अध्याय आठ

                                                                   चौथो रात

साँझपख, जब ढोका बन्द भयो र चारैतिर निस्तब्धता छायो, टाटेपाङरे हिजडा घोडाले आफ्नो कथा जारी राख्दै यसो भन्यो:“जसै म एक हातबाट अर्को हातमा बेचिंदैगएँ , मान्छे र घोडाहरूको विषयमा मेरो जानकारी पनि बढ्दैगयो । सबभन्दा बढी समय म आफ्ना दुई जना मालिकहरूको साथमा रहेँ । एक जना रजौटा थिए जो अश्वारोही सेनामा अफिसर थिए र अर्को चाहिँ एक बृद्ध महिला थिइन्‌ जो निकोलाइ याभ्लेभी गिर्जाघरनजिकै बसेकी थिइन्‌ ।
आफ्नो जीवनको सबभन्दा सुखमय समय मैले अश्वारोही अफिसरको साथमा बिताएँ ।

हुन त उसैले गर्दा नै मेरो जीवन बर्बाद पनि भयो । आफ्नो जीवनभर उसले न कुनै मानिसलाई कहिल्यै प्रेम गर्यो, न त कुनै अरु कुरालाई । परन्तु म यसै कारणले गर्दा उसलाई प्रेम गर्थे । ऊ सुन्दर, सम्पन्न र सुखी पनि थियो । त्यसैले ऊ कसैलाई माया पनि गर्दैनथ्यो । यस भावनालाई तिमीहरू बुझ्न सक्छौँ, किनभने यो हामी घोडाहरूको उत्कृष्टतम भावना हो । मप्रति उसको उपेक्षा र निर्दयता, अनि उसमाथि मेरो निर्भरता- यसले गर्दा उसप्रति मेरो प्रेमले एक विशेष बल प्राप्त गरेको थियो । ‘मलाई खूब पिट, थिलथिलो पार र गोदेर मारि नै देऊ ! यसबाट मलाई अझ बढ्ता खुशी लाग्नेछ ।’ ती सुखद दिनहरूमा म यस्तो सोच्ने गर्थें ।

अस्तबलको नाइकेले जुन घोडा-व्यापारीको हातमा मलाई आठसय रुबलमा बेचिदिएको थियो त्यसैबाट अश्वारोही अफिसरले मलाई किनेको थियो । अरु कसैसँग पति म जस्तो टाटेपाङरे घोडा नभएको हुँदा उसले मलाई मन पराएको थियो । मेरो जीवनमा ती सुखमय दिन थिए । उसले एउटी रखौटी राखेको थियो । यो कुरा मलाई किन थाहा हुन गएको थियो भने म मालिकलाई हरेक दिन उसकहाँ लिएर जाने गर्थें र कहिलेकाहीं त दुवै जनालाई नै सँगसँगै घुमाउन पनि लग्थेँ । उसकी रखौटी अति हिसी परेकी थिई । ऊ स्वयं पत्ति सुन्दर थियो र उसको कोचवान समेत सुन्दर थियो । यसै कारण म उनीहरू सबैलाई प्रेम गर्थें । मेरो खुशीको कुनै सीमा थिएन । त्यसताका मेरो दिनचर्या यस्तो हुन्थ्यो : बिहानै चिरुवादार मेरो हेरविचार गर्न आउँथ्यो, स्वयं कोचवान आउँदैनथ्यो कि चिरुवादार आउँथ्यो । चिरुवादार ज्यादै नै ठट्टेउलो ठिटो थियो र क एक किसानको छोरो थियो । ऊ ढोका उदाङ्गै खोलिदिन्थ्यो जसले गर्दा भित्रको गन्हाउने हावा सफा हुन्थ्यो, अनि लिदी सोहरेर फ्याँक्थ्यो, त्यसपछि उपर्ना झिकिदिन्थ्यो र बुरुसले मेरो आङ मल्न थाल्थ्यो । भुवा झरेर काठ ठोकेको भुइँका फल्याकहरूमा ठाउँ-ठाउँमा खाल्टाखुल्टी परिसकेको थियो । म बेला-बेलामा खुट्टा बजार्थे र ख्याल-ख्यालमा चिरुवादारको बाहुलामा दाँत गाड्ने गर्थे । अनि आलोपालो गरी ऊ हामीलाई एउटा चीसो पानीको खँड्कलोनेर डोर्याएर लान्थ्यो । त्यहाँ मेरो सुडौल जिउको राम्रो निरीक्षण गर्थ्यो र आफ्नो श्रमको पनि तारीफ गर्थ्यो । उसैको सेवासुश्रुषाको कारणले गर्दा मेरो जिउ पनि निकै नै लागेको थियो । ऊ मेरो शरीरको सबै अङ्गपत्यङ्ग नियालेर हेर्थ्यो । मेरा टाँगहरू वाण जस्तै सीधा थिए र खूब हृष्टपुष्ट पनि थिए । ढाड र पुठ्ठा चाहिँ कतिसम्म मुलायम र चिल्ला थिए भने त्यहाँ हात राख्दा सुल्ल चिप्लने गर्थ्यो । अग्ला अग्ला जालीपछिल्तिरबाट मेरो निम्ति पराल र घाँस, अनि काठको आरीमा चाहिं जौं हालिन्थ्यो । अन्त्यमा बडाकोचवान फेओफान भित्र पस्थ्यो ।

