खण्डः ३

                                                                परिच्छेद – १८

रोस्तोभलाई प्रात्जेन गाउँतिर कुतोजोभ र सम्राट्लाई खोज्ने आदेश दिइएको थियो । तर त्यहाँ उहाँहरू मात्र होइन कुनै पनि कमान्डिङ अफिसर थिएनन्‌ । त्यहाँ खाली नानातरहका अव्यवस्थित सेनाको भीड मात्रै थियो । उसले जति सक्यो छिटो यस भीडबाट अगाडि निस्कने प्रयासस्वरूप आफ्नो थकित घोडा दगुराउँदै गयो । तर ऊ जति अगाडि बढ्थ्यो सैनिकहरूको भीड झन्‌ नराम्रो अवस्थामा देखिन्थ्यो । ऊ, जुन ठूलो सडकमा पुगेको थियो, त्यहाँ सबै किसिमका घोडगाडीहरू र बग्गीहरूको घुँइचो थियो । त्यहाँ सबै किसिमका रसियाली र अष्ट्रेलियाली सेनाका घाइते र सद्दे सैनिकहरूको भीड जम्मा भएको थियो । यस भीडको सिङ्गो चाकोभित्र उनीहरू मौरीझैँ भुन्भुनाउँदै र आपसमा ठेलाठेल गर्दै थिए । उनीहरू प्रात्जेन पहाडमा अवस्थित फ्रान्सेली तोपहरूबाट निष्कासित गोलाहरूका प्रभावले अँध्यारो मुख लगाएर बसेका थिए ।

“सम्राद्‌ कहाँ छन्‌ ? कुतुजोभ कहाँ छन्‌ ?” रोस्तोभले बाटोमा भेटेजति र रोक्न सकेजति सबै मान्छेसँग सोधपुछ गरिरह्यो तर कसैबाट उत्तर पाएन ।

अन्त्यमा उसले एक जना सैनिकलाई घाँटीमा समाउँदै उसको प्रश्नको उत्तर दिन वाध्य तुल्यायो ।

“हेर, भाइ ! उनीहरू त धेरै पहिले नै यहाँबाट भागिसकेका छन्‌,” उक्त सैनिकले, कुनै कारणबस हाँस्दै र उसको पन्जाबाट आफूलाई मुक्त, गर्दै उसलाई भन्यो ।

रक्सीको नसाले मातेको उक्त सिपाहीलाई छोडेर, रोस्तोभने कुनै महत्त्वपूर्ण व्यक्तिको नोकर वा सइसको घोडा रोक्यो र उसँग सोध्न लाग्यो । उक्त व्यक्तिले बतायो कि एक घन्टा पहिले सम्राट्लाई बग्गीमा राखेर यही बाटोबाट बेगसाथ सुईंम्याउँदै लगियो र सम्राट्‌ नराम्ररी घाइते भएका छन्‌ ।
“यस्तो हुन सक्तैन, त्यो घाइते कुनै अर्कै व्यक्ति होला,” रोस्तोभले भन्यो ।
“मैले मेरै आँखाले देखेको हुँ” उपहासपूर्ण तर आत्मविश्वासका साथ मुस्कुराउँदै उक्त व्यक्तिले फेरि जवाफ दियो । “मैले सम्राट्लाई धेरै राम्रोसँग चिन्छु । उहाँलाई मैले पिटर्सबर्गमा कैयौँ पटक देखेको छु । मैले उहाँलाई देखेकै हुँ, जसरी अहिले म तपाईंलाई देखिरहेछु । उहाँ निन्याउरो मुख लगाएर बग्गीमा बस्नु भएको थियो । उनीहरूले चारवटा काला घोडाले तानेको बग्गी यहीँबाट उडाएर लगेका थिए । म सम्राट्‌ चढ्ने घोडाहरू र गाडीचालक इल्या इभानिचलाई पनि चिन्छु । अर्को कुरा इल्याले सम्राट्बाहेक अरू कसैको गाडी हाँक्दैन ।” रोस्तोभले त्यस व्यक्तिको घोडा छोडिदियो र अगाडि बढ्न मात्र लागेको थियो, त्यही बाटो हुँदै जान लागेको एक जना घाइते अफिसर कसँग आएर
सोध्न थाल्यो :
“तपाईं कसलाई खोज्दै हुनुहुन्छ ?” प्रधान सेनापतिलाई हो ?” उहाँत तोपको गोला लागेर मारिनु भयो । हाम्रो रेजिमेन्टकै अगाडि उहाँको छातीमा गोली लाग्यो ।”
“मारिनु भएको होइन, घाइते हुनु भएको मात्र हो,” अर्को अफिसरले उसको कुरा सच्यायो ।

