साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मनोविज्ञानमा आधारित कथाः दोष कसको ?

विक्रम गुरुङ

 

बाहिरपट्टि बेमौसमी पानी दर्केर परिरहेको थियो । झ्यालबाट पानीको बाछिटा अलिअलि भित्र पनि छिरिरहेको थियो । पानीसँग मिसिएर आएको हावाको झोंक्काले चिसो-चिसो महसुस भइरहेको थियो । खाटमा पल्टेर दिप्तीले नागरिक दैनिक पत्रिकाको शनिवारीय अंक मा कथा पढिरहेकी थिइन् । यस्तो मौसममा बिछ्यौनामा पल्टेर कथा पढ्नुको बेग्लै मज्जा लिन चाहन्थी दिप्ति, तर झ्यालबाट आएको पानीको बाछिटालाई रोक्न उठेर झ्याल बन्द गरिन् र पुन: ओछ्यानमा आएर पल्टिन् । उनी फेरि अघि पढ्दै गरेको कथाकै गहिराईमा एकाग्रह भइन् |

bahulako diary small and inside post

कोठबाहिरबाट आएको कसैको पदचापको आवजले उनको एकाग्रता भंग भयो । हातको चुराको आवजबाट अनुराधा हुन् भनेर अनुमान लगाइन् । अनुराधा कोठा सफा गरिरहेकी थिइन् ।

त्यो कोठा अनुराधाको हो । ठूलो हल भएकोले दुईवटा खाट छ । दुई खाटको बीचमा टिभी हेर्न मिल्ने गरी सोफा राखिएको छ ।

“ल्याऊ, त्यो कपडा ! तिमीले भन्दा राम्रोसँग  टेबल सफा गरिदिन्छु म । बरु यो गुलाबको फूल आफ्नो कपालमा सिउरेर मलाई देखाऊ त !”

‘यो त हिक्मतको स्वर हो !’ दिप्तिले मनमनै विचार गरी । लोग्ने-स्वास्नीको गफलाई भाँजो नहाली चुपचाप सुनिरहन मन लाग्यो उसलाई ।

“तपाईँ चुप लागेर बस्नू त ! म गरिहाल्छु नि !”

“पीर नगर ! मलाई आफ्नो कामको खर्च उठाउन पनि आउँछ ।”

“तपाईँ यहाँबाट जानू त ! फेरि दिनमै शुरु होला नि !”

“भनेको मान न ! हेर त, कस्तो रोमान्टिक छ मौसम ।”

उनीहरूको वार्तालाप सुनेर दिप्तिको कान बन्द होलाजस्तो भयो । आँखाबाट आँसु टल्पलाएर बग्न थाल्यो ।

‘हिक्मत कहिलेदेखि यस्तो रोमान्टिक हुन थालेछ !’ हातको चुराको आवज र उन्मुक्त जोडीको स्वासको आवाजले मानौ दिप्तिले कानको वरिपरि भंमरा घुमेजस्तै महसुस गरिन् ।

एक किसिमले दिप्ति शिथिल भइसकेकी थिइन् । बाहिर हावा र पानी रोक्किएको थियो, तर उसको मनलाई (खै केले हो ?) नराम्री हल्लाइदिएको थियो ।

आफूलाई सम्हाल्दै दिप्ती कोठबाट बाहिर निस्किन् । जाँदाजाँदै तिनको नजर अर्को कोठाको बिछ्यौनामा प-यो, जहाँ हिक्मत र अनुराधा सिरकभित्र एकआपसका अंगालोमा लुटपुटिएका थिए ।

आफ्नो कोठामा आएर दिप्तिले कोठाको चारैतिर एकनजर दौडाई, के अन्तर छ यो कोठा र अनुराधाको कोठामा ? हिक्मत यस कोठामा आउँदा गम्भीर र शान्त हुन्छ, तर त्यो कोठामा जाँदा कसरी रोमाञ्चित हुन्छ ?

उनीहरूको वैवाहिक जीवनले पनि १५ वसन्त पार गरिसकेछ । यसबीच दिप्तिले हिक्मतको यस्तो रूप कहिल्यै देखेको थिएन । ऐनाको अगाडि उभिएर दिप्तिले आफ्नो अनुहारलाई नियाल्न थालिन् ।

………………………………………….

हिक्मत र दिप्तिको विवाह भएको १० वर्षसम्म पनि सन्तान नभएपछि दिप्ति आफैँले दोश्रो विवाहको लागि नमान्दा नमान्दै हिक्मतलाई सहमत गराएकी थिइन् ।

आफ्नो ठूलो बुबाको छोरी अनुराधा, जो ३५ वर्षको उमेरसम्म पनि अविवाहित नै थिइन् । अनुराधा दिप्तिभन्दा उमेरमा ठूली भए पनि विवाहको हकमा पछि परेकी । शुरुशुरुमा राम्रो केटा रोज्दारोज्दै अनुराधाको विवाह हुन सकेन । विवाहको प्रस्ताव आउँदा पनि अनेक बहाना बनाएर असहमति जनाउँथिन् । उमेर ढल्कदै जान थालेपछि विवाहको प्रस्ताव नै आउन छाडेको थियो । तर दिप्तिले राखेको प्रस्ताव अनुराधाले एकैपटकमा स्वीकार गरिन् । विवाह भएको वर्ष दिनमा अनुराधाको कोखबाट दिनेशको जन्म पनि भयो ।

