साहित्यपोस्टको संयोजन तथा लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीको सौजन्यमा स्थापित “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार– २०७८”का लागि ९ काव्यकृतिको छनौट भइसइसकेको छ । यसै सन्दर्भमा सर्वोत्कृष्ट एक काव्यकृतिको घोषणा गर्नुअघि उत्कृष्ट ९ कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो ।

यहाँ उत्कृष्ट नाैमा छनोट भएको कवितासङ्ग्रह ‘निर्मल तलाउमा तरङ्ग‘का स्रष्टा शशी भट्टराई श्रेष्ठसँगको संवाद प्रस्तुत गरिएको छ ।

तपाईँको पहिलो काव्यकृति “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार”का लागि छनोट भयो । कस्तो अनुभूति गरिरहनुभएको छ ?

मेरो कृति मेरो सन्तान हो । आफ्नो सन्तानले पुरस्कार पाउनु वा पुरस्कारका लागि छनोट हुनु मेरो लागि गर्वको कुरा हो । त्यसैले, “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार”का लागि मेरो कृति “निर्मल तलाउमा तरङ्ग” छनोट हुँदा आज मलाई आफैँप्रति धेरै गर्व महसुस भएको छ । मन हर्षले गदगद् छ । यो कृति मेरो सपना थियो, मेरो वर्षौँदेखिको चाहना थियो । यसलाई स्पर्श गर्नेबित्तिकै मलाई ठुलो विजय हासिल गरे झैं भएको थियो । अझ यसरी पुरस्कारमै छनोट हुँदा त यो मन सातौँ आकाशमा पुगेको छ ।

“साहित्यपोस्ट उत्तम काव्य पुरस्कार”का लागि नौ कृति छनोट भएका छन् । अर्थात् तपाईँका प्रतिस्पर्धीका रुपमा बलिया कृतिहरू छन् । तपाईँले पुरस्कार जित्नु वा नजित्नुले तपाईँको साहित्यिक यात्रामा के अर्थ राख्छ ?

कुनै पुरस्कार पाउनका लागि मैले यो कृति निकालेकी होइन । यो कृतिलाई मैले व्यवसायिक रूपमा लिएकी पनि छुइनँ । त्यसैले, म निसङ्कोच भन्न सक्छु कि मैले यो पुरस्कार नजिते पनि मेरो साहित्यिक यात्रा रोकिँदैन । जितेँ भने मलाई अझै बढी हौसला मिल्नेछ पक्कै पनि, तर यो जितभन्दा पनि ठुलो मेरा लागि मेरो कृतिले इज्जत पाउनु हो ।

“निर्मल तलाउमा तरङ्ग” लेख्नुको तपाईँको मुख्य उदेश्य के हो ? कविता लेखनको अनुभूतिबारे बताइदिनुहोस् न !

मैले अक्षर चिन्न थालेकै दिनदेखि साहित्यलाई आफ्नो साथीको रूपमा लिँदै आएकी छु । मनका हरेक गुम्फनहरूलाई अक्षरमा ढालेर जब म हलुका महसुस गर्थें, तब मलाई आफू कुनै योद्धाभन्दा कम लाग्दैन थियो । मनमा केही कुराले च्वास्स छुनेबित्तिकै मलाई कविताका माध्यमबाट पोख्खिन मन लाग्छ र तुरुन्तै लेखिहाल्छु । यसरी आफूलाई हलुका बनाउने एक मात्र उपाय मेरा लागि कविता नै बन्यो । त्यसैले मैले कविता लेख्न थालेँ, एकपछि अर्को गर्दै ।

तपाईँ कविता किन लेख्नुहुन्छ ? तपाईँको लेखनको प्रेरणा के हो ?

मलाई डायरी र कलम जम्मा गर्न साह्रै मन पर्छ । राम्रा राम्रा चिटिक्क परेका डायरी र फेन्सी कलमहरू सङ्कलन गर्ने मेरो बानी नै छ । तिनीहरूलाई फेरि प्रयोग नगरी बस्न पनि सक्दिनँ । केही न केही मलाई त्यो कलमले त्यो चिल्लो नयाँ डायरीमा कोरिहाल्नुपर्छ । आफूले चाहे जस्तो संसार, आफूले सोचेजस्तो कथा म त्यहाँ लेख्न सक्छु, निर्विवाद म मेरो संसारमा रमाउन सक्छु । त्यसैले मेरो प्रेरणा भनेकै डायरीका चिल्ला पन्नाहरू र सुन्दर कलम नै हुन् । कपी र कलम बन्नुको उदेश्य पनि पूरा हुने र मेरो रहर पनि, आहा ! कस्तो मिठो कम्बिनेसन ।

“निर्मल तलाउमा तरङ्ग”ले यो पुरस्कार पाएको खण्डमा प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ होला ?

किताबबाट आएको त्यो पैसा म किताब मै लगानी गर्छु । अझै पनि धेरै पुस्तकहरू मैले पढ्न बाँकी छ, अझै धेरै कुराहरू बुझ्नुछ, विश्व जगतका अनेकन् गतिविधिबारे विज्ञ हुनुछ, त्यसैले त्यो सबै पैसाले म किताबहरू र केही राम्रा डायरीहरू किन्नेछु ।

अन्त्यमा, भविष्यको साहित्यिक यात्राका योजनाहरु के के छन् ?

योजनाहरू धेरै छन् । लाइब्रेरी खोल्ने मेरो इच्छा छ । आफूले पढेका किताबहरू सङ्कलन गरी एउटा लाइब्रेरीको स्थापना गर्नु छ, जुन म पक्कै गर्नेछु । मुगु र हेलम्बूतिरका नानीबाबुलाई कथाका किताबहरू वितरण गरी, उनीहरूमा पढ्ने संस्कार बसाल्नु छ । सानैदेखि दुःख र अभावमा चाकाचुली खेल्दै आएका, कलिला मनबाट फुरेका र फुस्रा हातहरूद्वारा लेखिएका कथाहरू पढ्न मन छ ।