(१)
म संवेदनाबीच हडबडाउँदै गरेको निर्जीव बुढो हुँ । सजीवको गुणहरू भएर पनि म निर्जीवझैं भएँ । बाँचेर पनि म मरिरहेको छु । म बाँच्नुको हेतु पनि मैले भुलिसकेँ । मभित्र भावनाका तरङ्गहरू पनि छैनन् । चाहनाका रहरहरू त उहिले नै मरिसके। भावनाविपरीत मैले गर्न नहुने अकर्म गरेँ । मैले हत्या गरेँ । आफ्नै स्वास्नीको हत्या गरेँ । जीवनसङ्गीकै हत्या गरेँ । जो मेरो निम्ति आफू जत्तिकै प्रिय थिई, उसकै प्राण कसरी मैले लिन सकेँ होला ? जसको मेरो हरेक सुखदुःखमा साथ थियो, उसकै जीवन मैले कसरी खोस्न सकेँ होला ? साँच्चै, मैले किन उसको अपान खोसेँ, अन्वेषणको मुक्तिका निम्ति या मेरै क्रोधलाई न्याय दिन ? म अबोध छु । म अनभिज्ञको पछुतोभित्र अल्मलाउँदै छु तर मैले मालतीको हत्या गरेकै हो । म मालतीको हत्यारा हुँ ।
म आफूभित्रभित्रै यतिसम्म पिरोलिएको छु कि मलाई अब आफ्नो जीवनदेखि कुनै अपेक्षा छैन, न त अब बाँच्ने कुनै चाह नै छ । तर अझै म बाँच्छु कि भन्ने आशा भने कहीकतै टुसाउँछ । कहीकतै पलाउँछ । अनि त्यही टुसाएको र पलाएको आशालाई फुलाउन सोचिरहँदा, ती विगतका सम्झनाहरूले मलाई यसै झँस्काउछन् र म बाँच्ने साहस राख्दिनँ । मैले आत्माकथाको सुखद समाप्तिको निम्ति आत्महत्या गर्ने प्रयासहरू पनि बारम्बार गरेँ तर प्रहरीको निरन्तर परीक्षणले मलाई आफ्नै अस्तित्वको त्यागदेखि रोकिरहेको छ, र बाँचिरहेको छु । म अहिले झ्यालखानाभित्र आफैँलाई समाल्दै, भुलाउँदै अनि अतालिँदै दिनहरू बिताउन कष्ट गर्छु । मलाई २० वर्षको निम्ति जिल्ला अदालतबाट जेलजीवनको फैसला सुनाइयो, र म सजायको निम्ति मेरो जीवनलाई अझैसम्म सास दिइरहेको छु।
आज मालतीले प्राण त्यागेको झन्डै एक महिना हुन आट्यो । अहिलेसम्म त मलाई मालतीको देहावसानले पनि भुलिसकेको होला । मालतीलाई जलाउदा उडेका धुवाँहरू हावामा मिश्रित भैई मलाई चिहाउदै होलान्। जलेर खरानी बनेको उसको शव माटोमै मिसिएर मरणको अनुभूति लिँदै होलान्। आर्यघाटमा मलती जलिरहँदा, मृतदेहको प्रत्येक रापहरूले पनि मलाई सरापे होलान् । म केवल अन्योलहरूबीच फुरेका सहानुभूतिमा यसै झुलिरहेको छु र आफ्नै मृत्युघडीको उत्कट अभिलाषा गर्दै आफ्नै मृत्युको प्रतीक्षामा बसिरहेको छु।
झ्यालखानाभित्र मसहित पच्चीस जना कैदीहरू छन् । कोही ज्यानमारा, कोही चोरीडकैती, कोही झैझगडी र कोही बलात्कारी । मलाई यी कैदीहरूसँगै रहन, घृणितको भाव यसै जागेर आउँछ । जब-जब यस्तै घृणितका भावहरूले मेरो हृदय भाविएर हड्बडाउन थाल्छन् तब मलाई एक्कासि अन्दाजको अप्रिय सत्यताले जस्काउँछ – म पनि त कैदी हुँ । हत्यारा हुँ ।
अनि मभित्र लाजमर्दो भावकहरू यसरी बल्झिन्छन् कि म आफूलाई सम्झेर घृणा गर्न थाल्छु । आफ्नो चरित्रलाई नै घिनाउन थाल्छु । मालतीको अस्मिता हड्तालले आफ्नै हातलाई निहारेर हियाउन थाल्छु अनि आशाको एउटै झरिलो याचना गर्छु – मेरो काल छिटै आओस्। म छिटै मर्न परोस्।
“खाना खाने बेला भयो है !” पुरुषको मर्दन बोली मेरो कानमा आएर ठोकिन्छ।
