“जीवनलाई जसरी अर्थ्याए पनि सही नै लाग्दो रहेछ ।” उफ ! कस्तो दार्शनिक अभिव्यक्ति । बोध गरेर कहिल्यै अन्त्यमा नपुगिने यो दुरुह, दुर्बोध्य जीवन जगत्लाई सहजीकरण गरिएको यस वाक्यले मलाई धेरै थोक सोच्न लगायो । शायद मैले पनि त्यस्तै केही सोचेकी थिएँ । जीवन यही हो, यस्तै हुनुपर्छ भन्ने छैन । त्यसो त यस्तै हुनुपर्छ भनेर खै कहाँ भएको छ र ? नसोचेकै ज्यादा छ । हो त्यही नसोचेको जीवनलाई स्वीकार्न समर्थ हुँदा  माथिको अभिव्यक्ति यथोचित तरिकाले अर्थिन्छजस्तो लाग्छ । त्यसमा मलाई फेरि केही थप्ने इच्छा भयो, “जीवन भनेकै समय हो, बाँच्नु पनि एउटा समय हो । जसरी अर्थ लगाउँदा पनि अर्थिने समयका संवेगात्मक क्षणहरू नै साँचो अर्थमा जीवन हो ।”

समय संवेग पुस्तकको आरम्भमै भनिएको अघिको भनाइ  डा. अञ्जना वस्ती भट्टराईबाट मैले यहाँ लिएकी हुँ । हाम्रा हरेक निमेष, हरेक भोगाइ, हरेक संयोग र पद्धतिहरू अनि स्वयं जीवन कति अस्थिर, कति अस्थायी छ । हाम्रा विचार पनि त्यस्तै अस्थायी छन् । यद्यपि जीवनभन्दा त्यो धेरै लामो छ, अर्थात् उसका विचारले नै उसलाई जीवन्त बनाएको हुन्छ ।

त्रिवि अङ्ग्रेजी शिक्षा विभागको उच्च पदीय जिम्मेवारी सम्हाल्ने नेपाली महिला यहाँ कति नै होलान् ? यद्यपि त्यो उचाइ र सफलता पनि क्षणिक रहेछ, समयक्रममा एकदिन स्वयं आफू पनि शून्य भइने छ । शनै शनै पेशागत रूपमा  गरिएका कार्यको महत्त्वहीनताको बोधसँगै  डा. अञ्जना भन्छिन्,“ अवकाश प्राप्तिमा रित्तो हात मात्रै रहने छ, सम्पूर्ण प्रतिष्ठा व्यर्थजस्तै हुन्छन् । यद्यपि साहित्य एउटा त्यस्तो चिज हो त्यो कहिल्यै व्यर्थ हुँदैन ।  आत्मिक सन्तुष्टिको लागि साहित्यिक मार्गमा म आकृष्ट हुँदै गएँ ।  अनि त्यही सन्तुष्टिलाई जीवनको अमूल्य प्राप्ति ठानेकी छु ।” उनको यही आशयबाट उद्बोध हुन्छ साहित्यिक कर्मको महत्त्व ।

यसअघि नै उनका जीवनका घुम्ती र देउरालीहरू (२०७५) स्मृतिलोकको यात्रा (२०७६) जस्ता दुई संस्मरणात्मक निबन्ध सङ्ग्रह प्रकाशित भइसकेका छन् । उनका अङ्ग्रेजी पुस्तक पनि प्रकाशित छन् । साहित्यका कृति भने ती होइनन् ।  यद्यपि भाषा साहित्यकै सेवा कर्ममा आधृत छन् ।

