२०७८ मा देशको अर्थतन्त्र र बजारले मात्र होइन, साहित्य बजारले पनि मन्दी बेहोर्नु पर्यो । “पुस्तकको बिक्री अत्यन्तै सुस्ताएको” भन्ने वाक्य वर्षभरि नै कायम रह्यो । तर यसबिचमा पनि पुस्तकहरू प्रकाशन हुने क्रम रोकिएन । केही पुस्तकहरूले राम्रो चर्चा र पाठक पाए । कतिले चर्चा पाए, तर पाठक पाएनन् । र, केही भने जसरी प्रकाशनमा आए उसै गरी गुमनाम पनि रहे । वर्ष २०७९ मा आइपुग्दा भने पुस्तक बजार केही चलयमान देखिएको छ । केही पुस्तकहरूले चर्चाका साथै पाठकको प्रेम पनि पाइरहेका छौँ । कामना गरौँ, नयाँ सालले पुस्तकको बजारलाई सम्पन्नतातिर अग्रसर गराउने छ ।
हामी यस स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।
यसैक्रममा साताका पुस्तकमा योपटक पाँच पुस्तक । ‘कालपानी यात्रा’देखि ‘नेपालका भाषा र सरकारी कामकाज’सम्म ; पुस्तककाे छाेटाे परिचयसहित ।
१. कालपानी यात्रा – नन्दु उप्रेती
नन्दु उप्रेतीको नियात्रा कृति हो, ‘कालापनी यात्रा’ । दुई दशकअघि ‘फेवादेखि विवासम्म’बाट नेपाली नियात्रा लेखनमा बलियो उपस्थिति देखाएका उप्रेतीले यो कृतिमा देशभक्तिको उच्चतम् नमूना प्रस्तुत गरेका छन् । कृतिले इतिहासको गर्व र वर्तमानको पीडालाई उजागर गरेको छ । पुस्तकका शब्दहरु गुन्जी, नावी र कुटीगाउँका आँसुले रुझेका छन् ।
‘यो पुस्तक सानो छ तर जनपक्षीय विचार, काव्यात्मक आवेग र देशभक्तिको भावनाले बलवान् छ ।’ पुस्तकका बारेमा नारायण ढकाल लेख्छन्, ‘उहाँको यो भक्ति कुनै पनि कोणबाट नक्कली लाग्दैन । म उहाँको सदैव भलो चिताउने साथी हुँ । तसर्थ उहाँको यो रचना प्रकाशित हुनु मेरा लागि अपार हर्षको विषय हो ।’
पुस्तकलाई भुँडीपुराण प्रकाशन गहृले प्रकाशनमा ल्याएको हो । १ सय ९६ पृष्ठमा फैलिएको कृतिको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।
२. सूर्यकमल – एस पी आसा
श्रीप्रसाद घिमिरे (एस पी आसा) को नवीनतम् उपन्यास हो, ‘सूर्यकमल’ । उपन्यासले पूर्वजन्मसमेत गरी तीन जन्मको कथावस्तु बोकेको छ । राजदरबार, स्वर्ग, पृथ्वीको गरिब परिवार र राज्यसत्ताको कथाले कृतिलाई रोचक र गहन बनाएको छ ।
माया, प्रेम, रिसराग, द्वन्द्वले ठाउँ लिए तापनि अन्त्य सुखान्त बनेको छ । दिव्य शक्तिको प्रभावले पाठकमा, कौतूहलता जगाउँछ, अब के हुँदै छ जान्ने हतारो बढिरहन्छ । मानवीय घटनाहरुको प्रधानतासँगै दैवी शक्तिले प्रभाव प्रायः यथार्थ चित्रणमा पारिरहेको हुन्छ ।
पुस्तकलाई एडुकेशनल पब्लिशिंग हाउसले प्रकाशनमा ल्याएको हो । १ सय ७५ पृष्ठमा फैलिएको उपन्यासको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।
३. कलुङ्गाकी आमा – दीनानाथ शर्मा