“को ? कुतुजोभ ? रोस्तोभले बुझ्ने प्रयास गर्यो ।

“कुतुजोभ होइन, उसको नाम के थियो रे खैर जो र जेसुकै भए पनि ….. धेरै कम मान्छे मात्र बाँचेका छन्‌ । तपाईं यहाँबाट … ऊ … त्यो गाउँतिरको बाटो लाग्नुस्‌, भए जतिका सबै कमाण्डरहरू त्यहीँ जम्मा भएका छन्‌,” उक्त अफिसरले उसलाई होस्जेरादेक गाउँतिर देखाउँदै भन्यो र आफ्नो बाटो लाग्यो ।

अब कुन कारणले र कसलाई भेट्न जाने भन्ने विषयमा उसलाई थाहा थिएन । उसले मात्र कदम-कदम घोडा बढाइरहेको थियो । सम्राद्‌ घाइते भएका हुन्‌ भने लडाइँमा पराजय भयो । अब यस विषयमा रत्तिभर शङ्का रहेन । रोस्तोभ आफूलाई बताइएबमोजिमको दिशातर्फ अग्रसर भयो, जहाँ उसले बुर्जा र एउटा गिर्जाघर देख्यो । आत्तिएर मात्र के गर्नु कृतुजोभ र सम्राट्‌ जीवित घाइते नभएकै अवस्थामा भए पनि उनीहरूसँग मैले के कुरा गर्ने ?

“यताबाट जानुस्‌ हजूर ! त्यताबाट जानु भयो भने तपाईं तत्काल मारिनु हुने छ,” एउटा सिपाहीले चिच्याउँदै उसलाई भन्यो, “उनीहरूले तपाईंलाई नमारी छोड्ने छैनन्‌ ।”

“तिमी कस्तो कुरा गर्दै छौ हँ ?” अर्कोले भन्यो । “उनी कहाँ जाने हुन्‌ र?” यो बाटोबाट गए गन्तव्य झन्‌ नजिक पर्छ ।”

रोस्तोभले गम्भीरतापूर्वक विचार गन्यो र उसले त्यही जुन बाटो जाँदा उनीहरूले “मारिने छौ” भनेका थिए ।

“अब केही फरक पर्दैन । जब सम्राट्‌ स्वयम्‌ नै घाइते भए भने मैले मेरो ज्यानको के माया गरूँ ?” उसले सोच्यो । ऊ त्यस क्षेत्रतर्फ बढ्यो, जहाँ प्रात्जेन गाउँबाट भागेका अधिकांश मान्छेहरू मरेका थिए । फ्रान्सेलीहरूले त त्यस क्षेत्रमा कब्जा जमाएका थिएनन्‌ र घाउचोट नलागेका र सामान्य रूपमा घाइते भएकाहरूले धेरै अगाडि त्यो ठाउँ छोडिसकेका थिए । प्रत्येक हेक्टरको दूरीमा, अन्नको थुप्रो लगाएजस्तै दस-पन्ध जना मृतक वा घाइते मानिसहरूको थुप्रो लागेको थियो । घाइतेहरू दुईदुई तथा तीन-तीन जनाको झुण्डमा घुमिरहेका थिए र मनै रुवाउने खालको उनीहरूको रोदन-क्रन्दन र चीत्कार सुनिन्थ्यो, जुन श्रव्य-दृश्य रोस्तोभलाई कताकता देखावटी भएजस्तो पनि लाग्थ्यो ।