म झँस्कन्छु । रातको खाना खाने समय भएछ । हामीलाई निगरानी गर्ने प्रहरीले मतर्फ हेरेर उठ्न इसारा गर्छ । सिमेन्टको चिसो भुइँमा बिसाएको मेरो देहलाई म उठाएर खाना खानको लागि लाइन बस्न पाइलाहरू अघि बढाउँछु । सबै कैदीहरू एकाएक गरी खानाको थाल समाएर खान सुरु गर्छन् । म पनि उसैगरी खानाको थाल समाएर भातको सिताहरूलाई हातले भोकोको स्पर्श दिन्छु र खान सुरु गर्छु । सायद स्वादको बानी लगाउनु पर्ने भएर होला, मलाई दुई तीन दिनदेखि खाना रुच्न थालेको छ । तर एक्कासि खाँदै गर्दा केही अप्रिय झल्कोहरूले स्वादको मिठासलाई यसै बिथोल्दिन्छन् र पेट आधा भरेर सुत्ने स्थानतर्फ म फर्कन्छु ।
पुसको चिसो रात । भुइँमा बाख्लो ढस्ना अनि पातलो ओढ्नी । त्यही ढस्ना र ओढ्नीको साहारामा मैले एक महिना बिताइसकेको छु । सिमेन्टको घाम नपर्ने कोठा । निकै जाडो हुने हुँदा म जेब्राझोलाबाट स्वेटर निकाल्छु । कालो रङको मालती आफैँले बुनेको बाक्लो स्वेटर । म स्वटेरको सुवास गहिरिएर सुँघ्छु । आँखा रसिलो, मन भारी हुन्छ। निरन्तरता एक लामो स्वास लिएर म स्वेटर पहिरन्छु । बिस्तारा मलाई कुर्दै हुन्छ । सायद मेरो जिन्दगीमा मलाई कुर्ने भनेको नै यही बिस्तारा र मृत्युमात्र होलान् । मलाई यी दुई कुराहरूको माया पनि लाग्छ । सायद बिस्ताराभन्दा अलिक बढी मृत्युको माया लाग्छ । म एकपटक फेरि बिस्तारातर्फ नजर अडाउछु र अर्को एक रात कटाउन बिस्तारसँग आत्मियता गाँस्छु । निद्रा मलाई कमै मात्र लाग्छ । कयौं कोल्टेहरू फर्किरहेपछि म थाहै नपाएर निदाउँछु ।
(२)
त्यसबेला मालतीको हातले रिबनको प्रयोग गरी दुई चुल्ठी कपाल मिलाएर बाँध्न, सजाएर गाजल लगाउन, स्वादिष्ट खाना बनाउन र फूलहरूको सुन्दर चित्र कोर्न सिकेका थिए । उतिबेलादेखि नै नाचगान र खेलकुदमा उसको कलाको खुब चर्चा हुने गर्थ्यो । ऊ सानैदेखि निकै सिपालु अनि उतिकै चलाख पनि थिई । घरको चुलोकुचोदेखि बाहिरको घाँसदाउरा, मेलापात, गोठालो सबै कामकाजहरू भ्याउँथी । गाउँमा मालतीको सिप, जाँगर, साहस र रूपको निकै गुणगान भैरहन्थ्यो । गाउँघरका सबैको नजरमा बसेर सबैमाझ लोकप्रिय बनेकी मालती मलाई मन नपर्ने कुरै भएन । मलाई पनि मालती असाध्यै मनपर्थ्यो । उसको चालदङ्ग र रुपरङ्गमा म मोहित भैइसकेको थिएँ । खासमा भन्नु पर्दा, मलातीलाई मैले प्रेम गर्न थालेको थिएँ । सायद कन्चन अनि निःस्वार्थ र गहिरो प्रेम ।
गाउँमा वर्षको एकपटक ठूलो मेला लाग्ने गर्थ्यो । त्यही मेलामा नृत्य गर्ने क्रममा मेरो नजरले पहिलोपटक मालतीलाई नियाल्यो । सानो-सानो आँखा । ठिक्कको नाक र निधार । लामो केश । मिलेको जिउडाल । कुनै चलचित्रको अभिनेत्रीभन्दा कम थिइन मालती । नजरको पहिलो हेराइमै मालतीलाई मेरो मुटुको हरेक स्पन्दन स्पन्दनले मन पराएका थिए । हरेक सपनाहरूले सजाएका थिए । हरेक चाहहरूले चाहेका थिए, र हरेक कल्पनाहरूले कल्पिएको प्रेम पात्र थिई मालती।
