भरत राज गौतम

भरत  राज गौतम

हाँसेर बाँच्ने, हाँसेरै मर्ने
मन कसैको दुखाउन नजान्ने
जंगल, पर्वत पनि रोएको सुन्ने
लेकबेसीहरूसँग प्रीति गाँस्ने
हिउँचुलीको हिउँझैँ पवित्र
मनभरि बोक्छ, जो देशको चित्र
को होला ऊ ?

ऊ त कवि नै हुनुपर्छ
नगरे नि समाजले आफ्नो धेरै भाउ
तैपनि छैन जो पटक्कै बिकाउ
होला नहोला आफ्नै झुपडी
बनाइदिन्छ जो प्रियसीको ताजमहल
होला नहोला कोही आफ्नै पीडा बुझिदिने
पुछ्न खोज्छ तर जो देशको आँसु
को होला ऊ ?

ऊ त कवि नै हुनुपर्छ
शैतानहरूको माझमा बसी
गाउँदै हिँड्छ जो ईश्वरको गीत
एक थोपा शीतले तिर्खा मेटाउने
नखाइकन पनि अघाउन सक्ने
बेचेर आफ्नै झुपडी
देशको ऋण तिर्न खोज्ने
रित्तै खल्तीमा पनि
खल्तीभरि स्वाभिमान बोक्ने
को होला ऊ ?

ऊ त कवि नै हुनुपर्छ
हिमालहरू पाए उपहार दिने
शहरहरू पाए दाइजोमा बाँड्ने
चट्टानलाई पनि कोमल देख्ने
दुनियाँको दुःखमा
बेपरवाह छल्काउँदै आफ्नो आँसु
अनि दुनियाँको सफलतामा
उन्मुक्त्त भएर नाच्ने, गाउने
सूर्यास्त र सूर्योदयहरुसँगै बरालिने
धनीहरूमा धनको कमी देख्ने
गरिबको घरमा पाकिरहेको
मेहनतको सुगन्धको लोभ गर्ने
ईश्वरको त्यो अनौठो कृति
को होला ऊ ?

अरु को हुनु ?
ऊ त कवि नै हुनुपर्छ ।