साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

म ३४ वर्षको हुँदा ?

बुद्धिसागर

बुद्धिसागर

सानोमा स्कुल छाडेर भागेको। मोजाको फुटवल बनाएर खेलेको। खोलामा नाँगै नुहाएको। सरले मुर्गा बनाएर घाममा उभ्याएको। पहिलोपल्ट फिलिम हेरेको। घरमा आमाले पकाएको रारा चाउचाउ गड्यौलाजस्तो लागेर घिन मान्दै नखाएको।
अस्ति भर्खरैजस्तो लाग्छ।
समय त मिलको पट्टा पो रैछ। फनफनी घुमेको घुम्यै गर्छ। भन्छन् – खुशीमा समय चाडै बितेजस्तो लाग्छ। दुख्खमा समय एकैठाऊँमा अडेको अड्यैजस्तो हुन्छ।
सम्झना छ? परिक्षा हलमा एकघन्टा कति छिटो बित्छ? हेरिरहेको टिभीको कार्टुन फिलिम कत्ति चाँडै सकिन्छ? तर, बिचबिचमा आउने विज्ञापन कत्ति लामो लाग्छ।
मनपर्ने सरको कक्षा कत्ति छोटो लाग्छ र मन नपर्ने सरको कक्षा कत्ति लामो। समय र उमेरपनि त्यस्तै त हो।
म सोचिरहेको छु- मेरो जीवनको ३२बर्ष मनपर्ने सरको क्लासझैँ कत्ति चाडै सकिएछ।
कहिलेकाहीँ म मेरा स्कुले साथी भेट्छु। दुःखी र निरास देखिन्छन्। र, तिन्लाई जीवन मन नपर्ने सरको क्लासजस्तो अल्छिलाग्दो लागिरहेको देख्छु।
म सोच्छु- समयले मान्छेलाई सुखी र दुःखी बनाउने होइन रैछ, त्यो त हामी आफैँले बनाउँदा रैछौँ। कहिलेकाहीँ लाग्छ- म आफैँले नै जीवन मनपर्ने सरको कक्षाजस्तो बनाएँ। मेरा कति साथीले आफूले नै जीवन मननपर्ने सरको कक्षाजस्तो बनाए। कति साथीका बा, आमा र शिक्षकले नै जीवन मननपर्ने सरको क्लासजस्तो बनाइदिए।
साथी र ममा एउटै फरक छ- साथीहरुले बा,आमा र शिक्षकले सिकाएको बाटो हिँडे।
म भने आफैँले रोजेको बाटो हिँडे।