म खरिदारको जेठो छोरो थिएँ । बा उहिलेको जमानामै सरकारी जागिरे थिए । बाले आफूजस्तै म पनि सरकारी जागिरे होस् भन्ने चाहना राखेका थिए तर सात कक्षा पढेर मैले अध्ययनको सफरलाई विश्राम लगाइदिएँ । गाउँघरका केटाहरू बटुलेर दिनभर डुलिरहन्थेँ । बरालिरहन्थेँ । बिठ्याइँ गर्नमा मभन्दा सिपालु अर्को कोही थिएन । कसैको झगडा भएको खबर सुन्न साथ आँटीको खुकुरी बोकेर अगाडि म नै तम्सिन्थेँ । वल्लोगाउँ, पल्लोगाउँका सबै जवान ठिटाहरू मसँग डराउथेँ । अल्लारे ठिटाठिटीहरूमाझ छुट्टै इमान थियो मेरो उतिबेला । उनीहरूकै मायापिरिम बसाउन पनि मैँ र छुटाउन पनि मैँ चाहिन्थेँ ।
मालती मेरो घरअगाडिको बाटो हुँदै स्कुल जान्थी । म मेरो कोठाको झ्यालबाट मालतीको हिँडाइलाई पछ्याइरहन्थे। उसको केशमा अडिएको ड्टपेन, स्कुले पोसाक, पट्किने बाटा चप्पल र हातको कापीकलमले मलाई तानिरहन्थ्यो । मालती आफ्नै चालमा हिँड्दै हिँड्दै पर-पर हुँदै जान्थी र आगोको झिल्को झैँ झिल्किएर बिलाउँथी । म एकोहोरिएर निहारिरहेको मेरो नजरको परेलीलाई बल्ल झिम्काउथेँ । म मालतीभित्र यतिसम्म हराइसकेको थिएँ कि सायद आफूले नै आफूलाई भेटाउन सक्दिन्थेँ । मलाई भेटाउन त केवल मालतीले सक्थी । उसको प्रेमले सक्थ्यो । उसको चालदङ्गले सक्थ्यो । उसको रुपरङ्गले सक्थ्यो । सायद उसको अस्तित्वले पनि ।
मालतीप्रतिको मेरो एकतर्फी प्रेमयात्राले झन्डै झन्डै दुई वर्षको सफर लियो । ती दुई वर्षको कालभित्र मैले प्रेम प्रस्ताव राख्ने आँट पनि बारम्बार गरिरहेको थिएँ तर मालतीको सामुन्ने मेरो आँट सदैव हारिरहन्थ्यो । कसैको अगाडि हार्न र झुक्न नसक्ने म मलातीको निम्ति भने सधैँभर हारिरहेँ । झुकिरहेँ । तर समयको गतिशील हिँडाइसँगै मेरो आँटले थप साहस पायो र मालतीलाई प्रेम प्रस्ताव राख्ने अठोट गर्यो । चैतको विराट् बुलेकीमा गोठालो जाने बहानामा म मालतीको सामुन्ने उपस्थित भएँ र आफ्नो प्रेमको प्रस्ताव राखेँ । मालती डराई । मालती डराएको देखेर म झनै डराएँ र गाईडिँगा खोज्ने बहानामा प्रेम प्रस्तावको त्यस प्रयासबाट फेरि पनि भागेँ । फेरि पनि हारेँ । फेरि पनि झुकेँ।
मैले प्रेम प्रस्ताव राखेको दिनबाट मालतीले मलाई याद गर्न थाली । कहिलेकाहीँ ऊ स्कुल जाँदा म पिँढीमा बसेर कोदालोको बिड मिलाएको बहाना गर्दै मालतीलाई चिहाइरहन्थेँ । मेरो चिहाइलाई फर्कीफर्की हेर्ने उसको नयनको नजरले न्याय दिन्थ्यो अनि हाम्रा नजरका जुधाइहरूले लुकामारी खेलिरहन्थे । दिन प्रतिदिन मालतीमा मेरो अस्तित्वको प्रभाव परेको मलाई अनुभूति हुँदै गयो, र गाउँकै मेला लागेको दिन फेरि मैले प्रेम प्रस्ताव राखेँ र अन्तमा मेरो प्रेम प्रस्ताव स्वीकार भयो । त्यसपछि म भाग्नु परेन । हार्नु परेन । अनि झुँक्नु पनि परेन ।
बिस्तारै मलातीसँग लुकीलुकी भेट्ने दिनहरू सुरु हुन थाले । गोठालो जाने बहानामा प्रायः हाम्रो भेट भैइरहन्थ्यो। ऊ कहिलेकाहीँ भुटेको भटमास लिएर आउथी । हामीसँगै भएर भटमासको मन्जुल स्वादमा एकाअर्कासँग आ-आफ्नै बेथाहरू बिसाउँथ्यौँ। एक-अर्काका अहानहरू अल्लाउँथ्यौँ। उसले आफ्ना चाहनाका, सपनाका अनि रहर लागेका कुराहरू पनि सुनाउथी र म उसका कुराहरू साकार गर्दिने सङ्कल्प मनमनै गदर्थेँ । एक साँझ, मालतीले गाउँघरमा हाम्रो प्रेमको कुरा