यस स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।
यसैक्रममा साताका पुस्तकमा योपटक साता पुस्तक । ‘पहाड र लमतन्न समुद्र’देखि ‘अन्तिम हुन सक्छ …’सम्म ; पुस्तककाे छाेटाे परिचयसहित ।
१. अनलाइन साहित्य र भारतेली स्रष्टावार्ता – दीपक सुवेदी
साहित्यकार दीपक सुवेदीले विभिन्न समयमा लिएका अन्तर्वार्ताहरुको सङ्गालो हो, अनलाइन साहित्य र भारतेली स्रष्टावार्ता । पुस्तकमा लामो समयदेखि नेपाली भाषा र साहित्यमा साधनारत भारतेली नेपाली साहित्यकारहरुका जीवन, जगत र लेखनीका अनुभवजन्य कुराकानीलाई पुस्तकले समेटेको छ ।
‘भारतका नेपाली लेखकहरुको परिचयसहित उनीहरुको विचार र साहित्यिक मान्यतालाई नेपालका लेखकहरुबिच पुर्याउन दीपक सुवेदीले स्रष्टाहरुसित गरेको वार्ता परस्पर सद्भावना बढाउन सार्थक पहल भएको छ ।’ पुस्तकको भूमिकामा वरिष्ठ साहित्यकार नरबहादुर दाहाल लेख्छन्, ‘यिनै अनलाइन वार्ताहरु सङ्ग्रह गरी निस्कन लागेको पुस्तक अनलाइन साहित्य र भारतेली स्रष्टावार्ता यस दिशामा अझ सामयिक र महत्त्वपूर्ण कार्य भएको मानिन्छ ।’
पुस्तकलाई पुरुषोत्तम उपाध्याय (दाहाल) ले प्रकाशनमा ल्याएका हुन् । ३ सय ११ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
२. पहाड र लमतन्न समुद्र – पवन आलोक
वरिष्ठ साहित्यकार पवन आलोकको नवीन नियात्रासङ्ग्रह हो, पहाड र लमतन्न समुद्र । कृतिमा आलोकले वैदेशिक यात्राका क्रममा मातृभूमिलाई सम्झेर भावविह्वल बन्दै आफ्नो मुलुकले गर्न सक्ने र गर्नुपर्ने कार्यहरुसमेत नगर्दा देश र जनताले भोग्नुपरेको नियतिलाई भावानुवाद र संवेदनाका साथ प्रस्तुत गरेका छन् ।
‘बाघको खोरमा समेत पसेर निस्केका यी नियात्राकार वर्डसवर्थको चिहान देख्दा पनि आफ्नै भानुभक्त, देवकोटा र लेखनाथलाई स्मरण गर्छन् र राष्ट्रले पर्याप्त सम्मान गर्न नसकेकोमा पछुतो मान्छन् ।’, पुस्तकको भूमिकामा नियात्रा समाजका अध्यक्ष तथा नियात्राकार प्रतीक ढकाल लेख्छन्, ‘… युरोपको झझल्को (२०६७) होस् वा अरुण एक्सप्रेस (२०७३) वा केही सम्झना केही सिर्जना (२०७३) मा नै किन नहोस्, जता जाँदा पनि मनभरि देश बोकेर हिँडेका हुन्छन् र त आफ्नो लेखनीमा सधैँ अग्लिन्छन् उनी ।’
पुस्तकलाई साझा प्रकाशन गृहले बजारमा ल्याएको हो । १५ वटा नियात्रा सङ्ग्रहित ९२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ५ रुपियाँ रहेको छ ।
३. तिलस्मी – गीताश्री शर्मा
भरतीय नेपाली स्रष्टा गीताश्री शर्माको रम्बास कवितासङ्ग्रह हो, तिलस्मी । रम्बास कविताको नवीनतम् उपविधा हो । यसै नवीनतम् विधामा रहेर गीताश्री शर्माले सङ्ग्रह तयार गरेकी हुन् ।
‘भारतीय नेपाली साहित्यमा रम्बास कविता लेखन दिन दुई गुणा, रात चार गुणा भएर बढीरहेको छ ।’, पुस्तकको भूमिकामा दीपक सुवेदी लेख्छन्, ‘तर पनि यसभित्र अझै आन्तरिक विरोधभासहरु रहेका छन् । रम्बास कविता अक्षर गणना गरेर लेखिने भएकोले शब्दबाट अक्षर छुट्याउँदा शब्दको लेखाइलाई नभएर शब्दको उच्चारणलाई आधार मान्ने कि नमान्ने ? एक अक्षरको आवश्यकता परेमा नामयोगीलाई नाम वा सर्वनामबाट छुट्याएर अर्को हरफमा लेख्ने कि नलेख्ने ? पाठकले यो पुस्तक पाउनेबित्तिकै यस प्रश्नको उत्तर खोज्न सक्छन् ।’
कृतिलाई जनपक्ष प्रकाशन, गान्तोकले प्रकाशनमा ल्याएको हो । १ सय ८ कविता सङ्ग्रहित पुस्तकको मूल्य ५ सय रुपियाँ रहेको छ ।
४. कहर – किशन पौडेल
किशन पौडेलको गजलसङ्ग्रह हो, कहर । नेपाली गजलका साधक पौडेल एक कुशल गजलकार तथा गीतकारका रुपमा परिचित छन् । सङ्ग्रहमा सङ्ग्रहित गजलहरु उज्यालो देखाउन अग्रसर देखिन्छन् ।
