अनुवाद – राजा पुनियानी
कविता मेरा लागि सास फेराइ हो । भारतमा जन्मिएँ । तिब्बतमा मर्ने सपना देख्छु । तेञ्जिङ सुण्डु भन्छन् । सुण्डु शरणार्थी कवि, लेखक, एक्टिभिस्ट हुन् । आगो ओकल्ने यिनका कविताले तिब्बती शरणार्थीहरूको पीड़ा र आक्रोश बोल्छ । इस्ट तुर्किस्तान र इनर मङ्गोलियालाई कब्जा गरी उपनिवेश बनाउने चीनले तिब्बतलाई पनि कब्जा गरेको छ । तिब्बती उत्पीड़ितहरूलाई भारतले धरमशालामा आश्रय दिएको छ । तिनै तिब्बती शरणार्थीहरूको पक्षमा आन्दोलनरत सुण्डु साना मुलुकमाथि हैकम जमाउने दादा देशहरूको निम्ति विचारका चुनौती हुन् । सुण्डु निर्भीक प्रदर्शनहरूका लागि चिनिन्छन् । सन् २००१-मा पहिलो आउटलुक पिकाडोर अवार्ड पाएका सुण्डुले चारवटा किताब लेखे – क्रसिङ द बोर्डर (१९९९), कोरा (२००२), सेमशूक (२००२) र शेन-गोल (२०१२)। फ्रेण्ड्स अफ टिबेट (भारत) –मा संलग्न रही उनी तिब्बती स्वाधीनताका लागि सक्रिय छन् ।
मेरो तिब्बतीपना
निर्वासनको
एकतीस साल भइसक्यो
अझै कुनै देशले
हाम्रो समर्थन गरेन
नाथे एउटा देशले धरि गरेन !
हामी यहाँ रेफ्युजी हौँ
देश हराएको मान्छे
कुनै देशको पनि नागरिकता नभएकोहरू ।
तिब्बती : संसारको सहानुभूतिका पात्रहरू
शान्त भिक्षु र उत्साही परम्परावादीहरू
एक लाख र केही हजार ।
चिटिक्क मिसिएका
विभिन्न सांस्कृतिक दमनमा
सोसिएका ।
प्रत्येक चेक-पोस्ट र अफिसमा
म एक ‘भारतीय-तिब्बती’ ।
सलाम ठोकेर
मेरो रेजिस्ट्रेसन सर्टिफिकेट
प्रत्येक साल रिनिउ गराउने गर्छु ।
भारतमा जन्मिएको
एक विदेशी म ।
म भारतीयभन्दा पनि बढ़ेर कोही हुँ
मेरो चिङ्की तिब्बती अनुहार बाहेक ।
“नेपाली ?” “थाई ?” “जापानी ?”
“चीनियाँ ?” “नागा ?” “मणिपुरी ?”
सोध्छन् सबै
तर कसैले सोध्दैन –
“तिमी के तिब्बती हौ ?”
म खाँट्टी तिब्बती
तर म तिब्बतबाट आएको होइन
कहिल्यै त्यहाँ पुगेको पनि छैन
तरै पनि
म त्यहीँ मर्ने सपना देख्छु ।
रेफ्युजी
जब म जन्मेँ
मेरो आमाले भन्यो –
तँ रेफ्युजी होस् !