समग संवेग भर्खरै छापाबाट आएको डा. अञ्जनाको अर्को प्रतिरूप हो  । विचार हो, अवधारणा हो । चिन्तन र चेतना हो । समग्रमा उनको एउटा अस्तित्व पनि हो । झण्डै एकदशक समयावधि प्रतिविम्बित गरिएका यस सङ्ग्रहमा एक्काइस वटा निबन्ध समाविष्ट छन् । लेखकको निजी भोगाइ र अनुभूतिसँगै  मानव मनका कुरा छन्  । अझ प्राचीन युगदेखिको आदिम चेतनाले निर्देशित समाजलाई, सभ्यता र शिक्षाले पनि परिवर्तन गर्न नसकेको एउटा समाजको मनोविज्ञान छ । बाह्य आवरणमा सुसंस्कृत देखिए पनि मनोविकृतिले व्याप्त आन्तरिक जगत् नै कृतिको विश्लेष्य पाठ रहेको छ । मानिसको अन्तर्मनलाई सूक्ष्म तरिकाले ध्यान दिइएको हुँदा यो कृति मनोविज्ञानको निकट रहेको छ । मानिस हिँड्दै छ, बोल्दै छ, केही कर्म गर्दै छ परन्तु म के गर्दै छु ? कुन चेतनाले नियन्त्रित छु, उसले हेक्का राखेको हुँदैन । त्यसो किन भयो भने, उसको अवचेतन मन युगौँ युगको आदिम अवधारणा, संस्कार र रुढताले निर्देशित छ । त्यसैले उसलाई घरी घरी असभ्य र असंस्कारिक बनाइदिन्छ । शिक्षित र परिष्कृत विद्यमान अवस्थाले पनि हाम्रो परम्परित चेतनालाई पराजित गर्न सकेको हुँदैन । अवशेषको रूपमा त्यो रहिरने छ, पुस्तान्तरण हुँदै जाने छ । यस कृतिमा तिनै पुस्तान्तरित आदिम चैतन्यले टाउको उठाउँदा नवोदित युगका मानिस पनि बेलाबेला प्राचीन लाग्न थाल्छन् ।

अनिता पन्थी

अनुभूतिजन्य यी निबन्धमा बेग्ला बेग्लै समयका घटनाहरू छन् । त्यसो त उस्तो ठूलो विषय केही छैन । साधारण अरूको दृष्टि नपर्ने खालका छन् । यद्यपि त्यसले पारेको प्रभाव भने जटिल छ । परिवर्तित समाजको अपरिवर्तित मानव स्वभावले सिर्जिएको असमानता र विभेद चर्को छ । त्यसको विरोध र समर्थन गर्नकै लागि रचिएका निबन्ध भने यी पटक्कै होइनन् । पितृसत्तात्मक सोचको विद्रोह गरी नारीवादी स्वर उराल्ने अभिप्राय पनि यहाँ देखिँदैन । मानिसको नकारात्मकताको हुर्मत लिई प्रतिशोधमा लेखिएको पनि यो होइन । बस्, एउटा द्रष्टा भएर समाज र त्यस समाजको अस्तित्व कायम गर्ने मानिसहरूको स्वभाव अवलोकन गरिएको छ । दोस्रो व्यक्तिसँग चित्त दुखाएर मत विमतको वहस  पनि यहाँ गरिएको छैन । बरु स्वस्थ समाजको परिकल्पना गरिएको छ । नारी र पुरुषको सहअस्तित्वमा सुन्दर जगत्को अपेक्षा राखिएको छ ।

विघटित हुँदै गएको राज्यव्यवस्था र विसङ्गतपूर्ण राजनैतिक गतिविधिदेखि विश्वमहामारीको रूपमा व्याप्त कोरोनाकालीन भोगाइ पनि त्यतिकै छ । परन्तु विपत्तिदेखि डराए भागेको चाहिँ देखिँदैन । मानिस त्यति सजिलै हार्ने स्वभावको हुँदैन । कठिनाइ स्वीकार्नु नस्वीकार्नु त्यो अर्कै कुरा हो । जसले स्वीकार्छ त्यसलाई कठिनाइ पनि कठिनाइ लाग्ने छैन ।

सकारात्मक तथा समन्वयात्मक चेतनाले नै सुन्दर समाज निर्माण गर्न सकिन्छ भन्ने डा. भट्टराईको मान्यता रहेको छ । नारी र पुरुषलाई समदृष्टिले हेर्न चाहने उनको विशेषता भनेकै विरोध र विद्रोहको अपेक्षा नराख्नु हो । समाज परिर्वनको सामर्थ्य विरोध र ललकारमा होइन शब्द शक्तिमा हुन्छ, सहमति र सम्झौतामा हुन्छ, उनको आशय यही छ ।

