नरकमा पुगेको लिफ्ट
पार लागर्कभिस्ट
पार लागर्कभिस्टको जन्म स्विडेनको भेक्जोमा मे २३ १८९१ मा भएको हो । स्वीडिसि नाटककार कवि एवम् उपन्यासकार पार लागर्क भिस्टलाई स्वतन्त्र विचारका कविता रचना गरेबापत सन् १९५१ को नोबेल पुरस्कार प्रदान गरियो । उनी खास गरी उपन्यासकारका रूपमा चर्चित छन् । पार लागर्क भिस्टका ६० भन्दा बढी कृतिहरू प्रकाशित छन् । द ह्याङगम्यान (१९३३), मिड समरनाइट इन द वर्कहाउस (१९४९), द ड्वार्फ (१९४४) लेट म्यान लिभ (१९४९), वारब्वास (१९५१) तथा पिलग्रिम याट सि (१९६४) उनका प्रमुख कृतिहरू हुन् । यिनको मृत्यु ११ जुलाई १९७७ मा स्टकहोममा भयो ।
स्मिथ नाम गरेका एक जना घनाढय व्यापारीले एउटा भव्य एवम् शानदार होटलको लिफ्ट खोल्यो र भुवादार कोट पहिरेकी अनि पाउडरको मगमग बास्ना छर्दै हिँडेकी आकर्षक केटीलाई प्रेमपूर्वक तानेर भित्र राख्यो । दुबैजना नरम सिटमा सँगै बसे, लिफ्ट तलतिर झर्न सुरु गर्यो । ती केटीले रक्सीले भिजेको मुख आँ गरिन् । दुवैले एकापसमा चुम्बन साटासाट गरे ताराहरू टिलपिल गरिरहेको खुला आकाशमुनि आँगनमा बसेर उनीहरूले डिनर खाएका थिए । यति बेला उनीहरू मनोरञ्जनका लागि कतै बाहिर निस्किँदै थिए
“प्रिय. त्यहाँ माथिको बसाइमा कति स्वर्गीय आनन्द पाइएको थियो हगि ?” उनले सुस्तरी भनिन् । तिमीसितको बसाइ बास्तवमै एकदमै काव्यिक थियो, ताराहरूको माझमा बसेजस्तै । त्यति बेला तिमीलाई प्रेम के रहेछ, थाहा भैसक्नुपर्ने हो, तिमी मसित प्रेम गर्यौ नि हैन कि कसो ?”
जबाफस्वरूप स्मिथले उनलाई लामो समयसम्म चुम्बन गर्यो। लिफ्ट तल झर्ने क्रम जारी थियो । “प्यारी तिमी आयौ, त्यही नै कताकता भो मेरो लागि, नत्र मेरो हालत के हुन्थ्यो होला” उसले भन्यो ।
“हुन त हो, तर हेर न, कति असह्य छ त्यो मान्छे । म कतै हिँड्न ठीक परेँ कि कहाँ जाने भनेर सोधिहाल्छ भन्या । मेरो खुसी म जहाँसुकै जाउँ, तिमीलाई के मतलब” भन्दिएँ मैले त । म कैदी त होइन नि ! मेरो कुरा सुनेपछि उ थ्याच्च बस्यो । अनि मैले लुगा फेरेको, नयाँ ब्लाउज लगाएको, के लगाए मलाई राम्रोसित सुहाँउछ होला जेहोस् सायद गुलाबी नै सुहाउँछ होला हैन ?”
