हिन्दी उपन्यासका लागि अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने प्रथम भारतीय लेखक गीताञ्जली श्रीका लागि यो प्रतिष्ठित पुरस्कार पाउनुअघिको यात्रा निकै उतारचढावपूर्ण थियो ।

श्रीको मूल उपन्यासको नाम ‘रेत समाधि’ हो र यसको अंग्रेजी संस्करण, ‘टम्ब अफ स्यान्ड’ । अनुवाद डेजी रकवेलले गरेकी हुन् ।

पुरस्कार घोषणापछि दिल्लीमा रहँदैबस्दै आएकी श्री र अमेरिकी अनुवादक डेजी रकवेललाई संसारभरिबाट बधाई ओइरिरहेको छ र स्वाभाविक छ, दुवै जना खुसी छन् ।

यो पुरस्कारपछि त हिन्दी साहित्यको चर्चा पनि चुलिएको छ तर गीताञ्जलीको भनाइ छ, ‘यस लयलाई कायम राख्न केही गम्भीर प्रयासहरू चाहिन्छ ।’

श्रीले द वायरसँग कुरा गर्दै भनिन्, ‘हुन त पुरस्कारको घोषणापछि नै हिन्दी साहित्यलाई लोकप्रिय बनाउन निश्चित रूपमा सहयोग पुगेको छ । धेरैले यसमा रूचि र उत्सुकता राख्न थालेका छन् ।’

‘हुन त हिन्दीलाई केन्द्रमा ल्याउनका लागि बढी गम्भीरतापूवर्क र सतत तथा संगठित प्रयास गर्नुपर्ने आवश्यकता छ । यसमा प्रकाशकहरूले खासगरी यस्तो साहित्यलाई राम्रो अनुवाद गराउने कुरामा अहम् भूमिका खेल्नुपर्ने देख्छु । हिन्दी मात्र किन दक्षिण एसियाली सबै भाषामा यो कुरा लागू हुन्छ ।’

कुनै भाषाले एकअर्कालाई समृद्ध पार्ने हुनाले डराउनुपर्ने कुनै आवश्यकता नरहेको उनको तर्क छ । हिन्दी कि अंग्रेजी भाषा तपाईं छनोट गर्नुहुन्छ भन्ने प्रश्नको उत्तरमा गीताञ्जली श्रीले भनिन्, ‘मानिसहरू द्विभाषी या त्रिभाषी वा बहुभाषी हुँदा के समस्या हुन्छ र ?’

‘मलाई लाग्छ, मानिसमा एकभन्दा बढी भाषा जान्ने क्षमता छ । हामीकहाँ यस्तो शिक्षा प्रणाली हुनुपर्छ, जसले आफ्नो मातृभाषा या अन्य भाषासँगै अङ्ग्रेजी भाषा जान्नका लागि प्रोत्साहित गरियोस् । तर भाषामाथि राजनीति गरिनाले यो एक किसिमले नसुल्झने समस्या बन्न पुगेको छ,’ उनी भन्छिन् ।

६४ वर्षीया लेखिका श्री भन्छिन्, ‘अभिव्यक्ति त्यतिबेला मात्र उत्कृष्ट हुन्छ, जब व्यक्तिले सबैभन्दा सहज भाषामा केही कुरा व्यक्त गर्छ ।’

उनी भन्छिन्, ‘यो भाषासँग एक किसिमको अन्तरङ्ग सम्बन्ध हो । यो केही चिजको गन्ध, स्वाद र दृष्टि हो । जुन अङ्ग्रेजीको साटो हिन्दीको माध्यमबाट तपाईसम्म पुगेको छ र स्वचालित रूपमा त्यो भाषा बन्न पुग्छ, जसमा तपाईंले आफ्नो रचनात्मकता व्यक्त गर्न चाहनुहुन्छ ।’

उता अनुवादक रकवेललाई कलेजका दिनबाट नै हिन्दी भाषाप्रति प्रेम थियो र उनले ‘रेत समाधि’लाई हिन्दी भाषाको प्रेमपत्रजस्तै देखिन् ।

रकवेलले एक ठाउँ भनेकी छन्, ‘जुन किताबलाई बुकरका सदस्यहरूले भारत र विभाजनको दीप्तिमान उपन्यास भन्दै प्रशंसा गरेका छन्, यसले उपन्यासलाई निकै फाइदा दिलायो । केही द्विभाषी पाठकहरूले दुवै भाषामा पढे ताकि त्यसको पूरा आनन्द उठाउन सकियोस् ।’

उनले भनिन्, ‘मलाई त खुसी केमा लाग्यो भने अङ्ग्रेजीमा पहिलो पटक पढेकाहरूले पनि हिन्दी किताब खोजीकन पढेका छन् र हिन्दी पढिसकेकाले अङ्ग्रेजीमा पनि पढ्न थालेका छन् । यसो गर्दा दुवैमा उत्तिकै मज्जा आएको प्रतिक्रिया मैले पाइरहेकी छु ।’

रोचक त के छ भने रकवेलले अङ्ग्रेजी पुस्तकको आवरणसमेत बनाएकी छन् ।

अनुवाद गर्दाका अप्ठेराका कुरामा रकवेलले भनिन्, ‘समाधिको टम्ब शब्द हाल्दा शुरूमा त उनले अप्ठेरो मानिन् तर मैले उनलाई भित्र पूरापूर न्याय हुने बताएँ । उनलाई विश्वासमा लिएँ । उनलाई समाधिको समृद्ध अर्थ हराउला भन्ने चिन्ता थियो । अन्ततः उनी सहमत भइन् ।’