कोचवान र मालिकबीच निकै समानता थियो । ती दुवै जना न कसैसित डराउँथै, न त आफूबाहेक अरु कसैलाई माया गर्थे । यसै कारण सबै नै उनीहरूलाई प्रेम गर्थे । फेओफान रातो रंगको कमीज, मखमली पतलून र इस्टकोट लगाउँथ्यो । बिदाको दिन जब ऊ कपालमा बास्नादार तेल हालेर इस्टकोट लगाएर अस्तबलमा आउँथ्यो, त्यतिखेर म ज्यादै रमाउँथै । भित्र पस्नासाथ ऊ कराउँथ्यो: ‘ए ! बिर्सिसकिस्‌ कि के हँ, तैँले मलाई ? गधा कहीको !’ अनि अंकुशेको बीडले मेरो पुठ्ठामा प्याट्ट हिर्काउँथ्यो । जोडले होइन, त्यसै ठट्टैठट्टामा ! म तुरुन्तै त्यसको ठट्टा बुझिहाल्थेँ र आफ्नो कान पछिल्तिर फर्काएर दाँत बजाउन थाल्थें ।

हामीकहाँ एउटा सर्वाङ्ग कालो बछेडो थियो जो एक जोडामा जोतिन्थ्यो । रातको बेला मैले उससँग नारिनुपर्थ्यो । पोल्कान नाउँको त्यो बछेडो हँसीठट्टा नै बुझ्दैनथ्यो । सँधै भूतसवार भए झैँ क्रुद्ध रहन्थ्यो । हाम्रा कठघरहरू अगलबगलमा थिए र कहिलेकाँही हामी एक अर्कालाई दाँतले टोक्ने गर्थ्यौं । यसमा ठट्टाको भाव त पटक्कै हुँदैनथ्यो । फेओपन उसँग अलिकति पनि डराउँदैनथ्यो, मानौं मारि नै हाल्ने हो कि के भन्ने भान पर्थ्यो । तर कुरा यस्तो थिएन । ऊ त खालि उसको बगलबाट गुज्जेर जान्थ्यो र दाम्लो लिएर फर्किहाल्थ्यो । एकपल्ट फेल्कान र म कुज्नेत्स्की सडकमा वेगले दौडिरहेका थियौ । न मालिक डरायो । न त कोचवान नै । उनीहरू दङ्दास परेर हाँसिरहेका थिए र जोडले कराएर सडकबाट मानिसहरूलाई भगाउँदैथिए । उनीहरूले हाम्रो लगाम कसिराखेकै थिए र कस्तो निपुणताका साथ हामीलाई हाँकेका थिए भने कमैलाई पनि कत्ति चोटपटक लागेन ।

मैले आफ्नो आधा जीवन र आफ्नो सर्वश्रेष्ठ गुण पनि मालिककै सेवामा अर्पण गरें । उनीहरूले मलाई खूब पानी पिउन दिने गरेका थिए, तसर्थ मेरा टाँग बर्बाद भैहाले । जे जसो भए तापनि त्यो मेरो जीवनको सबभन्दा असल समय थियो । बाह्र बजे उनीहरू मलाई जोताउन आइपुग्थे । मेरा खुरहरूमा तेल हालिदिन्थे, मेरो याल र टाउकोमा रौं भिजाइदिन्थे र सलाई बग्गीको जुवामुन्तिर नारिदिन्थे ।

