हिजोको दिनलाई बिर्सेर

फेरि सपनाहरू बटुलेर

जब बल्छ एउटा

आशाको झिल्को

समात्न त्यसलाई

जब उठ्छ एउटा

स्वावलम्बी हात

ऊ जबसम्म थाक्दैन

ऊ जबसम्म अचेत हुँदैन

तबसम्म लम्किरहन्छ

एउटा अनिश्चित सपना बोकेर

 

सुरेश गाउँले

विधिको नियम या बाध्यता

ऊ हिँडिरहन्छ, पूर्ववत् हिँडिरहेकै छ

सपनाहरू भारी बिसाउन खोज्छ

निकम्माहरूको भीडमा

निर्लज्जहरूको माझमा

च्यातिन्छन्, टुक्रिन्छन्

र उडाइन्छन् हावाका लहरमा

 

निराशाका बादलबाट घेरिन्छ फेरि

अश्रुधाराका मूल फुट्दछ फेरि

थामिँदै नथामिने गरी

फुट्दछ मुटु बेस्सरी

छट्पटिन्छ, रून्छ, कराउँछ

र मर्दछ एकपटक फेरि

क्षितिजपारिको मधुरो किरण बोकेर

जन्मन्छ एउटा अर्को सपना लिएर ।