहाड र तपाई–मधेशलाई विशिष्ट ऊर्जा दिँदै आएको, मानव सभ्यतासँगै अविरल बग्दै आएको सप्तकोसीले वेष्टित भूगोलका केही धार्मिक स्थलको पुस्तकले वर्णन गरेको छ ।’, लेखकका कुरामा लम्सालले लेखेका छन्, ‘प्रचलित संस्कार र संस्कृतिलाई आधुनिक बनाउने प्रयत्न गरिएको छ । … शब्दचयन, वाक्यविन्यास, बिम्बप्रतिबिम्ब र प्रतीकहरु सम्मिश्रित छन् । समग्रहमा औपन्यासिक प्रकारले संवादात्मक शैली अपनाइएको छ ।’
पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । २ सय ९१ पृष्ठमा फैलिएको कृतिको मूल्य ४ सय रुपियाँ रहेको छ ।
५. मैले छिचोलेका कुइनेटा – प्रा.डा. मुकेशकुमार चालिसे
प्रा.डा. मुकेशकुमार चालिसेको आत्मकथनमा मुख्यतः वैज्ञानिक खोज–अनुसन्धान, लेखन तथा प्राध्यापन र राजनीति कर्म गरी तीन पक्षहरु उजागृत भएका छन् । पछिल्लो समय प्राज्ञिक कर्ममार्फत् परिचित डा. चालिसे कुनै समय वामपन्थी राजनीतिमा सक्रिय थिए । उनको अर्को परिचय भनेको बाँदर–विज्ञ पनि हो । सन् १९९७ मा ‘लंगुर बाँदरको भाले र पोथीमा खानाको भिन्नता’ विषयमा चालिसेले विद्यावारिधि गरेका थिए भने जीवनको ऊर्वर कालखण्डको करिब एक दशक सक्रिय राजनीतिमा बिताएका थिए ।
‘तीसको दशकमा पूर्वको झापाबाट फैलिएको राजनीतिक जागरणको लहरले भर्खरको युवा डा. चालिसेलाई नछुने कुरै भएन ।’, पुस्तकको भूमिकामा भुँडीपुराण प्रकाशन गृहका प्रबन्ध निर्देशक केशवप्रसाद पराजुलीले लेखेका छन्, ‘वर्गसंघर्षलाई आभ्यासकै धरातलमा उतार्ने झापाली समूहको प्रभावमा परेर उहाँले पश्चिम र सुदूरपश्चिमका तराई भेगमा आफूलाई राजनीतिक कार्यकर्ताका रुपमा क्रियाशील तुल्याउनुभयो । तर, राजनीतिक क्रियाशीलताकै क्रममा २०३९ सालमा तत्कालीन नेकपा (एमाले) भित्र भुइँचालो आएपछि निराश हुनुभएका उहाँले राजनीतिबाट आफूलाई पृथक् तुल्याइएपछि फेरि टुटेको अध्ययनको क्रमलाई जोड्नु भयो ।’
पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले बजारमा ल्याएको हो । २ सय २० पृष्ठमा फैलिएको कृतिको मूल्य ४ सय ५० रुपियाँ रहेको छ ।
६. जब एउटा मान्छे हराउँछ – चन्द्र गुरुङ
कवि चन्द्र गुरुङको दोस्रो कवितासङ्ग्रह हो, ‘जब एउटा मान्छे हराउँछ’ सार्वजनिक भएको छ । गुरुङका कविता सरल भइकन पनि गहिरो भाव व्यक्त गर्न सफल रहेका छन् । सरल शब्दशैलीको भए पनि कविताका भावहरू गहिरा छन् ।
कवि श्रवण मुकारुङले दशकौंपछि पढ्दासमेत पुराना नलाग्ने कविता सृजना गर्न सक्नु नै चन्द्र गुरुङको विशेषता रहेको बताएका छन् । उनले भनेका छन्, ‘सर्जकले आज सृजना गरेको रचना उसैले पछि पश्चाताप गर्नु पर्ने बन्नु हुँदैन । भोलिको समयलाई समेत सान्दर्भीक हुने रचना गर्नसक्नु नै लेखकीय सामर्थ्य हो ।’
‘जब एउटा मान्छे हराउँछ’मा ५० थान कविता समेटिएका छन् । २ सय ४९ रुपैयाँ मूल्य रहेको सङ्ग्रह इन्डिगो इन्कले प्रकाशन गरेको हो । यसअघि गुरुङको ‘उसको मुटुभित्र देशको नक्सा नै थिएन’ नामक कवितासंग्रह प्रकाशित भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।