साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मलाई ‘पुरुष लेखक’ पटक्कै मन पर्दैन

महिला लेखकहरूलाई राम्रा भनिरहँदा पुरुषहरू रिसले चुर भएर दाह्रा किट्छन् होला । तर विज्ञानले प्रमाणित गरिसकेको छ, पुरुष लेखकभन्दा महिला लेखक सशक्त हुन्छन् । शसक्त यो मानेमा हुन्छन् कि उनीहरू अरूको भावना बुझ्न र कागजमा उतार्न सक्षम हुन्छन् ।

Chovar Blues Mobile Size

करिब पच्चिस वर्षदेखि निरन्तर किताबहरु पढेर आफ्नो दिनचर्या बिताइरहेकी मेरियनले एकाबिहानै भनिन्, “मलाई पुरुष लेखकहरु पटक्कै मन पर्दैनन् । पुरुष सोचको कलमले मेरो ह्रदयको भोक मेटाउनै सक्दैनन् ।” तीन वर्षदेखि दैनिक रुपमा मैले भेट्दा उनी कुनै न कुनै किताब पढिरहेकी, घोत्लिरहेकी वा किताबमै र्याल चुहाएर मस्त निदाइरहेकी हुन्थिन् । उनले त्यसो भनेपछि मैले आफ्नो जिज्ञासा राखिहालेँ , के तिमीलाई हरेक दिन पढ्नका लागि महिला लेखकका किताबहरु काफी छन् त ? प्रश्न खस्न नपाउँदै उनले जवाफ फर्काइहालिन् ।

“पुग्दैनन् । पुरुष लेखकको तुलनामा महिलाहरु कम छन् वा उनीहरुले लेखेका सबै पुस्तक बजारमा आइपुग्दैनन् । महिला लेखकका पुस्तक प्रसस्त नभेटिए पनि अचेल टिभीमा महिलाहरुले चलाएका प्रोग्रामहरु हेर्छु, पढेको समाचार सुन्छु । त्यति मात्रै नभएर तिमीजस्ता फरक भुगोल , संस्कार र संस्कृति भएका महिलाहरुसँग कुराकानी गर्नु पनि त एउटा सिँगो किताब पढेको भन्दा बढी नै ज्ञान बटुल्नु हो नि ।”

उनको कुराले म चकित परेम् । अमेरिकी सहर त्यसमाथि पनि म्यान्हाटनमा राम्रो खान्दानी परिवारमा जन्मे हुर्केर अहिले ९० औं वसन्त पार गर्दै गरेकी उनको कुराहरुले मलाई बेला बेलामा झस्काइरहन्छ ।

त्यति मात्रै नभएर उनलाई मिलेसम्म महिला नर्स , महिला नै डाक्टर अनि किचनमा पकाउने कुक पनि महिला नै भैदियो भने उनको अनुहार चमकले भरिन्छ । “ मैले ३५ वर्ष वैवाहिक जीवन बिताएँ । समग्रमा हाम्रो सम्बन्ध अत्यन्तै राम्रो थियो । तर मैले मेरो श्रीमानलाई आफ्नो प्रजनन स्वास्थ्यका कुरा, बच्चाबच्ची हुर्काउने लगायत घर-परिवार व्यवस्थापनका कुरा , सपिंगका कुरा कहिल्यै पनि बुझाउन सकिन । महिलाले मात्रै महिलाका समस्या बुझ्छन् जस्तो मलाई लाग्छ ।” उनी भन्छिन् ।

यसो भनिरहॅदा पटक पटक माफी मागिरहेकी उनी आफू महिलावादी नभएको र पुरुषहरुप्रति उत्तिकै आदर-सम्मान रहे पनि किताबमा छताछुल्ल लापरवाही सोचले महिलाहरुलाई कहिलेकाहीँ न्याय नगर्ने उनले बताइन् ।

sagarmani mobile size
तारा भट्टराई (अमेरिका)

श्रीमान, बुबाले आफ्ना कुरा नबुझे पनि उनको आमा, सासु, फुपु र छरछिमेकमा महिला साथीहरु थिए र उनीहरुसँग आफ्ना कुराहरु सेयर गर्थिन् । त्यतिबेला महिला लेखकहरु एकदमै कम थिए । हुन पनि उनी किशोरी हुँदा दोस्रो विश्वयुद्ध जारी थियो । विश्वस्तरीय युद्धमा उनका बुवा, काका, मामा सबै युद्द लड्न गएका थिए । घरमा सम्पुर्ण जिम्मेवारी महिलाहरुले नै बहन गर्नुपर्थ्यो । कति फर्केर आउँथे कति उतै मारिन्थे । घरायसी महिलाहरु पनि युद्ध उद्योगमा लागेका थिए ।
त्यतिबेलाको अमेरिकी माहोल नै अर्कै थियो । उनले प्रसंग टुग्याइन् ।