अब त दिनेश पनि ४ वर्षको भइसकेको छ । आज दिप्तिले (किन हो कुन्नि ?) आफ्नै खुट्टामा आफैँले बञ्चरो हानेजस्तो महसुस गरिरहेकी छिन् ।

आजसम्म आफू र अनुराधाबीच हिक्मतले दिने समयको बारेमा उनलेले कहिल्यै पनि गुनासो गरिनन्, न त उनीहरूबीच हुने शारीरिक सम्बन्धलाई महत्त्व दिइन् । तर आज देखिएको हिक्मतको उन्मुक्त व्यवहारले उनलाई चिथोर्न पुगेको छ । उनले आज आफ्नै कारणले आफू ठगिएको महसुस गरिन् ।

कहिलेकाहीं दिप्तिले सोध्थी;

“म कस्तो देखिएकी छु…. ?”

“खाना कस्तो लाग्यो …. ?”

“यो सामान कस्तो लाग्यो…. ?” आदिआदि।

जवाफमा  हिक्मतले ‘राम्रो’ भन्ने शब्दबाहेक थप केही कहिल्यै पनि भनेनन् । यस्ता छोटा-मसिना सवाल-जवाफमै हिक्मतसँगको वार्तालाप सकिन्थ्यो ।

आजसम्म हिक्मतले  दिप्तिलाई न कहिल्यै कुनै उपहार ल्याएर दियो, न त कुनै सरप्राइज, न त कुनै हाँसो-ठट्टा नै । हिक्मतको गम्भीर रूपसँग मात्र ऊ परिचित थिइन् ।

“अनुराधा दिदी …. अनुराधा दिदी …..” भनेर दिप्ति कहिल्यै थाक्दिन थिइन् ।  घरको सम्पूर्ण जिम्मेवारी अनुराधालाई सुम्पेर ऊ छोरो दिनेशसँग खुशी थिइन् । कोही नौलो मान्छे घरमा आउँदा दिप्तिलाई नै कान्छी ठान्थे । उनीहरू बीचको मिलाप देखेर सबैले प्रशंसा पनि गर्दथे । तर आज किन दिप्तिलाई न्यास्रोपन अनुभव भइरहेको छ ?

हुन त त्यसबखत दिप्तिलाई कुनै अनाथलयबाट टुहुरो बच्चा पाल्ने इच्छा जागृत नभएको पनि होइन । हिक्मत पनि सहमत हुन सक्थ्यो । पछि पुर्पुरोमा हात राखेर पछुताउनु पर्ला भनेर आमाले पनि पटकपटक सम्झाएकी पनि हुन् । आमाले त भनेकी थिइन्, “सौता भनेको त माटोको मूर्ति पनि राम्रो हुँदैन ।”

यस सम्बन्धमा दिप्तिले भनेकी थिइन्, “हैन आमा, हिक्मतले मेरो जे कुरा पनि मान्छ । सन्तान नहुनुमा कमजोरी मेरो हो । किन उसलाई सन्तानविहीन बनाएर राख्ने ?”

आज बल्ल दिप्तिले महसुस गरिन्, के फरक हुनथ्यो र ! दिनेशको ठाउँमा अनाथलयबाट कुनै असहाय बच्चालाई पालेको भए । घरमा तीन जना मात्र हुनथ्यो, अनि हिक्मत सधैँ आफैँसँग । आफूलाई अरूले भन्ने गरेको ठिक्कै हो जस्तो लाग्न थाल्यो, “जेठी सेवा गर्नको लागि, कान्छी मेवा खानको लागि ।”

हिक्मतले कहिलेकाहीं मीठो शब्दले सम्बोधन गरिदिओस् भन्ने दिप्ति आशा गर्थिन् तर आज दिउँसै यो के हो ? उसको वास्तै नगरी उछृङ्खल व्यवहार, मीठा शव्दहरू, अनि गुलबको फूल……

अनुराधा दिप्तिलाई खुब माया गर्थिन्, तर आज दिप्तिलाई त्यो सब देखावटी लागेको छ । उसका अगाडि उनीहरू त्यति धेरै कुरा गर्दैनथे तर आफ्नो कोठामा नवविवाहित जोडीजस्तो हुन्थे ।

अनुराधालाई खुब इज्जत गर्थिन् दिप्तिले तर आज एउटा अपराधीको रूपमा हेर्न थालिन् । आज दिप्तिले महसुस गरीरहेकी छे, बढी भावुक भएर निर्णय गर्नु गल्ती थियो । आफ्नो यस अवस्थाका लागि कसलाई दोष दिनु ? हिक्मत, अनुराधा वा स्वयं आफू..?

प्रतिक्रिया
Loading...