फैलिएर टिप्पणीहरू भैइरहेको कुरा बताई । ती टिप्पणीहरूले उसलाई भित्रभित्रै सताइरहेको हुँदा अब बिहे गर्ने कुरा पनि निकाली र उसको घरमा बिहेको लागि हात माग्न आउने भनेर अनुरोध पनि गरी । मैले त्यही रात घर आइपुगेपछि बालाई सबै कुराहरू सुनाएँ । बिहे गरेपछि म अलि जिम्मेवारीबोधी हुन्छु कि भन्ने आशाले पनि सजिलै मेरो कुरा बाले मानिहालेँ । मालतीलाई बुहारी बनाउने कुराले पनि बा निकै खुसी देखिन्थे । आमै पनि उत्तिकै मख्ख थिइन् । म त झन् फुरुङ्ग भैई असीम गगनभरि उडिरहेको थिएँ । मालतीकै भुलभुलैयामा भुलिरहेको थिएँ । मालतीकै कल्पनामा रमिरहेको थिएँ ।
भोलिपल्ट। भाले बाँस्नु अघि नै उठेँ । बढेको केश काटेर चिरिट्याट भैई मालतीको हात माग्नको लागि तयारी भएर बा र म मालतीको घर जाने दोबाटोतर्फ लाग्यौं । बाले मलाई दोबाटोभरि आदर्श र मर्यादाको उपदेशहरू सुनाउँदै थिए, र मैले ती उपदेशहरू सुनेर बुझेझैँ गरी मुन्टो हल्लाउँथेँ। पन्ध्र मिनेटजतिको दूरीमा मालती र मेरो घर थियो । केहीबेरैमा हामी मालतीको घर पुगिहाल्यौँ। मालतीले म हात माग्न आउने कुरा आफ्नो बाआमालाई पहिले नै बताइसकेको रै’छे । बाको इमान गाउँभरि बडो थियो । बाको कुरालाई कसैले पनि नकार्न सक्दैनथे । त्यसैले पनि मालतीको हात मलाई दिन उसको बाआमा सहमत भइहाले, र हाम्रो धुमधामको साथ बिहे भयो । अनन्तः मेरो प्रेमले जित्यो । मालतीको प्रेमले जित्यो । हाम्रो प्रेमले जित्यो ।
(३)
बिहेपछि म जिम्मेवारी हुनुपर्छ भन्ने कुरा बा´ले बारम्बार सुनाईरहन्थे। सुनेर बुझ्ने कुरालाई म मात्र सुनिरहन्थे। उमेरको प्रवाहले भनौ या लागेको आनीबानीले म उस्तै थिए। जस्तो पहिला थिए, उस्तै थिए। त्यस्तै थिए। एकदिन म सबेरै घरबाट निस्किएर सिधै बेलुकीपख घर फर्किए। बा´ रिसाएर गम्भीर भएका रहेछन्। मालती पनि ठुस्सिएर गमक्क परेको थिई। मलाई सुधार्नुपर्छ, मलाई सुधार्न मालतीले मुख्य भुमिका खेल्न सक्छे भनेर मालतीलाई बा´ले त्यसदिन खुबै कराएछन। त्यसपछि मलाई पनि बा´ले कराउन सुरु गरिहाले। मलातीको अनुहारको निराश भावले मलाई एकतर्फबाट निसासिलो बनाउदै थियो। म झनक्क झन्किए। बा´सँगसँगै कराउन थाले। मेरो रिस निकै हानिकारक थियो। रिस उठेपछि म कसैलाई देख्दैन्थे। कसैलाई सुन्दैन्थे। रिसको झोकमा मैले पनि बा´लाई हुनेनहुने भनिदिए “मलाई मेरो अंश देउ, म र मालती छुटै गरि खान्छौ। अब हामीलाई पुग्यो। धेरै किचकिच सुन्न सक्दैनौ।”
मैले अंशको दाबी गरेपछि बा´ले हाम्रो चुलो छुट्याईदिए। त्यसदिनपछि बा´को र मेरो चुलो फरक भयो। आमै र मेरो चुलो फरक भयो। त्यसपछि मालती र म मात्र भयौ र हाम्रो जीवनगतिमा नयाँ मोडको सुरुवात भयो।
बा´र आमैबाट छुटेपछि जिम्मेवारीबाट म टाढा भाग्न सकिन। संघर्ष र लगनशील हुनुपर्छ भन्ने छबि मेरो मानसपटलमा यसरी छाबियो कि मालती र हाम्रो भविस्यको लागि म चिन्तित हुनथाले। सुखद जीवनको परिकल्पना गर्दै बिस्तारै म दु:खद दिनहरूसँग नजिक हुन थाले। दु:खद दिनहरूमा मालती हौसलाको सहारा बनिदिन्थी र मेरो ओल्झाउन लागेको भावनाभित्र प्रोत्साहनको प्रेरणाहरू उब्जिएर आउथे। अनि अझै मिहिनेती र लगनशील हुनुपर्छ भन्ने अठोट गहिरिएर मनभित्र गड्थ्यो।
