साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

साताका पाँच पुस्तक

Chovar Blues Mobile Size

देश चुनावमय बनेको छ । स्थानीय निकायको चुनावका नजिताहरुले नछोएको कोही छैन । अझ भनौँ, साहित्य क्षेत्र पनि चुनावका नतिजाहरुको पेरिफेरिमै रुमलिएको छ । यसबिचमा फेरि पनि साहित्य क्षेत्र सिथिल बनेको छ, जुन स्वभाविक पनि हो । हामी यस स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।

यसैक्रममा साताका पुस्तकमा योपटक पाँच पुस्तक । ‘विश्वको जीवित सङ्ग्रहालयदेखि ‘पहाड र लमतन्न समुद्र’सम्म ; पुस्तककाे छाेटाे परिचयसहित ।

१. डोल्पो – विश्वको जीवित सङ्ग्रहालय

वरिष्ठ पत्रकार विष्णुप्रसाद शर्मा पराजुलीको नियात्रात्म कृति हो, डोल्पो – विश्वको जीवित सङ्ग्रहालय । डोल्पो सम्भवतः समग्र डोल्पाकेन्द्रित पहिलो नियात्रात्मक कृति हो । यो कृतिमा तल्लोमात्र होइन, माथिल्लो डोल्पोसमेतको आधिकारिक परिचय प्रस्तुत गरिएको छ ।

“यो पुस्तकको अध्ययन र उपयोग सामान्य पाठकका लागि उपयोगी छँदै छ तर त्यसका अतिरिक्त विभिन्न जिम्मेवारी लिएर बसेका नेपालीले यो पुस्तक एकपटक पढ्दै पर्छ ।”, पुस्तकको भूमिकामा साहित्यकार प्रमोद प्रधान लेख्छन्, “किनकि यस पुस्तकको अध्ययन र उपयोग धेरै विषय र प्रशंगमा गर्न सकिन्छ भन्ने मेरो ठम्याइ छ । अझ विशेष गरी हाम्रा नीतिनिर्माताहरु, विकास र योजना विद्हरु, पुरातत्त्व एवम् संस्कृतिविद्, वन्यजन्तु र वनस्पतिविद्हरु अनि पर्यटक सबैका लागि डोल्पोः विश्वको जीवित सङ्ग्रहालय उत्तिकै उपयोगी छ ।”

sagarmani mobile size

पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले प्रकाशनमा ल्याएको हो । ३ सय ८४ पृष्ठमा फैलिएको कृतिको मूल्य ४ सय ९० रुपियाँ रहेको छ ।

२. बर्मा र थाइल्याण्डभित्र नेपाल

साहित्यकार नगेन्द्र न्यौपानेको नियात्रा कृति हो, बर्मा र थाइल्याण्डभित्र नेपाल । नेपालीहरु बर्मा किन गए ? कसरी गए ? गइसकेपछि किन नेपाल फर्किएनन् ?, र उनीहरु कसरी बसेका छन् ? – यस्तै जिज्ञासावरिपरि रहेर यो किताब लेखिएको छ । नेपालीहरु बर्माबाट थाइल्याड पनि गएका रहेछन् । बर्माबाट थाइल्याण्ड जानुको बाध्यता के थियो, र थाइल्याण्डमा कसरी बसेका छन् ? – पुस्तकले खोट्याउने प्रयास गरेको छ ।

“यो यात्रा विवरण मात्र नभई बर्मा नेपालीहरुले भोगेका पीडा अनि उनीहरुले गरेको समर्पण र उनीहरुको साहसलाई सकभर उतार्ने कोसिस गरेको छु ।”, पुस्तकमा लेखक न्यौपानेले लेखेका छन्, “यस समावेश भएका पात्रहरु काल्पनिक नभई त्यही धर्तीका उपज हुन् । उनीहरुसँग म आफैँले साक्षात्कार गर्ने मौका पाएँ । उनीहरुको अनुभव पनि सुन्न सकेँ ।”

पुस्तकलाई बिएन पुस्तक संसारले प्रकाशनमा ल्याएको हो । १ सय ६७ पृष्ठमा फैलिएको नियात्रा कृतिको मूल्य ३ सय २५ रुपियाँ रहेको छ ।

३. समाजवादको जन्म र विकास

डा. राजेश गौतम माक्र्सका मान्यताहरुमाथि लेखिएको पुस्तक हो, समाजवादको जन्म र विकास । पुस्तकमा समाजवादको पृष्ठभूमिदेखि चीनमा कम्युनिस्ट राज्यको उदय, भारतमा समाजवादी आन्दोलनको विकास, दोस्रो विश्वयुद्धपछिको विश्वमा समाजवाद, तेस्रो विश्वका लागि समाजवाद, समाजवादको भविष्यलगायत विषयहरुलाई ३५ अध्यायमा समेटिएको छ ।

