२०७८, चैत महिनामा उलेख्यमात्रमा कृतिहरू प्रकाशनमा आए । तर धेरै कृतिहरूले पाठकलाई तान्न सकेनन् । पुस्तकको भीडमा अलग्गै उभियो शताब्दी पुरूष सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’ । तीन महिनादेखि साहित्यपोस्ट बेस्ट सेलर सूचीको पहिलो स्थानमा रहँदै आएको बसन्त बस्नेतकृत महाभारालाई ‘सत्यमोहन’ले पाखा लगाएको छ । गिरीश गिरीको सम्पादनमा बुक हिल प्रकाशन गृहले गत फाल्गुन अन्तिमबाट बजारमा ल्याएको जोशीको आत्मकथा देशभरबाट प्राप्त रिपोर्टमा पहिलो स्थानमा रहेको छ । तीनपटक मदन पुरस्कार प्राप्त गरेका जोशी जीवित अवस्थामा हुलाक टिकट प्रकाशन हुने पहिलो आमनागरिक पनि हुन् । साथै, उनी जीवित छँदै सिक्का प्रकाशन हुने पहिलो सर्वसाधारणसमेत हुन् ।

काठमाडौँका १०, काठमाडौँबाहिरका १० पुस्तक पसल र ३ अनलाइन पुस्तक बिक्रेताहरूबाट प्राप्त रिपोर्टलाई आधार मान्दा चैत महिनाको “साहित्यपोस्ट बेस्ट सेलर” सूचीमा सत्यमोहनबाहेक पुरानै पुस्तकहरूले बलियो उपस्थति देखाएका छन् । साहित्यपोस्ट बेस्ट सेलर सूचीमा पुरानै पुस्तकहरूले बलियो उपस्थिति जनाएका छन् । यसअघि लगातार तीन महिना (पुस, माघ र फागुन) सूचीको पहिलो स्थानमा रहन सफल उपन्यास ‘महाभारा’ सत्यमोहन जोशीको आत्मकथाले बजारमा बलियो उपस्थिति जनाएसँगै दोस्रो स्थानमा झरेको हो । देशभरबाट प्राप्त रिपोर्टअनुसार बिक्रीमा “सत्यमोहन”लाई “महाभारा”ले पछ्याइरहेको छ ।

त्यस्तै, चैत महिनाबाटै बजारमा आएको अनूदित उपन्यास “एक्लै एक्लै” चैत महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको तेस्रो स्थानमा रहेको रिपोर्टले देखाएको छ । उज्ज्वल प्रसाईँले अनुवाद गरेको उपन्यासले नेपाली पाठकको ध्यान खिच्न सफल भएकाले सूचीको तेस्रो स्थानमा पर्न सफल भएको हो । लेखक मन्जुश्री थापाद्वारा लिखित अङ्ग्रेजी भाषाको उपन्यास ‘अल अफ अस इन आवर वोन लाइभ्स’को नेपाली अनुवाद हो ‘एक्लै एक्लै’ ।

अघिल्लो महिना साहित्यपोस्ट बेस्ट सेलर सूचीको दोस्रो स्थानमा रहेको टीकाराम रेग्मीकृति उपन्यास उज्यालोतिर चैत महिनाको सूचीको चौथो स्थानमा झरेको छ । यसअघि, यो उपन्यास माघ महिनाको बेस्ट सेलर सूचीको तेस्रो स्थानमा रहेको थियो भने पुस महिनाको सूचीको पाँचौँ स्थानमा पर्न सफल भएको थियो । उपन्यासले पहिलो स्थानमा पर्न सफल सत्यमोहन र दोस्रो स्थानमा रहेको महाभारले झैँ आक्रमक व्यपार नगरे पनि प्रकाशनमा आएदेखि नै सुखद् बिक्री गरिरहेको छ ।

