साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

दृष्टिविहीन साथीको मनोहर कथाः तेस्रो आँखा

शिशिर दूरवस्तीको

यसपालि होइन, योभन्दा अघिल्लो छुट्टी जानु अघि नै एक दृष्टिविहीन भाइसँग परिचित भएँ म। त्यो पनि सामाजिक सञ्जालमार्फत।
भएको के थियो भने, तिनताका म दसैँमा घर जाने सुरमा थिएँ। हरेक परदेशी घर जाने दिन नजिकिदै गर्दा उसलाई दिनहरू लामा लाग्न थाल्छन् । घडीको सुई कति ढिलो घुमेको जस्तो लाग्न थाल्छ। अरू सामान्य बेला भन्दा क्यालेन्डर पनि अलि बाक्ले हेरिन्छ। केहीले त क्यालेन्डरमा दैनिक गोलो घेरो लाउने गर्छन् ताकि बिस्ताराबाटै थाहा होस्, आज कति गते हो। त्यस्ता घेरा देख्दा मार्नु जस्तो हुन्छ मलाई चाहिँ। मनोरोगीहरू नै हुन् कि जस्तो पनि पनि लाग्छ।
त्यो बेला म भने फेसबुक बाक्लै हेर्छु। कतै अफर लागिरहेको हेर्न र कुन-कुन साथीहरू छुट्टी मनाउन कहाँ जाँदैछन् भनेर जान्न। यही उपक्रममा मैले फेसबुकमा एउटा पोस्ट देखेको थिएँ। जुन काठमाडौँ बसाइमा भेट भएको मेरो साथी उत्तमको थियो। उसको पोस्टको आशय थियो… गाडी भाडा नभएर दसैँमा घर जान वञ्चित एक अपाङ्ग ।
त्यस्तो कारुणिक पोस्टले मेरो मन कति छिटो पग्लियो पग्लियो ! कमेन्टमा मैले ‘मबाट हजार रुपियाँ’ लेखिदिएँ। र, म घर आउँदै गरेको र भेटेर पैसा दिने वचन पनि दिएँ ।
लाग्यो, मेरो हजार रुपियाँले कसैले आफ्ना बा-आमा अनि परिवारको साथमा बसेर दसैँ जस्तो पर्व मनाउन पाउनु मेरा लागि दस गाई दान गरेको बराबरको धर्म हो।
यस्तैमा एउटा रेडियो प्रोग्राममा मैले अर्को मनकारी चन्दादाताको नाम सुनेँ, अन्तर्वार्ता सुनेँ। सहयोगकर्ता नै दृष्टिविहीन, त्यो पनि विद्यार्थी! आफैँ जागिर गर्ने र पढ्ने । भलै उसका दाइहरूको काठमाडौँमै घर रहेछ तर ऊ भाउजू र परिवारका अन्य सदस्यको करूणा-पात्र नबनी आत्मनिर्भर जिन्दगी रोजिरहेको रहेछ । ऊ थियो नेपालको पूर्वी पहाडी जिल्लाको र मेरो फेसबुके साथी या भनौँ भाइजस्तै साथी… जीतबहादुर राई ।
अन्तरवार्ता सुनेपछि मलाई जीतबहादुरलाई भेटौँ भेटौँ लाग्यो। यसपछि मैले जीतबहादुरको फेसबुक खोजेँ । नभन्दै भेटियो। मैले त्यहाँ उनको कोमल मन र सहयोगी भावनाको फेसबुकमा मुक्तकण्ठले प्रशंसा गरेँ । सायद मेरो शब्दले ऊ झन् पग्लेछ क्यार! साथी भैहाल्यो। यसरी मेरो जीवनमै पहिलो दृष्टिविहीन साथी बन्न पुग्यो ।
सितिमिति सबलाङ्गहरू आँखा हुनेहरू दृष्टिविहीन तथा निकलाङ्गलाई साथी बनाउन हच्किन्छन् । के तपाईं आँखा हुनेहरूका त्यस्ता दृष्टिविहीन साथीहरू छन्? छन-छैनन् वा छन् पनि छैनन् पनि। यसअघि पनि मेरो अवस्था त्यस्तै थियो।
ऊ आफैँ दृष्टिविहीन, भाडामा बसेर आफैँ जागिर गर्ने र जिन्दगी गुजारा गर्ने उसको उच्च मनोबल देखेर म भावविभोर भएको थिएँ । ऊ गीतसङ्गीतको सौकिन रहेछ। वाद्यवादनको पनि राम्रो ज्ञान भएको र ब्रेललिपिमा एमएसम्म गरेको तथा बौद्धिक पनि रहेछ।
मेरो नयाँ साथी सेतो लौरोको सहायताले जीवनका हर गन्तव्यको पाइलो नाप्छ। ऊ यस्तो मनकारी कसरी भयो होला? ऊ कसरी दानवीर भयो होला? मेरो त्यही कौतुहलले ऊ मेरो मनको नजिक भएको थियो।
मैले देखेका प्रायः दृष्टिविहीन कि त बाटोमा माग्न बसेका हुन्थे कि मन्दिरमा पछ्यौरा बिछ्याएर भोकको उपचार खोज्न बसेका हुन्थे। ऊ भने त्यस्तालाई दिने खालको मानिस रहेछ। बसहरू, बसपार्कहरू या फेरि आफैँ जीवनबाट हीनताबोध गर्दै गाउँमा नारकीय जीवन जिएका कति छन्, अरूको कृपामा बाँचेकाहरू।
