
१. काल विभाजनको लघुकथा
धर्मसंकट
विष्णु उप्रेती
पहाडी गाउँ, भदौको महिना । म बिहानै उठेर शौच गर्न, आफ्नै बारीको बाटो हुँदै लागेँ खोलातिर।
खेतबारीमा पाक्न लागेका हरिया मकै हलहल झुलिरहेका थिए । अलि अगाडि बढेपछि मकैबारीभित्र खस्याकखुसुक्क आवाज आयो । टक्क उभिएर यताउता नजर घुमाएँ । तल्ला गरामा एउटा मानव आकृति देखापर्यो । मनमा अनेक तर्क‑वितर्क घुम्न थाले । को होला त अर्काको मकैबारीमा एकाबिहानै सोच्दै लागेँ, त्यतैतिर।
तर अचम्म, त्यहाँ त गाउँको पुरानो जेठो बूढो पो रहेछ, धमाधम राम्रा‑राम्रा मकै छान्दै भाँच्दै डोकामा हाल्दै गरेको ।
च्याप्प समातेँ, मलाई पुलुक्क हेर्यो । कस्सिएर एक झापट ठोक्न मन लाग्यो तर, फेरि हात थामें र सोधें- “जेठा तैँले यो के गरेको ? यति बिहानै अर्काको बारीमा पसेर यत्रो मकै भाँचिस् ? अब फेला परिस् ? अब तँलाई म हेर्न के गर्छु !”
ऊ थचक्क बस्यो र हात जोड्दै भन्यो- “माइला बाजे मैले गल्ती गरें। जे सजाय गरे पनि म भोग्न तयार छु। यो पचास घोगा मकै मेरा घरमा पुर्याउन दिनोस्, बूढी बिरामी छ, दुई दिनदेखि हामीले केही खाएको छैन, कमसेकम बूढीको ज्यान त बाँच्छ।”
मैले उसलाई समातेको हात छाडेर भने- “तेस्तो अबस्था थियो भने माग्नु पर्छ नि त ! यसरी अर्काको बारीमा पसेर चोर्नु हुन्छ ?”
जेठा बूढाले आँखाभरि आँसु पुछ्दै भन्यो- “माइला बा, माग्दा कसले कति दिन्छ ? चार घोगा देलान्, त्यो पनि दस वचन लाएर । हिजो म जवान बलियो छँदा, सबैको प्यारो थिएँ, आज खोई को छ र ? फेरि माइला बा, के गर्नु नहुने गरिबले मर्न दुवै जनाको एकैचोटि काल आउँदोरहेनछ । अनि, तपाईंले पापको कुरा गर्नु भो नि – हिजो युद्धको नाममा घर फोर्द, ढिकुटी लुट्दा, बैंक लुट्दा, मान्छे मार्दा अपाङ्ग बनाँउदा उनीहरूलाई पाप लागेन । मजस्तो ७० वर्ष पुगेको गरिबले घरमा बिरामी बूढीको प्राण रक्षा गर्न चोर्दा पाप लागे सहुँला भोगौँला ।”
जेठाका कुरा सुनेर म असमन्जसमा परेँ । मेरो दिमागले काम गरेन । बूढालाई कारबाही गरौँ भने त्यो भोका पेट, बिमारी बूढी, उल्टो मलाई पाप लाग्ला। कार्बाही नगरी छोडौँ भने चोरी गर्न प्रोत्साहन हुने । म पो धर्मसंकटमा परेँ !