चैत महिनाको बेस्ट सेलर सूचीको पाँचौँ स्थानमा सुजित मैनालीकृति अनुसन्धात्मक पुस्तक “सतीः इतिहास र मीमांसा” रहन सफल भएको छ । अघिल्लो महिना पनि यो कृति सूचीको पाँचौँ स्थानमै रहेको थियो । माघ महिनाको सूचीमा नअटाएको यो कृतिले फाल्गुनदेखि पुनः पाँचौँ स्थानमा आफ्नो उपस्थिति जनाएको हो । पुस्तकले प्रबुद्ध वर्गको ध्यान खिच्नुका साथै पाठकका तर्फबाट माउथ पप्लिसिटी राम्रो पाएकाले बिक्री सुखद् रहेको बिक्रेताहरुले बताएका छन् ।

यसअघि, फागुन महिनाको बेस्ट सेलर सूचीको चौथो स्थानमा रहेको बुद्धिसागरको कर्णाली ब्लुज (अङ्ग्रेजी संस्करण), सातौँ स्थानमा रहेको कवि तथा गीतकार हरिहर तिमिल्सिनाको बालमनोविज्ञानमा आधारित उपन्यास कखरा, सूचीको आठौँ स्थानमा रहेको मोहन मैनालीको अनुवादकृति आकाशमुखी, नवौँ स्थानमा रहेको अन्जु न्यौपानेकृति उपन्यास लुकेको बासना र दशौँ स्थानमा रहेको केशवराज ज्ञवालीको कथासङ्ग्रह अर्को भोर चैत महिनाको सूचीबाट बाहिरिएका छन् ।

पढ्नुहोस्, बिक्रेताहरूको अनुभव, सूचीमा पर्नुको कारण र छोटो परिचयसहित चैत महिनाको बेस्ट सेलर सूचीमा समावेश पुस्तकहरूः

१. सत्यमोहन – गिरीश गिरी

Book Cover Mockup 3d Rendering Illustration

संस्कृतिविद् शताब्दी पुरूष सत्यमोहन जोशीको आत्मकथा “सत्यमोहन”ले चैत महिनाको बेस्ट सेलर सूचीमा बाजी मारेको छ । गिरीश गिरीको सम्पादनमा बुक हिल प्रकाशन गृहले गत फाल्गुन अन्तिमबाट बजारमा ल्याएको जोशीको आत्मकथा देशभरबाट प्राप्त रिपोर्टमा पहिलो स्थानमा रहेको छ । तीनपटक मदनपुरस्कार प्राप्त गरेका जोशी जीवित अवस्थामा हुलाक टिकट प्रकाशन हुने पहिलो आमनागरिक पनि हुन् । साथै, उनी जीवित छँदै सिक्का प्रकाशन हुने पहिलो सर्वसाधारणसमेत हुन् ।

आत्मकथामा राणाकालको अन्तिम दशकदेखि कोरोनाकालसम्म जोशीले भोगेका, देखेका र अनुभूत गरेका भौगोलिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र व्यवहारिक जीवनबारे रोचक शैलीमा वर्णन गरिएको छ । पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “एक सय दुई वर्षको उमेरमा पनि अविश्राम खटिरहेका सत्यमोहन जोशीले बाँचुन्जेल नेपाली पहिचानका विभिन्न क्षेत्रहरूप्रति जिज्ञासा राख्दै आएका छन् । उनले आजीवन त्यसैको खोजी एवम् अन्वेषणमा आफूलाई समर्पित गरे । प्रारम्भिक दिनमै उनी राणाकालीन सरकारी जागिरे भई सर्भे गर्न गाउँघर पसेका थिए । सर्भेका तथ्याङ्कसँगै भोगाइहरू पनि समेटिए । त्यसले उनलाई वाङ्मय र संस्कृतिको क्षेत्रतर्फ मोडिदियो । आफ्ना अनुभवहरू उभ्याउँदै सिङ्गो मुलुककै लामो कालखण्ड बयान गर्न सक्ने उनी अब त्यो पुस्ताकै एक्लो कथावाचक हुन् । यो पुस्तक जोशीको जीवनका एकपछि अर्को चाखलाग्दो भोगाइको माध्यमबाट नेपाली समाजको लामो आरोहअवरोहलाई चियाउने आँखीझ्याल पनि हो ।”

