साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ संवाद; अन्धकूप

म आफूलाई लेखकभन्दा बढी पाठक हुन आवश्यक रहेको देखिरहेको छु - झम्क तिमल्सिना

Sahitapost Uttam Kriti 2078- Short list- Andhakup by jhamka timilsina

२०७७ सालमा, साहित्यपोस्टको संयोजन तथा क्रान्तिकारी नेतृ योगमायाका अध्येता उत्तमप्रसाद पन्तको सौजन्यमा स्थापित “साहित्यपोस्ट उत्तम कृति पुरस्कार– २०७८”का लागि ११ पुस्तकहरूको छनौट भइसइसकेको छ । यसै सन्दर्भमा सर्वोत्कृष्ट एक कृतिको घोषणा गर्नुअघि उत्कृष्ट एघार कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट उत्तम कृति पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो ।

यहाँ उत्कृष्ट एघारमा छनोट भएको आख्यान विधाको कृति ‘अन्धकूप’का स्रष्टा झम्क तिमल्सिनासँगको संवाद प्रस्तुत गरिएको छ ।

bahulako diary small and inside post

तपाईँको पहिलो कृति “साहित्यपोस्ट उत्तम कृति पुरस्कार”का लागि उत्कृष्ट पुस्तकको सूचीमा पर्न सफल पर्यो । कस्तो अनुभूति गरिरहनुभएको छ ?

जुनसुकै लेखककालागि पनि आफ्नो पुस्तक उत्कृष्टको सूचिमा पर्नु गौरवको विषय हो । उत्कृष्टको सूचिमा समावेश हुनुले लेखकलाई थप जिम्मेवारीको महसुस गराउँछ । मलाई पनि पहिलो कृति साहित्यपोस्ट उत्तम कृति पुरस्कारको सूचिमा समावेश हुनाले थप जिम्मेवारीको महसुस भएको छ ।

“साहित्यपोस्ट उत्तम कृति पुरस्कार”का लागि ११ कृति छनोट भएका छन् । अर्थात् तपाईँका प्रतिस्पर्धीका रुपमा बलिया कृतिहरु छन् । तपाईँले पुरस्कार जित्नु वा नजित्नुले तपाईँको साहित्यिक यात्रामा के अर्थ राख्छ ?

हो, मैले पनि साहित्यपोस्ट उत्तम कृति पुरस्कारका लागि छनौट भएका केही पुस्तक अध्ययन गरेको छु, केही अध्ययन गर्न बाँकी छन् । जति कृति मैले अध्ययन गर्ने अवसर पाएँ, निःसन्देह नै ती सबै कृतिहरू उत्तम छन् । उत्तम कृतिहरूको सूचिमा पर्नु अन्धकूपका लागि आफैँमा एक अवसर हो । पक्कै पनि पुरस्कारका लागि छनौट हुनु मजस्ता नवोदित लेखकका लागि एउटा गौरवको विषय हो, जसले मलाई निरन्तर साहित्यमा लाग्न प्रेरित गर्नेछ । पुरस्कार नजित्नुले मेरो साहित्य श्रृजनामा पूर्णविराम लाग्ने छैन । यसले सुझबुझसहितको साहित्य सृजनालाई थप मार्ग प्रर्दशन गर्दछ भन्ने मलाई लागेको छ । मेरा लागि पुरस्कार प्राप्त गर्नु वा नगर्नु दुबै तथ्य साहित्य सृजनाका लागि उत्तिकै महत्त्वको हुनेछ । पुरस्कारको प्राप्तिले मलाई निरन्तर लेखनको लागि प्रेरित गर्नेछ भने अप्राप्तिले लेखनमा सुधारका लागि ।

तपाईँ बैंकिङ तथा कानून पृष्ठभूमिको व्यक्ति, साहित्यप्रतिको झुकाव कसरी भयो ?

साहित्य कसैको एकलौटी हुनसक्दैन, न त साहित्यभन्दा बाहिर कोही हुनसक्छ । संसारका हरेक मान्छे साहित्यसँग जोडिएका हुन्छन । जीवन र जगतको भोगाईको कथा नै साहित्य हो । त्यो भोगाई कतिले लेख्छन्, कतिले भोग्छन् । भोग्ता र लेखक सबै साहित्यिक पात्र हुन् । भोगाईका कथालाई जसले लिपिबद्ध गर्छ त्यो लेखक भयो, जसले भोगेका छन् ती पात्र भए फरक यति मात्र हो । त्यसैले बैंकिङ वा अन्य कुनै क्षेत्र साहित्यभन्दा अछुतो रहन सक्दैन, म पनि रहन सकिनँ । यति हो कि म पनि कुनै लेखकको लागि पात्र हुनसक्छु तर अरूलाई पात्र बनाएर मैले लेख्ने धृष्टता गरेँ ।

“अन्धकूप” किन लेख्नु भयो ? कृति लेखनका अनुभूति र प्रकाशनका बारेमा थोरै बताइदिनुहोस् न !

