साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

छोराको प्रश्नले जन्माएको ‘बा’ !

कविताको कथा

Chovar Blues Mobile Size
नीरा शर्मा

भनिन्छ– आमाले नौ महिना पेटमा बच्चा बोक्छिन् र बाबुले नौ महिना मस्तिष्कमा । हुन त हामीले आमाको व्यवहार र बुबाको व्यवहारमा आकाश र पातालको अन्तर भेट्छौँ ।
“कसको धेरै माया लाग्छ– बाबाको कि मम्मीको ?” अविभावकले बाल मस्तिष्कमै एक किसिमको विभेदको बीज रोपिसकेका हुन्छन्, प्रश्न प्रतिप्रश्न गरेर । त्यो बीज बढ्दै गएपछि त्यो बच्चाले सर्वत्र आमा भेट्छ र बा उसको लागि ओझेल पर्छन् । अपवाद छाडेर हेर्ने हो भने बच्चाको सामीप्य आमासँग धेरै हुन्छ । त्यसैले त हर गल्ती, हर पीडा, हर चोट र दुखाईहरूमा आमाको नाम पहिलो पंक्तिमा आउने गर्छ । मानिस कुनै अकस्मात भयमा पर्दा उसको मुखबाट निस्किने पहिलो शब्द नै ‘आमा’ हो । दुख्दा ‘ऐया नि आमा ! ’ निस्किहाल्छ जो कोहीको मनबाट ।
उसो भए के बाहरू सन्तानको नजरबाट साँच्चै टाढा छन् ? प्रश्न उठ्छ । तर यस प्रश्नको अडिग जवाफ भएर कविता उभिएला सायदै मानिसले सोचेका थिए होलान् । उसो त बालाई सम्बोधन गरेर कविता, गीत, गजल, कथा नलेखिएकै भने होइन । अन्तर्राष्ट्रिय व्यक्तिहरूले पनि बाको बारे आफ्नै शैलीमा कविता प्रस्तुत गरेका छन् । कवि थियोडोर रोथ्केको ‘माई पापाज्वाल्ज’, रवर्ट हेडनको ‘दोज विन्टर सन्डेज’ र सिल्भिया प्लाथको ‘डयाडी’ कविता टड्कारा उदाहरण हुन् । फरक–फरक भूमिकामा चलचित्रका पात्र पनि नभएका होइनन्, बा ।
सर्सर्ती हेर्दा आम मानिसको आँखाले आमामा भावुकता र बाभित्र कठोरता देख्छ । यी त दृष्टिका कुरा भए । तर, यही आँखामा अलिकति फरक दृष्टि राखेर हेरियो भने बा पनि आमाजस्तै कोमल छन् । छायामा परेर धमिलो आकृति देखिनु र यथार्थमै धमिलो हुनुमा धेरै फरक छ । त्यस्तै ओझेलमा परेर धमिलो देखिएका बाको अनुहारलाई कोमल, भावुक, मायालु बनाएर देखाएको छ, कवि नीरा शर्माको ‘बा’ कविताले ।
आम मानिसले वर्षौंदेखि देखिरहेको बाको कठोर अनुहारलाई नै बदल्ने हिम्मत कसरी गरिन् नीरा शर्माले ? के यो उनको साहित्य मात्र हो ? अथवा भोगाई ? कि चर्चाको कुनै एउटा स्कुप मात्र ? हामी सबैको अन्तरात्मामा यी प्रश्नहरू खेलेकै होलान् । हामीले यिनै प्रश्नहरूको जवाफ नीरा शर्माबाटै लिने जमर्को गरेका छौं प्रस्तुत छ ‘बा’ कविता –

बा

मैले धेरै पढेँ
आमाका वेदनाका कथाहरू
तर कहिल्यै पढिनँ
बाका अनुहारमा सलबलाएका
दुःखका वक्र रेखाहरू
धेरै पटक कविले
आमाकै तारिफमा कविता कोरे
आमाकै गीत–सङ्गीत भरे
आमालाई धरती भन्नेहरूले
बालाई कहिल्यै आकाश भनेनन्
र त
बा सधैँ ओझेल परे ।

बारीको डिलमा चुपचाप
ठिङ्ग उभिएको बूढो रुखझैं
बा कहिल्यै उभिएनन्
भन्ज्याङको चौतारीझैं
ढसमस्स बसेनन् बा कहिल्यै
बा त
हाम्रो अँध्यारो मेटाउन
मैनझैँ जलिरहे
हाम्रा खुसी समेट्न
मोनो रेलझैँ चलिरहे
जिन्दगीभर कुदिरहे कुदिरहे
थाकेर सुइय नगरी
सधैँ एक्लै कुदिरहे
त्यसैले त अग्लिँदैछ एक्लोपनको हिमाल
बाको मनभित्र ।