फेरि महिला लेखककै प्रसंग कोट्याइन् । यतिबेला उनका आफन्तहरु कोही पनि बाँकी छैनन् । छोराछोरी नातिनातिना आफ्नै दुनियाँमा छन् । बुढेसकालमा कतै घुम्न जाने शक्ति छैन । कोठामा, काउचमा वा बगैँचामा एक्लै किताबसँग घोत्लिँदा महिला लेखकहरुका किताबले भने दशकौं अगाडि टुटेका अनेकौं सम्बन्धहरुलाई जोडाइदिन्छ । कहिले रुवाइदिन्छ त कहिले रोमान्चित बनाइदिन्छ अनि किताब नसकिँदै उनी लेखकसँग गहिरो सम्बन्धमा परिसकेकी हुन्छिन् । फेरि अर्को पुस्तक समात्छिन् र यसरी नै महिनौ वर्षौँ बितिरहन्छ ।

मेरियनजस्तै हामीले पनि सायद महिला लेखकहरुलाई राम्रा भन्निरहँदा पुरुषहरु रिसले चुर भएर दाह्रा किट्छन् होला । तर विज्ञानले पनि के प्रमाणित गरिसकेको छ भने, पुरुष लेखकभन्दा महिला लेखक सशक्त हुन्छन् । शसक्त यो मानेमा हुन्छन् कि उनीहरु अरुको भावना बुझ्न र कागजमा उतार्न सक्षक हुन्छन् । नत्र अरुन्धती रोयले “द गड अफ स्मल थिङ्स” मा पाठकलाई एउटै पानामा रुवाउन, हँसाउन , आशा जगाउन कसरी सक्थिन् होला । उनी शक्तिसाली लेखक हुन् । उनलाई राम्ररी थाहा छ कि पुस्तकको पात्रद्वारा पाठकलाई कसरी भावनात्मक बनाउने भन्ने कुरा ।

साँच्चिकै भन्नुपर्दा अहिलेको दुनियाँमा ट्राभल क्षेत्रका वेवसाईट र ब्लग राइटरहरु नै हेर्यो भने पनि महिलाहरु नै बढी देखिन्छन् । कम्पनीहरुले ब्लगरहरु महिला नै हायर गर्छन् । सेल्स गर्ल पनि महिला नै हायर गर्छन् । किनभने पुरुषहरुले कुनै ठाउको बारेमा वर्णन नै गर्न सक्दैनन् र रुखा शब्दहरु प्रयोग गर्छन् । महिलाको वर्णन सुन्दा त्यो ठाउॅमा गैहाल्नु जस्तो लाग्छ । बजारमा निस्किएका नयाँ सामानकै रिभ्यू महिलाले लेखेको छ भने पनि किनिहाल्नु जस्तो लाग्छ । झन्डै ८४ प्रतिशत महिलाहरु शब्द चयन, ग्रामर र पात्रका लागि निक्कै समय खर्चिने गर्छन् । कपी राइटर, कन्भर्सन् कपी राइटर, ईमेल मार्केटिंग कपी राइटर, घोष्ट राइटर, लिगल राइटर, मेडिकल राइटर लगायत थुप्रै विधामा सफलता हात पारिरहेका छन् ।

जीवनका लक्ष्यहरु निर्धारण गर्ने क्रममा पनि महिलाका अनेक लक्ष्यहरु हुन्छन्, पुरुषका अत्यन्त सीमित हुन्छन् । भनिन्छ जति धेरै लक्ष्यहरु निर्धारण गर्यो त्यति पेशागत सफलता र उचाइ प्राप्त गर्न सकिन्छ । संसारमा त्यही पनि भइरहेको छ । शताब्दीऔंसम्म अधिकार विहीन भई घरभित्र थुनिएर रहेका महिलाहरुले धेरै विद्रोह पनि गर्नु पर्यो र दु:ख पनि धेरै गरे । तर यति थोरै समयमा नै पेशागत सफलता हात पारे पनि दुर्भाग्य शक्तिमा पुग्ने लक्ष्य भने लिन कहिल्यै चाहेनन् । यदि त्यस्तो चाहना राख्ने हो भने, संसार सबै महिलाकै नेतृत्वमा मात्रै चल्ने छ ।