उसले यातना सहिरहेका यी मान्छेहरूको पीडा देख्न नपरोस्‌ भन्ने हेतुले घोडा डुल्की चालमा अगाडि बढायो । ऊ डरायो- आफ्नो जीवनको मोहले होइन तर उसलाई आवश्यकता महसुस भइरहेको साहसप्रति उत्पन्न मोहले, जो उसलाई थाहा थियो कि यी दुःखी र पीडितहरूको अवस्था देख्दा मन थाम्न गाह्रो पर्थ्यो ।

फ्रान्सेलीहरूले यत्रतत्र पल्टिरहेका मुर्दा र घाइतेहरू भएको यस मैदानमा गोलाबारी बन्द गरेका थिए किनभने त्यहाँ निसाना बनाउन कुनै मान्छे बाँकी रहेको थिएन । अब घोडामा चढेको एक जना सहायक अफिसरलाई देखेर उनीहरूले आफ्नो एउटा तोपको मुख उतिर फर्काए र केही गोला पनि बर्षाए । यी सनसनीपूर्ण गोलाहरूको भयङ्कर आवाज र यत्रतत्र छरिएका लाशका दृश्यका कारण रोस्तोभको मनभित्र सन्त्रासका साथै पीडामिश्रित भावना जागृत भएर आयो । उसलाई आफ्नी आमाको अन्तिम चिठीका हरफहरू सम्झना भयो । “मेरी आमाले मलाई यहाँ, यस
मैदानमा, मतर्फ लक्षित तोपहरू देखेकी भए उनको मनमा कस्तो भावना उत्पन्न हुन्थ्यो होला,’ ऊ सोचमग्न भयो ।

लडाइँबाट होस्जेरादेक गाउँमा फर्किरहेको रसियाली फौजमा अस्तव्यस्तता त थियो नै तर त्यति ज्यादा थिएन । फ्रान्सेलीहरूले बर्षाएका गोला यहाँसम्म पुग्न सक्तैनथे र गोलीहरूको आवाज पनि कतै टाढाजस्तो प्रतीत हुन्थ्यो । यहाँ सबैले स्पष्ट रूपमा देखिरहेका थिए र भनिरहेका थिए कि लडाइँमा हाम्रो पराजय भइसकेको छ । रोस्तोभले जति पनि मान्छेहरूसँग सोध्यो, तीमध्ये कसैले पनि कुतुजोभ वा सम्राट्‌ कुन ठाउँमा छन्‌ भनेर एकिनसाथ भन्न सकेन । कसैले भन्थे- सम्राट घाइते भएको कुरा सत्य हो, तर यो झूटो हल्ला हो भनेर यसको परिच्छेदन गर्दै कसैले भन्थे-कि वास्तवमा सम्राटको बग्गीमा ग्य्राण्ड मार्सल काउन्ट टोल्स्टोय युद्धक्षेत्रबाट फर्किरहेका थिए, जहाँ उनी सम्राद्का अन्य गणका साथ गएका थिए । त्यहाँबाट फर्कदा उनी असाध्यै डराइएका जस्ता देखिन्थे र उनको अनुहार एकदम उडेको थियो । एक जना अफिसरले रोस्तोभलाई आफूले गाउँको पछाडि बायाँतर्फ केही उच्च तहका सैनिक कमाण्डरहरूलाई देखेको कुरा बतायो । र रोस्तोभले पनि त्यहाँ केही भेटिएला भन्ने आशा नगर्दा नगर्दै पनि, मात्र इमान्दारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्ने हेतुले त्यसतर्फ घोडा बढायो । दुई माइल जति अगाडि गएपछि र रसियाली फौजको अन्तिम पंक्तिलाई पछाडि छोडेपछि, चारैतिर खाल्डा भएको एउटा करेसाबारीनजिक उसले दुई जना घोडचढीलाई त्यस खाल्डोअगाडि उभिइरहेको देख्यो । आफ्नो टोपमा सेतो कल्की लगाएको एक जना सिपाही रोस्तोभलाई चिने-जानेको जस्तो कटुस रङ्गको एउटा सुन्दर घोडा चढेको (जुन घोडा रोस्तोभले पहिले पनि देखे जस्तो मान्यो) अर्को व्यक्ति खाल्डोसम्म घोडा चढेर आफ्नो घोडालाई एडी लगायो, र लगाम उठाएर धेरै सजिलैसँग खाल्डो नाघ्यो । घोडाको पछाडिको टापले भत्काएको अलिकति माटो किनारबाट खसेर खाल्डोमा पर्यो । तीव्र गतिमा घोडालाई मोड्दै ऊ फेरि, खाल्डोको वारि आयो र सेतो कल्कीवाला टोप लगाएको घोडचढीलाई आदरपूर्वक सम्बोधन गन्यो । उसले पनि त्यसै गरी खाल्डो नाघोस्‌ भन्ने उसको आशय भएको बुझिन्थ्यो । उक्त घोडचढी, जसको अनुहार रोस्तोभलाई परिचित जस्तो लाग्थ्यो र जसले रोस्तोभको ध्यान नचाँहदा-नचाँहदै पनि आफूतिर आकर्षित गरिरहेको थियो, ले टाउको र हातको इसाराले पहिलो घोडचढीको अनुरोध ठाडै अस्वीकार गर्यो । उसले हात हल्लाएको शैली देखेर रोस्तोभले तत्काल आफ्नो आराध्य सम्राटलाई चिन्यो, जसको खोजीमा ऊ शोकग्रस्त भएको थियो ।