यतिखेर
लम्पसार छ नीरस जिन्दगी
बाकै अघिल्तिर
थिचिएर त्रासले सधैँ
घुरिरहन्छ घ्वारघ्वार
कुम्भकर्णको निद्रामा
बाको अन्योल जिन्दगी
तर बा
कर्कलाको पातमा टलपल शीतझैँ
आँसु टिलपिलाएका आँखामा
निद्रा हराएपछि
खुसीहरूको सिला खोज्दैछन
परेलीका डिलहरूमा ।

बोल्दाबोल्दै भासिन्छ बाको स्वर
बोली बन्द हुन्छ एकाएक
थाहा पाउँछु म गला अवरुद्ध भएको
र पनि दबाएर सबै पीडा मुस्कुराएको अभिनय गर्छन्
म चिन्छु त्यो मुस्कान
त्यो नक्कली मुस्कान
जो बाको होइन– हुँदै होइन ।
फुंग रङ उडेका उदासीका फूलहरू
फुलेका छन् बाका मुहारभरि
चाउरिएर ग्राफ जस्ता गालाका रेखाहरूमा
कतै एक धर्को सन्तोष छैन
कपाल झरेर खुइलिएको बाको तालुमा
जिम्मेवारीको चर्को घामले
उदाएदेखि अस्ताउँदासम्म ठुंगिरहन्छ ।
भित्र मनमा कताकता
विगत र आगतको
उही चिन्ताको पहाड उभिएको छ
र बा त्यही पहाडमा उभिएर
संसार जितेको नाटक गर्छन्
अनि बाँड्छन् हामीलाई
पैंचो मागेका उधारा खुसीहरू
तर यथार्थमा
बा हारिरहन्छन् पलपल
मेरो लागि
तिम्रो लागि र
हाम्रो लागि
हो, बा त्यो हरूवा हो
जो सधैँ हारिरहन्छन्
केवल सन्तानका लागि ।

प्रस्तुत कविता कवि नीरा शर्माको ‘बा’ शीर्षकको कविता हो । सन् २०१५ डिसेम्बरमा फेसबुकमा पहिलो पटक पोस्ट भएको थियो । यो कविताले सामाजिक सञ्जालमा धेरै दिनसम्म आफ्नो एकाधिकार जमाएको थियो । यही कवितामाथि टेकेर धेरै फेसबुक पेजहरूले आफूलाई सामाजिक सञ्जालमा स्थापित पनि गराएका थिए । बालाई पढिरहेकै समाजले कवि नीरा शर्माको बा कविता पढेपश्चात् मान्छेले मान्छेलाई कविताको माध्यमबाट भन्न बाँकी कुरा धेरै रहेछ भन्ने पनि अनुभव गराएको थियो ।
सन्तानले आफ्नो अभिभावकको आँखामा हेर्दा भरोसा देख्छ । अभिभावकले आफ्नो सन्तानको आँखामा भविष्य । कवि नीरा शर्माले अब बा कविता लेख्छु भनेर लेखेकी नै होइनन् । हुन त साहित्य नै त्यस्तो अद्भूत रचना हो, जो न चाहेर लेख्न सकिन्छ । न लेख्दिनँ भनेर नलेखी बस्न नै । तर उनको मस्तिष्कमा बा भने घुमिरहेको उनले भेट्थिन् । अमेरिकामा बसोबास गर्दै आएकी कवि त्यो समय नेपाल आएकी थिइन् । उनको छोरा चितवनमा बसेर चिकित्साशास्त्र पढिरहेका थिए । एकदिन कोठामा बसिरहँदा उनको जेठो छोरो सुयशले आफ्ना बाले अमेरिकामा किन र केका लागि यति धेरै दुःख गर्छन् भनेर गुनासो गरे । कुराकानीकै क्रममा उनले सोधे, “संसारमा आमाले जस्तै दुःख बाले पनि गर्छन् तर साहित्यमा पनि सधैँ आमाको कुरा मात्र गरिन्छ बाको खासै लेखिदैन, किन होला मामु ?”
छोराको प्रश्नले कविको आँखामा आफ्नो बाको अनुहार आयो । कवि नीरा शर्मा भन्छिन्, “मेरो मस्तिष्कमा बा कविताको विजारोपण मेरो जेठो छोराले गरिदिएको हो । छोराले उसको बाबाले जीवनभर गरेको दुःखको कदर गर्दै प्रश्न नउठाएको भए सायद उनको मनमा घुम्ने थिएन मदानी र निस्किने थिएन नौनी भएर ‘बा’ कविता ।”
भोलिपल्ट उनी बा आमालाई भेट्न आफ्नो माइती लमजुङमा पुगिन् । “त्यसपटक बा आमासँगको भलाकुसारीमा मैले बालाई मेरो छोराले उसको बाबालाई बुझे जसरी बुझ्ने कोसिस गरेँ,” उनी भन्छिन् ।
उनले बाको अनुहारमा जे देखिन्, त्यही भावलाई ‘बा’ कवितामा उतारेकी छन् । उनी भन्छिन्, “बा कवितामा कल्पना कत्ति पनि छैन, मैले मेरा बालाई जस्तो देखेँ त्यस्तै लेखेँ । बा कविताको प्रत्येक शब्दमा म मेरा बालाई देख्छु । कविलाई लाग्छ कि संसारमा बा दुई प्रकारका छन् ।”