सुखदुःख। हासो रोदन। उकाली ओराली। खुसी बेखुसी सँगसँगै मालती र मेरो जीवनकालले ३० बर्षको जीवनगति पार गर्यो । ती जीवनकालभित्र कयौं हिउँद, कयौं बसन्त, कयौं शिशिर र कयौं बर्षात फेरिए। मेरो आदर्श र परिभावनाहरू फेरिए। मालतीको विचार र मान्यताहरू फेरिए। हाम्रो जीवन्तलाई अर्थाउने हाम्रै जीवन परिभाषाहरू नै परिवर्तन भए। जीवनसफरको झन्डै झन्डै आधा जीवनकाल हामीले सँगै कटायौ। ती आधा जीवनकालभित्र हामीले दुई छोराहरूलाई जन्म पनि दियौं। सकेसम्म सुखद तरिकाले नै हुर्कायौ। गतिलो शिक्षादीक्षा दियौं। पछि जेठो छोरो नेपाली सेनामा जागिरे पनि भयो। बिहे हुनु अघिसम्म घरको कारोबार सब्बै जेठोले ठ्याक्कठुक्क मिलाउथ्यो तर पछि बिहे गरेपछि बुढीको ढिँपीले गर्दा हामीबाट छुट्टीएर बजारतिर घरबार गर्न थाल्यो। अनि बिस्तारै हामीदेखी आफै बिरानो भएर सारै बैगुनी हुँदै गयो जेठो। यता, कान्छो छोरो स्नातकोत्तर पढ्दै थियो। कान्छो चाहिँ सानैबाट निकै बदमासी। भनेको पटक्कै नमान्ने। साह्रै जिद्दी थियो कान्छो। ठ्याक्कै उतिबेलाको मेरो जवानी गुणहरूले भरिपूर्ण। कहिलेकाहीँ मेरो रिसको झोकमा परेर गाली खाएपछि, मालतीको छेउ गएर निराउरो मुख बनाउथ्यो। मालती भने कान्छो भनेसी आफूलाई नै भुल्थी। जेठोले हामीप्रती आफै माया मारेर गएपछि, जेठोको कमि हुन भने कान्छोले कहिल्यै दिएन। त्यसपछि जेठोको माया पनि कान्छो मै थपियो त्यसैले पनि कान्छोलाई निकै माया गर्थी मालतीले। कान्छोको ख्याल गर्दा गर्दै आफ्नो ख्याल गर्न बिर्सन्थी। कान्छो नै मालतीको निम्ति सबथोक थियो। सम्पत्ति, खुसी अनि साहारा भनेकै त्यही कान्छो भनेर मलाई सुनाईरहन्थी। तर कान्छोको विठ्याई र जिद्दीपनाले गर्दा भने मालती कहिलेकाहीँ हुक्क हुन्थी तर आफूलाई बुढेसकालले छुन लाग्दा पनि कान्छोको चिन्तन गर्न भने कहिल्यै छोडिनी मालतीले।
गाउँमा मेला लाग्ने महिना सुरुभयो। कान्छो एकहप्ता अगाडिबाट नै मेला जानको निम्ति चुरिफुरी गर्दै थियो। मेला लागेको दिन कान्छो घरदेखी बिहानै निस्कियो। मालती भने उसको र मेरो निम्ति खाना बनाउन सुरसार गर्दै थिई। म चाहिँ यसो हातखुट्टा तन्काउन भनेर खेतबारीतर्फ लम्किए।
खेतबारीका डिलहरू जम्मै भत्किएका थिए। गोठबाट कोदालो लागेर डिलहरू सम्माउन तम्सिए। घाम छिप्पिएर गर्मी भैईसकेको थियो। भोकले कहिकतै स्पर्श गरेको अनुभुति भएपछि बुलेकीलाई बाकी कामकाज साचेर म घरतर्फ फर्किए। घर फर्किदा मलाती त आत्तिएर रुदै रहिछ। म हतासिदै मालती नजिक पुगिहाले।
“मालती! के भयो? किन रोएकी?” मेरो अन्योलता बोलीले प्रश्न उठायो।
“कान्छो…कान्छो…” मालती बोल्दा बोल्दै भक्भकाई।
“के भयो र कान्छोलाई?” अतालिदै थरथराएको मेरो बोलीले फेरि सोध्यो।
“शुभघाटको झलुङ्गे पुल भाचियो रे! तल्लाघरे हरिले भनेको। कतै कान्छो…” मालतीको रुन्चे स्वरले जवाफ फर्कायो।