हाम्रो बग्गी बेतको चोया बुनेर बनाइएको थियो र भित्रपट्टि चाहिं मखमलको झल्लर हालिएको थियो । साजबाजमा चाँदीका खिपहरू जडिएका थिए भने जाली लगामहरू चाहिँ रेशमी थिए । साजबाज कुन किसिमबाट चिट्ट मिलाइएको थियो भने जब सबै खिप र पेटीहरू आ आफ्ना ठाउँमा कसिन्थे, त्यतिखेर घोडामा साजबाज लागाइएको छ भनेर कसैले पनि भन्न सक्तैनथ्यो । अक्सर मलाई टहरोमुनि बग्गीमा नारिन्थ्यो । अनि फेओफान, जसको जाँघ काँधभन्दा बढी फराकिलो थियो, कम्मरमा रातो पेटी लगाएर आउँथ्यो, बग्गीको जाँच गर्थ्यो, रिकाबमा खुट्टा घुसार्थ्यो, ठट्टामा एक-दुई कुरा भन्थ्यो र हातले चाबुक उठाउँथ्यो- खाली रवाफ देखाउनको लागि मात्रै । हुन पनि, मलाई जसले कहिल्यै पनि कोर्रा लगाएन । ऊ भन्ने गर्थ्यो: ‘ल, हिंड्‌ !’ म पनि गजक्क परेर पाइला सार्थैं र ढोकाबाट बाहिर पुगिहाल्थें । जूठो भाँडाकुँडा खगालेको फोहोर पानी फ्याँक्न बाहिर निस्केकी भान्सेनी मलाई देखेर संघारमै टक्क रोकिन्थी । मोही किसानहरू, जो दाउराको भारी बोकेर आगनमा आइरहेका हुन्थे, मलाई देख्ने बित्तिकै वाल्ल मुख बाएर क्वारक्वारती मलाई नै हेरिरहन्थे । ढोकाबाहिर पुगेपछि केही बेर हिंडेर हामी रोकिन्थ्यौं । त्यसपछि अरु कोचवान र चिस्वादारहरू हाम्रो वरिपरि झूम्मिन्धे र गफ हाँक्न थाल्थे । ढोकाबाहिर हामी पर्खिरहेका हुन्थ्यौं । कतिपल्ट त तीन-चार घण्टासम्म नै यसरी कुर्नुपर्थ्यो । कहिलेकाहीँ अलिकति दौड लगाइन्थ्यो र फेरि फर्केर प्रतीक्षा गर्नुपर्ने हुन्थ्यो ।

आखिर ढोकानेर खैलाबैला सुनिन्थ्यो र कपाल फूलेको र भूँडी लागेको तीखोन दगुर्दै आउँथ्यो । उसले फ्रक-कोट लागइराखेको हुन्थ्यो र कराउने गर्थ्यो : “हाँक !” त्यसताका “अगाडि बढ !” भन्ने यस्तो अर्थ न बर्थको चलन थिएन- पछिल्तिर गइँदैन, अगाडि नै गइन्छ भन्ने पनि मानौं मलाई थाहा नभएको होस्‌ ! फेओफान जिभ्रो फटकार्ने गर्थ्यो । हामी अगाडि हिंड्थ्यौं । राजासाहेब ओतको खैरो भुवादार कलर भएको लामो कोट लगाएर र शिरमा टोप ढल्काएर बडो मगनमस्त चालाले फटाफट पाइला सार्दै ढल्कीढल्की आउँथ्यो, मानौ स्लेजगाडी, घोडाहरू र फेओफानमा कुनै विशेषता नै उसले नदेखेको होस्‌ । उसको कालो आँखिभौं र रातोपीरो सुन्दर चेहरा भुवादर कलरको पछिल्तिर ढाकिएको हुन्थ्यो । उसको अनुहार त यसरी छोपिएको हुनैनपर्ने थियो । फोओफानको पिठ्यू त्यतिखेर झुकेको हुन्थ्यो र हात चाहि अगिल्तिर फैलिएका हुन्थे । यस्तो मुद्रामा ऊ धेरै बेर टिक्न सक्ने छैन भन्ने म सोच्येँ । राजासाहेब हिंड्न लाग्दा उसको जुत्ताको ऐडी र तरवार बज्न लाग्थे । दलानमा ओछ्याइराखेको गलैचामा टेक्दै ऊ यसरी हिंड्थ्यो, मानौँ हतारमा सबै मानिसहरू मलाई र फेओफानलाई अचम्म मान्दै हेरिरहेका हुन्थे, तर राजासाहैब भने कत्ति पनि ध्यान दिदैनथ्यो । फेओफान जिभ्रो फट्कार्थ्यो । म बाटोमा पुग्थे र सवारी चढ्ने मण्डपनेर पुरेर टक्क रोकिन्थें । त्यहाँ म छड्के आँखाले एकपल्ट राजासाहेबलाई हेर्थे र आफ्नो शानदार टाउको माथितिर बेसरी झट्कार्थे, यसले गर्दा निधारनेरका मुलायम पलखहरू फन्न घुम्थे । राजासाहेब खुशी भएको बेला क फेओफानसँग केही ख्यालठट्टा पनि गरिहाल्थ्यो । फेओफान जवाफ दिन लाग्दा आफ्नो मनमोहक टाउको एकातिर अलिकति ढल्काएर पछिल्तिर सोडिन्थ्यो । हात तल नभझारेरै ऊ लगाम अलिकति हल्लाउँथ्यो र म त्यसको आसय तुरुन्त नै बुझिहाल्थें । अनि टक-टक-टक मेरो टापको आवाज सुनिन्थ्यो । कदम कदममा मेरो वेग बढ्दैजान्थ्यो, मेरो आङको एक एक मस्सल थर्कन लाग्थ्यो र हिउँ र हिलोका छिटाहरू उड्दै गाडाको फलकमा पर्न थाल्थ्यो । अहिलेको जस्तो ‘ओ !’ भनेर चिच्याउने अर्को एउटा वाहियात चलन पनि ती दिनहरूमा थिएन, मानौं कोचवानको पेटमा शूल उठेको होस्‌ ! त्यसताका त केवल “होशियार !’ भन्ने शब्द नै प्रयोग गरिन्थ्यो । जब फेओफान “होशियार !’ भनेर चिच्याउँथ्यो, त्यतिखेर मानिसहरू एकातिर पन्छिन्थे । घाँटी अगिल्तिर तानेर मनमोहक हिजडा घोडा, आकर्षक कोचवान र सुन्दर राजासाहेबलाई ट्वाल्ल परेर हेर्न थाल्थे ।

