एक समय छ्यापछ्याप्ती अश्लील साहित्य पढ्न पाइन्थ्यो । प्रायः रत्नपार्कको अन्डरग्राउन्डमा पाइने त्यस्ता साहित्य अचेल गायब छन् । यो गायब भएको निकै समय भइसकेको छ । सम्भवतः एक दशक नै भइसक्यो कि ? एक दिन यसबारे रिपोर्टिङ गर्न रुचि लागेर त्यसको बजार खोज्दै हिँडियो । थाहा भयो, अचेल त्यस्ता साहित्य बिक्री हुने हट स्पट नयाँ बसपार्क, गोंगबुतिर सरेको छ रे ! एक जना साथीको साथ लागेर म त्यतै पुगेँ ।
अश्लील साहित्य बेचेर काठमाडौँमा राम्रै घरजम गरेका एक जना व्यक्ति रहेछन् । उनको स्तर बढेर हो वा तीव्र प्रतिस्पर्धा र प्रशासनको टेढो नजर परेर हो, अचेल त्यसमा कुनै आकर्षण नदेखेर अरु नै बिजनेसमा छिरिसकेका रहेछन् । जसले मलाई उनका बारेमा सुनाएका थिए, यिनै हुन्, अश्लील साहित्यको डन भनी चिनाएका थिए । उनले प्रहरीलाई पनि मनाएर केही वर्षसम्म त्यसको व्यापार कायम गरेका थिए ।
सम्भवतः उनकै पराक्रमका कारण काठमाडौँ उपत्यकामा रसिलो साहित्य पढ्न पल्किएकाहरुका लागि सामग्री उपलब्ध भइरहेका थिए । अचेल भने त्यस्तो देखिदैन ।
नेपालजस्तो ‘नैतिकता’ प्रधान देशमा ‘त्यस्ता’ साहित्य लेख्नुजस्तो तल्लो दर्जाको काम केही होइन । त्यस्ता लेखकलाई कसैले न लेखक मान्छ, न लेख्नेले न त आफूलाई चिनाउन नै चाहन्छ ! एक समय त सन्ध्याकालीन पत्रिकाहरुमा नियमित रुपमा स्तम्भका रुपमा अश्लील कथा छापिन्थे । अचेल छापिन्नन् । किन ?
मैले सोधेका केहीले त्यो बेला नै इन्टरनेटका कारण अश्लील साहित्यको बजार ध्वस्त भएको बताएका थिए । हुन पनि त्यो बेला यस्तो थियो, इन्टरनेटले खुल्लमखुल्ला सबैथोक पस्किरहेको थियो, दृश्यमा । अनि कसले अक्षर पढ्ने दुःख गरोस् ।
करिब १० वर्षअघि इन्डियामा एउटा अभद्र पात्रले निकै चर्चा बटुलेको थियो । ‘सबिता भाभी’ भनिने यौनकी ती देवीको आकर्षण कतिसम्म थियो भने त्यसको चर्चा संसारभर भएको थियो । त्यसका बारेमा निकै ठूला शोधसमेत भएका थिए । ठीक त्यही बेला नेपालमा भने अश्लील साहित्यको मूल नै सुकिसकेको थियो ।
तर अमेरिकामा भने अश्लील उपन्यासहरुको बाढी आइरहेको थियो । खासगरी इ.एल. जेम्सले लेखेको ‘फिफ्टी सेड्स अफ ग्रे’ उपन्यासले एउटा नयाँ विधा नै बनाइदियो, जसलाई अचेल ‘मम्मी पोर्न’ भनेर चिनिन्छ ।
प्रायः पुरुष कमाउन कार्यालय जान्छ, व्यापार गर्छ । घरमा बसेकी महिलाले छोराछोरी हुर्काउँछे । अथवा, ऊ पनि कार्यालय त जान्छे तर उसका खुसी, उसका आकांक्षा र रहरहरु मरिसकेका छन् । ‘मम्मी पोर्न’ले चाहिँ त्यस्ता महिलाहरुका लागि खुसी खोज्ने बाटो दिन्छ । यौनिक कल्पनाशीलता थपिदिन्छ ।
