आधुनिक जमानाका दार्शनिक मानिएका एडवार्ड डि बोनोको गएको वर्ष देहान्त हुँदा उनको सम्पत्ति के हुने होला भन्ने धेरैलाई चासो थियो । तर जब उनका वकिलहरूको वक्तव्य बाहिर आयो, सबै जना छक्क परे किनभने ६८ वटा किताबका हिट लेखकको जम्मा रकम चाहिँ १२ हजार पाउन्ड थियो ।
के उसो भए डि बोनो गरिब थिए ? थिए भने यत्तिका पुस्तकको रोयल्टी र अन्य सम्पत्ति कहाँ गयो त ?
सम्पत्तिको झगडा गर्ने सन्तान पनि कोही थिएनन् । त्यसैले उनको सम्पत्ति कति होला र त्यो सम्पत्तिको व्यवस्थापन के होला भन्ने चासो धेरैजसोलाई थियो । तर उनको मृत्युको केही समयपछि बनाइएको एउटा समितिले उनको सम्पत्ति सोचेभन्दा निकै कम रहेको देखाएको थियो ।
यो सार्वजनिक भने हालै मात्र गरिएको हो । उनको जम्मा सम्पत्ति ११ हजार ९ सय पाउन्ड मात्र सम्पत्ति देखिएको बताइएको छ । उनको करोडौँको सम्पत्ति हुनुपर्ने अनुमान पूरै गलत सिद्ध भएको छ ।
सन् १९३३ मे १९ मा युरोपेली मुलुक माल्टामा जन्मिएका डि बोनो जीवनको पछिल्लो समय जन्मस्थानमा नै पुगेर ८८ वर्षको उमेरमा २०२१ जुन ९ मा देह त्याग गरेका थिए । उनको नाउँको एउटा संस्था पनि बनाइएको थियो, जसले उनका सारा सम्पत्तिको रेखदेख गर्ने गरेको थियो । डि बोनो फाउन्डेसन नामक सो संस्थाको प्रमुख कार्यकारीका रूपमा ड्यानिएला बार्टोली थिइन् । बार्टोलीले डि बोनोसँग मिलेर केही पुस्तक पनि लेखेकी थिइन् ।
धेरैको अनुमान थियो, डि बोनोको निधनपछि बार्टोलीको नाउँ धेरै सम्पत्ति छाडेका होलान् । तर उनको इच्छापत्रमा भने बार्टोलीलाई आफ्नो तर्फबाट सुको पैसा पनि छाडेका छैनन् ।
बाल्यकालदेखि नै तीक्ष्ण बुद्धिका डि बोनो स्कुल पढ्दादेखि नै जिनियस भन्ने उपनाम पाएका थिए । उनले स्कुल पढ्न थाल्दा उनको कुशाग्रताका कारण दुईपटक कक्षा फड्को मारेका थिए । उनले मानिसको मनोविज्ञान र शरीर विज्ञानमाथि धेरै कुराको शोध पनि गरेका थिए ।
उनका युज अफ ल्याटरल थिङ्किङ, प्यारालल थिङ्किङ, सिक्स थिङ्किङ ह्याट्स र सिक्स एक्सन सुजजस्ता किताब बेस्टसेलर मानिन्छन् ।
द लभ अफ टु कक्रोचेज् उपन्यास लेखन थालेका उनले पछि मान्छेको सोच्ने प्रक्रियामाथि अध्ययन गरेका थिए । उनी पछिल्लो समय मानिसलाई सफल हुन आवश्यक पर्ने तत्त्वहरू पढाउन थालेका थिए ।
डि बोनोसँग १४ वर्ष लामो सहकार्यको छुटानाम भएपछि लामो समयदेखि बार्टोली पेरिसमा बसिरहेकी छन् । डि बोनोले पूर्व निजी सहायक पेट्रिसिया प्याडी हिल्सका नाउँमा ४० हजार पाउन्ड छुट्याएको देखिएको छ । उनले सो इच्छा सन् २०१८ को लेखोटमा व्यक्त गरेका थिए ।
डि बोनो सम्पत्ति फाउन्डेसनका अनुसार, पेट्रिसियाले पाउनुपर्ने रकम दिनका लागि फाउन्डेसनको सम्पत्ति बेच्दा तिर्न सकिने देखिन्छ । सोही चिजबिज बेचेर उनलाई सो रकम दिइनेछ ।
पेट्रिसियाले प्रतिक्रियामा भनेकी छन्, ‘डि बोनोसँग म कहिल्यै पनि कार्यालय समयअनुसार काम गरिनँ र पनि जति काम गरियो, त्यो रमाइलो थियो ।’
सन् १९७१ मा जोसेफाइन हल ह्वाइटसँग उनले बिहे गरेर दुई सन्तान जन्माएका थिए तर पारपाचुके गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।