‘गजलकार किशन पौडेल नेपाली गजल साहित्यका थप एक इँटा हुन् । उनको लेखनले साहित्यमा थप ऊर्जा मिल्नेछ ।’, पुस्तकको भूमिकामा पुष्प अधिकाली अञ्जली लेख्छन्, ‘कतिपय गजलहरुको सञ्चयनमा केही अभ्यास गरिएको भए तापनि उनका गजलहरु अत्यन्तै संवेदनशील छन् । मन र मस्तिष्कलाई छुन सक्ने प्रवाहित शब्दबिम्बहरु छन् । देश खोजिरहेका आफ्नै पाइतालाहरुले टेकेको भूगोलहरुमा निरन्तर देश भेट्न गजलकार पौडेल दौडिरहेका छन् ।’
पुस्तकलाई मातृभूमि साहित्य समाज, हेटौँडाले प्रकाशनमा ल्याएको हो । ६५ वटा गजल सङ्ग्रहित कृतिको मूल्य १५० रुपियाँ रहेको छ ।
५. अन्तिम हुन सक्छ … – सुमन दाहाल
शिष्टाचार अभियन्ता सुमन दाहालको कविताकृति हो, अन्तिम हुन सक्छ … । एक दशकभन्दा लामो समयदेखि शिष्टाचार अभियानमा संलग्न सुमन दाहाल शिष्टाचार अभियान नेपालका अध्यक्ष हुन् । समाजमा देखिँदै आएको मूल्य, मान्यतामा ह्रास र व्यक्तिमा हराउँदै गएको नैतिकता, सदाचारलाई पुनःस्थापित गर्न दाहाल सक्रिय छन् । र, यस कविताकृतिले पनि यस्तै विषयवस्तुलाई समेटेको छ ।
‘कविता, कथा वा अन्य भावना व्यक्त गर्ने विधाहरु साहित्य सिर्जनाका आधारस्तम्भ मानिन्छन् ।’, कविले लेखकीयमा लेखेका छन्, ‘मैले सिर्जना गरेका भावनाहरु क्विता बने–बनेनन्, म भन्न सक्दिनँ । त्यसैले म स्वीकार गर्दछु, मैले भावनाहरु लिपिबद्ध गरेको मात्र हुँ । विशेषतः सदाचार र नैतिकताप्रति समर्पित भावनाहरु यहाँ समेट्न खोजिएको छ ।’
पुस्तकलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो । ६० शीर्षकका कविताहरु सङ्ग्रहित कृतिको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।
६. टिप्पन समालोचना – खेम थपलिया
समालोचक खेम थपलियाको समालोचना–सिद्धान्त र विभिन्न पुस्तकमाथिका समालोचनाहरुको सङ्ग्रह हो, टिप्पन समालोचना । थपलियाले पुस्तकलाई सौन्दर्यशास्त्र/समालोचना, उपन्यास, कथा, निबन्ध/संस्मरण, नाटक/एकाङ्की, कविता/काव्य, राजनीतिक–वैचारिक गरी ७ खण्डमा प्रस्तुत गरेका छन् ।
‘नेपाली साहित्यमा समालोचनासम्बन्धी बहस र पुस्तकहरु ऋलि बढी नै प्रकाशन हुन थालेका छन् । सबै समालोचनाका आ–आफ्ना सापेक्ष मूल्य हुन सक्छन् तर समालोचक खेम थपलियाको प्रस्तुत समालोचनात्मक पुस्तक अलि बेग्लै मूल्य र बहसयुक्त रहेको कुरामा कुनै शङ्का छैन ।’ प्रकाशकीयमा लेखिएको छ, ‘यो पुस्तक नेपाली समालोचना परम्परामा नयाँ विधा जन्माउने प्रयास पनि हो । टिप्पन समालोचना नेपाली समालोचनाको फाँटमा नयाँ समालोचनात्मक पद्धति हो ।’
पुस्तकलाई भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको हो । ३ सय ६३ पृष्ठमा फैलिएको कृतिको मूल्य ५ सय रुपियाँ रहेको छ ।
७. स्मृति बिम्ब – शरद प्रधान
वरिष्ठ साहित्यकार शरद प्रधानको पहिलो गैरआख्यान विधाको कृति हो, स्मृति बिम्ब । भारतीय नेपाली साहित्यको यस्तो दस्तावेज हो स्मृति बिम्ब, जसले यसअघि नेपालमा बिरलै सुनिएका साहित्यकारहरुको गहिरो परिचय दिन्छ । त्यसबाहेक नेपालमा चर्चित भारतीय नेपाली लेखकहरुको यसअघि सार्वजनिक नभएका कतिपय रहस्यमय कुरालाई बाहिर ल्याउँछ ।
पुस्तक प्रकाशन हुनुअघि साहित्यपोस्ट (इ) दैनिक र इकागज पत्रिकामा छापिएका ४२ जना साहित्यकारको एकमुष्ठ साहित्यकारहरूका दस्तावेजले भारतीय नेपाली साहित्यको साङ्गोपाङ्गो चित्र प्रस्तुत गर्छ । ‘पुस्तक तयार पार्न साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला, इकागजका ओपेड सम्पादक विमल आचार्यको सहयोग त रह्यो नै, प्रकाश सायमिको मार्ग दर्शनले पनि ठूलो काम गर्यो ।’, लेखक शरद प्रधानले भने, ‘सबैभन्दा ठूलो सहयोग दार्जीलिङबाट पुस्तक पठाइदिने त्यहाँका साहित्यकारहरूको भावनाले काम गर्यो ।’
साहित्यपोस्टले प्रकाशन गरेको स्मृति बिम्बको नेपाली मूल्य ४ सय ८० र भारतीय मूल्य तीन सय रहेको छ । पुुस्तक नेपालका मुुख्य पुुस्तक पसलहरुमा उपलब्ध छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।