सानैदेखि म पढाइमा साह्रै कमजोर थिएँ। स्कुलको अन्तिम बेन्चमा बस्थेँ। सरले पठाएको पनि बुझ्दिनथेँ। तर, नबुझेको कुरा सोध्ने आँटै आउँदैनथ्यो। सोध्यो भने पनि सरले ‘यत्ति पढाएर पनि बुझिनस् स्वाँठ’ भन्दै कान निमोठ्थे। त्यसैले म सरको आँखा अगाडि पर्दिनथेँ। लुकेर बस्थेँ।
सायद, असल सर भएको भए, मलाई अघिल्लो बेन्चमा राख्दा हुन्। बुझाउँदा हुँन्। प्रेरणा दिँदा हुन्। म अहिले सोच्छु- मेरा जीवनमा कहिल्यै असल सर आएनन्। जति आए, खराब नै आए। ती कक्षामा चाँडोभन्दा चाँडो बुझ्ने विद्यार्थीलाई मात्र प्रेरणा दिन्थे। हाम्रा अगाडि उसको सधैँ प्रशंसा गर्थे। सोधेको प्रश्नको उत्तर नजान्दा सर, जान्ने विद्यार्थीलाई हाम्रो गालामा थप्पड हान्न लगाउँथे। हामी नजान्नेलाई सरले सधैँ गिल्ला गरिरहे।
बच्चा त गिलो माटो हुन्। सर कारिगर। तिनैको हातले नै हाम्लाई विभिन्न थरी मूर्ति बनाउने न हो। सरले भने तीक्ष्ण विद्यार्थीको जहिले पनि राम्रो मूर्ति बनाउँथे। हाम्लाई भने आकार दिन नसकेर त्यत्तिकै छाडिन्थे।
म जति क्लास उक्लिदै गएँ, उति ल्वाँदे भएँ।
सरले गिल्ला गर्छन्, कक्षाका साथी हाँस्छन् भनेर म कक्षाबाटै भाग्न थालेँ। म दिनभर जंगल घुम्थेँ। चरा उडेको हेर्थें। जंगलमा गएपछि, मसित पढ्न नआउने किताब हुन्थेनन्, न त चड्कन लगाइरहने सर। म एक्लो हुन्थेँ। मलाई त्यस्तै मनपर्थ्यो।
म प्रायः जाँचमा फेल हुन्थेँ। कहिलेकाहीँ बाले हेडसरसित कुरा गरेर पास गराइदिनु हुन्थ्यो।
गाउँमा पनि फस्ट हुने विद्यार्थीलाई सबैलाई माया गर्थे। फेल हुनेलाई देख्यो कि गाली गर्थे। थुक्थे। तर, कसैले सोधेन- तँलाई किन पढ्न मन लाग्दैन बाबु!
घर, गाउँ र स्कुलमा म लम्पट विद्यार्थीको रुपमा चिनिएँ। जहाँ पनि ‘यसले पढेर खाँदैन’ भन्नेहरु भेटिन्थे। पछिपछि त मलाई पनि लाग्नथाल्यो- म पढेर ठूलो मान्छे हुँदिनँ।
म बरालिएँ।
फिलिम हेर्न घरबाट भाग्न थालेँ। मेरो मन स्कुलमा भन्दा अन्तै रम्न थाल्यो। अनि, जब रिजल्ट आउँथ्यो- म फेल हुन्थे। साथीहरु पास भएर नयाँ-नयाँ बासनादार किताब किन्थे। त्यसबेला मेरो मन साह्रै रुन्थ्यो। ‘अब यसपालि मज्जाले पढेर पास हुन्छु’ भन्ने कसम खान्थेँ, तर फेल भएर उही क्लासमा बस्नुपर्दा झन् पीडा हुन्थ्यो। सरहरु पनि फेल हुनेलाई झनै गाली गर्थे। ‘तँ पढेर खाँदैनस्’ भनेर वचन लाइरहन्थे। ‘यसपालि त पढ्छु पढ्छु’ भनेर खाएको मेरो कसम आँसुसँगै बगेर जान्थ्यो।
पछिपछि, मलाई कोर्सका किताबभन्दा अरु नै किताब पढ्न मनलाग्न थाल्यो। कमिक्स र जासुसी उपन्यास खुबै पढ्थेँ। ती रोमाञ्चक हुन्थे। पढिसकेपछि परीक्षा पनि दिन पर्दैनथ्यो। अनि म बिस्तारै पढन्तेमा गनिनँ थालेँ। तर, मेरो पढाइ सबैजसो कोर्सको किताब बाहिरको हुन्थे।
आफ्नो रुचिको कुरा भेट्टाएपछि त म पनि पढ्ने नै रैछु भनेर त्यो बेला मलाई थाहा भयो।