मलाई एक्कासि बेचैनी भावनाहरूले छोएको भान भयो। अनायसै मन झसङ्ग भैई शरीर नै चिसो बनेर आयो। मस्तिष्क चेतनाशुन्य भैई म विलयको मार्मिकभित्र यसै झुलिरहे। आँखा रसायो। हृदय सानो भयो र कतिखेर गहँ आँशुले भरिपूर्ण भयो पत्तै पाएन।
शुभघाटको झलुङ्गे पुल मेला जाने एकमात्र दोबाटो थियो। पुल पार गरेपछि मात्रै मेला लाग्ने स्थानमा पुग्न सकिन्थ्यो। कान्छो पनि कतै त्यही दुर्घटनामा पर्यो कि भनेर मालती डराउदै थिई। अतालिदै थिई। रुदै थिई। कान्छेको खोजीमा म र मालती उतिबेलै शुभघाटतिर लागिहाल्यौ। मनमा अनायास अधिक डरलाग्दा प्रश्नहरू उठिरहेका थिए। मालती उता आँशुले भिजेको परेली पुछ्दै हिडिरहेको थिई। झन्डै आधा घण्टाको दुरीपछि हामी शुभघाट पुग्यौ। हतासिएको नजर चारैतिर भैलायौ। अतासिएको हेराई यताउता डुलायौ। तर कान्छो कतैपनी फेला परेन। मान्छेहरूको भिड निकै बिराट देखिन्थ्यो। कहिकतै रुवाबासी, कहिकतै खोजीको प्रयास, कहिकतै भयको भाव, कहिकतै प्रहरीको सहयोग र कहिकतै देहलासको दृश्य शुभघाटभर दर्सियो।
“मेरो छोरो पनि कतै यतै पर्यो कि? खोज्दिनु पर्यो सर।” उद्वारको निम्ति खटिरहेको प्रहरीलाई मैले अनुरोध गरे।
“ल! आउनुहोस् तपाईं पनि।” प्रहरीले मलाई डाक्यो। मालती र मेरो पाईलाहरूले प्रहरी पछिपछि भएर नदीको किनारातिर डरका चालहरू चाले।
नदीको किनारमा पुग्नेबित्तिकै मालती बेस्सरी चिच्याई “मेरो कान्छो…”
एक निमेष समय त्यही रोकिएको झैँ भयो। पर्यावरण उदासीनताले ढपक्क भयो। म झसङ्ग भएर त्यही गोडा टेके। मालती बोहोस भैई त्यही बालुवामा बज्जारी। मेरो आँखा अगाडि देहावसानको दृश्य थियो। नदीको किनारामै। झलुङ्गे पुलको डोरीहरू बीचमा कान्छोको घाँटी अठिएको थियो। शरीरको आधाभन्दा धेरै भाग पानीले छप्लिएको थियो। कान्छोले प्राण त्यागेको त्यस दृश्यमा म कराउन पनि सकिन। तर मेरा आँशु भने फगत बगीहाले। लाउने, खाने उमेरमा कान्छोले सास फेर्न बिर्सियो। कहिल्यै नभेटिने गरि हामीबाट कान्छो टाढियो। सधैभरिको निम्ति कान्छो तारा बन्यो।
(४)
कान्छोको मृत्युपछि मालतीले जिउन बिर्सी । घरको हरेक चिजबिजहरूमा कान्छोको सम्झनाहरू जोडिएका थिए । ती सम्झनाहरूले मालतीलाई यसै झँस्काउथे र कान्छोलाई सम्झिएर खुब रुन्थी। समयसँगसँगै बिस्तारै मालती ठिक होली, सबै कुरा ठिक होला भन्ने आस्थाहरूले म दिनहरू कटाउन पहल गरिरहन्थेँ। राम्रो दिनहरूको आगमनमा म झरिलो आशाहरू सँगालिरहन्थेँ तर मालतीको अवस्था भने दिन प्रतिदिन अझै बिग्रिदै गयो । मालती जाँडरक्सी र कुलतप्रति अपत्यारिलो ढङ्गले नजिक हुन थाली। उसको आफूलाई बिर्सी । मलाई बिर्सी। हाम्रो घरबार बिर्सी। हाम्रो प्रेम बिर्सी। तर कान्छोलाई भने बिर्सिन सकिनँ।
त्यसपछिका दिनहरूमा मालती जाँडरक्सी खाएर मसँगै दिनहुँ झगडा गर्न थाली। उसलाई मैले सम्झाउन र बुझाउन धेरैपटक प्रयासहरू गरेँ तर मालतीले कहिल्यै सम्झिन । कहिल्यै बुझिन । सायद कहिल्यै सम्झिन र बुझ्न चाहिन पनि । मैले चिनेको, बुझेको र प्रेम गरेको मालतीभन्दा धेरै फरक भैइसकेकी थिई ऊ ।