आरम्भको निबन्ध तपाईँ पनि लेख्नुहुन्छ ? तपाईँ लेख्नु हुन्न ? मा पुरुषले पुरुषवादी दृष्टिले हेर्नु त स्वाभाविकै थियो । महिलाले पनि पुरुषकै दृष्टिमा लेखक भट्टराईलाई, “के तपार्ईं पनि लेख्नु हुन्छ ?” भनी सोधिएको प्रश्नमा मैले व्यक्तिको होइन एउट सिङ्गै युगको आवाज प्रतिध्वनित भएको पाएँ । पुरुषले गरेको सोही कर्म, महिलाले गरे नगरेको प्रश्न उठाउँदा, महिलाले गरेको कर्म चाहिँ पुरुषले गरे नगरेको प्रश्न हाम्रो समाजले किमार्थ उठाएन । किन उठाउँदैन त ? त्यसको मनोवैज्ञानिक कारण  लेखकले खोज्ने प्रयास गरेकी  छन् । यसै सन्दर्भमा पाठकको मर्यादामा रहेर, मलाई पनि एउटा प्रश्न गर्न मन लाग्यो, त्यो प्रश्न चाहिँ हाम्रै पुरुष समाजलाई जाने छ,“के तपाईँले बच्चा जन्माउनु भयो ?” एउटा पुरुषलाई बच्चा जन्माए नजन्माएको प्रश्न सोध्नु एकदमै असान्दर्भिक छ । यद्यपि यसको आशय त निश्चय बुझ्नु भयो होला ।

आफूलाई सोधिएका प्रश्न प्रतिप्रश्नप्रति सर्जक थोरै पनि रुष्ट छैनन् । आनी छोइङ डोल्माको गीत स्मरण गर्दै बरु भन्छिन्, “जसले जे सम्झेर प्रश्न गरे पनि मैले त्यसलाई फूलै सम्झिएकी छु (पृ–६)।”  यसो भन्न सक्नु उनको महानता हो । प्रस्तुत भनाइबाट प्रभावित भएर, यसै निमेषदेखि जीवनको सिलसिलामा त्यसलाई सूत्रबद्ध गर्ने मैले प्रतिज्ञा गरेँ ।

समाजमा सकारात्मक सुधार ल्याउन हाम्रा दैनिकीका सूक्ष्म कुरालाई विशेष ध्यान दिनुपर्छ । भट्टराईको चेतना मलाई हजार माइलको यात्रामा, पहिलो पाइला लागेको छ । आफू बदलिन सक्नुपर्छ अनि त ठूला ठूला साम्राज्य पनि धरमराउन थाल्ने छन् । अजङ्गका मुढाका मुख पोल्ने हैसियत सूक्ष्म कुरामा हुन्छ । नित्य हाम्रा क्रियाकलाप, सोच र चरित्रले नै सभ्य समाजको आविष्कार गरेको हुन्छ । हो उनी त्यही आविष्कारकको काममा लागेकी छन् ।

प्राकृतिक रूपमै महिला कोमल हुन्छन्, धर्तीले जस्तै  अनेक कर्म, अनेक व्यवधान सहन्छन् । अरूका इच्छा पूरा गराएर सन्तुष्ट भएकी धर्तीले आफ्नो लागि कहिले मागिन् र अधिकार ? प्रकृति, सृष्टि, नारी एउटै कुरा हुन् । उनीहरूको महानतालाई तुच्छ देख्ने हाम्रा पुरुष जातिले एकपटक अध्ययन गर्नै पर्ने कृति छ, समय संवेग । अरू केही नभए पनि थोरै उज्यालो त पस्थ्यो कि ? अनि हाम्रो सभ्यतामा समन्वयको पाठ सही तरिकाले अर्थिन्थ्यो कि ? उग्रवादी नारी स्वर पनि केही नरम हुन्थ्यो कि ?

