सञ्जाल र सञ्चार क्षेत्रमा केही दिने चुनाव छाएको छ । त्योभन्दा बढी बालेन छाएका छन् । खैर, यो सञ्जालको कुरो हो, तर बालेनको होइन । यो चोरीको कुरा हो, तर सुनचाँदीको होइन ।

२०७९ साल जेठ ४ गते साँझ, फेसबुकमा एक व्यंग्य भाइरल बन्यो । जुन यसप्रकार थियो –

गोरुले गधालाई सोध्यो –
भाइ ! चुनाव त जितिछस्
तर, मान्छेले
तँलाई मत कसरी दिए नि ?
गधाले भन्यो –
चुनाव जित्नुअघि त
म पनि मान्छे नै थिएँ नि !

अर्जुन पराजुली डिकोबिनाको व्यंग्य लेख्छन्, विशेषतः राजनीतिलाई डिकोमा राख्न लेख्छन् । हुनसक्छ, डिको नदिनु डिकोमा नहिँडेकाहरुको बिम्ब हो । अथवा यो पनि हुनसक्छ, व्यंग्य कविता बन्न नसक्नुको प्रतिबिम्ब हो ।

जब अर्जुन पराजुलीले माथि उल्लेखित व्यंग्य आफ्नो फेसबुकमा डिको भएको कापीमा डिको नदिई लेखेर सेयर गरे, मत गणना चलिरहेको अवस्थामा व्यंग्य फेसबुकमा सर्वत्र छाइहाल्यो । उसो त समसामयिक राजनीतिलाई थोरै शब्दमा चोटिलो व्यंग्य गर्ने पराजुलीका व्यंग्यहरु उसै पनि भाइरल नै हुन्छन् । तर त्यस भाइरल व्यंगलाई दाइरल बनाउने काम गरे बहुप्रतिभाका धनी, गीतकार, कार्यक्रम प्रस्तोता, कवि तथा प्रकाशक भुपेन्द्र खड्काले, पराजुलीलाई आफ्नो ९ वर्ष पुरानो स्टाटस चोरेर कविता बनाएको आरोप लगाएर ।

उनले आफ्नो ९ वर्ष पुरानो स्टाटस र पराजुलीको व्यंग्यलाई फेसबुक पोस्टमा सँगै राख्दै लेखे – “लौ हेर्नुहोस् । मैले ९ वर्षअघि लेखेको स्टाटस त्यतिबेला भाइरल भएको थ्यो । आज तपाईँका प्रिय कवि अर्जुन पराजुलीले चोरेछन् । हैट, बूढालाई के भएछ ?”

नौ वर्ष पहिलेको स्टाटसमा भुपेन्द्रले लेखेका छन् –

गोरुले गधालाई सोधेछ, “भाइ ! चुनाव त जितेछन्, मान्छेले तँलाई भोट कसरी दिए कि ?”
गधाले उत्तर लियो, “चुनाव जित्नुअघि त म पनि मान्छे नै थिएँ नि !”

पराजुलीका कविता जति भाइरल हुन्छ, सोही मात्रामा उनले गाली पनि खान्छन् । विशेषतः राजनीतिलाई व्यंग्य गरिसकेपछि उनलाई गाली गर्ने पनि राजनीतिक विचार ओडेकाहरु नै भेटिन्छन् । तर भुपेन्द्र खड्काले चोरीको आरोप लगाइसकेपछि साहित्यको एक जमात पराजुलीलाई गाली गर्न उत्रिहाल्यो । कमेन्टमा गालीका वर्षा भए । समाजलाई दिशानिर्देश गर्ने, आफूलाई साहित्यकार भन्न रुचाउनेहरुले पराजुलीलाई “कविता चोर” भन्न भ्याइहाले ।

तर, कुरो यतिमा रोकिएन । भुपेन्द्रको माथि उल्लेखित पोस्ट सेयर गर्दै अर्जुन पराजुलीले लेखे, “आदरणीय मित्रहरु भ्रममा नपर्नुहोला । यो कविता मैले आजभन्दा २५ वर्षअगाडि लेखेको हुँ र लगातार मञ्चमा पढ्दै आएको छु । मलाई लाग्छ, यो स्टाटस मेरो कविताको कपी हो । अझै मलाई चोर बनाउँदै हुनुहुन्छ उहाँ मलाई चोर बनाउनेको विरुद्धमा अब मैले कानुनी उपचार खोज्नुपर्छ र खोज्नेछु ।”

पराजुलीले प्रतिक्रिया दिइसकेपछि सञ्चालको माहोल एकाएक बदलियो । पराजुलीलाई चोरको ट्याग भिराइसकेकाहरु हच्किए, भुपेन्द्रलाई उही आरोप फर्काउनेहरु बढे । फेरि फेसबुकमा सर्वत्र छायो लक्ष्मी पी पराजुली फेसबुक आइडीमा अगस्ट १६, २०१० मा पोस्ट भएको स्टाटस । उनले भुपेन्द्र खड्काले आफ्नो दाबी गरेको व्यंग्य सेयर गर्दै लेखेका छन् – “आदरणीय दाजु अर्जुन पराजुलीको यो कविता हाम्रा नेताहरुको अहिलेको व्यवहारसँग ठ्याक्कै मिल्ने भएकाले यहाँ साभार गरेको हुँ ।”