कविता यति धेरै चर्चित हुनुमा उनी भन्छिन्, “यही कविता कुनै छोराले लेखेको भए यति मन पराइँदैनथ्यो सायद । म छोरी भएर बाको मर्म बुझेको कारण पनि कविताले धेरैको मन छोयो ।”

नीरा शर्मा कवि

एकथरी बा हुन्छन् जसले सन्तान जन्माउनुलाई ‘ठट्टा’ सम्झिन्छन् र उनीहरू प्रतिका सबै जिम्मेवारी आमाको काँधमा जिम्मा लगाएर पन्छिन्छन् । अर्काथरी बा हुन्छन् जसले आफ्ना सन्तानलाई सफलताको चुचुरोमा पुर्‍याउन जम्मै दुःख, पीडा, कष्टको भारी बोकेर आफैँ बेस क्याम्पसम्म पुग्छन् अर्थात् आफ्ना सम्पूर्ण जिम्मेवारी बहन गर्छन् । तर जब सन्तानले सफलताको चुचुरो चुम्छन्, तब बा–आमालाई भुइँको धूलो ठान्छन् । “बुढेसकालमा सन्तानप्रति गुनासो धेरै हुने र तिनै पोकाहरूले थिचिएर हो दुःखी हुने,” कवि थप्छिन् ।
माइतीबाट चितवन फर्कने क्रममा बाटोभरी कविका आँखामा बाको अनुहार मात्र आइरह्यो । बसमा बसेपछि उनले ‘बा’ लेखिन् । बेलुकी चितवन पुगेपछि आफ्नो कविता फेसबुकमा पोस्ट गरिन् । सामाजिक सञ्जालभर उनको बा कविता हजारौँ पटक सेयर भए । कतिले आफ्नो नाम राख्दै अनलाइनलाई दिए । सामाजिक सञ्जालमा बा कविता भाइरल भइरहेको थियो तर कविलाई थाहा थिएन ।
त्यसैबेला साहित्यकार किशोर पहाडीले कवि नीरा शर्मालाई फोन गरेर बा कविता कविको नाम बिना नै सेयर भैरहेको सुनाए । कतिलाई त किशोर पहाडीले नै कमेन्ट गर्दै बा कविताकी रचनाकार नीरा शर्मा हुन् भनेका थिए । तारिफ, चर्चा, अन्तर्वार्ताजस्ता कार्यबाट टाढै रहने कवि नीरा शर्मालाई ‘बा’ कविताले बाहिर ल्यायो । यस कवितालाई सङ्गीतकार हरि लम्सालले सन् २०१७ मा आफ्नो सुमधुर स्वर र सङ्गीत दिएर सुगन्ध थपिदिए । बाको मुख हेर्ने दिन पारेर रिलिज गरिएको उक्त भिडियोले कवितालाई अझ उचाइमा पुर्‍यायो ।
कविता यति धेरै चर्चित हुनुमा उनी भन्छिन्, “यही कविता कुनै छोराले लेखेको भए यति मन पराइँदैनथ्यो सायद । म छोरी भएर बाको मर्म बुझेको कारण पनि कविताले धेरैको मन छोयो ।”
सन् २०१९ मा कवितालाई गायक रवीन शर्माले वाचन गरेका छन् भने समालोचक महेश पौड्यालले यस कवितालाई अंग्रेजीमा अनुवाद पनि गरेका छन् । बा कविताजस्तै फरक धारमा उभिएर कविता लेख्न रूचाउने कवि नीरा शर्मामा अरू धेरै कविताहरू पत्रपत्रिकामा प्रकाशन भइसकेका छन् । उनै नीराको कविताकृतिको प्रतीक्षामा पनि धेरै पाठकहरु रहेका छन् । यो उनका बारे गरिएका कमेन्टहरूबाट पनि बुझ्न सकिन्छ । हामी कवि शर्मालाई उत्कृष्ट कृति प्रकाशनको लागि अग्रिम शुभकामना बोल्छौं ।

प्रतिक्रिया
Loading...