पुस्तकको बिक्री आक्रामक हुनुको मुख्य कारण सत्यमोहनको व्यक्तित्व रहेको बिक्रेताहरूको बुझाइ छ । सबै किसिमका पाठकहरू तथा नेवाः समुदायको चासोका कारणले पनि पुस्तकको बिक्री सुखद् रहेको हो । साथै, सङ्ग्रहका हेतुले पनि पुस्तक किन्नेहरूको ध्यान पुस्तकले खिचेको छ ।

२. महाभारा – बसन्त बस्नेत

चैत महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको दोस्रो स्थानमा बसन्त बस्नेतको बहुचर्चित उपन्यास महाभारा पर्न सफल भएको छ । यसअघि लगातार तीन महिना (पुस, माघ र फागुन) सूचीको पहिलो स्थानमा रहन सफल उपन्यास महाभार सत्यमोहन जोशीको आत्मकथाले बजारमा बलियो उपस्थिति जनाएसँगै दोस्रो स्थानमा झरेको हो । देशभरबाट प्राप्त रिपोर्टअनुसार बिक्रीमा “सत्यमोहन”लाई “महाभारा”ले पछ्याइरहेको छ । पुस तेस्रो साताबाट बजार आएको यस उपन्यासले सामाजिक सञ्चालमा व्यापक प्रचारप्रसार पाएको छ । सकरात्मक प्रतिक्रिया पाइरहेको उपन्यासले पछिल्लो समय सबै किसिमका पाठकहरूको ध्यान खिचिरहेको छ ।

मधुर पूर्वेली लबज र नेपाली साहित्यमा बिरलै देखिने सशक्त संवादको मीठो समिश्रण हो, महाभारा । प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको महाभारा मूलतः डुक्पाको कथा हो । डुक्पा उटपट्याङ गरिबस्छ । पढ्नमा लद्दु तर ‘डुक्पा डान्स’का लागि चर्चित छ । पालाम गाएरै सोल्टिनीहरूको प्रिय छ । त्यही डुक्पा अकस्मात् प्रेमिका सुक्मतीलाई छाडेर ड्राइभरी गर्न मधेस झर्छ । नचाहेरै उसको जिन्दगीमा युद्धको छिर्का छ्यापिन पुग्छ । उसले आफ्नो निर्णयप्रति सुक्मतीको घृणा बुझ्न पाउँछ, लारुम्बाको धार्मिक दस्ता काम्राङ र माओवादीबीचको तिक्तता अनुभव गर्छ । एक दिन उसको भेट आफ्नी प्रेमिका मन पराउने तान्छोहाङसँग हुन्छ, जसले उसको बाटो नै मोडिदिन्छ ।

शीलापत्रको सम्पादकसमेत रहेका बस्नेतको यसअघि गैरआख्यान विधाको “७२ को विश्मय” प्रकाशित छ । पुस्तकलाई फाइन प्रिन्टले बजारमा ल्याएको हो ।

३. एक्लै एक्लै – मन्जुश्री थापा

चैत महिनाबाटै बजारमा आएको अनूदित उपन्यास “एक्लै एक्लै” चैत महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको तेस्रो स्थानमा रहेको रिपोर्टले देखाएको छ । उज्ज्वल प्रसाईँले अनुवाद गरेको उपन्यासले नेपाली पाठकको ध्यान खिच्न सफल भएकाले सूचीको तेस्रो स्थानमा पर्न सफल भएको हो । उपन्यासको चर्चा तथा मूल लेखक र अनुवादकको व्यक्तित्वको प्रभाव पुस्तकमा परेकाले पनि बिक्री सुखद् रहेको बिक्रेताहरूको अनुभव रहेको छ ।