“होइन, त्यो व्यक्ति सम्राट्‌ हुनै सक्तैनन्‌ । यो सुनसान मैदानमा सर्वथा एक्लै कसरी हुन्छ ?” रोस्तोभले सोच्यो । त्यही बेला सम्राट अलेक्जेण्डरले आफ्नो टाउको यसो फर्काए र रोस्तोभले आफ्ना स्मृतिपटलमा अङ्कित आफ्नो प्यारो सम्राट्को: रूपाकृति देख्यो । सम्राटको अनुहार फुङ्ग उडेको थियो, गाला ख्याउटिएका थिए र आँखा गडेका थिए तर यसले गर्दा उनको अनुहारको कोमलता र सुन्दरता झन्‌ वृद्धि भएको थियो । सम्राट्‌ घाइते भएका छन्‌ भन्ने खबर गलत रहेछ भन्ने थाहा पाएर रोस्तोभ ज्यादै खुसी भयो । सम्राटले उसलाई देखेको हुँदा ऊ त्यसै खुसी भएको थियो । उसले बुझ्यो कि उसले अहिले सम्राटसँग कुरा गर्न सक्ने स्थिति छ किनभने दोल्गोरुकोभले सम्राटलाई दिनु भनेको सन्देश उनलाई दिनु नै थियो ।

तर जसरी प्रेम-पाशोमा परेको कुनै तन्नेरी आफूले चिताएको र पर्खिरहेको क्षण आइपुग्दा र आफ्नो दिलकी प्रेयसीसँग साक्षात्कार र एकाकार हुने बखतमा लगलगी काम्न थाल्छ, उसको हंसले ठाउँ छोड्छ, हरेक रातमा देख्ने गरेको सपनाका कुरा मुखमा ल्याएर बोल्ने साहस गर्दैन, त्यसको निम्ति कसैको सहयोगको आशा गर्छ अथवा कुरा टिमाल्ने अथवा त्यहाँबाट भाग्ने अवसर खोज्छ, त्यसरी नै रोस्तोभ, अहिले त्यो अवसर प्राप्त भइरहँदा, जुन अवसर उसलाई प्राणभन्दा प्यारो थियो, सम्राटसँग भेटेर कसरी कुरा गर्ने बुझ्न असमर्थ भइरहेको थियो । सम्राटसँग भेटेर कुरा गर्न किन ठीक, उचित र सम्भव छैन भन्ने विषयमा उसको दिमागमा हजारौँ किसिमका कुरा खेलिरहेका थिए ।