जब बसाइँसराइ भएर म कालिकोट पुगेँ, त्यहाँको स्कुल झन् खराब थियो। रामरी पढाइ नै हुन्थेन। एकदुई जना असल सर थिए तर तिन्ले मजस्तो बिग्रिसकेको माटोलाई फेरि मूर्ति बनाउने आँट गरेनन्। मेरो मन बिरक्तियो- मैले कविता लेख्न थालेँ। रेडियोमा पठाउन थालेँ। मेरो कविता रेडियोमा बज्न थाल्यो। गाउँघर, स्कुल जताततै मेरो चर्चा फैलियो। म झन् कवि भएँ।
मेरो कविता रेडियोमा सुनेर बा पहिला खुशी भएका बा, पछि गएर आत्तिन थाल्नु भो। ‘छोरो कवि हुने भो’ भन्ने पीर पर्‍यो। त्यसबेला कविलाई कसैले राम्रो मान्थेन। कवि जीवनमा सधैँ दुःखी हुन्छन्। भोकै पर्छन् भन्थे मान्छेहरु।
सप्पैलाई लाग्थ्यो- डाक्टर र इन्जिनियर पो हुनु, कवि हुने हो?
मलाई अहिले पनि लाग्छ- धेरै अभिभावक आफ्ना सन्तान डाक्टर र इन्जिनियर बनोस् भन्ने एउटै कारणले चाहन्छन्- पैसा कमाउँछन् भनेर। कम्तीमा मलाई डाक्टर बन भन्नेले ‘बिरामीको सेवा गर्ला’ भनेर भनेकाथेनन्।
एसएलसी नजिक आयो। सरहरु ‘यसपालि एसएलसी पास हुने विद्यार्थी यी यी हुन्’ भनेर दिनकै नाम फलाक्थे, जसमा मेरो नाम कहिल्यै हुन्थेन। मेरै कक्षामा साँच्चिकै प्रतिभाशाली विद्यार्थी पनि थिए। तिनले आफ्नै सीप र साधनाले पढेकाथे। ती प्रतिभाशाली हुनुमा सरको योगदान एकदमै कम थियो। र, एसएलसी नजिकिदै गर्दा सरहरु प्रतिभाशाली विद्यार्थीकै वरिपरि घुम्न थाले। सरहरु सोच्थे- ‘यी केटाहरु ट्यान्लेट त छन् नै। अलिकति चिट चोराउन पाइयो भने त यिनले फस्ट डिभिजन ल्याएर स्कुलको इज्जत राख्छन्।’
एसएलसीको परीक्षामा सरले नै प्रतिभाशाली विद्यार्थीलाई चिट चोराए। हामी कमसल विद्यार्थीको हातमा भने कमसल मान्छेले नै लेखिदिएको चिट आउँथ्यो र ती चिटमा सही उत्तर नै लेखिएका छन् भन्ने पनि विश्वास गर्न गाह्रो हुन्थ्यो।
जे होस्, म सेकेन्ड डिभिजनमा पास भएँ। दुईचार जना साथी फस्ट डिभिजनमा पास भए।
एसएलसी पास गरेपछि, मैले बासित ढिपी गरेँ, ‘म पढ्न काठमान्डू जान्छु ।’ मैले हैरान पारेपछि बाले काठमान्डू पठाउनु भयो।
मैले एसएलसी दिँदै गर्दा आफ्नो बाटो रोजिसकेको थिएँ। मैले अठोट गरिसकेको थिएँ- काठमान्डू गएर लेखक बन्छु।