अनुवादकले उपन्यासमा कतिपय अङ्ग्रेजी शब्दहरूलाई हुबहु अनुवाद नगरी चल्तीका अङ्ग्रेजी शब्दलाई त्यत्तिकै छोडिदिएका छन् । उनले भनेका छन्, ‘गाउँको परिवेश समेटिएको भोगइहरूको अनुवाद गर्दा सजिलो भयो । विदेशका परिदृश्यहरूको अनुवाद गर्दा भने गाह्रो भयो । आफू नपुगेको र नभिजेको ठाउँका दृश्यहरूलाई अनुवाद गर्दा न्याय गर्न सक्दिनँ कि भन्ने चुनौतिले पनि सताएको थियो ।’ उपन्यासकार थापाले भने आफूले पूरै विश्वास गरेको मान्छेलाई अनुवाद गर्न दिएको र अनूदित कृतिको हकदार मूल लेखक जत्तिकै अनुवादक पनि रहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘अनुदित पाण्डुलिपि पढ्दा नै म खुसी भएको थिएँ । नेपाली कथा अङ्ग्रेजीमा लेखेको थिएँ त्यो नेपालीमा झन राम्रोसँग आएजस्तो भयो ।’

लेखक मन्जुश्री थापाद्वारा लिखित अङ्ग्रेजी भाषाको उपन्यास ‘अल अफ अस इन आवर वोन लाइभ्स’को नेपाली अनुवाद हो ‘एक्लै एक्लै’ । उपन्यासलाई सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।

 

४. उज्यालोतिर – टीकाराम रेग्मी

अघिल्लो महिना साहित्यपोस्ट बेस्ट सेलर सूचीको दोस्रो स्थानमा रहेको टीकाराम रेग्मीकृति उपन्यास उज्यालोतिर चैत महिनाको सूचीको चौथो स्थानमा झरेको छ । यसअघि, यो उपन्यास माघ महिनाको बेस्ट सेलर सूचीको तेस्रो स्थानमा रहेको थियो भने पुस महिनाको सूचीको पाँचौँ स्थानमा पर्न सफल भएको थियो । उपन्यासले पहिलो स्थानमा पर्न सफल सत्यमोहन र दोस्रो स्थानमा रहेको महाभारले झैँ आक्रमक व्यपार नगरे पनि प्रकाशनमा आएदेखि नै सुखद् बिक्री गरिरहेको छ । विद्यार्थी, विद्यालय, शिक्षक र शिक्षणमा केन्द्रित विषयवस्तु उपन्यासमा भएकाले पुस्तकले सुखद् व्यापार गरिरहेको बिक्रेताहरूको अनुभव रहेको छ ।

जीवनको उर्जावान् समय शिक्षणमा बिताएका रेग्मीले उपन्यासमा शैक्षिक समाजलाई थप उज्यालोतिर डोर्याउने सफल प्रयास गरेका छन् । यो कक्षा कोठाका क्रियाकलापलाई समेटेर कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुराहरू समेटेर प्रकाशनमा आएको कृति हो । प्रभावकारी सिकाइका बारेमा बोल्न र लेख्न रेग्मीको यो पुस्तक उत्कृष्ट शैक्षिक साहित्यका रूपमा बजारमा आएको छ । र, पुस्तकको बिक्री पनि विद्यालय केन्द्रित नै रहेको बिक्रेताहरूले बताएका छन् । पुस्तकको बिक्री उपत्यकामा अनलाइन पुस्तक बिक्रेताहरू तथा काठमाडौँ बाहिरका पुस्तक पसलहरूबाट सुखद् भएको रिपोर्ट प्राप्त भएको छ ।

पुस्तकलाई सुनवर्षी बुक हाउसले बजारमा ल्याएको हो ।

 

५. सतीः इतिहास र मीमांसा – सुजित मैनाली

चैत महिनाको बेस्ट सेलर सूचीको पाँचौँ स्थानमा सुजित मैनालीकृति अनुसन्धात्मक पुस्तक “सतीः इतिहास र मीमांसा” रहन सफल भएको छ । अघिल्लो महिना पनि यो कृति सूचीको पाँचौँ स्थानमै रहेको थियो । माघ महिनाको सूचीमा नअटाएको यो कृतिले फाल्गुनदेखि पुनः पाँचौँ स्थानमा आफ्नो उपस्थिति जनाएको हो । पुस्तकले प्रबुद्ध वर्गको ध्यान खिच्नुका साथै पाठकका तर्फबाट माउथ पप्लिसिटी राम्रो पाएकाले बिक्री सुखद् रहेको बिक्रेताहरुले बताएका छन् ।

