गएको अप्रिल १४ मा अमेरिकाका प्रख्यात राष्ट्रपति अब्राहम लिङ्कनको हत्या भएको १५७ वर्ष पुग्यो ।

लिङ्कन त्यो बेला नाटक हेरिरहेका थिए । उनलाई ताकेर गोली हानिदा छेउमै उनकी पत्नी पनि थिइन् । यो देखेर पत्नी चिच्याएपछि वरपरबाट मानिसहरू आए र घाइते लिङ्कनलाई तल खुला ठाउँमा सहज हुने गरी सुताए ।

चिकित्सकलाई तुरून्त बोलाइयो । चिकित्सकले उनलाइ जोगाउन सक्दो प्रयास गरे । अप्रिल १५, बिहानी ७ बजेर २२ मिनेटमा उनको देहान्त भयो ।

उनको देहान्तको खबरले सारा अमेरिका शोकमग्न भयो । कविकलाकार पनि शोकमग्न भए । कतिसम्म भने अमेरिकाका महाकवि भनी चिनिने वाल्ट ह्विटम्यानले ढिला गरी यो खबर सुन्दा उनी विशादमा परे । लिङ्कन ह्विटम्यानका प्रशंसक थिए र उता ह्विटम्यान पनि असल राजनीतिज्ञका रूपमा उनलाई मान्दथे ।

उनको हत्याको खबर सुनेपछि यही विशादमा उनले केही कविता लेखे । भनिन्छ, उनले कयौँ कविता लेखेर लिङ्कनप्रति समर्पित गरेका थिए ।

तीमध्ये ‘ओ क्याप्टेन ! माई क्याप्टेन !’ निकै चर्चित रह्यो । जब यो कविता प्रकाशमा आयो, त्यो बेला यो कविता भाइरल नै बन्न पुगेको थियो । कतिसम्म भने त्यस अवधिमा कुनै चर्चित र असल व्यक्तिको निधन भए, यही कविता वाचन गर्ने गरिन्थ्यो । कसैले यो कविताको उल्लेख गर्यो भने कुनै भलामानुष बितेछ भन्ने मान्छेले बुझ्थे ।

एक राष्ट्रपतिलाई सम्मान गरी लेखिएको कविता, यसरी सबै महामनाहरूको निधनको प्रतीक बन्न पुग्यो ।

कसैले ठीकै भनेका छन्, असल साहित्य कुनै व्यक्तिलाई तोकेर लेखिएको भए पनि त्यसले सारा व्यक्तिलाई छुन्छ ।

केही आलोचकले भने यो कविताको सिर्जना मिति र लिङ्कनको हत्या मितिमा निकै फरक रहेको हुँदा लिङ्कनप्रति समर्पित कविता नभएको टिप्पणी गर्ने गर्छन् ।

हुन पनि लिङ्कनको निधनको २३ वर्षपछि लेखिएको यो कविता के साँच्चिकै उनैलाई कल्पेर लेखिएको हो त ? यस्तो प्रश्न नउठ्ने पनि होइन । तर यसबारेमा स्वयं वाल्ट ह्विटम्यानले नै आफ्नो आत्मकथामा उल्लेख गरेका छन् ।

अमेरिकाभरिका माध्यमिक विद्यालयमा यो कविता अनिवार्य रूपमा पढाइ हुने गर्छ ।