अमेरिकामा महिला लेखकको इतिहास जस्तो सुकै भए पनि सन् १९९० देखि २००१ मा आई पुग्दा भने अमेरिकामा महिला र पुरुष लेखक बराबरी नै थिए । अहिले संख्यात्मक रुपमा महिला लेखकहरु ०.५ प्रतिशतले बढी नै भए पनि उनीहरुले मार्केटिंग गर्न र बिक्री वितरण गर्न भने सकेका छैनन् । यहाँ लेखकको गुणस्तर भन्दा पनि बिक्रीलाई मापदण्ड बनाइन्छ । पुरुष लेखकका कृतिहरु हाइलाईट गरिदिने, समीक्षाग रिदिने र सिफारिस गरिदिने च्यानल हुन्छ । महिला लेखकका कृति घरभित्रै जन्मन्छन् र मर्छन् । छपाउने पैसा पनि हुँदैन अनि मिडिया र बेष्ट सेलर कम्पनिसँग सम्बन्ध हुनत टाढाको कुरा हो । अहिलेसम्म पनि लेखनीबाट धेरै ज्याला पाउने पनि पुरुषहरु नै छन् । अमेरिकामा किताब पढ्नमा पनि महिलाहरु नै अग्रस्थानमा छन् । सन् २०१९ मा ७६ प्रतिशत महिला र ६७ प्रतिशत पुरुष थिए भने २०२१ मा ७८% महिला र ७३% पुरुष रहेको विभिन्न तथ्यांकले देखाउँछ ।

लामो समयदेखि समाजलाई नियाले कि मेरियनकै विचारमा पनि महिला लेखकहरुले आफ्ना पीडा, प्रेम , विवाह, धोका, समस्या , आर्थिक कठिनाइ, संघर्ष, क्षमता, घरभित्रका कुरा , सम्बन्धहरु , राम्रो ढंगले प्रस्तुत गर्छन् । तर पुरुष लेखकले महिलाहरुको बाहिरी सुन्दरता, अथवा कुनै जासुस गरेको, गोली हानेको , लडाइँ लडेको जस्ता बाहिरी र सतही कुराहरु मात्रै प्रस्तुत गर्छन् । जसले खुराक नपुग्ने उनको तर्क छ ।

उनीसँगको चार वर्ष लामो संगत पछि जब म नयाँ किताब किन्छु वा पढ्न भनेर पल्टाउछु अनि यो पुस्तकले महिलाहरुलाई कसरी प्रस्तुत गरेको छ त भनेर एकछिन सोचमा पर्ने गरेकी छु । हुन पनि मैले नामी पुरुष लेखकहरुले महिला चरित्रमाथि आक्षेप लगाएका थुप्रै प्रसंगहरु पढेकै हुँ । पुरुष लेखकले महिलालाई चरित्रहीन, दासी, चाकर्नी , कमजोर , मानसिक बिरामी, सुन्दर र सुडोल शरीर भएकी वा यस्तै यस्तै तरिकाले प्रस्तुत गरेका हुन्छन् । मानौँ कि लेखकको कलम महिलासँग खुब रिसाएको छ ।

जुनसुकै लेखमा पनि महिला र उसको सुन्दरता अनि यौनको विषय उठाएको देख्दा लाग्छ संसार सबै त्यही महिलाको मांसपिण्डमा अड्किएको छ र कलिला बालिकाहरुमा समेत यौनआनन्द उठाउन चाहन्छन् ।

महिला लेखिकाहरुको कुरा गर्दा , उहाँहरु घरधन्दाको काम सकेर टेबुल ल्याम्पको छेउमा बसेर कापीकलम समात्दा दार्ही नकाटेर झुस्स पालेका, अल्छि, पट्यारलाग्दो स्वभाव भएका , यौन दुराचार गर्न बानी परेका, होचा, रुखो स्वभाव भएका , नैतिक पतन भएका , कुरौटे , नराम्रा पुरुषहरुका बारेमा पनि त महिला लेखकहरुले केही त पक्कै सोच्दा हुन् । तर परिवार समाजद्वारा निर्धारित संस्कार र सभ्यताहरुले उनीहरुलाई बाँधेकै हुन्छ । पुरुषहरुको बारेमा जम्मै कुरा लेखिदिने हो भने पुरुष पनि त नांगिन्छ होला नि ? यस्तो कुराले पक्कै पनि उनीहरुको आत्मसम्मानमा चोट पुग्छ र महिलाहरुको जस्तै उनीहरूको पनि जीवनमा ह्वात्तै महत्त्व घट्छ ।