“यंस्तो किन । यस्तो लाग्छ मानौँ यस्तो अवसरको फाइदा उठाएर मलाई खुसी लाग्ला, जब कि सम्राट्‌ उता एक्लै छन्‌ र दुःखमा छन्‌ । त्यसैले यस्तो दुःखद क्षणमा उनीलाई एउटा अपरिचित अनुहार अप्रिय र पीडादायक लाग्न सक्छ । फेरि म उनलाई भन्न नै के सक्छु र जब कि मैले उनलाई देख्नासाध मेरो मुटुले ठाउँ छोड्छ र मुख सुकेर प्याकप्याक हुन्छ ?” ती अनगिन्ती वक्तव्यहरूमध्ये, जो उसले सम्राटको नाउँमा सम्बोधन गर्दै कल्पना गरेर तयार गरेको थियो, अहिले उसको दिमागमा एउटा पनि आइरहेको थिएन । धेरैजसो वक्तव्य अर्कै परिस्थितिका लागि तयार गरिएका थिए । ती वक्तव्यहरू खास गरेर विजय र सफलताका क्षणमा पढ्ने खालका थिए, जुन क्षणमा घाउ-चोटका कारण ङ मृत्युशैयामा सुतिरहेको हुन्थ्यो र बहादुरी गरेवापत सम्राट्ले उसलाई धन्यवाद दिइरहेका हुन्थे र अन्तिम सास जाने बेलामा उसले सम्राटप्रति आफ्नो प्रेमको अभिव्यक्ति प्रकट गरिरहेको हुन्थ्यो, जो उसले व्यवहारिक रूपमा प्रमाणित गरेकै थियो ।

“यसबाहेक मैले सेनाको दायाँ भागलाई आदेश दिनु पर्यो भनेर सम्राटसँग कसरी कुरा उठाउन सक्छु, जब कि दिनको चार पनि नबज्दै हारिसकिएको छ । हुँदैन, म सम्राटसमक्ष जानै हुँदैन । उनको चिन्तनमा दखल दिनै हुँदैन । उनले मलाई रिसाएको दृष्टिले हेरे मात्र वा मेरो बारेमा कुनै नराम्रो धारणा बनाए भने मैले मरेसरह हुन्छ,” रोस्तोभले निर्णय गर्यो र दुःखी तथा गरुङ्गो मन लिएर ऊ पहिलेको जस्तै अन्यमनस्क अवस्थामा उभिएर एकनासले सम्राटतर्फ हेर्दै आफ्नो घोडा अगाडि बढायो ।

जसै रोस्तोभ आफूसँग आफैँ विवाद गर्दै आफ्नो घोडा अन्तै कतै लगिरहेथ्यो, कप्तान भोन टोल पनि आफ्नो घोडा चढेर दुप्लुक्क त्यही ठाउँमा आइपुग्यो । सम्राट्लाई देख्नेबित्तिकै ऊ सम्राटसमक्ष हाजिर भयो र उनको सेवामा तल्लीन भयो । उसले सम्राट्लाई पैदल नै हिँडेर त्यो खाल्डो पार गर्न सहयोग गन्यो । सम्राट्‌ आफूलाई सन्चो नभएजस्तो लागेको हुँदा विश्वाम गर्ने आशयले एउटा स्याउको रुखमुनि बसे । त्यसबीच भोन टोल उनका अगाडि आएर उभियो । रोस्तोभले इर्ष्या र पश्चाताप मान्दै भोन टोलले बडो जोस र जाँगरका साथ सम्राटसँग कुरा गरेको दृश्य टाढैबाट हेरिरह्यो । सम्राट्ले रुँदै एउटा हातमा रुमाल लिएर आँखाका आँसु पुछ्दै अर्को हातले भोन टोलका हात समातिरहेका थिए ।

