१४ वर्ष पछि
संघर्ष यात्रामा विराम लिँदै
म खोज्न हिँडे
मेरो स्कुल र सहपाठीहरू
मेरा पाइलाहरू
मैले खेल्दा छोडेका यादहरु
…………….

मेरो सानो छोरोले
मन छुने कुरा गर्यो
भेडेटार जाँदा जाँदै
बाबा तपाँई अब
धनकुटाको छोरो
नो अध्यक्ष
नो पार्टी
नो हाइड्रो
अब हामी जोत्ने
पाइन्ट सुर्केर खेत रोप्ने
…………….

घाम उही
जून उही
खोला र नाला पहरा उही
तर म साल सम्झन्छु
आँफू जन्मिएको
ओहो निकै टाढा पुगिएछ
कति याद मेटिएछन्
बाटाहरु छोटिएछन्
आफ्नो जन्मभूमिमा पनि
आँफू हिँड्दा हिँड्दा बनेका
लाखौँ पाइलाहरु
मलाई कुर्दा कुर्दै
अब त खुइलिसकेछन्
……………

सहरले त मलाई
सिएम, सिए, सचिव के के भन्थ्यो

टि. एन. आचार्य

तर यहाँको माटोले भन्यो
माइला घेरै पछि आइस् नि
देवीथानको धारोले सोघ्यो
केटो नुहाएर जान्छस् कि
भिमेश्वरीको बाटोले जिस्क्यायो
अचेल पनि कलम हराउँछस् कि
……………….

युग बितेछ
मेरो बुबाको समय सम्झेँ
वहाँका रहलपहल साथी
चन्द्रप्रसाद, लोचन, खगेन्द्र
नारायण, बल बहादुर्, सुरेन्द्र
भ्याएसम्म बोलियो, भेटियो
मेरो जिज्ञासामा केहीले भने
मैले चिनेँ तँ बुबा जस्तै छस्
तेरो बुबा राम्रो थियो
तेरो बुबा हाम्रो थियो
अब मर्ने पालो कुर्दैछु
सम्झेर आइस् बाबै हाम्लाई
मेरो गाउँले भन्यो
अब नविर्सेस् है
सिँधुवा आउँदा बाटो नकाटेस्
उस्तै रहिछस् केटा सामान्य
राम्रो भएस्, ठूलो नभएस्
…………….

शुक्रबारेमा घाम झुल्कँदा
मनभरी यादै याद बोकेर
बिदा मागेँ अब म फर्कन्छु
सोचेँ मेरो गाउँ उही
छावा खोला उही
भिमेश्वरी उही
घरहरु उही
गह्रा र कान्ला उही
मेरो जन्मघर उही
नयाँ छ त नविन सोचको
शुभकामना २०७९ वर्षको।