हिउँ परिरहेको बेला
धुँवा निस्कन्थ्यो
सड़क किनारको
हाम्रो तम्बूबाट ।
तेरा दुइ आँखीभौँबीच
तेरो निधारमा
खोपिएको छ – R
मास्टरले भन्यो ।
मैले खोजेँ
र मेट्टाएँ
मेरो निधारमा
मैले जे भेट्टाएँ
त्यो
रातो पीड़ाको थोप्ला थियो ।
म
जन्मँदै रेफ्युजी ।
मसँग तीनवटा जिब्रो छन् ।
जुन जिब्रोले म गाउँछु
त्यो मेरो आमाको जिब्रो हो ।
इङ्लिस र हिन्दीको बीचबाट
मेरो निधारको R –लाई
तिब्बती जिब्रोले पढ़्छ :
रङ्जेन
रङ्जेन
माने
स्वाधीनता ।
क्षितिज
घरबाटै
तिमी
यो क्षितिजसम्म आइपुगेका हौ ।
तिमी जानेछौ
यहाँबाट
फेरि अर्को क्षितिज ।
त्यहाँबाट अर्को
अर्कोबाट अर्को
क्षितिजदेखि क्षितिजतिर जानेछौ –
मानौँ
प्रत्येक पाइला नै
एक क्षितिज ।
पाइलाहरू गन्ती गर्नू
सङ्ख्या याद गर्नू ।
दलसिंह ढुङ्गा
र अजबगजब पातहरू
टिप्नू ।
चट्टानमा
रेखाचिनो कोर्नू
किनभने
तिमी फेरि
घर फर्कनु पर्ला ।
गद्दारी
हाम्रो घर
हाम्रो गाँउ
हाम्रो देश
रक्षा गर्दा गर्दै
बिते
मेरा बाबा ।
खासमा
लड़्नै चाहन्थेँ
म पनि ।
उनीहरू भन्छन् –
हामी बौद्धमार्गी हौँ
हामी शान्त र अहिंस्रक हुनुपर्छ
र
मैले माफी गरिदिएँ
मेरो दुश्मनलाई ।
आज आएर मलाई लाग्छ
मैलै मेरो बाबालाई
गद्दारी गरेँ ।
टेररिस्ट
म
एक टेररिस्ट हुँ
मलाई मार्न मन पर्छ ।
मसँग सिङ छ
मेरो दुइवटा तिखो दाँत छ
र घामकिरीको पुच्छर छ ।
आफ्नै घरबाट लखेटिएको
आफ्नो जिन्दगी जोगाएर
डरले लुकिरहेको
अनुहारमै दैलो ढप्काइएको
निरन्तर न्याय खोसिएको
टेलिभिजनमा धैर्यको जाँच लिइएको
मौन बहुमतअघि हिर्काइएको
भित्तामा थिचिएको ।
म फर्किएको हुँ
त्यो अन्धा गल्लीबाट ।
च्याप्टो नाकसँगै
तिमीले निलेको अपमान हुँ ।
तिमीले अन्धकारमा
गाड़ेको लाज हुँ ।
म टेररिस्ट
लु शूट गर मलाई ।
म्याँउ गरिरहेका बिरालो
र चाटिरहेका कुकुरहरूमाझ
उपत्यकामा छाड़िराखेर आएको हुँ
मेरो डरलाई ।
म मुख्लिस
मसँग केही छैन
गुमाइ पठाउन अब ।
म बुलेट हुँ
म सोच्दिनँ ।
मात्र २ सेकेण्डको रोमाञ्चक जीवनका लागि
बुलेट शेलबाट उफ्रन्छु म
र मारिनेसँग मर्छु ।
तिमीले छाड़ेर आएको
जीवन हुँ
म ।
निर्वासनको घर
चुहिरहेको थियो
हाम्रो टालीको छाना
र
भित्ता ढल्ने जोखिम थियो
तर हामीलाई त
चाँड़ो फर्कनु थियो
घर ।
हामीले आफ्नो घरबाहिर
मेवा फलायौँ ।
बगैंचामा खुर्सानी
र बार लाउनलाई बेत रोप्यौँ ।
गोठको परालको छानाबाट
कुलुलु लड़्दै आएको छ फर्सी
टाट्नोबाट लड़खड़ाउँदै निस्कन्छ बाछा ।
छाना ढाकेको छ घाँसले
सिमीको टुसा पलाएको छ
र चढ़्न थालेको छ देवालमा
बेलको लहरा ।
खिड़कीबाट
घस्रिँदै आउन थालेको छ
मनीप्लाण्ट ।
यस्तो लाग्छ
मानौँ हाम्रो घरको
जरा पलाएको छ ।
घरबार जङ्गलमा फेरिएको छ
अब म कसरी बताउँ
आफ्ना नानीहरूलाई –
कहाँबाट आएका थियौँ
हामी ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।