२०७८ सालकाे डेब्यु गैरकाव्य (आख्यान र गैरआख्यान) विधाका पुस्तकलाई दिइने ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’का लागि ११ पुस्तककाे सूची प्रकाशन गरिएको छ । ५० हजार रूपियाँ राशि पुरस्कारको यो दोस्रो सूची हाे । हिजो हामीले काव्य विधाका उत्कृष्ट नाै कृतिको सूची सार्वजनिक गरिसकेका छाैँ ।

यो नामावली नयाँ लेखकहरूले २०७८ सालमा प्रकाशन भएका २९ गैरकाव्यकृति (आख्यान र गैरआख्यान) छानिएको छ । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकहरूको टीमले छानेको हो ।

‘वर्षभरिमा २९ भन्दा बढी नै आख्यान र गैरआख्यान विधाका पुस्तकहरू प्रकाशनमा आए हाेलान्, तर हामीलाई प्राप्त २९ कृतिबाट यो प्रारम्भिक सूची तयार गरिएको हो ।’ पुरस्कार निर्णायक समितिका संयोजक एवं साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भने, ‘यी ११ वटा कृतिले नयाँ लेखकहरू के लेख्दैछन् र नेपाली साहित्य कता जाँदैछ, त्यसको सङ्केत गरेको छ ।’

पहिलो पुस्तक लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका लेखकहरूलाई प्रोत्साहन गर्ने उद्धेश्यले अघिल्लो वर्ष (वि.स. २०७७) बाट सुरु भएको ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’मा ०७८ मा आइपुग्दा ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ पनि थपिएको हो । ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ वर्षभरिमा प्रकाशित डेब्यु काव्यकृतिलाई प्रधान गरिन्छ भने ‘साहित्यपाेस्ट उत्तम कृति पुरस्कार’ डेब्यु गैर-काव्यकृतिलाई प्रदान गरिन्छ ।

‘अघिल्लो वर्ष नयाँ लेखकको एक कृतिलाई पुरस्कृत गरिएकोमा यस वर्ष २ वटा कृतिलाई ५०–५० हजार रुपैयाँ नगद र ताम्रपत्रले सम्मान गर्ने योजना बनाएका हौँ ।’ प्रधानसम्पादक कोइरालाले भने, ‘लेखनमा चल्दै गरेका कलिला पाइलाहरूलाई प्रोत्साहन गर्ने मञ्ज नभएको अवस्थामा उहाँहरूलाई थाेरै भए पनि हाैसला र साथ दिने हाम्रो उदेश्य रहेको छ ।’

छानिएका डेब्यु गैरकाव्य कृतिहरूमा लोकराज भट्टको उपन्यास “छाइल”, मीरा गोतामेको उपन्यास “निती”, दिलिप बान्तावाकाे कथासङ्ग्रह “ताल्चा”, सपना आचार्यको उपन्यास “मलिलो माटो”, विश्व कुइकेलकाे कथासङ्ग्रह “सुगन्धपुर”, उदय अधिकारको अन्तर्वार्ता सँगालाे “प्रश्न”, भवानी खतिवडाको नियात्रा “घामभन्दा पहिले”, प्रा.डा. अजय रिसलाको निबन्धसङ्ग्रह “गीतामा मनका कुरा”, सत्या अधिकारीकाे लघुकथासङ्ग्रह “उमङ्ग”, कृष्णमुरारी ढुङ्गेलको यात्रावृत्तान्त “हाहाहाेला” र झम्क तिमल्सिनाको उपन्यास “अन्धकूप” रहेका छन् ।

‘छानिएका यी कृतिहरूलाई साहित्यपोस्टका विषय सम्पादकहरू, स्तम्भकार एवं समीक्षक गरी १५ जनाको जिम्मा लगाइने छ । उहाँहरूले दिएका नम्बरहरूलाई जोडेर १५ ले भाग गर्दा जुन कृतिले बढी नम्बर प्राप्त गर्छ, त्यही कृतिलाई हामीले वर्षको उत्कृष्ट डेब्यु पुस्तकका रूपमा पुरस्कृत गर्नेछौँ ।’, साहित्यपोस्टका संयोजक कृष्ण ढुङ्गेलले भने, ‘हाम्रा निर्णायकहरू लेखकको पहिलो पुस्तक नै गतिलो जन्मनु पर्छ भन्ने कुरामा सहमत हुनुहुन्छ । यही कारण यी ११  वटा कृतिहरूमध्येबाट पनि उत्कृष्ट कृति विजेता छनोट हुने कुरामा साहित्यपोस्ट टिम विस्वस्त छ ।’