तीन उपन्यास र केही कथा संग्रहकी लेखिका गीताञ्जली श्रीले अर्को पुस्तक लगभग छापिन तयार अवस्थामा रहेको बताइन् । उनले यो उपन्यास हो कि कथा संग्रह हो, त्यसबारे भने खुलाउन चाहिनन् ।

आफूले पुरस्कार पाए पनि भारतभर यसको स्वागत र खुसियाली मनाउनु उनका लागि सुखद् आश्चर्य भएको बताइन् ।

यसअघि पनि उनका उपन्यासलाई विभिन्न भाषामा अनुवाद गरिसकिएको छ । उनका उपन्यास अंग्रेजी, फ्रान्सेली, जर्मन, सर्बियाली र कोरियाली भाषामा अनुवाद गरिसकिएको छ ।

‘टम्ब अफ स्यान्ड’ बेलायतमा प्रथम पटक प्रकाशित भएको थियो । यसलाई त्यस बेला पुस्तक समीक्षकहरूले संसारका लागि यो एउटा शोकगीत भएको भनी टिप्पणी गरेका थिए ।

बुकर पुरस्कारसँगै उनको व्यस्तता पनि बढेको छ । उनलाई बेलायतको वेल्समा आयोजना हुन लागेको हे फेस्टिभल अफ लिटरेचर एन्ड आर्ट्स तथा लन्डनमा आयोजना हुन गइरहेको जयपुर लिटरेचर फेस्टिभलमा निम्तो आइसकेको छ ।

गएको मार्च महिनामा अन्तर्राष्ट्रिय बुकर पुरस्कारको लामो सूचीमा १३ वटा पुस्तकसँगै टम्ब अफ स्यान्ड पनि परेको थियो तर यसको यात्रा लामो सूचीमै टुङ्गिएला भनेर धेरैले चासो दिएका थिएनन् । पछि छोटो सूचीमा पनि पुस्तक परेपछि भने धेरैका कान ठाडा भएका थिए । यतिबेला उपन्यास नै पुरस्कृत भएपछि भने भारतमा रवीन्द्रनाथ टैगोरपछि ११० वर्षमा गौरव फर्काउने व्यक्तिका रूपमा चिनिन थालेको छ ।

गीताञ्जलीले प्रतिक्रिया दिँदै भनेकी थिइन्, बुकर पुरस्कारको त मैले सपना पनि देखेकी थिइनँ । जुन बेला लामो सूचीमा उनी देखा परिन्, खुसी मनाउने कि नमनाउने भनेर उनी निकै दिन चुप रहिन् । त्यसो त ढिला गरी उनले यो समाचार सुनेकी थिइन् । तर जब छोटो सूचीमा उनी परिन् र देशविदेशबाट उनलाई बधाई माथि बधाई थपिन थाल्यो, बल्ल उनलाई यो त ठूलो कुरा पो भइसकेछ भन्ने लाग्यो ।

पूर्वी उत्तर प्रदेशबासी गीताञ्जलीको जीवन बनारस र जागीपुरमा धेरै समय बित्यो । उनको मावली बनारसबाट नजिकको जमुई गाउँ हो भने उनका बुवा गाजीपुर सहर छेउको गोडउर नजिकका बासिन्दा हुन् ।

उनका पिता अनिरूद्ध पान्डेय भारतीय प्रशासनिक सेवामा थिए र सोही सेवामा रहँदाका बखत १२ जुन १९५७ मा उनकत्र जन्म भएकत्र थियो ।

उनले दिल्लीस्थित लेडी श्रीराम कलेजबाट स्नातक र जवाहरलाल नेहरू विश्वविद्यालयबाट इतिहासमा एमएसम्मको शिक्षा हासिल गरिन् । उनले केही समय दिल्लीकै मिलिया मिल्लिया इस्लामियामा केही समय पढाइन् र सोही बेलादेखि साहित्यमा पाइला अघि बढाइन् ।

उनको साहित्यप्रतिको अनुराग आफ्नी आमाबाट पाएको उपहार ठान्छिन्, गीताञ्जली । उनकी आमा हिन्दी क्लासिक साहित्यको निकै ठूलो प्रशंसक थिइन् । अहिले पनि ९५ वर्षको उमेरमा पनि शरीर कमजोर भए पनि खुब पढ्छिन् । कृष्णा सोबतीको उपन्यास जिन्दगीनामा तीन पटक पढिसकेकी छन् । छोरीको उपन्यास खाली जगह उनलाई उति मन नपरे पनि माई र पछिल्लो रेत समाधि खुब मन परेको प्रतिक्रिया दिएकी थिइन् ।

पुरस्कार ग्रहणपछि गीताञ्जलीले भनेकी थिइन्, मेरो यो उपन्यासबाहेक पनि दक्षिण एसियाली भाषाहरूमा निकै समृद्ध साहित्यहरू छन् । ती भाषाहरूका केही उम्दा लेखकका बारेमा जानेर वैश्विक साहित्य अझ बढी समृद्ध हुनेछ । यसरी नै एकअर्कालाई बुझ्ने र जीवनका आयाम वृहद् हुने हो ।

अन्य उम्दा साहित्य पनि यसरी नै अनुवाद भएर आउनुपर्ने उनको धारणा छ ।

रेत समाधिले एक जना ८० वर्षीया महिलाको कोणबाट भारत विभाजनसँगै एउटी आमा, छोरी, महिला र नारीवादी हुनुको अर्थ खोजेको छ ।