
रीता बलामी
विवाहको केही दिन मात्र हुँदैछ । सक्रिय सामाजिक अभियन्तासँग विवाह भएको छ उनको । श्रीमान् युवा पुस्तामाझ लोकप्रिय छन् । नाम चलेको आइएनजिओमा कार्यरत । बेला बेलामा विभिन्न गोष्ठी र सामाजिक अभियानहरूमा लैङ्गिक, जातीय र वर्गीय समानताका पक्षमा सशक्त भाषण गर्छन् उनी । धेरै मानिस प्रभावित छन् उनको भाषण कला र आधुनिक विचारसँग ।
अस्मिताले पनि एक, दुई पटक त्यस्तै कार्यक्रममा भेटेकी उनलाई ।
“हाम्रो समाजमा व्याप्त लैङ्गिक असमानताको अन्त्य हुनका लागि हामीले आफू र आफ्नो घरैबाट त्यसको सुरुवात गर्नुपर्छ । अरुलाई दोष दिइरहनुको सट्टा मैले, तपाईंले, सबैले आ–आफ्नो घरमा आमा, श्रीमती, दिदी, भाउजू र बहिनीहरुलाई विभेदरहित र सम्मानित व्यवहार गरौँ । लैङ्गिक समानता स्वतः स्थापित हुनेछ ।”
पर्रर ताली बज्यो । अस्मिता पनि त्यहीँ थिई । स्पर्श ग˗यो हृदयलाई र प्रभावित नहुने कुरै भएन । हो, उनै आकाशसँग कताकताबाट बिहेको कुरो चल्यो अस्मिताको ।
अस्मिताको पनि आफ्नो पहिचान बनिसकेको थियो समाजमा । क्याम्पसमा प्राध्यापन, नाम चलेको टेलिभिजनमा समाचार वाचन र साहित्य लेखनमा सक्रिय अस्मितालाई पाउन लालायित नै देखिन्थ्यो आकाश पनि । इङ्गेजमेन्टको दिन आकाशपट्टिबाट उपस्थित आमा, दिदी, बहिनीहरु, साथीहरु र आफन्त सबैले आकाशको अनेक प्रशंसा गर्दै अस्मितालाई ढाडस दिए “…सुखी राख्नेछ आकाशले तिमीलाई…।”
अस्मिताले यति बोलिन्, “सुख, दुःख यस्तै हो जीवनमा । सहयात्रा, सहअस्तित्व र एकअर्काप्रति सम्मान भए त्यही सबभन्दा ठूलो सुख हो ।”
“वाउ ! ठ्याक्कै दादाकै जस्तो विचार, जोडीचाहिँ मज्जाले जम्ने भो है !” आकाशको मामाकी छोरीले जिस्क्याई ।
हो, आज बिहे भएको तीन दिन मात्र भयो । आधा, एक घन्टामात्र भयो, दुल्हन फर्कन माइती गएर आएको । तिनै दिदीबहिनीहरुसँग बैठकमा गफिँदै, हाँस्दै बसिरहेछन् आकाश र अस्मिता पनि । एक्कासि आकाशकी आमाले सँगै रहेको बाथरुमबाट बोलाइन् र भनिन्,“बुहारी, अस्मिता ! लौ हेर त… आकाशले अस्तिदेखि नुहाएर छोडेका यी मोजा, भित्री लुगाहरु त त्यत्तिकै पो रहेछन् त…,हेर.. दुई, तीन दिनका एकै ठाउँमा थुपारेर पो राख्या रहेछ ! धोएर सुकाइदिनुपर्ने । गनाइ पो सकेछ कि क्या हो … हैन यो आकाश पनि के भको हो.. भन्नुपर्छ नि बुहारीलाई आफैँ !”
एकाएक गफ, हाँसो टक्क रोकियो कोठामा । अस्मिता त झसङ्ग भइन् । मनमा खै कस्तो, कस्तो हुरी आयो । माइतीमा लैङ्गिक समानताको बहस नगर्ने दाजु र बुबाले समेत त्यस्ता कपडा कहिल्यै आमा र भाउजूलाई धुन दिएनन् । अस्मिताले भाउजूलाई कराएर बुझाएर दाइको १० वर्षको छोरालाई समेत त्यस्तो काममा बानी पार्दिसकेकी छ । उनको मन सारै अमिलो भएर आयो । कोठाका सबैजना घरी अस्मिता र घरी आकाशलाई हेर्न थाले । अस्मिताको कानले पनि तीव्र प्रतीक्षा गरिरह्यो आकाशको केही बोलीको । सब मौन थिए । तर आकाश बोलेन पटक्कै । बरु मोबाइलमा के-के थिच्दै नबोली बाहिर पो निस्क्यो ।
अस्मिताको कानमा आकाशको त्यो भाषण अहिले कर्कश ध्वनिमा गुन्जिरह्यो, “…अरुलाई दोष दिइरहनुको सट्टा मैले, तपाईंले, सबैले आ–आफ्नो घरमा आमा, श्रीमती, दिदी, भाउजू र बहिनीहरुलाई विभेदरहित र सम्मानित व्यवहार गरौँ । लैङ्गिक समानता स्वतः स्थापित हुनेछ ।”
यत्तिकैमा फेरि बाथरुमभित्रबाट आवाज आयो, “बुहारी ! सुनिनौ ?”
फर्पिङ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