“यो ज्यादै नै दुखको कुरो हो, नेपालमा प्रजातान्त्रिक र बामपन्थी शक्तिहरु विभिन्न समूह र विचारमा विभाजित र अस्तव्यस्त भएका छन् ।”, पुस्तकमा लेखक गौतम लेख्छन्, “उनीहरु सत्ताको लोभमा लिप्त भएका छन् । उनीहरुले अब के गर्नुपर्दछ र कुन बाटाबाट अगाडि बढ्नुपर्छ थाहा पाउन सकिरहेका छैनन् । उनीहरुले समाजवादको नारा लगाइरहेका छन्, तर व्यवहार त्यही खेलमा संलग्न भइरहेका छन् जसको सर्तहरु संसदीय अखडामा बुर्जुवा वर्गद्वारा निर्धारित गरिएको थियो । त्यहाँ उनीहरुले समाजवादको बाटामा कुनै नयाँ पहल गर्नमा असफल रहेका छन्/भएका छन् ।”

पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले प्रकाशनमा ल्याएको हो । २ सय ५२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ९० रुपियाँ रहेको छ ।

 

४. मोरङमा नेपाली साहित्यको उत्पति र विकास

पूर्वाञ्चल क्षेत्रका चिरपरिचित साहित्यकर्मी हुन्, दधिराज सुवेदी । साहित्यसहित विभिन्न विधाका करिब डेढ दर्जन बढी पुस्तकहरू प्रकाशनमा ल्याइसकेका सुवेदीको ऐतिहासिक कृति हो, ‘मोरङमा नेपाली साहित्यको उत्पति र विकास’ । यस कृतिमा उनले मोरङमा नेपाली साहित्य, त्यसको विकासलगायत विषय समेटेका छन् । कृतिमा ऐतिहासिक खण्ड र व्यक्ति विवरण गरी दुई खण्डमा विभिन्न साहित्यिक सन्दर्भ समाहित छ । मोरङका साहित्यकारहरूको छोटो परिचय पनि छ ।

प्राक्कथनमा सुवेदी उल्लेख गर्छन्, ‘…कहिले घरको एकान्तवासमा, कहिले पुस्तकालयको एकान्तवासमा बिहान ३ बजेदेखि राति १० बजेसम्म (शारीरिक व्यायाम, पूजापाठ, टेलिभिजन समाचार र चेतनालाई विश्रामका निमित्त ५ घण्टा दिएर) दैनिक १४ घण्टा ७५ वर्षे शरीरले श्रम गरेर यो कृति तयार पार्न सफल भएकोमा कोरानासँग युद्ध जितेर घर फर्केको मानिसझैँ म पनि प्रफुल्ल भएको छु, मैले आफूलाई धन्य ठानेको छु र एकान्तवासका कारण मन र शरीरालाई शिथिल हुनबाट जोगाएको छु ।’

पुस्तकई पूर्वाञ्चल साहित्य प्रतिष्ठान, विराटनगरले पुकाशनमा ल्याएको हो । २ सय ६६ पृष्ठमा फैलिएको कृतिको मूल्य ४ सय रुपैयाँ रहेको छ ।

 

५. पहाड र लमतन्न समुद्र

पवन आलोक पछिल्लो समयमा प्रकाशनमा आएको नियात्रा कृति हो, ‘पहाड र लमतन्न समुद्र’ । कथा, कविता, संस्मरणमा कलम चले पनि नियात्रा आलोकको सर्वाधिक रुचिको विषय हो । त्यसैको परिणति हो, नियात्रा लेखनसँगै नियात्रा विधामा पुरस्कारको व्यवस्था समेत गरिनु । उनले नियात्रा पुरस्कारको स्थापना गरेका छन् । कृतिमा साहित्यकार आलोकद्वारा लेखिएका स्वदेश तथा विदेश भ्रमणका १५ नियात्रा संगृहीत छन् ।

नियात्राकार प्रतीक ढकाल कृतिको भूमिकामा लेख्छन्, ‘यही आधारमा प्रस्तुत नियात्रा कृतिलाई हेर्दा यसमा स्रष्टाका आँखाद्वारा देखिएका वर्तमानका प्रत्यक्ष दृश्य र त्यसमा आलम्बित भएर आएका आफ्नै अतीत स्मृतिहरूसँगसँगै प्रवाहित भएका देखिन्छन् । यसका सबै भ्रमणहरू सरल र सहज छन् ।’

पुस्तकलाई साझा प्रकाशनले बजारमा ल्याएकाे हाे । १ सय ४ पृष्ठमा फैलिएको कृतिको मूल्य २ सय ५० रुपियाँ रहेकाे छ  ।

प्रतिक्रिया
Loading...