यो पुस्तकमा सती प्रथाको ऐतिहासिक, सामाजिक र मनोवैज्ञानिक पाटोबारे विमर्श गरिएको छ । लेखकले नेपाल र भारतमा अभ्यस्त सतीप्रथाबारे सात वर्षजति अध्ययन–अनुसन्धान गरेर तयार पारेको यस पुस्तकमा आठवटा अध्यायहरु छन् । त्यसबाहेक ४२ वटा परिशिष्टहरुमा किंवदन्ती, अनुश्रुति र अभिलेखहरुको खँदिला विवरण समेटिएका छन् । त्यसका निम्ति लेखकले सतीको नामसँग जोडिएका स्थलहरुको स्थलगत अवलोकन गर्नुका साथै थुप्रै अन्तर्वार्ताहरु लिएका थिए । सतीप्रथाबाट सबैभन्दा प्रताडित कमारीहरूको रोदनलाई पनि ‘सती’ले बाहिर ल्याएको छ । भारतमा इस्ट इन्डिया कम्पनीले सतीप्रथामाथि प्रतिबन्ध लगाउँदा विरोध भए पनि नेपालमा त्यो कसरी सजिलैसँग उन्मूलन हुनसक्यो भन्ने कुराको अन्तर्य पनि किताबमा खोतलिएको छ ।

 

६. प्रश्न – उदय अधिकारी

अघिल्लो महिना साहित्यपोस्ट बेस्ट सेलर सूचीको छैटौँ स्थानमा रहेको उदय अधिकारीको अन्तर्वार्ता सँगालो “प्रश्न”ले चैत महिनाको सूचीमा पनि छैटौँ स्थान सुरक्षित गरेको छ । माघ महिनाको सूचीको सातौँ स्थान रहेको यस पुस्तकको बिक्री उपत्यकाको तुलनामा उपत्यकाबाहिर राम्रो रहेको प्राप्त रिपोर्टले देखाएको छ ।

उदय अधिकारी लामो समयबाट साहित्यिक पत्रकारितामा संलग्न छन् । ‘प्रश्न’ अधिकारीले विभिन्न समयमा विभिन्न स्रष्टाहरुसँग लिइएको अन्तर्वार्ताहरूको सँगालो हो । यो पुस्तकमा अभि सुवेदी, सरुभक्त, नारायण ढकाल, श्रवण मुकारुङ, मनु मञ्जिल र श्यामलसँग अधिकारीले सोधेका प्रश्नहरू तथा स्रष्टाहरुले राखेका आफ्नो विचार र चिन्तन समावेश छन् । पुस्तकमा सङ्ग्रहित व्यक्तित्वको प्रभाव बिक्रीमा समेत परेको बिक्रेताहरूले बताएका छन् । अधिकारीले सोध्नुभएका प्रश्नहरु गहकिला छन् । स्रष्टाहरुले दिनुएका उत्तरहरू उहीमात्रमा विचारउत्तेजक छन् । नेपाली साहित्यको आयतन बुझ्न यो पुस्तक उपयोगी रहेको छ । र, यही उपयोगिताले पुस्तक पाठकहरूको ध्यान आकृष्ट गर्न सफल देखिएको छ ।

पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।

 

७. ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन – महेन्द्र पी. लामा

दार्जीलिङका सुपरिचित लेखक एवम् प्राध्यापक महेन्द्र पी. लामाको पुस्तक ‘ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन’ चैत महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको सातौँ स्थानमा पर्न सफल भएको छ । भारतका नेपालीभाषी र उनीहरुले माग गर्दै आएको गोर्खाल्याण्डका मुद्दाहरुमा केन्द्रित यो पुस्तकमा लामाले दार्जीलिङको समृद्ध इतिहास, गर्विलो विरासत र अन्यौलग्रस्त वर्तमानलाई जीवन्त ढङ्गबाट चित्रण गरेका छन् ।