“मेरो बुद्धिलाई धिक्कार दिन्छु, मेरो दिमागमा भोन टोलको जस्तो बुद्धि पलाएन” रोस्तोभले सोच्यो । र सम्राट्‌ उप्रति सहानुभूतिस्वरूप मायाको आँसु चुहाउँदै अगाडि बढे तर उनी कहाँ गइरहेछन्‌ र किन गइरहेछन भन्ने विषयमा उनलाई थाहा थिएन ।

उसको अत्याहट झन्‌ बढेको थियो किनभने उसको व्यक्तिगत कमजोरी नै यसको कारण हो भन्ने उसलाई लागिरहेथ्यो ।

उ सम्राटसमक्ष जान सक्थ्यो….. जान सक्थ्यो मात्र होइन जानै पर्थ्यो । उसको लागि सम्रातप्रति आफ्नो अटल आस्था प्रदर्शन गर्ने यो सुवर्ण अवसर थियो तर यसको फाइदा लिन उसले सकेन । “मैले के गरेको होला ?” उसले सोच्यो । अनि घोडालाई फर्लक्क घुमाएर, त्यही ठाउँमा फर्क्यो, जहाँ उसले सम्राटलाई देखेको थियो तर त्यस खाल्डोको यताउति कोही थिएन । मात्र केही घोडगाडी र बग्गीहरू गइरहेका थिए । रोस्तोभ उनीहरूको पछिपछि लाग्यो । उसको अगाडितिर कुतुजोभको एउटा सइसले पाल लादेका घोडाहरू हाँकिरहेको थियो । सइसको पछाडि एउटा घोडगाडी थियो र घोडगाडीपछाडि एक जना चुच्चे टोपी र भेडाको छालाको कोट लगाएको अनि गोडा भएको एक जना घरेलु दास हिँडिरहेको थियो ।

“तीत तीत ! तीत भनेको ,” सइसले भन्यो ।
“के भनिस्‌ ?” अन्यमनस्क तालमा बुढाले सोध्यो ।
“जा, गएर अलिकति अन्न चुट !”
“ए मूर्ख ।” रिसले थुक्दै बुढो सदसले भन्यो । केही छिन दुवै जना चुप लागेर हिँडे । त्यसपछि फेरि उही ठट्टा दोहोरियो ।

बेलुकीको पाँच बज्नुभन्दा अगि नै हाम्रो सेनाले सबै ठाउँमा लडाइँ हारिसकेको थियो । सयवटा भन्दा बढी तोप फ्रान्सेलीहरूको हातमा परिसकेका थिए ।

प्राजेविस्जेवस्की र उसका सेनाले हतियार बुझाइसकेका थिए । अरू सैन्य दलहरू पनि आधाभन्दा बढी मान्छे गुमाइसकेपछि अत्यन्त अव्यवस्थित स्थितिमा फर्किरहेका थिए ।

लाङ्गेरोन र दोख्तुरोभका एकै ठाउँ मिसिएका फौज औगेस्द गाउँको नजिक पोखरीहरूका बाँध र किनारहरूका वरिपरि भीड लागिरहेका थिए । पाँच बजेपछि औगेस्द गाउँको बाँधनजिक खाली फ्रान्सेलीहरूको मात्र तोप पड्केको आवाज अझु सुनिँदै थियो । उनीहरूले प्रात्जेन पहाडको ओरालोमा थुप्रै तोप राखेका थिए र हाम्रोपछाडि हटिरहेको सेनालाई लक्ष्य गरेर गोला बर्साइरहेका थिए ।