मालती कहिले जाँडरक्सीले मात्तिएर गाउँभर हिँडिरहन्थी त कहिले बेहोसिएर बाटोमै सुतिरहेकी हुन्थी । उसको यस्तो अवस्थाले म यतिसम्म कमजोर भैसकेको थिएँ कि अब थप सुझाव दिने शक्तिसमेत मभित्र थिएन। यता, मालतीको अवस्थाबारे जेठो छोरोलाई पनि धेरैपल्ट सुनाएँ तर आफ्नै श्रीमतीको निगरानीमा रम्न बाध्य बनेको उसको सुखद् जीवनशैलीले मालतीको मतबल नै गरेन अनि मैले चाहेर पनि मालतीलाई आफूले चाहेको जस्तो बनाउन सकिनँ। म हारिसकेको थिएँ । थाकिसकेको थिएँ । मेरो जीवनको नमिठो हार र थकान सायद यही थियो होला ।
एक साँझ, म खाना बनाउँदै गर्दा मालतीले पाक्दै गरेको भातको तातो चौलानी नै मेरो शरीरभरि ओइरादिई । उसको आनीबानीले म यतिसम्म हैरान भैइसकेको थिएँ कि मालतीप्रति बिस्तारै मभित्र रिस र घृणाको भावनाहरू टुसाउँदै थियो ।
घाम नलागेर अँध्यारो भएको मङ्सिर महिनाको उराठिलो दिन। खेतबारीमा उब्जाएको गहुँको पर्यवेक्षण गर्न भनी घरबाट म सबेरै निस्किएँ । अघिल्लो सालझैँ गहुँ खासै फस्टाएन । मन कहिकतै खिन्न पनि भयो । अनि खेतबारीका भएभरको बाँकी कामकाजहरू सकिएपछि म घर फर्किएँ । घर पुगेपछि घरको दैलोमा दर्सिएको त्यस दृश्यले मभित्र एक्कासि क्रोधको कसुर यसरी जाग्यो कि म उतिखरै आफू, आफू नै रहिनँ । म मालतीको बूढोभन्दा टाढाको साइनोमा परिवर्तन भएँ । त्यसबखत म असल मनुष्यबाट पर भैइसकेको थिएँ। अचानक कुनै आवेगले भरिएको आचरणको एक अपत्यारिलो अपकारी बनेँ । उतिबेलै अपराध गर्न भनेर तम्सिएको एक अपराधको पात्रमा बदलिएँ ।
मालती दैलोमा पल्टिएकी र अपरिचित एक युवकको लैङ्गिक छुवाइको तुच्छ दृश्य मेरो नजरमा पर्दापित भयो । पहिरनले ढाकिएको मालतीको अङ्ग प्रतिअङ्गलाई युवकले कामुकताको स्पर्श दिँदै थियो । मैले आक्रोशले भरिएको हेराइ यताउता डुलाएँ, र एउटा दरिलो भाटा भेटेँ अनि दौडिएर त्यस युवकको ढाडमा भएसम्मको शक्तिले बेसरी बजारेँ ताकि त्यो युवक मुर्छा परेर त्यहीँ छटपटाइरहोस् । मेरो मलातीलाई छोएको त्रुटिमा त्यस नालायक त्यहीँ तड्पिरहोस् । मात्तिएको उसको उपभोगलाई उसकै तुच्छ रोमले नै मृत्युको सजाय दिओस् र सदा-सदाको निम्ति त्यसको अस्तित्व यस सृष्टिबाट लुप्त होस् । भस्म होस् । अनि मेरो क्रोधले न्याय पाउनेछ । मेरो आवेग हर्षले मुस्कुराउने छ, तर मैले भाटो बज्जारेपछि पनि युवक जुरुक्क उठेर त्यहाँबाट भाग्यो । मैले समाउनको निम्ति जोर गरेर पछिपछि पनि दौडिएँ तर मेरो जोरलाई उसको जोरले जित्यो, अनि मैले हारेँ । मैले समाउन सकिनँ । अनि मेरो क्रोधले न्याय पाएन । मेरो आवेग झनै निरासियो । झनै गर्जियो ।
(५)
रिसको समायोगलाई समाल्न प्रयास गर्दै-गर्दै म फर्किएँ । घरको पिठ्युँमा देहलाई बिसाएर लामो-लामो स्वास लिएँ । मालती उसैगरी दैलोमा बेहोसी थिई । पल्टिरहेकी थिई । एकलासी थिई । मैले मालतीको टाउकोदेखि पैतालासम्मको हरेक अङ्गहरूलाई एकोहोरिएर हेरिरहेँ । ती चाउरिन लागेको गाला र बेचैनी उसका हत्केलाहरूलाई निहारिरहेँ । ती चोलो र गुन्योमा एक्कैछिन भए पनि भुलिरहेँ । फुकेर जग्ल्टिएको केशको बेखुसीमा मेरो हृदयलाई अल्झिन मनलाग्यो । म अल्झिएँ । कुनै द्विविधाको परिकल्पनाभित्र म हराउँदै थिएँ । अनि फेरि एक्कासि क्रोधको शक्तिले मभित्र घ्रिणाको भाव यसरी जगाइदियो कि म त्यही भाटाले मालतीको शरीरलाई हिर्काउन थालेँ । उसले हलचल केही पनि गरिन । उसैगरी बेहिसी थिई । पल्टिरहेकी थिई । एकलासी थिई ।