जुन रसिला उपन्यास पढेर विवाहिताहरुले आफूले पूरा गर्न नसकेका कयौँ रहरहरु पूरा गर्छे, चाहे त्यो धनको होस् या यौनको, त्यस्ता कल्पनाशीलता पूरा गर्ने साहित्यलाई ‘मम्मी पोर्न’ भनिन्छ भनी केहीले व्याख्या गरेका छन् । यस्ता अनेकन् व्याख्याले इन्टरनेट भरिएको छ ।
‘फिफ्टी सेड्स अफ ग्रे’ उपन्यास हिट हुनुभन्दा अघि त्यस्ता रसिला लेखिकामा नोरा रोबर्ट्सको नाउँ आउँथ्यो । उनका उपन्यासहरुले अश्लीलता अलि भद्रतामा पस्कने गर्थ्यो तर इ.एल. जेम्सले भने हद पार गरिदिइन् । ‘फिफ्टी सेड्स’को चर्चा यति भयो कि त्यो उपन्यास नपढ्ने कोही भएनन् । पहिला नोरा रोबर्ट्सका उपन्यास बोक्न पनि हिच्किचाउने जमातले खुल्लमखुल्ला ‘फिफ्टी सेड्स’ बोकी हिँड्ने, यात्राका अवधिमा पढ्ने गर्न थाले । अहिले अश्लील साहित्य पढ्नु कुनै लज्जाको विषय अमेरिका÷युरोपतिर रहेन । पहिला त्यहाँ पनि अलि टेढो नजरले नै हेरिन्थ्यो, भलै व्यक्त गरिँदैनथ्यो । त्यो अर्कै कुरा हो ।
‘फिफ्टी सेड्स’ क्रान्तिको सकारात्मक पक्ष के भयो भने बजारमा त्यस्तै किसिमका उपन्यासहरुको माग ह्वात्त बढ्यो । त्यसमा अमेजन डटकम सबैभन्दा ठूलो सहजकर्ता बन्यो । लेखनमा रुचि भएका र तुरुन्त पैसा कमाउन चाहनेहरुको जमातले उपन्यास लेख्ने र तत्काल सेल्फ पब्लिस गरी अमेजनमा राख्ने गर्न थाले ।
अमेजनमा हिट हुने केही लेखकहरुलाई पेइन्गुइन रेन्डम हाउसजस्ता ठूला प्रकाशकले पनि ध्यान दिन थाले । अहिले ठूला प्रकाशकले पत्याएका केही लेखकहरु पनि छन्, जसले हरेक ६ महिनामा पाठकको एक जमातलाई सन्तुष्ट पार्ने प्रयास गरिरहेको छ ।
‘फिफ्टी सेड्स’ क्रान्तिताका उठेको लहर भने यतिबेला शान्त हुँदै आउन थालेको छ । तर त्यो क्रान्तिले अश्लील साहित्य लेख्ने जमातलाई भने आफू संगठित हुने, आफ्ना सिर्जनाको प्रचार गर्ने जस्ता कार्य गर्न प्रेरित गरेको छ । अचेल हरेक वर्ष अमेरिकाको लस भेगास अश्लील साहित्य महोत्सव हुने गरेको छ ।
यो महोत्सवलाई केही वर्षदेखि निरन्तर नियालिरहेकी अस्टिन एलिनोर रच्लिसले अश्लील लेखिकाहरुसँग कुराकानी गरी ‘नटी बुक्स’ शीर्षकको डकुमेन्ट्री बनाएकी छन् । त्यसमा उनले अश्लील लेखिकाहरुलाई केही वर्ष निरन्तर पछ्याएकी छन् । खासगरी उनले नाम बनाउन संघर्ष गरिरहेका केही लेखिकाहरु केली मेइन, लउरिन पेज, क्रिस्टिन प्रोबी, सिजे रोबर्टस्, एमी गार्सिया, एलिसन टलम्यान र आयशा टाइलरसँग घण्टौँ गफ गरेकी छन् ।
सन् २०१० मा बजारमा आएको फिफ्टी सेड्स अफ ग्रे उपन्यासको सफलताका लागि कोही पनि तयार थिएन । तर जब बजारमा आयो, १०० मिलियन प्रति बिक्री भएर सबै किताब गुरुहरुको गिदी खाइदियो । यसले एकाएक ‘इरोटिका’ विधालाई मुख्यधारामा जोडिदियो ।