“तिमीलाई जे लगाए पनि सुहाउँछ प्रिय, आज साँझ जति राम्री त मैले कहिल्यै देखेको थिइनँ तिमीलाई” त्यो मान्छेले भन्यो । उनी मख्ख परिन् अनि मन्द मुस्कानसहित भुवादार कोट खोलिन् । लामै समय चुम्बन गरिरहे उनीहरूले एकअर्कालाई । लिफ्ट आफ्नै गतिमा तल झर्दै थियो । आफ्नो लोग्नेको वारेमा थप टीका-टिप्पणी गर्दै उनले भनिन् ।
“त्यसपछि म हिँड्नै लाग्दा उसले मेरो हात समात्यो अनि यति जोडले बटार्यो कि अहिलेसम्म दुख्दैछ, एक शब्द पनि बोलेन उसले । तिमीलाई थाहै छैन कति निष्ठुरी छ ऊ । गुड बाई ! भन्दै बिदा भएँ म, तर ऊ चुइँक्क बोलेन । कति अविवेकी र घिनलाग्दो छ भने अनुहारै हेर्न मन लाग्दैन मलाई त्यसको ।”
“बिचरी मेरी प्यारी”, स्मिथले भन्यो ।
मैले चाहिँ यसो बाहिरफेर गएर रमाइलो गर्नै नपर्ने, मोज गर्नै नपाउने जस्तो । कति गम्भीर छ ऊ तिमीलाई के थाहा कुनै पनि कुरालाई सामान्य तथा प्राकृतिक रूपमा लिनै सक्दैन ऊ । यस्तो लाग्छ मानौँ ऊ हरेक कुरालाई जीवन-मरणसित लगेर जोडिहाल्छ ।”
“बिचरा, कति पीडा सहेकी रहिछ्यौ तिमीले ।”
“ज्यादै पीडित भएकी छु म, ज्यादै । मैले जति दुःख त अरू कसले पाएको होला र । तिमीलाई भेट्नुअघि माया प्रेम के हो थाहै पाएकी थिइनँ मैले त ।”
“प्राण प्यारी !” यति भन्दै स्मिथले उनलाई ग्वाम्म अँगालोमा बेर्यो, लिफ्ट आफ्नै गतिमा तलतिर झरिरहेको थियो ।
“आहा, क्या आनन्द !” अँगालोबाट फुत्केपछि लामो सास तान्दै उनले भनिन् “तिमीसित बसेर आकाशको तारा हेर्दै कल्पनामा डुब्दाको क्षण म कहिल्यै भुल्ने छैन बुझ्यौ ? यस्तो स्वर्गीय आनन्द त्यो अर्बिडबाट असम्भव छ ऊ यति गम्भीर छ कि हदैसम्मको गम्भीर । नीरस पनि त्यत्तिकै । काव्यप्रति उसलाई पटक्कै मोह छैन, कविताको मर्म के हो ऊ बुभदैन । प्रिय यो त अति असह्य कुरा हो ।”
“हो त नि ! सही नसक्नु” मिठो मुस्कानसहित उनदै भन्दै गइन्, तर हामी सुरुमा कुरामा नअल्झिऔँ । हामी त मनोरञ्जनका लागि पो बाहिर निस्केका हौँ त । तिमी मलाई साँच्चिकै माया गर्छौं हैन ?”
“गर्छु नि, किन नगर्नु !” उसले भन्यो । उनलाई निहुरिन लगाएको हुनाले लामो सास तानिन् । लिफ्ट झन-झन तलतिर जाँदै थियो अनि झुक्दै सुमसुम्यायो । उनी लाजले रातोपिरो भइन् ।
“यसअघि कहिल्यै नगरेको प्रेम (सम्भोग) गरौँ है आज राति हुन्न ?” उसले तिनको कानमा खुसुक्क भन्यो । उनले स्मिथलाई आफूतिर तान्दै च्याप्प कसिन् अनि आँखा बन्द गरिन् । लिफ्ट झन् झन् तलतिर झर्दै गयो ।
अन्ततः स्मिथले झल्याँस्स सम्भ्यो, उसको अनुहार रातोपिरो भो ।
के भाको छ हँ आज यो लिफ्टलाई ?” ऊ एक्कासि चिच्यायो “हैन किन रोकिँदैन यो लिफ्ट हँ ! हामीले यहाँ बसेर कुरा गर्न थालेको पनि थुप्रै बेर पो भइसक्यो त, कि कसो ?”