नितान्त भिन्न कथानकमा आधारित छ, अन्धकूप । विश्वका मानवको अर्कमण्यता लेख्दै गर्दा जन्मियो अन्धकूप । सानो पुस्तकमा सबै घटना र पात्र अट्न सके कि सकेनन्, सबैको कथा लेख्न सकियो कि सकिएन ? किताबमा म मेरै अकर्मण्यता लेख्न चाहन्थेँ, घर,समाज, मेरो देश र विश्वकै कहालीलाग्दो कथा अटाउन चाहन्थेँ । लेख्दै गर्दा किताबले समाजलाई, मुलुकलाई र विश्वलाई केही सन्देश देओस् भन्ने चाहन्थेँ । पात्र र कथाहरुलाई जोडजाड गर्दासम्म यो कथा मेरो थियो, पात्रहरु मेरा थिए । धर्मयुद्ध, गृहयुद्ध र विश्वयुद्ध नितान्त मेरा लेखनका विषयवस्तु थिए । खासमा यो आख्यानको कथामात्र थिएन, कसैका लागि जीवन भोगाई थियो, ती भोक्ता नै उपन्यासका पात्र हुन । क्लिष्ट कथा र पात्रलाई आख्यानमा उर्तादा न्यायोचित व्यवस्थापन गर्न सकियो\सकिएन ? जसरी सकेँ त्यसरी नै सार्वजनिक गरेको छु । धर्म र विज्ञान, सम्पन्नता र विपन्नता, अनेकता र एकतालाई जोड्न बहुराष्ट्रिय परिवेश र पात्रको संयोजन कृतिको लागि चुनौति थियो । नवलेखक, यति जटिल विषयलाई एउटै कथामा जोडेर अन्याय गरेँ कि भन्ने पनि लाग्छ । धेरै कृति जन्मन सक्थे यही कथाभित्र । मैले एउटै माला बनाएँ, धर्मको, युद्धको र मानवताको । कस्तो बन्यो माला, म जान्दिनँ । लेख्दै गर्दा तत् क्षण दिमागमा जे चल्यो, त्यही लेखियो । अहिले नै लेख्ने हो भने पनि कहीँकहीँ केही वाक्य फरक हुने थिए । लेखन कहाँ कहाँ कति अपूर्ण छ, यस विषयमा लेखकको रुपमा मेरो कुनै दलिल छैन । पढ्दै गर्दा पाठकका रुपमा ठाउँ ठाउँमा अपूर्ण देखिनसक्छ । पाठकैपिच्छे त्यो अपूर्णता फरक हुनसक्छ । अन्धकूप अब पाठकको भएको छ ।

नवलेखकको पाण्डुलिपि हेरेकै भरमा प्रकाशनयोग्य ठानेर प्रकाशन गरिदिने पैरवी बुक्स हाउस प्रा.लि.ले मलाई साहित्यिक फाँटमा प्रवेश गराएको छ । पुस्तक प्रकाशनका क्रममा मैले कुनै झन्झट व्यहोर्नु परेन ।

पहिलो कृतिका रुपमै उपन्यास ल्याएनुभयो । उपन्यासको बजारले लोभ्याएको त होइन कतै !

कुनै न कुनै रुपमा साहित्यले समकालीन समाज, देश र विश्वलाई चित्रण गरिरहेको हुन्छ । भोगेको समाज, देश र विश्वलाई लेख्दै जाँदा यसले उपन्यासको रुप लियो । नवलेखकलाई के थाहा साहित्यको बजार ? काव्य होस् वा उपन्यास, राम्रो कृति आफैँमा बजार हो । लेख्दै जादाँ अन्धकूप औपन्यासिक कृतिका रुपमा तयार भयो । कृतिको सारभुत विशेषता हेर्दा यसलाई उपन्यासको कोटीमा राखियो । कुरा यति मात्र हो ।

“अन्धकूप”ले पुरस्कार पायो भने आर्थिक राशिले के गर्नु हुन्छ होला ?

पुरस्कार रकम अहिल्यै यसो गर्छु भन्नु हतारो हुनेछ । पुस्तक बिक्रीबाट प्राप्त केही रकम मसँग छ । त्यो रकम कसरी सामाजिक काममा लगाउन सकिएला भन्ने सोचिरहेकोछु । पुरस्कार प्राप्त भयो भने पुस्तक बिक्री र पुरस्कारबाट प्राप्त रकमसमेत समावेश गरेर साहित्यिक कार्यमै खर्च गर्नेछु । पुरस्कारको रकम म मेरो व्यक्तिगत र घरव्यवहारमा खर्च गर्ने छैन ।

अन्त्यमा, भविष्यको साहित्यिक यात्राका योजनाहरु के के छन् ?

म आफूलाई लेखकभन्दा बढी पाठक हुन आवश्यक रहेको देखिरहेको छु । राम्रो पाठकमात्र राम्रो लेखक बन्न सक्छ भन्ने मलाई लाग्छ । त्यसैले मेरो भविष्यको साहित्यिक यात्रा लेखक र पाठक दुबैको हुनेछ । म कम्तिमा प्रत्येक दुई वर्षमा एउटा कृति प्रकाशन गर्ने गरी साहित्यमा लाग्नेछु । पाठकका हिसाबले भेटेसम्म सबै कृतिहरु किनेर अध्ययन गर्नेछु ।

प्रतिक्रिया
Loading...