पुस्तक विभिन्न ६ वटा खण्डहरुमा विभाजित छः ‘पहाडकी रानी’, ‘हाम्रो आवाज र स्वाभिमान’, ‘नेपाललाई नियाल्दा’, ‘चीनतिर चियाउँदा’, ‘कूटनीति र यताउति’ तथा ‘अनुभूति र अवलोकन’ । पुस्तकमा भारतबाट हेर्दा नेपाल कस्तो देखिन्छ; तिब्बत र चीनतिर चियाउँदा के–के पाइन्छ; कुटनीति, भूराजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका नयाँ मुद्दाहरु के हुन्– यी र यस्ता विषय पनि समेटिएका छन् । लेखक नयाँ दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयको स्कुल अफ इन्टरनेसनल स्टडिजका वरिष्ठ प्राध्यापक एवम् विकास अर्थशास्त्री हुन् । उनी भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार परिषद् सदस्य, सिक्किम सरकारको प्रमुख आर्थिक सल्लाहकार एवं भारत सरकारका विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय कमिटीहरूमा प्रतिनिधि रहिसकेका छन् । लामाले भारतीय राष्ट्रपति नेतृत्वका थुप्रै संस्थाहरुमा प्रतिनिधित्व गर्नुका साथै विश्वका धेरैवटा विश्वविद्यालयहरुमा पढाएका र सिक्किम केन्द्रीय विश्वविद्यालयमा भारतकै सबभन्दा कान्छो उमेरका संस्थापक कुलपति बन्ने कीर्तिमानसमेत कमाएका छन् । उनले यसअघि करिब दुई दर्जन पुस्तकको लेखन एवम् सम्पादन गरिसकेका छन् ।

पुस्तकले समेटेको विषयवस्तु, लामाको व्यक्तित्व तथा लोकप्रियताको सकरात्मक असर पुस्तक बिक्रीमा परिरहेको बिक्रेताहरूको बुझाइरहेको छ ।

 

८. मलिलो माटो – सपना आचार्य

नवलेखिका सपना आचार्यको पहिलो उपन्यास “मलिलो माटो”ले चैत महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको आठौँ स्थान सुरक्षित गरेको छ । उपत्यकाबाहिर सुखद् व्यापार गरिरहेको यो कृति पहिलोपटक बेस्ट सेलर सूचीभित्र अटाएको हो ।

नारीलाई प्रकृतिसँग र प्रकृतिलाई नारीसँग सादृश्य गरी नारी तथा प्रकृति सृष्टिका संवाहक हुन् । नारी र प्रकृतिको उपभोग मात्रै गरिएको र त्यसको भित्री मर्म, वेदना एवम् समस्याको समाधान नभएको बरू नारी परिस्थितिको दास बन्न बाध्य भएको कुरालाई कृतिमा प्रस्तुत गरिएको छ । ‘मलिलो माटो’मा अनिच्छित आमा हुनुबाट उत्पन्न घात, आघात र प्रतिघातको सजीव चित्रण पाइन्छ । उपन्यासले एउटी नारीको आँसु र आशामात्र होइन, हाम्रो सभ्यताले स्थापित गरेको मानव मनोविज्ञान चियाउने आँखाको समेत काम गरेको छ ।

उपन्यासलाई स्कुल आफ लिडर्स प्रा.लि.ले प्रकाशनमा ल्याएको हो ।

 

९. राणाकालीन शिक्षा – प्रकृति अधिकारी

अघिल्लो महिना साहित्यपोस्ट बेस्ट सेलर सूचीको तेस्रो स्थानमा पर्न सफल प्रकृति अधिकारीको अनुसन्धानमूलक पुस्तक “राणाकालीन शिक्षा” चैत महिनाको सूचीको नवौँ स्थानमा पुगेको छ । यसअघि यो पुस्तक पुस महिनाको सूचीको दोस्रो र माघ महिनामा चौथो स्थानमा रहेको थियो । राणाकालीन शिक्षाको विषयमा प्रबुद्ध वर्गका साथै युवाहरूको पनि विशेष चासो पछिल्लो समय बढेकाले त्यसको प्रभाव पुस्तक बिक्रीमा पनि परेको बिक्रेताहरूको बुझाइरहेको छ ।