पृष्ठरक्षक दलमा दोख्तुरोभ र अरू सेना कमाण्डरहरूले आफ्नो बटालियनलाई एकत्रित गरेर हाम्रो सेनाका पछि लागिरहेको फ्रान्सेली घोडसेनाको गोलीको प्रतिरोध गरिरहेका थिए । साँझ पर्न लागिरहेको थियो । औगेस्द गाउँको साँगुरो बाँधमा, जहाँ कैयौँ वर्षदेखि फुर्कै टोपी लगाएको पानी-मिलको – बुढो साहू माछा मार्न पानीमा बल्छी थापेर बसिरहने गर्थ्यो, जब कि उसको नाति कमिजका बाहुला माथितिर फर्काएर अनि पानीको गाग्रोमा हात हालेर छट्पटाइ रहेका सिल्भर माछा चलाइरहेको हुन्थ्यो यही बाँधमा, जहाँ झल्लरे टोपी र नीलो ज्याकेट लगाएका मोराभियालीहरू कैयौँ वर्षसम्म शान्तिपूर्वक ढङ्गमा दुई घोडाले तान्ने घोडगाडीमा गहुँ लादेर ल्याइएका हुन्थे अनि पिसेको गहुँको धूलोले सेताम्य भएका गाडीहरू लिएर फिर्ता गइरहेका हुन्थे, यही साँगुरो बाँधमा अहिले घोडगाडी र तोपहरूका बीच, घोडाका टापमुनि र गाडीका पाङ्ग्राबीच मृत्युको भयले अनुहार विकृत भएका मान्छेहरू आपसमा ठेलाठेल गरिरहेका थिए, एउटाले अर्कोलाई किचाकिच गरिरहेका थिए, मर्थे, मरेकाहरूको शवमाथि कुल्चन्थे र, एउटाले अर्काको हत्या गर्दै केवल यसकारण अगाडि बढिरहेका थिए कि केही कदम अगाडि गएपछि यस्तै किसिमले आफू पनि मृत्युको मुखमा परौँ ।

हरेक दस सेकेण्डमा हावालाई चिर्दै तोपका अरू ‘कूनै गोला यस घना भीडको बीचमा खस्थ्यो, कसैनकसैको ज्यान लिन्थ्यो र मृतकको नजिक उभिएका मान्छेलाई
रगतले छ्याप्थ्यो ।

हात र गोडामा चोट लागेको दोलोखोभ (जो अहिले अफिसर भइसकेको थियो), र घोडामा चढेको रेजिमेन्ट कमाण्डरसमेत यो पूरै रेजिमेन्टमा केही दस-बाह्र जना मात्र बँचेका थिए । भीडद्वारा धकेलिँदै उनीहरू बाँधको नजिक पुगेका थिए र चारैतिरबाट भीडले घेरिएर रोकिएका थिए किनभने अगाडिको घोडगाडीको एउटा घोडा तोपमुनि लडेर मरेको थियो र मान्छेहरूले त्यसलाई घिसारेर बाटो खुला गरिरहेका थिए । उनीहरूको तोपको गोला लागेर कोही मरेको थियो भने उनीहरूको अगाडि पनि अर्को मरेको थियो र दोलोखोभको शरीरभरि तिनीहरूको रगतको छिटा लागेको थियो । एकदम आत्तिदै अगाडि बढिरहेको भीड आपसमा एक डल्लो पर्यो, केही कदम अगाडि बढ्यो र फेरि रोकियो ।

“सय पाइला जति अगाडि बढ्यौँ भने अवश्य बाँचौँला तर दुई मिनेट जति यहीँ बस्यौँ भने मृत्यु अवश्यम्भावी छ,” प्रत्येक मान्छेले मनमा यस्तै सोचिरहेका थिए ।