कृतिमा लेखकको ठूलो अपेक्षा छैन  । बस्, नारीले गरेका त्याग, समर्पण र पुरुषले गर्न नचाहेका  या गर्न नसकेका उनीहरूको कर्मको आदर गरियोस् ।  लेखकको यो दृष्टिकोण, विरोधको समवेत स्वरभन्दा हजारौँ गुणा शक्तिशाली लाग्यो । अर्थपूर्ण र सार्थक लाग्यो  । शायद यसैलाई शान्तिपूर्ण विरोध भनिन्छ होला । उनका विचारहरू यस्तै शालीन छन् सौम्य छन् । महिला अपेक्षामा गहिरो मनोविश्लेषण गर्दै उनी भन्छिन्, महिलाहरू पुरुषबाट सहकार्य र सहअस्तित्व चाहन्छन् । हेर्नु त आखिर महिलाले बडो मूल्यको आशा नै के राखेका छन् र  ? त्यो सानो अपेक्षा पूरा नहुँदा उनीहरू कसरी मर्माहत  भएका हुन्छन् ।

चुचुरो खनेर पहाड कहिल्यै ढाल्न सकिँदैन, त्यसको लागि त फेदमै खोतल्नु पर्छ । समय संवेगले त्यही फेद खोतल्ने काम गरेको छ । वर्तमान समयमा बढ्दै गएको हत्या हिंसा (बलात्कार–कतिले यसलाई पुरुषत्व ठान्लान्) ले डगमगाएका नारीहरू असुरक्षा बोधले शिथिल छन् । महिला हिंसा तथा निन्दनीय घटना एकपछि अर्को थपिँदै जाँदा लेखकको उद्विग्न मनले पुरुषत्व नै पशुत्व भएको ठहर गर्छ ।  क्रुरता र दुष्टता प्रदर्शन गर्ने  पुरुषको जननेन्द्रिय नै निष्क्रिय बनाउनु पर्ने उनको राय मलाई ठीकै  लाग्यो । अनि त नारीले असुरक्षा बोध गर्नु पर्ने थिएन ।

समाज सुधारका सूत्रजस्ता लाग्ने भट्टराईका निबन्धले समाधानको विकल्प खोजेका छन् । कारण (समस्या) किन र कसरी पैदा भयो, त्यसको पहिचान गर्ने प्रयास पनि छ । सन्तान विभेदक सोच, नारीको शिक्षा चेतना, अवसर नै उन्नतिको ढोकालगायत आलेखमा हाम्रो सामाजिक संरचनाले नारीलाई अभै पनि कुन तरिकाले पछाडि खिच्दैछ, त्यसबारे चिन्तन गर्दै उनी भन्छिन्, वास्तवमा नारीहरू कहिल्यै कमजोर थिएनन् । कमजोर बनाइएका हुन् । ‘तिमीहरूले यो जटिल काम गर्न सक्दैनौ’ भनी महिलाहरूलाई मानसिक रूपमै झिल्स्याएर, डामेर निष्क्रिय बनाइयो, धेरै अघिदेखि । त्यो डामिएको मानसिकता, अब बिस्तारै बौरिँदैछ । त्यस्तै महिलाहरू असुरक्षित हुनु, उनीहरू दुर्बल भएको कारणले होइन, अर्को ठाउँमा लेखक भन्छिन्, “… यसरी चिन्तित हुनु पर्ने छोरीहरूले गर्दा नभई छोराहरूको वा भनौँ समाजको कारणले रहेछ । महिलालाई भोग्याको रूपमा हेर्ने अनि सोही अनुरूपको आचरण प्रदर्शन गर्ने दृष्टिकोणले … (पृ–२७)।”