“हो त नि प्रिय, मलाई पनि त्यस्तै लाग्छ, समय बितेको पत्तै भएन ।”
“हे भगवान्, हामी यहाँ बसेको पनि युगौँ भैसक्यो, के गर्ने होला अब हँ लौ न।”
उसले ग्रिलबाट बाहिर चियाएर हेर्यो । चुक घोप्ट्याएजस्तो अँध्यारोबाहेक उसले केही देखेन । अनि लिफ्ट चाहीँ आफ्नै गतिमा झन् झन् तल जाँदै थियो ।
“हे भगवान्, यो के भैरहेछ ? यो त झन् शून्यतामा खसेझौँ लागिरहेछ । कति बेरदेखि यस्तो भैरहेछ, भगवान्लाई थाहा होला । अथाह खाल्डोतिर सानो प्वाल चुक घोप्ट्याएजस्तो अन्धकार थियो । तिनीहरू झन् झन् तलतिर भासिँदै थिए ।
“लिफ्ट त नरकतिर पो भासिँदै छ कि क्या हो”, स्मिथले भन्यो । “ ओहो प्रिय”, यति भन्दै ती महिला स्मिथको पाखुरामा झुन्डिँदै रुन थालिन् । के गरूँ कसो गरूँ भैसक्यो मलाई त इमर्जेन्सी ब्रेक लगाऊ न छिटो ।”
स्मिथले आफ्नो बलले भ्याएसम्म इमर्जेन्सी ब्रेक लगाउने प्रयास गर्यो तर व्यर्थ भो लिफ्ट आफ्नै गतिमा झन् तल अथाह गहिराइतिर डुबुल्की मार्दै गयो ।
“ज्यादै डरमर्दो पो भो त, लौ न के गर्ने होला अब ?” उनी आत्तिएर चिच्याउन थालिन् ।
“त्यही त, के गर्ने, यो त अति भो” स्मिथले भन्यो ।
ती महिला भने निराश हुँदै रुन-कराउन थालिन् ।
“नरोऊ, प्रिय आत्तिनु हुँदैन, हामीले अब केही गर्न सक्दैनौँ, बस । आज दुवैजना चुपचाप सँगै बसौँ जे-जे होला होला । रोकिनैपर्ने हो यो लिफ्ट रोकिन्न त । रोकिएन भने त ठूलै अनिष्ट पो हुन्छ त ।”
अलि बेर पर्ख र हेरको अवस्थामा रहे उनीहरू ।
“के भैरहेको छ, यसको बारेमा सोच त” ती महिलाले भनिन् । हामी त रमाइलोका लागि पो बाहिर निस्केका थियौँ त ।”
“हो त नि, पक्कै पनि यो कुनै दुष्टको काम हुनुपर्छ” स्मिथले भन्यो ।
“तिमी मलाई माया त गर्छौ नि हैन ?”
“प्रिय” उनलाई अँगालोमा कस्दै स्मिथले भन्यो । लिफ्ट तल झर्दै थियो ।
अन्ततः लिफ्ट एक्कासि रोकियो, वरिपिर आँखै तिरमिराउने झलमल्ल उज्यालो देखा पर्यो । एकैचोटि नरकमा पो पुगिसकेछन् उनीहरू त । दुष्टात्माले लिफ्टको ग्रिल एकातिर सार्दै नम्र स्वरमा शिर निहुराउँदै भन्यो “गुड इभिनिङ्ग !”
उसको लुगा लगाई नै बडो अचम्मको थियो । रौँले ढाकेको, ढाडमाथि झुन्डिएको, पुच्छर खिया लागेको, काँटीमा लुगा झुन्डयाएको जस्तो देखिन्थ्यो । डरलाग्दो आकृति देखेर स्मिथ र ती महिला अक्क न बक्क भए । डरले झन्डै लडे। “हे भगवान् ! कहाँ आइपुग्यौँ हामी ?” त्यो देख्दै डरलाग्दो अलौकिक आत्मासित उनीहरू खुब डराएर चिच्याउन थाले । त्यो छायाँरूपी दुष्टात्माले उनीलाई सम्झाउन थाल्यो, “यहाँहरूले सोचेजस्तो खराब छैन ।” हतार हतार उसले आफ्नो भनाई राख्यो, मलाई आशा छ यहाँहरूको समय राम्रै बित्नेछ । यो आजका राती मात्रै सीमित हुने छ ।”