जरा कमजोर थियो, त्यसैले कलेजमा पनि राम्रो विद्यार्थी हुन सकिनँ। तर, आफ्नो सपना पूरा गर्न कविता लेखिरहेँ। पत्रिकामा छापिरहेँ। मेरा रोमाञ्चक दिन सुरु भइसकेका थिए।
म सितै एसएलसी दिएका एक मित्र पनि काठमान्डू नै आए पढ्न। उनले कर्नाली अञ्चलमै सबैभन्दा बढी नम्बर ल्याएका थिए। हाम्रो डेरा नजिक थियो। बा, आमा र सरले भनेका रैछन्, ‘तिमी अब डाक्टर हुनुपर्छ।’
उनलाई ठूलो बोझ थियो। त्यतिधेरै नम्बर ल्याएको विद्यार्थीले अरु विषय पढ्ने कुरा पनि थिएन। उनी साइन्सका विद्यार्थी भए। दिनमा अठार-उन्नाइस घन्टासम्म पढ्थे। तर, उनलाई डाक्टर बन्न सुझाव दिनेले उनको मनको कुरा बुझेनन्। उनी के पढ्न चाहन्छन्, उनको रुचि के हो? सोधेनन्। बस्, उनलाई डाक्टर बन्न दबाब दिइरहे। तर, उनले लाख कोसिस गरे पनि आइएस्सी कटाउन सकेनन्। एकपल्ट होइन, चार-चारपल्ट फेल भए।
उनका अभिभावक रिसाए। सर रिसाए। र, उनी गाउँ नै जान छाडे।
उनीसितैका साथीभाइले घरमा कर गरेरै आफूलाई मनपर्ने विषय लिएर पढेकाथे। आफ्नो बाटो रोजेकाथे। ती पास हुँदै गए। र, आफ्नो क्षेत्रमा अलिअलि स्थापित पनि हुन थाले। उनी त जहाँ को तहीँ रहे।
भर्खरै मसित भेट हुँदा उनी दुब्लाएका थिए। अनुहारमा पनि रौनक थिएन। पराग खाएर दाँत पहेँलै बनाएका थिए। उनले भने, ‘बीचमा के के भो। अब फेरि पढ्न थालेको छु।’
‘साइन्स?’ मैले सोधेँ।
‘होइन,’ उनले भने, ‘आर्टस्। सायद, पहिल्यै आर्टस् पढेको भए, म एमए पास भइसक्थेँ। अहिले आइए दोस्रो वर्षमा पढ्दैछु। त्यो बेला अरुको कुरा बढी सुनेँ।’
जे होस्, उनले ढिलै भए पनि आफ्नो बाटो रोजेछन्।
मैले भने लेखनमा अलिअलि प्रगति गरिसकेको थिएँ। कवि गोष्ठीमा कविता सुनाउनु र कविता लिएर पत्रिकाको अफिसमा धाउनु मेरो दिनचर्या थियो। बाले पटकपटक फोन गरेर ‘घर आइज’ भनेर बोलाउनुहुन्थ्यो।
‘रामरी पढ्न सकिनस्। काठमान्डू बसेर के काम?’ उहाँ भनिरहनुहुन्थ्यो।
तर, म घर गइनँ। काठमान्डूमा कयौँ रात भोकै सुतेँ। नौ दश महिनासम्म घर भाडा तिर्न नसक्दा घरबेटीले ढोकामा ताल्चा लगाइदिन्थे। झगडा गरेर खोल्न लगाउँथेँ।
म यता भोकै थिएँ। उता बा र आमालाई चिन्ता थियो।
मलाई त भोकै बस्दा पनि पीडा थिएन। अनुभव न हो, पछि काम लाग्छ- म सोच्थेँ। किनभने, यही नै मैले रोजेको बाटो थियो।
एकदिन म झल्यास्स भएँ। लौ, मैले पो आफू हिँड्ने बाटो रोजेको थिएँ। घरमा त रामरी भनेको नै थिइनँ।
दशैँमा घर गएको बेला, मैले बा-आमालाई आफ्नो सपना सुनाएँ। मैले भनेँ- म सित कुनै प्रतिभा छैन। म जागिर पनि खान सक्दिनँ। मलाई अरु काम केही पनि आउँदैन। मलाई एउटै कुरा आउँछ, लेख्न। लेखक बन्नलाई गाउँमा सजिलो छैन। काठमान्डू नै बस्नुपर्छ। म अझे दुख्ख गर्छु र लेखक बन्छु।
सायद, मैले बा-आमालाई आफ्नो कुरा बुझाउन सकेँ। त्यसपछि पो उहाँहरुले मलाई बेरोजगार भएर काठमान्डूमा बस्दा पनि केही भन्नु भएन।
मैले केवल लेखिरहेँ। साहित्यका किताबहरु पढिरहेँ। सायद, परीक्षाकै लागि भनेर यसरी लेख्नु र पढ्नु परेको भए, म बीचमै थाक्थे हुँला। तर, रुचि र सपनाले कहिल्यै थाक्न दिएन। सफलता एक एक गर्दै मतिर तानिदै आए। नेपाल एकेडेमीबाट स्वर्ण पदक पाएँ। नेपाल सरकारबाट प्रतिभा पुरस्कार पाएँ। जागिर खोज्दै कतै भौतारिनु परेन। मैले लेखेकै कारण पत्रिकामा जागिर पाएँ।
अनि, ‘कर्नाली ब्लुज’ उपन्यास लेखेँ।
हो, त्यसबेला लेखनमा पैसा थिएन। तर, मैले जतिजति लेख्दै गएँ, उतिउति लेखनको महत्त्व बढ्दै गयो। अहिले लेखकले पनि राम्रो पैसा कमाउन थालेका छन्।
मैले पत्रिकामा लेख्ने जागिर खाएँ, त्यसबाट तलब आयो। अचेल, घरमा बसेर किताब लेख्छु- त्यसबाट रोयल्टी आउँछ। म दिनभरि आफूलाई रमाइलो लाग्ने काम गर्छु र पैसा कमाउँछु।
र, ३४ वर्षको उमेरमा मलाई एक घन्टा पनि ‘काम’ गरेजस्तो लागेको छैन। म त आफ्नो सपना पूरा गरिरहेको छु। लक्ष्मी र सरस्वतीसँगै हुँदैनन् भन्थे तर दुवै मिलेर मलाई माया गरिरहेका छन्।
त्यै भएर मलाई मेरो जीवन मनपर्ने सरको कक्षाजस्तो भएको छ।
स्कुलका सरले म काँचो माटोलाई गिथोलेर छाडेका थिए, म आफैँले त्यसलाई सुन्दर मूर्ति बनाउन खोजिरहेको छु।
मैले मूर्ति तयार गरेका दिन संसार आफैँ सुन्दर हुनेछ ।

(छ वर्षअघिको चर्चित लेखक बुद्धिसागरको आत्मस्वीकृति, जसलाई हामीले सङ्कलन गरेर राखेका थियौँ।)

प्रतिक्रिया
Loading...