###
(नेपाली लघुकथामा ७० को दशकलाई सञ्जालमैत्री काल भनिनु पर्छ । यसै कालदेखि लघुकथामा भित्रिएको कथाकार हुन्, विष्णु उप्रेती ।
उप्रेती उमेर र अनुभवले पाका कथाकार हुन् । उनका कथाहरूमा अनुभवको रङ र उमेरको गन्ध देखिन्छ ।
प्रस्तुत लघुकथा “धर्मसंकट” गरिबी र नैतिकताबीच देखिने फराकिलो खाडलको कथा हो । कथाकार गरिबी र नैतिकताको बीचको भेउ नपाएर धर्म‑संकटमा छन् ।)
२. संग्रहभित्रको लघुकथा
पृथक् बाटो
श्रीओम श्रेष्ठ ‘रोदन’
रातको दस बज्न लागेको थियो । बाटामा केही बत्तीहरू जलेका र केही फुटिसकेका थिए । शून्यता र अन्धकारले वातावरण भयावह बनेको थियो । मैले अँध्यारोलाई चिर्न शून्यतालाई भङ्ग गर्न गीत गुनगुनाएँ । भय मबाट अलि पर सर्यो ।
अकस्मात नारी अस्मिता रक्षार्थ चीत्कार गुन्जियो । म रोकिएँ र बहादुर बनेर आवाज आएको ठाउँमा गएँ । एउटा युवती आफ्नो कुमारित्व बचाउन युध्दरत थिइन् । सिकारीहरूसँग केही क्षण घम्साघम्सी गरेँ र युवतीलाई जोगाएँ । सिकारी मुखसम्म आएको सिकार गुमेको रिस लिएर भाग्यो ।
युवतीको चोलो च्यात्तिएको थियो । आधा साडी फुस्किएको थियो । दया लाग्यो र कोट फुकालेर लगाइदिएँ । फ़ेरि आक्रमण हुन सक्ने ठानेर घरसम्म पुर्याउन गएँ । बाटोमा उनले आफू नर्स भएको बताइन् । अस्पतालको ड्युटी सकेर फर्केकी रे ! एकान्त र एक्ली हुनाले आक्रमणमा परेकी रे ! उनी भाग्नबाट असफल भए पनि बलात्कृत हुनबाट बचेकी थिइन् ।
घरको दैलोमा पुगेपछि उनले लगाइरहेको कोट फुकालिन्। आभार प्रकट गर्दै लगाइदिइन् र भनिन्- “तपाईंलाई दुःख भयो ।”
मैले भनेँ- “तपाईंको रक्षा गर्न सकेँ, यो सुख हो ।”
उनी मुसुक्क मुस्कुराइन् र आँखा भुइँमा घोप्टाउँदै भनिन्- “भित्रै आउनुस् न, म एक्लै छु।”
###
(एक दर्जनभन्दा बढी पुस्तकको स्रष्टा श्रीओम श्रेष्ठ “रोदन”को लघुकथाको एक कृतिको नाम हो, “भ्रममार्ग” । प्रस्तुत लघुकथा यसै संग्रहबाट लिइएको हो ।
श्रीओम श्रेष्ठ “रोदन” अग्रज साहित्यकार, कुशल सम्पादक र सक्षम संगठनकर्ता हुन् । उनी लघुकथा समाज, नेपालको केन्द्रीय अध्यक्ष समेत हुन् । सुषुप्त अवस्थामा रहेको नेपाली लघुकथालाई आजको अवस्थामा चलायमान बनाउने कामको श्रेय रोदनलाई नै जान्छ ।
प्रस्तुत लघुकथा “पृथक् बाटो” ले नारीको अस्मिता बचाउने एक निडर युवकको कथा बोलेको छ । तर फेरि युवती त्यही निडर युवकसँग लुटपुटिन चाहन्छिन् । खुल्ला समापनमा लेखिएको यो लघुकथाले पाठकको मनमा अनेक तर्क/वितर्क जन्माउँछ ।)
३. समूहभित्रको लघुकथा
बालमैत्री
मिसु श्रेष्ठ
“हाम्रो न.पा. राष्ट्रकै उत्कृष्ट बालमैत्री हुनुमा तपाईं आम अभिभावक, शिक्षक, बुद्धिजीवी तथा सरोकारवालाहरूको अहम् भूमिका रहेको छ। निर्धारित सूचकहरू पूरा भए । प्रत्येक विद्यालय लगायत बालबालिका सरोकारित क्षेत्रमा बालमैत्री पूर्वाधारहरू तयार गरेका छौँ । हामी गर्व गर्छौं – हाम्रा उद्योग, कलकारखानाहरू बालश्रम मुक्त छन् । विद्यालय, घर कहीँकतै कुटपिट लगायतका हिंसा हुने छैनन् । कहीँ कतै त्यस्तो पाएमा उजुरी लाग्नेछ, दोषीलाई कार्बाहीका दायरामा ल्याइने छ।”
मेयरका ओजपूर्ण वाणीले तालीको गड्गडाहटद्वारा समर्थन पायो ।
“बसाइ, खाजा, पानीको व्यवस्था राम्रो भएन ।”
“हेर केटाकेटीको पसिना !”
“ठूलो कार्यक्रममा झिनामसिना समस्या त आइहाल्छन् नि!”
