विश्व प्रेस फोटो प्रतियोगिता गत महिना सम्पन्न भएको थियो । सो प्रतियोगितामा क्रुसमा टाँगिएको लुगा पुरस्कृत भएको थियो । सो तस्बिर न्युयोर्क टाइम्स पत्रिकाकी फोटोग्राफर एम्बर ब्राकेनले खिचेकी थिइन् ।

क्यानडाकी बासिन्दा एम्बरले स्वतन्त्र फोटोग्राफरका रूपमा काम गरेको निकै भइसकेको छ । उनले थिममा आधारित रहेर तस्बिर खिच्ने गर्छिन् । यस तस्बिरमा क्यानडाका आदिवासी रेड इन्डियनहरूलाई पढाउने एउटा स्कुलमा दिइएको यातनाबाट मृत्यु भएका बालबालिकाहरूको सम्झनामा उनीहरूको गाउँमा टाँगिएको लुगालाई प्रभावशाली तरिकाले एम्बरले तस्बिर खिचेकी थिइन् । सन् १८९० मा स्थापित क्यामलुप रेसिडेन्सियल स्कुलमा हालसम्म डेढ लाखभन्दा बढी विद्यार्थीहरूले अध्ययन गरेका भए पनि त्यहाँ अध्ययनरत विद्यार्थीहरूमध्ये सेवा, सुविधा, अपनत्व तथा खान्कीमा गरिएको विभेदका कारण ४ हजार १ सयभन्दा बढीको मृत्यु भएको थियो । निकै विवादपछि सन् १९७८ मा यो स्कुल बन्द भयो । त्यसयता हरेक वर्ष ती अज्ञात विद्यार्थीहरूको सम्झनामा क्रुसमा लुगा टाँगेर तिनको सम्झना गरिन्छ ।

विश्व प्रेस फोटो प्रतियोगितामा यो तस्बिर प्रथम भएको थियो ।

यसैगरी प्रतियोगितामा दोस्रो भएको तस्बिर अस्ट्रेलियाका आदिवासीको हो । तस्बिरमा ११ वर्षीया स्टासी ली रूखमा टाँगिएको दियालोको उज्यालो हेर्दै । आदिवासीहरूले रात्रिकाल पारेर सर्पको शिकार गर्ने गर्छन् । यो तस्बिर नेसनल ज्योग्राफिकमा सन् २०२१ को जुलाई महिनामा प्रकाशित भएको थियो ।

तस्बिरलाई म्याथयु एबोटले खिचेका हुन् । यो तस्बिरलाई वर्ल्ड प्रेस फोटो स्टोरी अफ दि इयर विधामा पुरस्कृत गरिएको थियो ।

यसैगरी ब्राजिलको बेलो मोन्टे जलाशयमा एउटा बूढो ढलेको रूखमा ढल्केर आराम गर्दै एउटा युवाको तस्बिर लङ टर्म प्रोजेक्ट अवार्डबाट पुरस्कृत भएको थियो । भूमी क्षयीकरणले पार्ने प्रभावमाथि लामो समयदेखि अध्ययन गरिरहेका लालो डि अल्मेडाले यो तस्बिर खिचेका हुन् ।