“हो, हो” स्मिथले बडो उत्सुकतापूर्वक सहमति जनायो । आज एक रातका लागि मात्रै हो हामी पनि । त्यो भन्दा बढी बस्ने विचारमा छैनौँ ”
ती महिला डरले थरथर काँम्दै स्मिथको पाखुरामा झुन्डिइन् । हरियो र पहेँलो मिश्रित प्रकाश यति चर्को थियो कि आँखै तिरमिराउने । उनीहरूलाई देख्न मुस्किल परिराखेको थियो । चर्को गन्ध आइराखेको महसुस भो उनीहरूलाई । चर्को उज्यालो र गन्ध कम हुँदै गएपछि उनीहरूलाई आफूहरू चोकमा उभिएको थाहा भो । वरिपरिका घरहरू अँध्यारोमा आकाशै छोलान् जस्तो गरी चुलिएका थिए भने ढोकाहरूमा झलमल्ल उज्यालो देखिन्थ्यो । पर्दाहरू सारिएका थिए । उनीहरूले पर्दाको छिद्रबाट भित्र केही बलिराखेको देखे । “तपाईहरू नै हो प्रेमजोडी ?” त्यो दुष्टात्माले सोध्यो ।”
हो, एकअर्काको प्रेममा हामी पागलै छौँ”, आफ्ना सुन्दर आँखाले उसलाई हेर्दै ती महिलाले जबाफ दिइन् ।
उसो भए यही बाटो मेरा पछि पछि आउनुस् ।
अँध्यारो गल्ली हुँदै उनीहरू अघि बढे ! ग्रिज लतपतिएको पुरानो ढोकाबाहिर एउटा चर्केको लाल्टिन झुन्डिराखेको थियो ।
“ल आइपुग्यौँ हामी” यति भन्दै उसले ढोका खोलिदियो र शिष्टतापूर्वक त्यहाँबाट हिँड्यो ।
तिनीहरू भित्र पसे । जुँगामा प्याजी रङको पाउडर घसेकी ठुला ठुला स्तन भएकी मोटी एउटी नौली दुष्ट आइमाईले त्यो प्रेमजोडीलाई स्वागत
गरी । कुटिल मुस्कान छोडी । उसका बल्डयाङ्ग्रे आँखा परिचितझैँ लाग्थे । निधारमा सिङ उम्रेका थिए । सिङ वरिपरिको कपाललाई उसले स-साना निलो रेसमी रिबनले बाँध्चेकी थिई ।
“ए तपाईंहरू नै हो स्मिथ र उनकी प्रेमिका भनेको !” उसले सोधी ।
“ल आठ नम्बरको कोठामा जानुस्” यति भन्दै उसले उनीहरूको हातमा एउटा ठूलो साँचो थमाइदिई । तिनीहरूले अँध्यारो र चिप्लो भर्याङ्ग चढे । बोसो लतपतिएकाले भर्याङ चिप्लो न चिप्लो थियो । दुई तलामाथि उक्लेपछि स्मिथले आठ नम्बरको कोठा फेला पार्यो । अनि दुवैजना भित्र पसे । कोठा निकै ठूलो थियो तर ढुसी परेको । कोठाको बिचमा मैलो कपडा ओछ्याएको एउटा टेबुल थियो । भित्तानजिकै एउटा तन्ना हालेको ओछ्यान थियो । निकै राम्रो लाग्यो उनीहरूलाई त्यो कोठा । उनीहरूले कोट फुकाले । अनि निकै लामो समयसम्म एक अर्कालाई चुम्बन गरिरहे ।
एउटा मान्छे अर्को ढोकाबाट चालै नपाउने गरी सुटुक्क भित्र पस्यो । बेटरले जस्तो लुगा लगाएको थियो । उसको डिनर ज्याकेट भने चिटिक्क परेको थियो । उसको सर्ट यति सफा थियो कि अँध्यारोमा पनि ऊ भूत जस्तै टल्केको देखिन्थ्यो । बिरालोको चालमा र सुस्तरी हिँड्यो । उसको हिँडाई यान्त्रिक र लगभग पूरै अचेत जस्तो लाग्थ्यो । उसको रूपै निष्ठुर खालको देखिन्थ्यो ।
सिधै अगाडि हेरिराखेको देखिन्थ्यो उसका आँखाले । एकापट्टको कन्चटमा गोलीको खत लागेको त्यो मान्छे देख्दै डरलाग्दो, फुस्रो थियो । उसले कोठाको सरसफाइ गर्यो अनि कोपरा र बाल्टिन ल्याएर राखिदियो ।