“तर, सम्पूर्ण दल, सरोकारवालाहरूको एक्यबद्धताको भने प्रशंसा गर्नैपर्छ ।”
सहभागीहरूको मतान्तर थियो ।
##
उत्कृष्ट बालिका घोषित प्रदिप्ता सम्मानका उपहार साथ मेरो स्कुटरमा बसी । उसमा निकै आतुरता देखेर मैले जिज्ञासा राखेँ, “बिहानको भाँडा माझ्नुपर्ने, भाइलाई लिन जान ढिला भयो;……। अंकल आन्टी घर पुगे होलान् । अब मार्छन् मिस ।”
“तिम्रो आफ्नै अंकल ? आमा बुबा नि ?”
“होइन मैले काम गर्ने घर हो । म गाउँबाट ल्याइएको,” उसले निकै पीडा सुनाई ।
“तिम्रो हिंसाविरुद्ध परामर्श या उजुरी गर्नुपर्छ,” मैले सुझाव दिएँ।
“होइन मिस, त्यसो नगर्नोस् । यातनामुक्त भएर खोसिने मेरो वर्तमान र भविष्य अनि टुहुरा भाइबहिनीहरूको गाँसको जिम्मा कसले लिन्छ ?”
###
(नेपाली लघुकथाको फेसबुक पेजहरूमघ्ये “लघुकथा डबली”लाई बौद्धिक पेजको रुपमा हेरिन्छ । यो पेजमा भिडभाड हुँदैन तर स्तरीय लघुकथाहरू भने पोष्ट भइरहन्छन् ।
यसै पेजमा लघुकथाकार मिसु श्रेष्ठले केही समयअघि “बालमैत्री” लघुकथा पोष्ट गरेकी थिइन् ।
मिसु श्रेष्ठ पछिल्लो समय नेपाली लघुकथामा उदाएकी “लामो दौडकी घोडा” हुन् । उनी साप्ताहिक रुपमा लघुकथाको वाचन पनि गर्छिन् ।
प्रस्तुत लघुकथा “बालमैत्री” बालखको हकहितमा प्रस्तुत भए पनि लघुकथाले पीडित बालखको कथा बोलेको छ ।)
४. समसामयिक लघुकथा
मोबाइल
अम्बिका धिताल
मामा आउनुभयो तर भान्जाले अपरिचित जस्तो व्यवहार देखाए । एसइईमा ए प्लस लेराएर एघार कक्षामा पढ्न लागेको नातिको व्यवहार देखेर हजुरबुबाले भन्नुभयो, “हेर्नु न बाबु पढाइमा निकै तेजिलो छ रे मेरो नाति केटो तर आफन्त, नातेदार छरछिमेक कसैलाई चिन्दैन ।”
“यस्तै हुन् बा अहिलेका केटाकेटीहरू।”
“खै बाबु मलाई त ज्यादै चिन्ता लागेको छ यसको, बाबुले एउटा कुरा पत्ता लगाउनु पर्यो आज।”
“के कुरा भन्नुहोस् त बा ।”
“धेरै खर्च गरेर पढाएको छ यसलाई बाबु, मेरो वृद्ध भत्ताको तीन महिनामा कति आउँछ जोड गर्देन बाबै भन्यो भने खै के थिचेर हिसाब गरेर अङ्ग्रेजीबाट भन्छ । चालिसबाट माथिको त नेपाली गन्ती पनि आउँदैन। हामीले कति हिसाब अहिले पनि मुखैले गर्छौं। अहिलेको पढाइ के हो के बाबु।”
“के कुरा पत्ता लगाउने भन्नुहुन्थ्यो नि बा ?”
“त्यही त बाबु यो नाति केटो सोधेकोबाहेक केही बोल्दैन, स्कुलमा सरमिसले नकराएसम्म कपाल, नङ केही काट्दैन । बिदाको दिन नौ बजेतिर मात्र उठ्छ । पूजा पाठको कुरा त एकादेशको कुरा भइहाल्यो दाँत पनि माझ्दैन, कपालमा तेलसमेत ममीले लगइदिनुपर्छ, किन होला बाबु ?”