आफूले आफैँलाई छल्नु दुःख हो, सिद्ध मुनिहरू यही भन्छन् । आफूलाई ढाँट्नु भनेको आफैँदेखि भाग्नु हो, डराउनु हो । सत्यता स्वीकार्न मानिसलाई ठूलो आँट चाहिने रहेछ, प्रकृतिको स्वाभाविकतालाई बुझ्न अन्तर्ज्ञानको आवश्यकता पर्ने, स्रष्टाको अनुभव  रहेको छ ।  कपाल सेतो मेरोः मन तरङ्गित अरूकोमा यही कुरा छ । असमयमै फुलेको कपालले आफूलाई केही फरक नपार्ने थाहा पाएपछि, उनले  कपाल रङ्ग्याउन छोडेकी छन् । त्यसपछि आएका टीका टिप्पणी आलोचना तथा चर्चाहरू बडो उदेक लाग्दा छन् ।

कृत्रिमता नित्य घातक हुन्छ । फेरि अर्को कुरा सत्यलाई छोप्न गरिएको प्रयास कहिल्यै सफल हुँदैन । जस्तो छ त्यसलाई ठीक मान्नु नै सही अर्थमा अकृत्रिमता हो  । दुःखको कुरा मानिस त्यसलाई किञ्चित रुचाउँदैनन् । त्यसैले दुःख पनि थपिइरहेको छ । नक्कली आवरणले छोपिएर अरूको दृष्टि छल्दा आफूप्रति किमार्थ न्याय हुन सक्दैन । लेखकको अनुभूति यस्तै रहेको छ ।

मानिसको काम त सदा अरूको आलोचना गर्नु नै हो भन्ने, सही दृष्टान्त बनेको छ सेतो कपाल ।  अरूको दृष्टिकोणले आफूलाई केही फरक नपार्ने कुरा यहाँ मैले राम्रोसँग बुझ्न सकेँ  । यो लेख पढ्दा मलाई एकदम आश्चर्य लाग्यो । आश्चर्य त्यो कपाल फुल्नुसँग होइन, दोस्रो व्यक्तिको कपाल फुलेकोमा व्यर्थको चर्चा गर्ने नेपाली मनोविज्ञानसँग रहेको छ । यही त हाम्रो पछौटेपनको परिचयक हो । बाह्य आवरणले अरूको दृष्टि छेले पनि समयलाई छेल्न नसकिने यथार्थता अझै पनि हामीले बोध गर्न सकेका छैनौँ ।

त्यस्तै औपचारिक शिक्षाले मानिसलाई परिर्वतन गराउन नसकेको विडम्बना छ । बरु ढोँगी र जडीभूत बनाउन मद्दत गरेको छ । अन्तर्तहबाट निसृत ज्ञानले मात्र उसलाई समझदार बनाउन सक्छ । अलिहेको शिक्षाले उसलाई प्रकृति विरुद्ध बाँच्न सिकाएको छ । प्रकृतिलाई सकार्न पनि एउटा साहस चाहिने छ । त्यही साहस गरेकी छन् यहाँ डा. भट्टराईले  ।

कति कति बेला स्रष्टा आफैँसँग संवाद गर्छिन् । समाजसँग, हाम्रा परम्परासँग अनि लैङ्गिक विभेदसँग । विकृति विसङ्गतिप्रति उनको चासो छ । असन्तुष्टि र गुनासो नगर्ने उनी एक महिला सर्जक हुन् ।  पुस्तकमा उनलाई, मैले यसरी नै चिनेँ । दुखेसो अलाप्ने स्रष्टा मलाई एउटा रुन्चे बालकझैँ लाग्छ ।

हरेक समाजको, मानिसको आ–आफ्नै आदिम चेतना हुन्छ । त्यही आदिमताले ऊ निर्देशित हुन्छ । औपचारिक शिक्षाभन्दा त्यो कैँयन् गुणा प्रभावक हुन्छ । हाम्रा चालचलन र परम्परा त्यसैले निर्धारण गरेको हुन्छ । समय संवेगमा त्यही आदिमताले सञ्चालित मानव स्वभाव र चरित्रका कुरा छन् । मानिस आफूसँग जे छैन, त्यो छ भनाउन चाहन्छ । त्यस्तै आफू जे होइन, त्यही हुँ भनी देखाउन बल गर्छ । त्यसैले झूट र बेथितिको आवरण तुन्न थाल्छ । त्यसैमा ऊ अर्थिएको हुन्छ । कृत्रिमता रुचाउनुको प्रधान कारण पनि यही हो । कृतिमा एउटा यस्तो कम्पन छ, निश्चय यसले अलिकति भने पनि सकारात्मकतातिर फर्काउन सक्छ । नैतिक बोध गराउन सक्छ । यसरी दैनन्दिन सूक्ष्म मनोभावना अध्ययन नगरी फ्रायड एक्कासी मनोवैज्ञानिक भएका होइनन् । मनोवैज्ञानिक बन्ने प्रारम्भिक चरणको अध्ययनमा शायद फ्रायडले पनि यस्तै मसृण कुरालाई ध्यान दिएका थिए ।