यस्ता किताबका पाठक प्रायः घरेलु महिला थिए । सो उपन्यासको सफलताले पाठकहरु पनि स्वयं लेख्न थाले । लेख्न त लेख्ने तर अब बजारमा कसरी पु-याउने ? त्यसको समाधान अमेजनले दियो । इबुकका रुपमा छाप्ने र त्यहाँ ज्यादै लोकप्रिय भयो भने छापिदिने पनि गर्न थाल्यो । यस्ता किताबहरु कतिपय त न्युयोर्क टाइम्स बेस्ट सेलरको सूचीमा समेत स्थान बनाउन थाल्यो । कतिसम्म भने त्यस्ता लेखिकाका कडा प्रशंसक पनि बन्न थाले ।
खातेपिते परिवारका महिलाहरुमध्ये कोही चिकित्सक, कोही विज्ञापनको क्षेत्रमा काम गरेका वा अस्पतालको प्रशासन शाखामा काम गरिसकेकाहरुलाई लेखिकाका रुपमा चिनायो । तर चुनौती पनि उनीहरुलाई थपियो । हरेक पटक नयाँ नयाँ ‘आइडिया’ कसरी फुराउनु ? उनीहरु पहिला साता–सातामा आउने तलबले जीवन गुजारिरहेका थिए तर अचानक अश्लील साहित्य लेख्न थालेपछि उनीहरु लखपति बन्न पुगेका थिए ।
ती सबैका उपन्यासहरुको कथा एउटै हुन्छ । एउटी असल केटी खराब केटोसँग प्रेममा फस्छे । यस क्रममा त्यो केटासँग उसको रसिलो सम्बन्ध गाँसिन्छ । यस्तो कथा लेख्न सजिलो पनि छ तर प्रतिस्पर्धा यति चर्को कि सफलता हात पार्न गाह्रो छ ।
कतिपय चाहिँ यो सहज सफलताले अप्ठेरोमा परे । हरेक ६ महिनामा कसरी उत्तिकै सफल उपन्यास लेख्न भ्याउनु ? त्यसैले त्यस्तो झ्याउलो काम गर्नुभन्दा नगर्नु नै बेस ठानी कतिपय लेखिकाहरु बजारबाट निस्कने तयारी गर्न थाले । कतिले प्रतिस्पर्धा गर्न सकेनन्, कतिले कुस्त कमाइसकेपछि आफ्नो परिवारमा नै लाज हुने किसिमका उपन्यास लेख्न रुचाएनन् ।
यो डकुमेन्ट्रीले यस्तै कुरा उजागर गरेको छ ।
डकुमेन्ट्रीको शुरुवात नै रमाइलो छ । एक जना महिलाले आफूले पढ्ने रोमान्स उपन्यासहरुको सूची देखाउँछिन् र भन्छिन्, ‘यीमध्ये म केही तपाईंलाई देखाउन सक्तिनँ, म आफैँलाई लाज लाग्छ । तर म यो किन पढ्छु भने मलाई यसबाट ‘गिल्टी प्लिजर’ प्राप्त हुन्छ ।’
‘गिल्टी प्लिजर’ भनेको बन्देज लगाइएको कुराबाट आनन्द लिनु । नैतिक रुपमा यो कुरा गर्नु ठीक नहोला कि भन्ने लाग्दालाग्दै पनि त्यसबाट आनन्द आउँछ भने त्यो गिल्टी प्लिजर हो । यौन साहित्य लेख्नेहरुले त्यही गिल्टी प्लिजर दिन भरपूर प्रयास गर्छन् । त्यसमा सफल भए भने त्यसैका आधारमा अश्लील लेखकहरुले वार्षिक रुपमा लाखौँ कमाइरहेका हुन्छन् ।
डकुमेन्ट्रीले खोजमूलक कुरा पस्कनु भन्दा तीन चार जना लेखकहरुलाई पछ्याएर यस्तो लेखनीका ट्रेन्ड बुझ्ने प्रयास गरेकी छन् । यो बुझ्नु रोचक त छँदैछ, नेपालमा अपराध मानिएको अश्लील साहित्य पढ्नुसँग दाँज्नु पनि उत्तिकै रमाइलो हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।