एकाएक बाजी अर्जुन पराजुलीतिर पल्टियो । तर भुपेन्द्र खड्कालाई आफ्नो स्टाटस सिर्जनामा यति धेरै विश्वास थियो कि, उनले पुनः पराजुलीको फेसबुक पोस्ट सेयर गर्दै लेखे, “आदरणीय दाइ ! तपाईँको २५ वर्ष अघिको प्रमाण लिएर आउन म आग्रह गर्दछु । तपाईँ चोर नै हो । धन्यवाद ।”, तर केहीबेरमै उनले आफ्नो स्टाटस सम्पादन गर्दै “तपाईँ चोर नै हो” भन्ने शब्दावली हटाए । अहिले भने स्टाटसै हटाइसकेका छन् । यसको सीधा अर्थ हो – खड्का पनि हच्किए । तर पराजुली आक्रमक बने ।

आज बिहानै अर्जुन पराजुलीले जनमत साहित्यिक मासिकको पूर्णांक ११५, असोज २०६३ फेसबुकमा सेयर गर्दै लेखे, “मेरो नाममा जनमतले निकालेको विशेषाङ्कमा कवि, समालोचक रामप्रसाद ज्ञवालीले लेख्नुभएको समीक्षा लेखमा छ यो । आफ्नो सिर्जना अरुले चोरेर चोरले उल्टै चोरिस् भनेर दुनियाँका अगाडि धम्क्याउँदा यस्तो पीडा हुँदोरैछ कि उस्तै मान्छे (म) भए आत्महत्या गरिसक्थ्यो ।”

पराजुलीले प्रमाणस्वरुप जनमत मासिकमा १६ वर्षअघि छापिएको व्यंग्य नै पेस गरिसकेपछि भने खड्का पछि हट्न बाध्य भए । तर अघिल्लो दिन “चोर”कै आरोप लगाएका खड्काले सीधासीधा माफी भने मागेनन् । उनले घुमाउरो पारमा लेखे, “९ वर्षअघि मैले लेखेको स्टाटस हिजो देख्दा र कवि अर्जुन पराजुलीको कवितासँग हुबहु मिल्दा मैले किन यस्तो भयो भनेर सोध्न मिल्छ । मैले प्रयोग गरेको भाषाले अर्जुन दाइलाई पर्न गएको असुविधाप्रति क्षमा चाहन्छु । मेरो जिज्ञासाचाहिँ यो हो कि ९ वर्षसम्म उहाँ यो रचना मेरो हो भनेर किन बोल्नु भएन ? अर्को कुरा, आजसम्म प्रिन्टलाइन वा पत्रपत्रिकामा उहाँको सो रचना मैले पढेको पनि छैन र मलाई उहाँको सो कविताबारे थाहा पनि थिएन । अर्को कुरा, मेरो स्टाटस वा रचना मैले जानेबुझेका आफैँ सृजना गरेका हुन् । एउटा नमीठो संयोगकै रुपमा लिएदिन आग्रह गर्दछु । धन्यवाद !”

प्रस्ट भाइसकेको छ, पराजुलीले भुपेन्द्रको कविता चाेरेका हाेइनन् । हुनसक्छ, पराजुलीको विवादित कविता नामको व्यंग्य यसअघि पढ्दैनपढेका खड्काले ठ्याक्कै उही भाव र शब्द संरचनाको स्टाटस संयोगवश लेख्न पुगेका थिए । तर  भुपेन्द्रले सुरुमै जुन रूपमा पराजुलीलाई “तपाईँ चोर नै हो” भनेर ठोकुवा गरे, त्यो आपत्तिजनक छ । र, अन्तिम स्टाटसमा “मेरो जिज्ञासाचाहिँ यो हो कि ९ वर्षसम्म उहाँ यो रचना मेरो हो भनेर किन बोल्नु भएन ?” भन्ने खड्काको जिज्ञासा पनि हास्यास्पद छ । प्रस्ट देखिन्छ, उनले यो वाक्य आफ्नो बचाउमा लेखेका हुन् । धम्कीकाे भाषामा माफी मागिँदैन ।

अन्तिममा लेखक गनेस पौडेलले यसै विवादमा रहेर लेखेको स्टाटस उल्लेख गर्नु उपयुक्त होला –  गोरु र गधाका सामान्य कवितामा कविहरु झगडा गरेको रत्ति मन परेन । कहिलेकहीँ छोटो कविता आफैँलाई समेत थाहा नभईकन कण्ठ हुनसक्छ र आफ्नै ठानेर पोस्ट गर्न सकिन्छ । म आफैँले धेरैपटक यस्तो गल्ती गरेको छु । सादय भएको त्यही हो । तपाईँ दुबैजना असल स्रष्टा हो । जिद् नगरौँ । जग नहसाऔँ ! स्रष्टा साथीले झुक्किएका साथीलाई क्षमा दिऊँ । झुक्किएका साथीले सनम्र क्षमा मागौँ । सजातीय स्रष्टासँग माफी मागेर सानो भइँदैन ।

हेर्नुहोस् सञ्जालका केही आरोप–प्रत्यारोपहरूः