बित्थामा अरूको चासो राख्ने, उसको दुर्बलताको खोजी गर्ने स्वभावकै कारण हामी पिछडिएका छौँ । समय संवेगका प्रायः रचनाहरू विचारणीय छन् । त्यस्तै दर्पणबाट पनि म खूबै प्रभावित भएँ । बडो घत लाग्दो कुरा छ । हामीले बुझ्दै आएको सोझो र बाठोको समय सान्दर्भिक अर्थ मननीय छ ।

सकारात्मकता कृतिको अर्को उल्लेख्य पक्ष हो । मानिस अरूको सानो कमजोरीलाई पनि पहाड बनाइदिन्छ । त्यसको विपरीत लेखक भन्छिन्, “मानव ज्ञान सधैँ अपूर्ण हुने हुनाले जति सिके पनि अज्ञानता बाँकी नै रहन्छ (पृ–६२)।”

पुष्प र मानव सभ्यता, बास्नाको मोल, नामाकरण र अर्थ निर्माणलगायत निबन्धमा प्रकृति र मानवको सम्बन्ध अनि  पर्यावरणीय चेतना छ । प्रकृतितर्फ फर्क भन्ने आशय पनि छ  । कृत्रितमताले हामी बर्बाद भइरहेका छौँ । त्यसको वास्ता हामीले गरेकै छैनौँ ।   पुष्प पहिचान र त्यसको उपयोगितासँगै, मानव सभ्यता उदय भएको कुरा, मलाई एकदम हो जस्तै लाग्यो  । श्रीलङ्काको पेरादेनियामा अवस्थित रोयल बोटानिकल गार्डेन्स अवलोकनको सन्दर्भ मलाई  नौलो लाग्यो । माओवादी झार र माओवादी कमिलाको प्रसङ्ग सामान्य छ तर त्यसले भन्न खोजेको कुरा कति गम्भीर छ भने नि, त्यसले दश वर्षे युद्धको प्रताडना फेरि सम्झाएको छ । त्यस्तै अर्को के भने नि, यसअघि कहिल्यै ख्याल नगरेको कुराले, मलाई एउटा प्रश्न गरेको छ । नेपाली पैसामा जरायो, खरायो, बाघ, हात्ती, गैडा कुन अर्थमा राखिएको होला ? हाम्रो परम्परामा प्रकृति प्रेमका पाठ प्रशस्त रहेका छन् । किन्तु त्यसलाई गम्भीर दृष्टिले किमार्थ हेरेका हुँदैनौँ ।

समय र परिस्थितिले जीवन पद्धतिसँगै भाषालाई अत्यन्तै प्रभाव पारेको हुन्छ । शब्दको अर्थ विस्तार र सङ्कुचन त्यसैले हुने गर्छ । शब्द निर्माण र अर्थ परिवर्तन, थेगोजस्ता निबन्ध भाषा व्याकरणको निकट रहेका छन् । यी निकै महत्त्वपूर्ण पनि छन् । सान्दर्भिक र प्रभावकारी छन् । भाषा र समाजको अध्ययन मानव इतिहासकै अध्ययन गर्नु बराबरको कुरा हो । यस्ता निबन्ध लेखिनुको अभिप्राय नेपाली भाषा बचाउको अभियान त होइन ?  । अङ्ग्रेजी तथा  आगन्तुक शब्दले  निमेष निमेषमा हाम्रो भाषालाई अतिक्रमण  गरिरहेका छन् । प्रविधि तथा सामाजिक सञ्जालको ज्यादा प्रभाव पनि भाषामै परेको छ । सचेततापूर्वक आफ्नो भाषा प्रयोग गर्यौँ भन्ने चिन्ता र सन्देश यहाँ दुवै छ । उनी भन्छिन्, “विश्वमै अन्य भाषाबाट शब्द सापटी लिने उदार भाषा अङ्ग्रेजी होला तर अङग्रेजीमा आफूसँग नभएका  शब्द मात्र सापटी लिइन्छ । हाम्रो देशका भाषाहरू भने आफ्नो शब्द हुँदाहुँदै पनि सापटी लिने प्रचलन छ । यो प्रचलन कालान्तरमा घातक हुन सक्छ (पृ–९३)।”