“तपाईं‑हाम्रो जस्तो समय छैन बा अहिले । हामी नाङ्गो गोडा दुई घण्टा हिँडेर स्कुल जान्थ्यौँ । फर्केर आउँदा एकभारि घाँस काटेर ल्याउँथ्यौँ । अहिले यी कुरा गर्यो भने कथा जस्तो हुन्छ।”
“हो नि बाबु, के हो यसको कारण, अब बाबुले बताउनु पर्यो ।”
“यो सबै कुरा हुनुको पछाडि सानैदेखि नानीबाबुलाई काममा नलगाउनु हो बा ! किन रुवाउनु भन्दै हामी उनीहरूको आवश्यकता सजिलै पुरा गरिदिन्छौँ उनीहरू पुलपुलिँदै जान्छन्। अनि यी सबै हुनुको अर्को मुख्य कारण त छँदैछ।”
“के हो बाबु अर्को मुख्य कारण भनिहाल्नु त !”
“मोबाइल हो बा, मोबाइल ।”
###
( छोरा/छोरीले कुनै काम गरेनन् भनेर घरघरमा आमा/बुबाबीच चर्चा छ । जीवनको प्रगति भनेको पढ्नु मात्र हो त ? जनजनमा यही प्रश्न मडारिरहेको छ ।
काभ्रेकी अम्बिका धितालले यसै विषयलाई आफ्नु लघुकथाको मुख्य विषय बनाएकी छन् । उनी समसामयिक र महिला अनुभूतिहरूलाई लघुकथामा उतार्न सक्षम छिन् ।
प्रस्तुत लघुकथा “मोबाइल” पछिल्लो पुस्ताको व्यवहारको बारेमा लेखिएको लघुकथा हो । कथाले मानिसमा पढाइका साथसाथै व्यवहार पनि आवश्यक छ भन्ने कुरो तथ्य परक रुपमा बोलेको छ ।)
५. मलाई मन परेको लघुकथा
नियमको पालना
रघुनाथ पण्डित
दाजुलाई एउटा सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुन मन लागेको रहेछ।
भेलामा स्थानीय शिक्षा अधिकृतसँग सोध्दै हुनुहुन्थ्यो – आफ्नो बच्चा विद्यालयमा पढाएकै हुनुपर्ने हो र ?
विद्यालयलाई नगद तथा जिन्सी दान सहयोग गरेकै हुनुपर्ने हो र ?
प्राइभेट स्कुलमा लगानी गर्नेले नपाउने नै हो त ?
शिक्षा अधिकृतले नियम पढेर सुनाउनुभयो र तपाईंले पाउनुहुन्न भनिदिनुभयो।
दाजुको अझै चित्त बुझेनछ।
उहाँले भन्नुभयो-
हाम्रो पुरानो गाउँतिर त यस्तो थिएन ।
शिक्षा अधिकृत खरो हुनुहुँदोरहेछ।
उहाँले जवाफ दिनुभयो- हेर्नुस्, यहाँ नियम चल्छ हजुर। जहाँ गैरअभिभावक स्कुलको व्यवस्थापक बन्छन्। जहाँ शैक्षिक माफियाहरू भान्से बन्छन्। जहाँ शैक्षिक दलालहरू समितिमा बस्छन्।
जहाँ एक सुको लगानी नगर्नेहरू अर्थात् आर्थिक भौतिक सहयोग नगर्नेहरू संस्थाको बागडोर समाल्न पुग्छन्। त्यस्तो सार्वजनिक संस्था अघि बढ्न सक्तैन। त्यस्ता कुपात्रहरू जनताका शत्रु हुन्।
तिनले सो संस्थालाई सदासदाका लागि सकिदिन्छन् । बुझ्नुभयाो ?
कतै कतै संघीय ऐन नियमावली लत्याउने, आफूखुसी नियम बनाउने, मापदण्ड तयार गर्ने काम भए होलान्। ती उदाहरणले यहाँ काम गर्दैनन् सर। दाजु रातो हुनुभयो र भन्नुभयो – ए ए ए ……
###
(नेपाली लघुकथाको क्षेत्रमा लघुनाथ पण्डित नयाँ नाम हो । तनहुँका उनी थोरै कथा लेख्छन् तर उनीका कथाहरूले पाठकलाई झ्याप्प समात्न सफल छन् ।
प्रस्तुत लघुकथा “नियमको पालना” नियम संगत कथा हो । विद्यालय व्यवस्थापकको नियम मात्र हैन लघुकथाको आरोह अवरोहका नियमहरूसँग पनि यो कथा मेल खान्छ । कथा छोटो तर सटिक छ । लघुकथाको घटनाक्रमहरू व्यवहारमा देखिए समाज परिवर्तन हुन समय लाग्ने छैन ।)

यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