पुरस्कारको प्रायोजन अनुसन्धानदाता एवं शिक्षा व्यवसायी उत्तमप्रसाद पन्तले गर्नुभएको हो । राणाकालमा समाज परिवर्तनका लागि जलसमाधि लिएकी योगमायाका विषयमा विस्तृत अध्ययन गर्नुभएका उत्तमप्रसाद पन्त साहित्यकार पारिजातसँग लामो समय रहनुभएको थियो ।

प्रस्तुत छ, २०७८ सालका उत्कृष्ट ११ डेब्यु  गैर-काव्यकृतिहरूको सूची ।

१. छाइल

Sahitapost Uttam Kriti 2078- Short list- Chhail by Lokraj bhatta

लोकराज भट्टको पहिलो उपन्यास हो, “छाइल” । सुदूर पश्चिमेली भाषाको प्रयोग भरपूर रहेको यो उपन्यासमा भट्टको साहित्यप्रतिको झुकाव र लेखनको मिहिनेत प्रस्ट देखिन्छ । डोटेली भाषामा “छाइल”को अर्थ छाया हुन्छ । उपन्यासका प्रत्येक पानामा डोटेली सभ्यताका छाया र प्रतिछाया सलबलाएका छन् । पुस्तकका बारेमा वरिष्ठ समालोचक राजकुमार बानियाँ लेख्छन्, “यसमा युवाको सपना र सङ्घर्षका साथै पिता र पुत्रको मित्रवत् सम्बन्धलाई उजिल्याएको छ । नयाँ, नौलो र नवीन परिवेशको कथा सुरुचिकर छ ।”

पुस्तकलाई बुक्स हिमालयले प्रकाशनमा ल्याएको हो ।

 

२. निती

Sahitapost Uttam Kriti 2078- Short list- Nti b Mira Gotame

निती मीरा गोतामेको पहिलो उपन्यास हो । समाजमा विद्यमान समस्याहरूलाई विषयवस्तु बनाएर कलम चलाउने गोतामेले यो उपन्यासमा समाजका विकृति तथा विसङ्गतिका विरुद्ध धावा बोलेकी छिन् । स्पष्ट र सरल भाषाको प्रयोगले समाजका अँध्यारा सत्य र यर्थाथ सरस बनेका छन् । उपन्यासमा घरेलु हिँसाका कुराहरु छन् । आन्तरिक पीडा थाम्न नारीलाई बेला बेला हम्मे पर्छ । पुरुषजस्तै स्वाट्टै घर छोडेर हिँडिहाल्न नारीलाई सुविधा हुँदैन । लोग्नेका कतिपय दुर्बलता र कमिकमजोरीलाई नारीले आफ्नो अस्मिता सम्झेर छोप्नुपर्ने हुन्छ । यी र यस्तै अभिव्यक्तिहरु अभिव्यक्त भएका छन् उपन्यासमा ।

समाजशास्त्रमा स्नातकोत्तर उपन्यासकार गोतामे शिक्षण पेसामा आवद्ध छिन् । उपन्यासलाई गोतामेका श्रीमान् धर्मराज बोगटीले प्रकाशनमा ल्याएका हुन् भने वितरणको जिम्मा शब्दार्थ प्रकाशनले लिएको छ ।

 