सभ्य समाजको प्रमुख आधार नै भाषा हो । विदेशीहरू यस सम्बन्धमा कति सतर्क हुन्छन् । यता हामी भने अरूको सिकोमा रमाउँछौँ । त्यो सही वा गलतको महसुस  पनि गर्दैनौँ । थेगो निबन्ध त पाठ्यक्रममै राख्नु पर्ने खालको छ ।

सयम संवेगका प्रत्येक  निबन्धमा एउटा सचेतनाको झिल्को छ । यद्यपि पाठकलाई नीति सिकाउने, सन्देश दिने खालको परम्परित रुढ ढाँचाको भने होइन । अनुभूति र विचारको मिश्रणले ती ग्राह्य छन् । निजात्मकता, केही तथ्यात्मक छन् ।

साहित्यलाई हामी कति जटिल तरिकाले बुझ्छौँ । वास्तवमा साहित्य त्यस्तो जटिल विषय नै होइन । स्वयं आफू बाचेको समय, परिवेश र आफैँसँगको मिठासपूर्ण भाषिक संवाददेखि अरू के नै हो र ? दार्शनिक क्रोचेका अनुसार हामी सबै साहित्यकार हौँ । फरक त्यति हो, थोरै व्यक्तिले मात्र बाह्य रूपमा उक्त संवादलाई प्रकटीकरण गर्छन् । डा. अञ्जनाका निबन्ध पढ्दा मैले यस्तै बोध गर्न सकेँ ।

महाव्याधिले विश्वलाई नै बन्दी बनाएको बेला, यदि साइबर सुविधा हुँदैनथ्यो भने मानिस कति निसासिन्थे होलान् ? कोरोनाको लकडाउनमा सृजना, कोरोना संक्रमण र यसको व्यवस्थापन, पृथक्करणका स्वरूपमा कोभिड फेरि सल्बलाएको छ । लकडाउनमा फुर्सदिला भएका मानिसको पर्दापछाडिको अनुहार सामाजिक सञ्जालमा, अनेक आकृतिमा पोखिएका छन्– तिनको मनोविज्ञान विचित्रको छ । कोरोनाकालीन मानिसको मनस्थिति, त्यसले पारेको प्रभावका सम्बन्धमा, यस्ता लेख रचना भोलिका दिनमा एउटा खोजअनुसन्धानकै विषय बन्न सक्छन् ।

त्यस्तै महामारीको हाहाकारलाई एकथरीले अवसरको रूपमा लिँदैछन् । संकट अझ महासंकट बेचेर अजीर्ण हुनेहरू यहाँ प्रशस्त छन् । त्यस्ता टाठा बाठाले नित्य देश र जनताको, संकटको अपेक्षा  गर्दै हुन्छन् । मृत्यु र सन्त्रास भोग्नुदेखि अर्को छनोट नहुँदा उनीहरू भने उत्सवको होली खेल्ने गर्छन् । सामाजिक सञ्जलसँग अद्यावधिक स्रष्टाले केही सामग्री त्यसैबाट लिएकी छिन्, जस्तो कि–

मृत्युको डर केहो अमेरिकालाई सोध !

आफन्त गुमाउनुको पीडा केहो स्पेनलाई सोध !