दीनानाथ शर्माको निबन्धकृति हो, ‘कुलुङ्गाकी आमा’ । शर्माले कृतिमा आत्मापरक निबन्धहरु प्रस्तुत गरेका छन् । निबन्ध आत्मापरक भएर पनि विचारप्रधान छन् । पुस्तकमा सपना, स्रष्टाको संसार, भूकम्पको पीडा, भुइँकुहिरोले ढाकेको देश, धन्य धरती, मेरो उडानलगायत २३ शीर्षकमा निबन्धहरु सङ्ग्रहित छन् ।
‘दीनानाथ शर्माको निबन्धमा राजनीतिक र सामान्य गरी दुई किसिमको व्यक्तित्व बाँडिन्छ, तर उनका वस्तुपरक निबन्धहरुभन्दा बेग्लै, आत्मपरक निबन्धहरुमा उनी थोरै राजनेता धेरै कवि र साहित्यकारका रुपमा देखा पर्छन् ।’, कृतिको भूमिकामा डा. माधवप्रसाद पोखरेल लेख्छन्, ‘राजनीतिक निबन्धमा उनी आत्माले नबोलेर मस्तिष्कले बोल्छन् भने, साहित्यिक निबन्धहरुमा उनी नेपाली हृदय र मानवीय हृदय, अझ आत्माकै छेउबाट बोल्छन् ।’
पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले बजारमा ल्याएको हो । १ सय ९६ पृष्ठमा फैलिएको निबन्ध कृतिको मूल्य २ सय रुपियाँ रहेको छ ।
४. निर्मल तलाउमा तरङ्ग – शशी भट्टराई श्रेष्ठ
शशी भट्टराई श्रेष्ठको पहिलो तथा नवीनतम् कविताकृति हो, ‘निर्मल तलाउमा तरङ्ग’ । सङ्ग्रहमा विशेष प्रकृतिका वा उमेरसमूहले पढ्ने भन्ने कविताहरु छैनन्, बरु सबै किसिमका, सम्पूर्ण उमेर समूहलाई प्रतिनिधित्व गर्ने कविताहरु छन् । कविताहरुमा कहीँ न कहीँ जीवनका रिक्ताता र तिक्तताहरुलाई मेटाउने स्रष्टाको प्रयास पाइन्छ ।
‘आज म धेरै खुसी छु । यो सबै सपनाजस्तो लागि रहेछ । आफ्नो सपना पूरा भएको देख्नु पनि सपनाजस्तै हुँदो रहेछ ।’ भूमिकामा सिन्धिया श्रेष्ठ लेख्छिन्, ‘निर्मल तलाउमा तरङ्ग पाठकमाझ ल्याउनु मम्मीको सपना थियो । मम्मीको सपना पूरा भएको देख्नु मेरो सपना थियो । आज हाम्रो सपना पूरा भएको छ ।’
पुस्तकलाई अजम्बरी पब्लिकेसनले बजारमा ल्याएको हो । ९६ पृष्ठमा फैलिएको ३५ कविता सङ्ग्रहित कृतिको मूल्य २ सय रुपियाँ रहेको छ ।
५. नेपालका भाषा र सरकारी कामकाज – भीमनारायण रेग्मी
नेपालमा बोलिने भाषाबारेको पुस्तक हो, ‘नेपालका भाषा र सरकारी कामकाज’ सार्वजनिक भएको छ । त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभागमा कार्यरत् भीमनारायण रेग्मीले लेखेको पुस्तकमा नेपालमा बोलिने १४० भाषा र ७५३ स्थानीय तहमा प्रचलित भाषाको विषयमा प्रकाश पारिएको छ ।
नेपालमा भाषाको इतिहास र वर्तमान, प्रदेश र स्थानीय तहमा बोलिने भाषा, स्थानीय तहको मातृभाषा, भाषा नीति र नेपालको सरकारी कामकाज, सरकारी कामकाजमा भाषाको प्रयोग र उपयुक्त विकल्पजस्ता विषयको लामो अनुसन्धानपछि पुस्तक तयार पारिएको लेखक रेग्मीले बताएका छन् ।
भाषासम्बन्धी तथ्यांकसमेत समेटिएको यो पुस्तकलाई फ्याक्स नेपालले प्रकाश गरेको हो । पुस्तकको मूल्य ११ सय रुपैयाँ तोकिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।