३. ताल्चा

Sahitapost Uttam Kriti 2078- Short list- Talcha by Dilip bantawa

रोजगारीको सिलसिला दक्षिण कोरियामा रहेका युवा कथाकार दिलिप बान्तवाको कथासङ्ग्रह हो, “ताल्चा” । बान्तावाले यस सङ्ग्रहमा दूरदराजका कथा–व्यथा सालिन ढङ्गले प्रस्तुत गरेका छन् । नेपाली समाजको सीमान्तमा सालिन मानिसहरु धेर छन् । राज्यविहीन अवस्थाबाट गुज्रिएकाहरू अथवा राज्यबाट पाउनुपर्ने सबै प्रकारका न्यायबाट बेखबर उनीहरू विगतमा राज्यकै रक्तपातपूर्ण दमन भोगेका मानिसहरु हुन् । उनीहरुमा पराजित मनोविज्ञान हावी छ । तर उनीहरु प्रतिशोध साँध्दैनन्, शान्त जीवन रुचाउँछन् । ताल्चा तिनै सालिन मानिसहरुको कथासङ्ग्रह हो ।

फिनिक्स बुक्सले प्रकाशनमा ल्याएको यस कथासङ्ग्रहमा मध्यम आयतनका १० कथाहरू सङ्ग्रहित छन् ।

 

४. मलिलो माटो

Sahitapost Uttam Kriti 2078- Short list- Malilo Mato b Sapana acharya

सपना आचार्यद्वारा लिखित पहिलो लघुउपन्यास हो, मलिलो माटो । बिम्बात्मक, प्रतीकात्मक अर्थ बोकेको मलिलो माटोले नवयुगको आह्वान गरेको छ । प्रकृतिलाई स्वाभाविक दृष्टिले हेर्न सिकाएको छ । अर्थ विस्तार गरेर हेर्दा यसलाई पर्यावरणीय साहित्य भन्न सकिन्छ । नारी अर्थात् जननीको मर्मलाई वाणी दिँदा नारीवादी सिद्धान्तले पनि हेर्न सकिन्छ । त्यस्तै वाक्यहीन भ्रूणको आवाज पनि यसले उठाएको छ ।

लघुउपन्यासमा आवरण कला फाइन आर्टिस्ट ओम गुरुङको रहेको छ । उपन्यासलाई स्कुल अफ लिडर्स प्रा.लि.ले प्रकाशनमा ल्याएको हो ।

 

५. सुगन्धपुर

Sahitapost Uttam Kriti 2078- Short list- Sugandhapur by Bishwa Kuikel

“सुगन्धपुर”विश्व कुइकेलको कथासङ्ग्रह हो । कुइकेल नेपाली साहित्यमा नयाँ नाम हो । नयाँ भएकै कारण उनले नयाँ बान्कीका कथाहरु बुनेका छन् । समाजका छटपटाहट लेखकले यथार्थ देखेका र भोगेका छन् । र, उनले यिनै समाजका छटपटाहटलाई नवीन शैलीमा कथाका रुपमा बुनेका छन् । यस्तै परिवेश र स्वरुपमा कृतिभित्र १९ वटा कथाहरु सङ्ग्रहित छन् ।

पुस्तकलाई फिनिक्स बुक्सले प्रकाशनमा ल्याएको हो ।

 

६. प्रश्न

Sahitapost Uttam Kriti 2078- Short list- Prashna by Udaya Adhikari

‘प्रश्न’ उदय अधिकारीले विभिन्न समयमा विभिन्न स्रष्टाहरूसँग लिइएको अन्तर्वार्ताहरूको सँगालो हो । यो पुस्तकमा अभि सुवेदी, सरुभक्त, नारायण ढकाल, श्रवण मुकारुङ, मनु मञ्जिल र श्यामलसँग अधिकारीले सोधेका प्रश्नहरू तथा स्रष्टाहरूले राखेका आफ्नो विचार र चिन्तन समावेश छन् । अधिकारीले सोध्नुभएका प्रश्नहरु गहकिला छन् । स्रष्टाहरुले दिनुभएका उत्तरहरू उहीमात्रमा विचारउत्तेजक छन् ।

पुस्तकलाई सिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।

 

७. घामभन्दा पहिले

Sahitapost Uttam Kriti 2078- Short list- Ghambhanda pahile by Bhawani Khatiwada

भवानी खतिवडाको नियात्रासङ्ग्रह हो, घामभन्दा पहिले । खतिवडाले पुस्तकमा मुक्तिनाथ-यात्राका चार, हलेसी-यात्राको एक र रारा-यात्राका दस नियात्राहरु सङ्ग्रह गरेकी छिन् । नेपाली छन्द कवितामा आफूले अब्बल साबित गरिसकेकी खतिवडाले “घामभन्दा पहिले”बाट नियात्रा लेखनमा पनि आफूलाई अब्बल प्रस्तुत गरेकी छिन् । नियात्रा कृतिमा पनि उनको काव्यिक व्यक्तित्व झुल्किएको छ, जसले कृतिलाई थप पठनीय बनाएको छ ।

पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।

 

८. उमङ्ग

Sahitapost Uttam Kriti 2078- Short list- Umanga b satya adhikari

सत्या अधिकारीको पहिलो कृतिको रुपमा प्रकाशनमा आएको लघुकथासङ्ग्रह हो, “उमङ्ग” । यो लघुकथासङ्ग्रहरमा विभिन्न विषयलाई कथानक बनाई देखिएका ५५ वटा लघुकथाहरु सङ्ग्रहित छन् । सत्याका प्रायः लघुकथा आकार र विषयका दृष्टिले सचेतताका साथ लेखन भएका छन्, जसले विकृति र विसङ्गतिलाई सालिन तर गहिरो व्यङ्ग्य गरेका छन् ।

कृतिलाई अक्षरधाम प्रकाशन गृहले बजारमा ल्याएको हो ।

 

९. गीतामा मनका कुरा

Sahitapost Uttam Kriti 2078- Short list- Gita ma manka kura b prada aja risal

मनोचिकित्सक प्राडा. अजय रिसालको उद्बोधनात्मक निबन्ध कृति हो, “गीतामा मनका कुराः एक मनोचिकित्सकको उद्बोधन” । सङ्ग्रहमा गीतामा आधारित रहेर मनोचिकित्साको चर्चा गरिएको विभिन्न तीस शीर्षकका निबन्धहरु सङ्ग्रहित छन् । रिसालले आफ्नो कृतिमार्फत् मासिक रोग विज्ञका रुपमा गीतालाई आधार बनाएर कसरी मानसिक रुपमा स्वस्थ रहन सकिन्छ भन्ने जानकारी दिएका छन् ।

पुस्तकलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो ।

 

१०. होहाहोला

Sahitapost Uttam Kriti 2078- Short list- Hohahola by krishna murari dhungel

कृष्णमुरारी ढुङ्गेलको यात्रावृत्तान्त हो, ‘होलाहोला’ । कृतिमा लण्डनदेखि पेरिस, स्विजरल्याण्ड, इटाली, मोनाकोबाट पुनः पेरिस फर्कँदा देखिएका ऐतिहासिक तथ्य र स्वयं लेखकले भोगेका घटनाहरू समेटिएको छ । ढुङ्गेलले ती ठाउँमा देखेका र भोगेका विकास र व्यवस्थापनका परिदृष्यलाई कथाझैँ बुनेका छन् ।

१५ शीर्षकका यात्रावृत्तान्त सङ्ग्रहित कृतिलाई फिनिक्स बुक्सले प्रकाशनमा ल्याएको हो ।

 

११. अन्धकूप

Sahitapost Uttam Kriti 2078- Short list- Andhakup by jhamka timilsina

जनप्रशासनमा स्नातकोत्तर लेखक झम्क तिमल्सिनाको उपन्यास हो, “अन्धकूप” । उपन्यासमा प्रकृतिमाथिको हस्तक्षेपले मानिसहरु दास्रो पृथ्वीको खोजीमा छन् । चाँडै नै पृथ्वीबाट ठुलो सङ्ख्यामा मानिसहरु दोस्रो संसारमा बसाइँ जाँदै छन्, जुन संसार यस कृतिका कृतिकार समेतले निर्माण गर्दैछन् । जुन संसारमा मानवता, भाइचारा, सद्भाव र प्रेमको परिकल्पना गर्दछन् लेखक तिमल्सिना ।

लामो समयदेखि बैङ्किङ, सहकारी तथा कानुनको क्षेत्रमा क्रियाशील रहेका तिमल्सिना साहित्य लेखनका अलवा गीत, सङ्गीत र समाज सेवाको क्षेत्रमा पनि क्रियाशील छन् ।
पुस्तकलाई पैरवी बुक हाउस प्रा.लि.ले प्रकाशनमा ल्याएको हो ।