तिनीहरूले उसको त्यति साह्वो वास्ता गरेनन् तर ऊ निस्किनै लाग्दा स्मिथले भन्यो “अलिकति रक्सी पाइएला ? आधा बोतल जति मडैरा ब्रान्डको रक्सी ल्याइदेऊ न है ?” “हुन्छ हस्” भन्दै त्यो मान्छे बाहिरियो ।
स्मिथ धमाधम लुगा फुकाल्न थाल्यो । महिला भने हिचकिचाइन् लुगा फुकाल्न ।
“फर्केर आउँदै छ ऊ”, उनले भनिन् ।
“हत्तेरी, यो ठाउँमा तिमीले अप्ठ्यारो मान्नै पर्दैन, फुकालिहाल ।”
उनले निकै कामुक पाराले पेन्टीलगायत सबै लुगा फुकालिन् अनि स्मिथको घुँडामाथि गएर बसिन् । त्यो क्षण निकै रमणीय र रोमान्चक थियो ।
“सोचिहेर त, यस्तो एकान्त, अनौठो र रोमान्चक ठाउँमा तिमीर म मात्रै । कति काव्यिक छ हगि ? यो क्षण म जिन्दगीभर भुल्ने छैन प्रियतम ।” स्मिथले भन्यो । उनीहरूले लामै समयसम्म चुम्बन गरिरहे ।
त्यो मान्छे फेरि नबोलीकन लुसुक्क भित्र पस्यो । बिस्तारै यन्त्रवत् उसले गिलासमा रक्सी खन्यायो । टेबुल ल्याम्पको उज्यालो उसको अनुहारमा पर्यो । फुस्रो अनुहार र कन्चटमा गोलीको खतबाहेक उसमा अरू विशेष कुरो केही थिएन ।
चिच्याउँदै बुरुम्क उफ्रिन् ती महिला ।
“हे भगवान्, अर्भिड तिमी स्वर्गमा ? मरिसकेको ? त्यो पनि गोलीद्वारा आत्महत्या !”
त्यो मान्छे हलचल नगरी ठिङ्ग उभिरह्यो । एकोहोरो टोलाउँदै उसको मुहारमा पीडा र चिन्ताको भाव झल्किन्थ्यो । निकै गम्भीर, कठोर र स्थिर देखिन्थ्यो ऊ ।
“तर अर्भिड, के गरेको तिमीले यो ? के गरेको ? कसरी गर्न सक्यौँ यस्तो ? प्रिय यदि तिमीले यस्तै गर्छौं भन्ने अलिकति मात्रै आशङ्का भएको म कहीँ नगई घरमै बस्थैँ होला । तर तिमीले कहिल्यै केही भनेनौ । मलाई एक शब्द पनि नभनेपछि मैले कसरी थाहा पाउनु ? हे भगवान् के भोनि यस्तो…..।”
उनको सम्पूर्ण शरीर थरथर काँपिरहेको थियो । नौलो मान्छेलाई जस्तै हेरिराखेको थियो उसले ती महिलालाई । उसको मलिन र उदास हेराइले हरेक चिजलाई नै छेड्लाजस्तो देखिन्थ्यो ।
उसको फिका अनुहार चम्क्यो, घाउबाट रगत आएको थिएन खालि एउटा प्वाल मात्र देखिन्थ्यो ।
“ओहो, कस्तो डरलाग्दो” उनी चिच्याइन्, “म एकछिन पनि बस्न सक्दिनँ यहाँ, गइहालौं, म सहन सक्दिनँ यो ।”
तिनले आफ्नो लुगा ह्याट भुवादार कोट रिसले भएजित सबै बोकिन् र बाहिर दौडिन् । स्मिथ उनको पछि पछि लाग्यो । उनीहरू चिप्लिँदै तल ओर्ले । उनी थ्याच्च भुइँमा बसिन् । उनको पछाडि चुरोटको खरानी, थुक, र्याल, टाँसिएको थियो । तल जुँगामुठे मुसुक्क हाँस्दै, बडो शानसित चिनेजस्तो गरी सिङ हल्लाउँदै उभिराखेकी थिइन् ।