मैले देखे-भोगेभन्दा भन्दा बाहिरको मान्छे लाग्यो मलाई। यसपछि त के थियो र, हाम्रो वार्तालाप बाक्लिदै गयो । ऊ मलाई आफ्नै सहोदर दाइ जस्तो गर्थ्यो, गर्छ र म उसलाई पनि कुनै भाइ भन्दा कम देख्दिनँ।
त्यसरी मसँग चिनजान भएको साथी मलाई पनि भेट्ने रहर थियो । ऊ पनि भेट्नु पर्छ दाइ भन्थ्यो। ऊसँग भेट्न र गफिएर जान्न मलाई कस्तो उत्सुकता थपिएको थियो, अचम्मको! सायद तपाईंहरू भए त्यो हदको मित्रता कुनै दृष्टिविहीनसँग गर्नुहुन्थ्यो हुन्नथ्यो वा गरे पनि एउटा औपचारिक सम्बन्धबाहेक बढी हुँदैनथ्यो कि ? अपवाद त जहाँ पनि हुन्छ ।
अब कुरा ममा मात्र सीमित रहेन । उसले मेरी पत्नीसँग पनि सम्बन्ध बढायो फोनमार्फत्।
जीतसँग पहिलो पटक गफ गरेको दिन पत्नीले भनेकी थिइन्, ‘कति मीठो बोली यिनको त! को हो नि बूढा ?’
मैले जीतको पूरा परिचय दिइनँ, भनेँ, ‘काठमाडौँको साथी।’
‘कस्तो मीठो बोल्ने ! देवरै जस्तो,’ पत्नीको प्रतिक्रिया थियो।
एउटी भाउजूले देवर पनि होस् भन्ने चाहन्छे। मेरी पत्नीको मनोविज्ञानले मेरा आफ्नै नजिकका भाइहरू नहुँदा उसको मनमा देवरको कति ठूलो अभाव रहेछ भन्ने महसुस गराएको थियो । भाइ अभावको पूर्तिसमेत जीतले गरिदियो ।
त्यसैले एक दिन कामको सिलसिलामा काठमाडौँमा रहँदा म जीतलाई भेट्न चाहन्थेँ । त्यसैले उसलाई फोन गरेँ । उसले लोकेसन बतायो । सोही लोकेसन पछ्याउँदै म ट्याक्सीमा उसले बताएको ठाउँमा पुगेँ ।
अचम्म, ट्याक्सीबाट झर्न नपाउँदै उसले मेरो नामले बोलायो। अरू ट्याक्सी पनि त्यहाँ आउने जाने रोक्किने भैरहेका थिए। ऊ दृष्टिविहीन भएर पनि उसले मेरै र मै चढेको ट्याक्सी चिन्नु र म कता पट्टिको कुन ढोकाबाट झर्छ भन्ने अन्दाज लगाउनु दैवीशक्ति जस्तो लाग्यो।
मैले ऊसँग अंकमाल गरेँ र भनेँ, ‘यस्तो राति किन कुरेर बस्नु परेको जीत भाइ? म पत्ता लगाइहाल्थेँ नि!’
उसको प्रतिउत्तरले मलाई झन्झनाहट भयो, उसले भनेको थियो, ‘दाइ, मलाई के दिन? के रात? सबै एकै त हो!’
जिन्दगीमा म आँसु नखसाई रोएको त्यही रात मैले घडी हेर्दा रातिको साढे दस बजिसकेको थियो ।
त्यो दिन मैले अचम्म देखेँ, उसैले खाना बनायो। मेरा लागि भनेर भक्तपुरबाट हिँडेरै कोटेश्वर पुगी धराने बंगुर ल्याएको सुनायो ।
खाना खाएर गफिदै उसको गायकीको रसाश्वादन गर्दै सुत्दा दुई बजिसकेको थियो ।
लामो समयदेखि फोनमा गफिएको जीत भाइसँग भेट्ने रहर पूरा भएको थियो र भोलिपल्ट बिदा हुने बेला निकै असहज महसुस भइरहेको थियो।
मेरो मनको भाइलाई केही उपहार दिऊँझैँ लाग्यो तर के दिनु ? मसँग भएका कपडा उसलाई ठीक हुँदैनथ्यो । कपडा किन्न जान पनि त्यो डेराबाट अलि टाढै थियो। आफैँसँग के छ भनी टटोल्दा एउटा घडी देखेँ, जुन मेरो नाडीमा टाँस्सिइरहेको थियो।
अनि मैले घडी फुकालेर उसलाई सम्झनास्वरुप दिएँ।
उसले भन्यो, ‘दाइ मसँग एउटा राम्रो टि-सर्ट छ, तपाईंलाई ठीक हुन्छ होला ।’
चाहिँदैन भन्न खोज्दै थिएँ, उसले यसरी हात समायो कि तीजमा युगौँपछि माइत आएकी छोरीलाई कुनै आमाले कुराउनी पोको पारेर दिएजस्तै गरी टि-सर्ट थमायो।
छोरीले आमालाई हे आमा पनि….के को टन्टो होला.. पर्दैन भनेको जस्तो कस्तो कस्तो मेरो घाँटीबाट निस्कियो तर मुखबाट निस्कन सकेन । शायद शब्द नै भेटिएन, भन्न।
यसपछि बिदा त भएँ तर मनले भनिरह्यो, वाह जीत भाइ, तिम्रो स्वाभिमानी जीवन! वाह, तिम्रो आत्मियता! वाह, तिम्रो संसार हेर्ने तेस्रो आँखा!

प्रतिक्रिया
Loading...