भीडको बीचमा उभिएको दोलोखोभ पूरा बल लगाएर बाँधको मुहानतिर बढ्यो । उसले दुई जना सैनिकलाई पछान्यो र चिप्लो बरफले ढाकेको मिलतिर लाग्यो ।
“यतातिर आऊ !” क्रयाकक्रयाक गर्दै चड्केको बरफमाथि उफ्रुँदै ऊ चिच्यायो ।
“यतातिर आउ भन्या,” उसले तोप लगिरहेका सिपाहीहरूलाई भन्यो, “बरफ -एकदम जमेको छ …।”

बरफले उसको भार थामिरहेको थियो तर चट्याकचुटुक र कर्याककुरुक गरिरहेको थियो । यसको अर्थ अब बरफले तोप र भीडको भार त के दोलोखोभको शरीरको भार पनि थाम्न नसकेर चाँडै नै फुट्ने स्थितिमा थियो । मान्छेहरू दोभोखोभको मुख हेर्दै बाँधको किनारमा अडिएका थिए तर उनीहरू बरफमाथि हिँड्ने साहस भने गरिरहेका थिएनन्‌ । बाँधको प्रवेश मार्गमा घोडा चढेर उभिएको जर्नेलले हात माथितिर उठायो र दोलोखोभलाई केही भन्ने विचारले मुख खोल्यो । अचानक तोपको एउटा गोला सुइँय गर्दै भुइँबाट मान्छेहरूको यति नजिकै आएर खस्यो कि उनीहरू सबै त्यसलाई छल्ने हिसाबले घोप्टिए । गिलो माटोमा कुनै वस्तु खसेर छ्याप्प गरेको आवाज आयो । जर्नेल आफ्नो घोडाबाट रगतको तालमा खस्यो । उसलाई उठाउने त के कुरा, कसैले ऊतर्फ हेर्दा पनि हेरेन ।

“बरफतिर बढ, लाग बरफतिर ! हिँडिहाल भन्या, घुम भन्या, सुनेनौ के ? अगाडि बढ छिटो,” जर्नेललाई गोली लागेपछि आत्तिएका असङ्ख्य मान्छेहरू चिच्याउन लागे तर किन र के भनेर चिच्याइरहेका छौँ भन्ने उनीहरूलाई नै थाहा थिएन ।

बाँधनिर पुगेको सबभन्दा पछाडिको एउटा तोप बरफतर्फ मोडियो । बाँधबाट सैनिकहरूको भीड जमेको पोखरीतिर दगुर्न लाग्यो । अगाडिका सिपाहीहरूमध्ये एउटाको गोडामुनिको बरफ चट्क्यो र उसको एउटा गोडा पानीमा पर्यो । ऊ आफूलाई बचाउने प्रयास गर्दै थियो तर कम्मरसम्म पानीमा डुब्यो । ऊनजिकका सैनिक हच्किए । तोपगाडीको चालकले आफ्नो घोडा रोक्यो । तर पछाडितिरबाट अझ पनि उही आवाज आइरहेको थियो । “बरफतिर बढ, किन रोकिएको ? छिटो, छिटो हिँड भन्या !” भीडमा ठूलो कोलाहल मच्चिएको सुनियो । तोपगाडीनजिकका सिपाहीहरूले आफ्ना हतियार डोलाइरहेका थिए । अगाडितिर बढाउन घोडाहरूलाई कोर्रा हानिरहेका थिए । घोडाहरू बाँध किनारको बरफबाट अगाडि बढे । सैनिकहरूको भार थाम्न नसकेर बरफ एउटा ठूलो पिण्डको रूपमा फुट्यो र त्यसमा उभिएका चालिस जना जति मान्छेहरू एउटाले अर्कोलाई डुबाउँदै कोही अगाडि कोही पछाडि पानीमा हुत्तिए ।

अझसम्म पनि तोपका गोला लयबद्ध तापमा सन्‌सनाउँदै लगातार रूपमा आइरहेका थिए र बरफ, पानी र धेरैजसो त बाँध, पोखरी र त्यसको किनारमा ,जम्मा भएका मान्छेहरूको भीडमा बज्जिरहेका थिए ।