बाहिर सडकमा निस्केपछि बल्ल सास आयो उनीहरूको । अलि शान्ति भो उनीहरूलाई । ती महिलाले लुगा लगाइन् जिउ तन्काइन्, नाकमा क्रिम, पाउडर दलिन् । सुरक्षाको अनुभूति दिलाउन स्मिथले उनको कम्मरमा हात लगायो । उनका आँखामा छचल्किएको आँसु स्मिथले चुम्बन गरेरै पुछिदियो । आफू असल मान्छे भएको पुष्टि गर्यो उसले । त्यसपछि उनीहरू दुवै चोकतिर लागे ।
नरकको प्रमुखचाहीँ त्यतै हल्लिँदै थियो, त्यो प्रमुखतिरै दौडे उनीहरू पनि । “छिटै पो निस्किनुभो त तपाईंहरू । आरामसित त बस्नुभो होला नि, हैन ?” उसले भन्यो ।
“ओहो ! अति डरलाग्दो र दिक्कलाग्दो रहेछ यो ठाउँ त” महिलाले भनिन् ।
“त्यसो नभन्नुस् । त्यस्तो सोच्दा पनि नसोच्नुस्, तपाईं त यहाँ पहिल्यै आइसकेको हुनुपर्ने हो । पहिलेको भन्दा त धेरै फरक भैसकेको छ यहाँ । नरक भनेर नाक खम्च्याउनुपर्ने अवस्था छैन । अहिले हामीले सक्नेजति गरेको छौँ र अझै गछौँ पनि । उदाङ्गो नपारौँ, बरू हामी यसलाई आफैँ रमाइलो र आरामदायी बनाउने प्रयास गर्ने छौँ ।”
“हो त नि यति त मैले भन्नैपर्छ । जेहोस्, पहिलाको तुलनामा मानवोचित सुधार भएको कुरा साँचो हो” स्मिथले सहमति जनाउँदै भन्यो ।
“ओह्रो !” दुष्टात्माले भन्यो, “हरेक कुरामा आधुनिकीकरण गरेका छौँ, पूरै व्यबस्थित गरेका छौँ, जे जति गर्नुपर्ने थियो ।”
“अवश्य, समयअनुसार त चल्नै पर्यो नि ! हो आजभोलि दु:ख पाउने भनेको आत्माले मात्रै हो ।”
“यसका लागि ईश्वरलाई धन्यवाद’, महिलाले भनिन् ।
दुष्टात्माले उनीहरूलाई बडो शिष्टतापूर्वक लिफ्टमा चढायो । शिर झुकाउँदै उसले भन्यो “गुड इभिनिङ, फेरि स्वागत छ यहाँहरूलाई । उसले ग्रिल बन्द गर्यो, लिफ्ट मास्तिर जान थाल्यो ।
“धन्य छ ईश्वर ! बल्ल मुक्ति पाइयो” यदि भन्दै ती दुवैले सन्तोषको सास फेरे अनि एकापसमा टाँसिएर बसे ।
“तिमी नभैदिएको भए त मेरो एक्लै केही सिप नलाग्ने रहेछ”, उनले खुसुक्क भनिन् । स्मिथले तिनलाई आफूतिर तान्यो लामै समय चुम्बन गरिरहे उनीहरूले । स्मिथको अँगालोबाट छुटेपछि लामो सास तान्दै उनले भनिन् “कस्तो अचम्म, हेर न त्यस्तो नकाम गर्यो उसले । प्राय: ऊ यस्तै नचाहिने नचाहिने काम गरिरहन्थ्यो । कुनै पनि कुरालाई सामान्य र स्वाभाविक रूपमा लिन जानेन, सधैँभरि जे कुरालाई पनि जीवन र मरणसित जोडेर हेर्ने बानी ।
“कस्तो वाहियात !” स्मिथले भन्यो
“उसले भन्न सक्थ्यो नि त, यदि भनेको भए म घरमै बस्ने थिएँ। त्यो दिनको साटो अर्को कुनै दिन बाहिर जान्थ्यौँ होला हामी पनि ।”
“त्यो त हो हामी, त्यसै गर्थ्यौं”, स्मिथले भन्यो ।
“तर प्रिय अब त्यसका बारेमा सोचेर नबसौँ” स्मिथलाई अँगालोमा बेदै उनले कानेखुसी गर्दै भनिन्, “जे भो भो !”
“हो, हो मेरी प्रिय अब सकियो” उनलाई अँगालोमा कस्यो स्मिथले । लिफ्ट मास्तिर चढ्न थाल्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।