काठमाडौं / नेपाली चलचित्र कबड्डी ४ ले अभूतपूर्व दर्शक कमाएको छ । शुक्रबारदेखि देशभरि प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ४’ प्रति दर्शकले मोह देखाएका हुन् । शनिबार पनि यसअघि नसोचिएका दर्शकको भिड देखिएको समाचारहरूमा जनाइएको छ ।

पहिलो दिन नै आक्रामक ओपनिङ गरेको ‘कबड्डी ४’ ले दोस्रो दिन पनि हाउसफुल भएर कीर्तिमान बनाएको हो । शनिबार काठमाडौँमा वर्षाले बाधा पुर्याएको भए पनि बिहानैदेखि हलमा दर्शकको घुइँचो देखिएको थियो । दर्शकको उपस्थिति राम्रो भएपछि फिल्मका कलाकारहरूले दर्शकप्रति आभार प्रकट गर्न विभिन्न सिनेमा हलमा पुगेका थिए । दयाहाङ राई, सौगात मल्ल, मिरुना मगरसहितको टोली उपत्यकाका विभिन्न सिनेमा हलमा बिहानै पुगेका थिए ।

‘कबड्डी ४’ ले पहिलो दिनमा नै साढे दुई करोडदेखि ३ करोड रुपैयाँ कलेक्सन गरेको बताइन्छ । यो अहिलेसम्म नेपाली फिल्मले कमाएको पहिलो रेकर्ड भएको दाबी गरिएको छ । अझ निर्माण पक्षको कुरा पत्याउने हो भने यसले हिन्दी फिल्मको कीर्तिमानसमेत भङ्ग गरेको छ ।

यसअघि सर्वाधिक व्यापारको कीर्तिमान दक्षिण भारतीय चलचित्र ‘केजिएफ २’ ले राखेको थियो । फिल्मको वितरण गरिरहेका गोविन्द शाहीका अनुसार सो चलचित्रले पहिलो दिन दुई करोड हाराहारी कलेक्सन गरेकोमा त्यो रेकर्ड ‘कबड्डी ४’ ले तोडेको हो ।

आइतबार पनि सार्वजनिक बिदा भएकाले चलचित्रको व्यापार नघट्ने र हाउसफुलका साथ दर्शक ओइरिने निर्माण पक्षको अनुमान छ । त्यसो भएको खण्डमा तीन दिनमै चलचित्रले झण्डै सात करोड रुपैयाँ ग्रस कलेक्सन गर्ने आँकलन छ ।

त्यसो त घाटाको व्यापार गर्न नपरेको कबड्डी निर्माण समूहले फिल्म रिलिज हुनुअघि नै लगानी सुरक्षित गरिसकेको छ । फिल्मको डिजिटल अधिकार र विदेशी प्रदर्शन अधिकारको बिक्रीबाट पहिल्यै तीन करोड उठाइसकेको छ । फिल्मको लगानी तीन करोड रहेको निर्माण समूहको दाबी छ ।

सन् २०१४ मा पहिलो पटक ‘कबड्डी’ रिलिज भएको थियो । हिमाली भेगको विशुद्ध अर्ग्यानिक कथालाई दर्शकले रुचाएका थिए । त्यसपछि उही कथालाई तन्काउँदै ४ सम्म ल्याइएको छ । अझै पनि दर्शकले रुचाइरहेकै छन् । कबड्डी ४ मा दयाहाङ राई, सौगात मल्ल र मिरुना मगर मुख्य भूमिकामा छन् । मिरुनालाई पाउनका निम्ति दया र सौगातको संघर्ष नै चलचित्रको मुख्य विषय हो ।

फिल्मको सफलतासँगै टिकटक काण्डले निर्माणपक्ष लाई हैरान बनाएको छ । फिल्म हेर्न गएकाहरूले फिल्मका भिडियो क्लिपहरू सामाजिक सञ्जालमा छरपष्ट पारिदिँदा नयाँ दर्शकहरूलाई खल्लो हुने गुनासो सामाजिक सञ्जालमा निर्माणपक्षले गरेको छ । निर्माणपक्ष एक कदम अघि बढ्दै यस्तो कार्य रोक्न सिनेमा हलहरूले भूमिका नखेलेको भन्दै आलोचनासमेत गरेका छन् ।

सिनेमा हल व्यवस्थापकहरू भने निर्माण पक्षको सो आरोपलाई भने आधारहीन भएको बताउँछन् ।

दर्शक नै यस्ता कुरामा सचेत हुनुपर्ने उनीहरूको धारणा छ ।

यसअघि कहिल्यै नदेखिएको अभूतपूर्व भिड र प्रशंसकहरूको क्रेजका कारण यस्तो हुनु स्वाभाविक भए पनि यसलाई निर्माण पक्षले पचाउन नसकेको केहीको धारणा छ ।