मेरो आफ्नै अनुभवमा चाहिँ अझै पनि महिलाका लेख छाप्न मिडियाहरुले हत्तपत्त विश्वास नै गर्दैनन् र छापिएका लेखहरु पनि कुनै पुरुषले लेखिदिएको होला भन्ठान्छन् । किन नछापेको भन्दा गुणस्तरीय लेख भएन, झिना मसिना कुराहरु उठाउँछन् भनेर जवाफ फर्काएर पन्छिन्छन् । यो समस्या नेपालमा मात्रै हैन अमेरिका लगायत संसारभरिकै महिला लेखकहरुको हो ।

लेखनमा मात्रै नभएर महिलाले गरेका हरेक काममा प्रश्न तेर्स्याइन्छ ।

अर्को कुरा महिलाहरु पढाइका लागि वा कामका लागि एकठाउँबाट अर्को ठाउँ जानुपर्ने, बिहे गरेर अर्काको घरमा जानुपर्ने बाध्यता छ । लेखनमा रुची राख्ने महिलाका लागि छुट्टै कोठा र वातावरण पनि हुन्न । आर्थिक अभावले आवस्यक अध्ययनका लागि पुस्तक , ल्यापटप किन्न समेत पैसो पुग्दैन । एका बिहानै उठेर पुरुषपत्रिका पढ्न थाल्छ महिलाले कफी बनाएर पत्रिका पढेको ठाउॅमा पुर्याउनुपर्छ । घरको काम धन्दालगायत सामाजिक मान्यताले छुट्ट्याइदिएका सबै जिम्मेवारी सकेर बल्ल समय निस्कने बेलामा शरीर थकित भैसकेको हुन्छ । त्यहीँ पत्रिका पढेको भरमा चोकचोकमा रहेका चिया पसलहरुमा विद्वान् पुरुषहरु कत्रा बहस गरिरहेका हुन्छन् , त्यहाँ महिलाहरुले कुरा सुन्नु र बहस गर्नु राम्रो पटक्कै मानिन्न । महिलाहरुको छुट्टै त्यस्तो कफी पिएर बहस गर्ने अखडा पनि छैनन् ।

ब्रिटिस साहित्यकार / लेखिका भर्जिनिया वुल्फले “A Room of One’s Own” मा महिलालाई रचनात्मक क्रियाकलापका लागि एउटा आफ्नै कोठा र केही पैसा पनि चाहिन्छ भनेकी छिन् । १९२९ मा उनले निबन्धमार्फत यो आवाज उठाए पनि अहिलेसम्म पनि महिलाको आफ्नै कोठा हुनु त असम्भवजस्तै हुन्छ ।

महिलाले राम्रोसँग खान र सुत्न पाएमात्र राम्रोसँग सोच्न सक्छन् र लेखनकार्य अगाडि बढाउन सक्छन् पनि भनेकी छिन् । मलाई यो भनाइ सार्है चित्त बुझ्दो लाग्छ । तर भर्जिनियाले भनेजस्तै जहाँ जुनसुकै समाजमा पनि महिलाको स्वअस्तित्व पितृसत्तावादको कब्जामा छ र त्यहाँ महिलाले स्वतन्त्र ढंगले कलम चलाउन सक्ने कुरै आउँदैन । आफ्ना हरेक इच्छा, आकांक्षा, स्वप्न र उद्देश्यहरू स्वतन्त्र हुने कुरा नै भएन ।

महिलाहरु अचेल सोसियल मिडिया मार्फत वा आफ्नै अनलाइन दर्ता गरेर पनि साहित्यिक विमर्श, अनुभव अनुभूतिको साटासाट गरिरहेका हुन्छन् । लेख छाप्न पुरुष लगानीको मिडिया पनि कुर्न पर्दैन । पुरुष लेखकका लेन्सबाट संसार धेरै हेरियो , पढियो र सुनियो । अबको दुनिया महिला लेखकको हो । अब उनीहरुलाई पढ्न सुन्न जरुरी छ ।

लेखक परिचय

अमेरिका बस्दै आएकी तारा भट्टराई विशेषतः गैरआख्यान विधामा कलम चलाउँछिन् । अमेरिकी जर्नल 'ग्लोबल प्रेस इन्स्टिच्युट', नेपालको सम्पादक भएर काम गरिसकेकी भट्टराई साहित्यपोस्टमा नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया
Loading...