म झसङ्ग भएँ । कुनै रिसले भरिएको भावबाट म फेरि करुणा र प्रेरणाको भावनामा बग्न थालेँ । अघिसम्म क्रोध र घृणामा झुमिरहेको म स्नेहले भरिएको मनुषमा परिणत भएँ ।
“ओई मालती !” मैले उसको टाउकोलाई उठाएर मेरो गोडामा बिसाएँ । मालतीको दयानीय मुहारमा मेरो हेराइ अडिन खोज्यो र दयापूर्ण भावले एकछिनसम्म हेरिरह्यो । बिस्तारै बसेर मालतीलाई सुम्सुमाउन थालेँ । उतिखेरै मालतीको कानबाट रगत बगिरहेको देखेँ । मालतीको शरीर चिसो भैसकेको पनि मलाई आभास हुँदै थियो । त्यसपछि म झन् आत्तिएँ । म उसैगरी मालतीलाई छुँदै, हच्काउँदै उसको नाम घरिघरि पुकारिरहेँ तर मालतीबाट केही प्रतिक्रिया नआएपछि झनै डराउन थालेँ । मैले मालतीको शरीरलाई छामिहेरेँ, मृत्युले छोपिसकेको भान भयो । मालतीको मोह आफ्नै शरीरलाई छोडेर हिँडिसकेको थियो । अचानक हतासिन थालेँ । मेरो शरीर काप्न थाल्यो र बेस्करी चिच्याएर आफ्नो छाती पिट्दै रुन थालेँ । पछिसम्म रुँदै पिरोलिँदै कतिखेर म बोहोसिएछु ? मलाई अझैसम्म याद छैन ।
होसमा आउँदा म प्रहरीको निगरानीमा थिएँ । बेहोसिएपछि, केहिबेरैमा तल्लोघरे, माथिल्लोघरे, सबैतिरबाट गाउँलेहरू मेरो घरको आँगनभरि भरिएछन् । गाउँलेहरूले नै मालतीको मृत्युबारे प्रहरीलाई जानकारी गराएका रहेछन् । मालती र मेरो दिनहुँ झैझगडा भैरहने अनि मालतीलाई मैले नै मारेको हो भनेर पनि बताएछन् । पछि मलाई प्रहरीले यी सबै कुरा सुनाएपछि मैले यथार्थ गाभिएको कुराहरू बताउन खोजेँ, तर मेरो कुरामा प्रहरीहरूले सत्यता नभएको भन्दै नकार्यो । यी सबै कुराहरू हुँदै गर्दा म झ्यालखानाभित्र निराश खडा थिएँ । जिद्दी गरेर प्रहरीसँग होहल्ला गर्ने तागत मसँग थिएन । मलाई अब थप बाँच्नु थिएन । मलाई फर्केर फेरि त्यो घरको आँगन टेक्नु पनि थिएन । मलाई प्रहरीले बारम्बार त्यही कुराहरू बताएर हप्काइरह्यो, र एकदिन अकस्मात् मलाई आफैँप्रति घृणाको भाव उत्पन्न भयो । मैले नै मालतीलाई मारेको हो भनेर भनिदिएँ । अनि मेरो बोलीकै परिमाणमा प्रहरीले सजिलैसँग म मालतीको हत्यारा हुँ भनेर कानुनीरूपले पुष्टि गरिदियो, र म मालतीको हत्यारा भएँ ।
आज म मालतीको हत्यारा भएको छु । आफ्नै जीवनदेखि कुनै आशा नभएको मलाई यस कुरामा कुनै संकोच, कुनै प्रश्न र कुनै अप्ठेरो छैन, तर जब-जब मान्छेहरू मालतीको हत्यारा भनेर ममाथि आ-आफ्नै अनुमानको धारणाहरू सिर्जना गर्छन् तब मभित्र अर्थहीन प्रश्नहरू यसै पैदा हुन्छन्, “के साँच्चै मालती हत्यारा म नै हुँ ? कतै मालती भाटाले हिर्काउनु अघि नै मरिसकेकी त थिइन ? कतै त्यो युवकले नै मालतीलाई मारेको त होइन ?”
अनि मेरो ओठमा अनुचित मुस्कानहरू लरबराएर भावहीन हाँसोमा परिवर्तन हुन्छन्, “हो ! मलाई मालतीको हत्यारा बनाइयो । म मालतीको हत्यारा हुँ ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।