राणा शासनका अवधिमा झाङ्गिएको शिक्षा ‘राणाकालीन शिक्षा’बाट परिचित छ । श्री ३ महाराज जङ्गबहादुर राणाले दरबारभित्र सुरु गरेको निजी शिक्षा देशभरि बिस्तार हुन सक्यो । तर त्यसका लागि लामो समय लाग्यो । यो अवधिमा शिक्षाका विधि, तौरतरिका र प्रणालीले पनि राम्रैसँग मौलाउने अवसर पाए । मुख्यतः बेलायतका शासकले भारतमा जुन शिक्षाको बिउ रोपे, त्यसको प्रभाव नेपालसम्म आइपुग्यो । अब जनतालाई शिक्षाबाट बञ्चित गरिएमा हाम्रा सुखद् दिन धेरै रहने छैनन् भन्ने शासकका मुटुमा परिसकेको थियो । राणा शासकले राणा परिवारलाई नै चार भञ्ज्याङ्गभित्र टिकाउनुपर्ने स्वार्थ थियो । यिनै घटनाक्रमका बिच शिक्षाले हुर्किने अवसर पायो । र, १०४ वर्षको अवधिमा शिक्षाको लामै फेहरिस्त तयार हुनसक्यो । त्यो समयको शिक्षाको कौतुहल र जिज्ञाशालाई यस पुस्तकले मेटाउने प्रयास गरेको छ । सरकारी लिखितम् नै पुस्तकमा समावेश गरिएकाले राणाकालीन शिक्षाका बारेमा जानकारी लिन यो पुस्तक विश्वासनीय बनेको छ ।

 

१०. युद्धका ती दिनः एक पत्रकारको भोगाई – सङ्गीता खड्का

सङ्गीता खड्काको ‘युद्धका तीन दिन : एक पत्रकारको भोगाइ’ चैत महिनाको सूचीको अन्तिम अर्थात् दशौँ स्थानमा पर्न सफल भएको छ । यो माओवादी जनयुद्धका उथलपुथलपूर्ण दिनहरूको प्रतिनिधिमूलुक पुस्तक हो । कुनै पनि नेपाली अप्रभावित नरहेको त्यस युद्धका क्रममा एक जना महिला पत्रकारले नजिकबाट देख्दा र भोग्दाका अनुभवहरू यस पुस्तकमा समेटिएका छन् । पुस्तकमा दुःख, संघर्ष, दृढताका कथाहरू समेटिएका छन् । युद्धमा संलग्न भएकाहरूका लागि आफ्नाजस्तै समान अनुभूतिका कारण पुस्तक अविस्मरणीय बनेको छ ।

‘युद्धका ती दिन : एक पत्रकारको भोगाइ’ पत्रकार सङ्गीता खड्काले भोगेको जनयुद्धको संस्मरण हो । लेखकले नेकपा (माओवादी) ले २०५२ फागुन १ गतेबाट सुरू गरेको जनयुद्ध र त्यससँग जोडिएका आफ्ना भोगाइलाई पुस्तकमा सँगालेकी छिन् । माओवादी जनयुद्धका क्रममा आधारभूत तह र सञ्चार क्षेत्रका साथै सहरी इलाकामा परेका प्रभावहरूलाई पुस्तकले मसिनो गरी समेटेको छ । पुस्तकको उत्कृष्टताका साथै माओवादी जनयुद्धजस्तो जनताले प्रत्यक्ष भोगेको संवेदनशील कालखण्डमाथि लेखिएको कृति भएका कारणले पनि पुस्तकको बिक्री सुखद् रहेको बिक्रेताहरूको बुझाइ रहेको छ ।

बेस्ट सेलर सूचीमा अटाएकाबाहेक आकाशमुखी, त्यो उज्यालो कर्णाली, अर्को भोर, एक अनि शून्य, ग्रीष्मको नीलो बतास, पारिवारिक षड्यन्त्र, घामभन्दा पहिले, मूल्यवान् जिन्दगीका अनमोल आधारहरू, भीमसेन ४ को खोजी, मोम्चो, असहमती, प्रतिगन्धलगायत पुस्तकहरूको बिक्री पनि सन्तोषजनक रहेको देशभरबाट प्राप्त रिपोर्टले देखाएको छ ।