लासको पहाड कस्तो हुन्छ इटालीलाई सोध !

विश्व रोइरहेको अवस्थामा,

कसरी भ्रष्टाचार गर्न सकिन्छ,

नेपालका नेतालाई सोध !

सहारा चाहिएको बेला तिनकै दुःख र कष्टकालाई सौभाग्य देख्ने, कालाबजारी गर्नेहरू हिजो पनि थिए, अहिले पनि छन् भोलि पनि रहलान् । मरेकालाई अझै मार्ने नीति नित्य चलिरहने छ ।

नेता तथा राजनैतिक दलको तानाशाही र भ्रष्ट व्यवहारले, राजनीतिप्रति सर्वसाधारण नागरिकको वितृष्णा बढेको बेला छ । देशको बाग्डोर सम्हाल्ने शक्ति प्राप्त गरेपछि,  उसमा अहङ्कार चुलिँदै जानेरहेछ क्यार ! शक्तिको उन्मादमा लेखकले त्यही बुझेकी छन् । विषादको चुडान्त घडीमा समेत उनीहरू संवेदनशील नहुँदा आम नागरिकमा क्रोध र निराशा बराबरी पैदा भएको छ ।

तत्कालीन परिवेशका भोगाइ र अनुभूतिमा, एउटा बेग्लै निबन्ध वीरेन्द्र शाहको नेपाल भ्रमणले, पाठकलाई अब कता लैजाने हो  ? भनूँजस्तो भयो । एउटा उत्सुकताले म आन्दोलित भएँ । राजा वीरेन्द्रको अतीत स्मरण गरिएको होला, अनुमान लगाएँ । पढ्दै जाँदा कुरा अर्कै रहेछ । कथात्मक ढाँचाको यस निबन्धले के बताउँछ भने, अब डा. अञ्जनाले कथा विधामा पनि कलम चलाए हुन्छ । राम्रो लाग्यो कथा र निबन्धको मिश्रित रूप । राजा (मृतात्मा)  देश भ्रमणको लागि स्वर्गबाट झरेका छन् ।   बेतिथि, अनियमितता र नेताको स्वेच्छाचारी प्रवृत्तिबारे उनैको मुखबाट बोल्न लगाइएको छ । राजतन्त्रीय व्यवस्थामा देशले समृद्धिको बाटो लिएन, जनताका हक अधिकारहरू  बञ्चित भएको आक्षेप लगाउने तिनीहरू नै अहिले तानाशाही भएको अर्थ यसले दिन खोजेको  छ । त्यस्तै देशको खल्बलिँदो अवस्थाले मृतात्मलाई पनि शान्ति नमिलेको हो कि भनूँ लाग्छ । फेरि अर्को कुरा, राजा वीरेन्द्र राष्ट्रप्रेमी थिए, जनाताप्रेमी थिए भन्ने अर्थ पनि हुन सक्छ । जुन कोणबाट हेरे पनि देशको दुर्दशाले कोक्याएको लेखक मन बोलेको हो । लथालिङ्ग व्यवस्थाले स्वर्गबाट झरेका राजा उद्वेलित भएको देखाउनु, देशको अवस्थाप्रतिको चिन्ता हो ।

वास्तवमा समाज हाम्रै मनभित्रको प्रतिविम्ब हो । सारांशमा भन्नुपर्दा समय संवेगको थिम पनि यही हो ।  हाम्रै मन, हाम्रै समाजको आकार त्यसले दिएको छ । विरोध, प्रतिरोध, असन्तुष्टि त्यस्तो केही छैन । केवल समय र परिस्थितिको निष्पक्ष भोक्ता भएर, आफू बाँचेको समय र अवस्थितिसँग संवाद गरिएको छ । ईर्ष्या, द्वेष, राग, विराग केही छैन । असहिष्णुता पनि छैन । स्वतन्त्र विचार राख्ने स्रष्टा नै साँचो अर्थमा समाजको एउटा द्रष्टा हो । लेखकले त्यही द्रष्टाको  भूमिका प्रस्तुत कृतिमा निभाएकी छन् ।