दुलकी चालले दगुर्ने कुनै पनि घोडालाई उछिन्न पाए मलाई बडो आनन्द लाग्थ्यो । कतै मैले र फेओफानले पनि स्लेजगाडीमा नारिएको कुनै यस्तो घोडा देख्यौं जससँग होडबाजी गर्नु हाम्रो प्रतिष्ठाको विपरीत हुँदैनथ्यो भने म हुरीले झै उसलाई पछ्याउन लागिहाल्थेँ । हेदहिँदै नै म उसको हाराहारीमा पुगिहाल्थें । मेरा टापहरूबाट स्लेजगाडीमा हिलोका छिटाहरू पर्न थाल्थे । म अगिल्तिर धकेलिएर सवारको बगलमै पुग्थे र उसको टाउकैमाथि फुँ गरेर नाक बजाउँथैं । दुई कदम अरु चाल्ने बित्तिकै त म जुवानेर नै पुगिसकेको हुन्थेँ । अनि त म वाण भै हानिएर अगाडि अगाडि दगुर्न थालिहाल्थेँ । प्रतिद्वन्द्वी मेरो आँखाबाट ओझेल भैसकेको हुन्थ्यो , बिस्तार-बिस्तार उसको आवाज पनि टाढिदैजान्थ्यो र अन्त्यमा सुनिन समेत छोड्थ्यो । के राजासाहेब, के फेओफान, के म-हामीमध्ये कोही पनि बोलिरहेको हुँदैनथ्यो । हामी तीनैले यस्तो मुख पारेका हुन्थ्यौं, मानौं हाम्रो सारा ध्यान नै आफ्नै काममा केन्द्रित भएको होस्‌ र बाटोमा दगुरिरहेका कमसल घोडाहरूतर्फ दृष्टि दिने समेत हामीलाई कत्ति फुर्सद नभएको होस्‌ ! घोडाहरूलाई उछिनेर अगाडि जान म निकै मन पराउँथै । यसको साथसाथै उम्दा घोडाहरू हेर्ने पनि मलाई ठूलो सोख थियो । कुनै बढिया घोडा अगिल्तिरबाट दौडेर आइरहेको छ भने तत्कालै मेरो नजर तत्कालै उसमाथि परिहाल्थ्यो । बस एक क्षणको मात्रै यो करा हुन्थ्यो । घोडाको एक झलक, एक आवाज र त्यसपछि ऊ आफ्नो बाटोमा, म आफ्नै बाटोमा । यसरी हामी आ आफ्नो दिशातर्फ हुरिँदै गइरहेका हुन्थ्यौं ।”

ढोका ख्यार्र खुल्यो, अनि नेस्तेर र भास्काको स्वर सुनियो ।