पुर्ख्यौली थलो सिरहा जिल्लाको लहान भए पनि काठमाडौंलाई कर्मथलो बनाएका सन्दर्भ गिरी पेसाले नाक कान घाँटी विशेषज्ञ हुन् । उनी कला साहित्यमा विशेष रुचि राख्छन् । पारिवारिक पृष्ठभूमि पनि उनको त्यस्तै छ ।
४/५ वर्षको हुँदा र केही बुझेर ज्ञान लिन सक्ने भएपछि उनले चित्रकार तथा उनकी फुपू प्रमिला गिरीलाई ठूलोठूलो क्यानभासमा चित्र कोर्दै गरेको देखेका थिए ।
उनी चित्र कोर्नका लागि प्रेरणाको स्रोत आफ्नी फुपू रहेको बताउँछन् । प्रमिला फुपूसँग कयौँ कला प्रदर्शनीमा घुम्न जान्थे । उनी एक समय त कुनै पनि कला प्रदर्शनी छुटाउँदैनथे । बाटोमा हिँड्दा उनका बुबाले पनि उनलाई प्रमिलाको कामका बारेमा बताइरहेका हुन्थे । प्रमिलाले बनाएका मूर्ति तथा चित्रका बान्कीका बारेमा चिनाउने गर्थे । त्यो देख्दा पनि उनलाई चित्र मूर्ति कोर्न हौसला मिल्थ्यो । उनलाई कतै चित्र देख्दा पनि कसले बनाएको होला, के बनाएको होला भन्ने कौतुहल जाग्थ्यो ।
सन्दर्भ भन्छन्, ‘कला भनेको आफैँ उत्पन्न हुने कुरा रहेछ । म यो गर्छु भनेर मात्र पनि नहुने रहेछ ।’
आदर्श विद्या मन्दिर मानभवनबाट पढाइको सुरुवात गरेका उनले काठमाडौँ विश्वविद्यालयबाट आइएस्सी गरे र बाङ्गलादेश गएर एमबिबिएस गरे भने मास्टर्स एण्ड सर्जरी काठमाडौं मेडिकल कलेजबाट गरे ।
केही समय उनले अक्षर पत्रिकाको प्रधान सम्पादक भएर पनि काम गरिसकेका छन् । उनी कवितामा पनि उस्तै रुचि राख्छन् । उनको चित्रकला र मूर्तिकलामा विशेष रुचि छ ।
कविता लेख्ने, गीत लेख्ने, चित्र बनाउने डाक्टरहरु पनि छन् । तर डा. गिरी मूर्ति पनि बनाउँछन् । उनी एमबिबिएस पढ्न बाङ्गलादेश पढ्न जाँदा त्यहाँ प्रथम वर्षमा पढ्दै गर्दा उनले विभिन्न रुचिमा संलग्न भएका साथीहरु भेटे । अन्य साथीहरूले आफ्ना रूचिका साथी खोजे, उनले भने त्यहाँ चित्रकार, मूर्तिकार, संगीतकार, कवि सबैलाई साथी बनाए । डाक्टरी पढ्दै गर्दा उनले चित्रकला र मूर्तिकलामा विशेष लगाव भएका कारण राजधानी ढाकाका विभिन्न आर्ट ग्यालरी घुम्ने, प्रदर्शनी हेर्ने गर्न थाले ।
बाङ्गलादेशमा उनी डाक्टर बन्दासम्म कति साथीहरू उनकै आँखाअगाडि चित्रकार र मूर्तिकार बनिसकेका थिए । उनले डाक्टरी पढाइसँगै चित्र बनाउने र मूर्ति बनाउने काम पनि गरे । उनका साथीहरूले उनको काम देखेर यसले कलाकारितामा पनि राम्रो गर्न सक्छ भन्दा उनलाई थप हौसला मिल्थ्यो ।
उनले बाङ्गलादेशमा अन्तर्राष्ट्रिय चित्रकला प्रतियोगितामा भाग पनि लिन्थे र छनोटमा पनि पर्थे । उनले अहिलेसम्म चार वटा अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा भाग लिइसकेका छन् । नेपालमा भने ललितकलाले गर्ने राष्ट्रिय कला प्रदर्शनीमा तीन पटक भाग लिएका छन् । अन्य कला प्रदर्शनीमा पनि उनले कहिले मूर्ति त कहिले चित्र प्रदर्शन गर्ने गर्छन् । उनले थुप्रै पुस्तकका आवरण चित्र पनि बनाएका छन् ।
नेपाल आएपछि भने बाङ्गलादेशमा जस्तो उनको साहित्यिक र कलाकारहरूसँग जमघट भएन । उनको पेसा पनि अलग भयो । एकदिन उनले प्रोफेसर लय मैनालीसँग भेटेर उनका कामहरू देखाए । गिरीको काम देखेर मैनालीले काममा अझै ध्यान दिएमा राम्रो गर्न सक्ने सुझाव दिए । विभिन्न मान्छेसँग भेटाइदिने र टेक्निक पनि सिकाउने काम गरे । यसले उनमा थप काम गर्न ऊर्जा प्रदान गर्यो । त्यसपछि उनले डाक्टरी पेसासँगै चित्रकला र मूर्तिकलालाई निरन्तरता दिँदै गए । सबैको प्रतिक्रिया र सुझावले उनलाई हौसला प्रदान गरिरहेको छ ।
यतिबेला उनी चित्र र मूर्ति दुवै अमूर्त किसिमका बनाउँछन् । उनलाई चित्रमा सेल्फ एक्सप्रेसिनिजम र मूर्तिमा एक्सपेरिमेन्टल खालको मन पर्छ । उनी चित्र बनाउँदा एक्रेलिक, तेल, र मिक्स रङ प्रयोग गर्छन् । पछिल्लो समय भने उनी डिजिटल आर्टमा पनि अभ्यस्त हुन खोजिरहेका छन् ।
उनको कलाले उनको पेसामा पनि योगदान पुर्याइरहेको उनी बताउँछन् । उनी नाक, कान, घाँटीको सर्जन हुन् । त्यसमा पनि कलाको प्रयोग हुन्छ । उनी भन्छन्, ‘कला भनेको भित्तामा सजाउनका लागि मात्र होइन । कला भनेको समयको प्रतिबिम्ब गर्ने कुरा हो । कलाले एउटा समयावधिलाई कसरी जाँच्छ र नयाँ के विकसित भइरहेको छ भन्ने पनि बताउँछ ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।