‘तिमी नेपाल जाने हो र ?’
छिमेकी म्यान्माली साथी दुकानमा आएका बेला उत्सुक भएर सोधी ।
मैले स्वीकृतिमा मुन्टो हल्लाएँ । उसको अनुहारमा एक प्रकारको आश्चर्य र अविश्वसनीय दुवै खालको भाव फैलियो । मैले उसको अनुहारबाट केही कुरा पढिहालेँ ।
म्यान्माली गोर्खालीहरु जीवनमा एकपटक भए पनि नेपाल जान चाहन्छन् । नेपालका बारेमा सुन्दा सुन्दै धेरैको बाल्यकाल र जवानी बितेको छ । पुराना पुस्ता त नेपाल जान्छु भन्दाभन्दै यहीँ बितेका छन् । त्यसैले हाम्रा लागि यो कुनै आश्चर्यको कुरा होइन । तर म्यान्मालीहरु पनि जीवनमा एकपल्ट भए पनि नेपाल पुग्न चाहन्छन् । बुद्धको जन्मस्थल लुम्बिनीमा टेके मात्र पनि उनीहरु बुद्ध भगवानलाई भेटेको महसुस गर्छन् । लुम्बिनी पुगेर फर्कनेहरुको यहाँ मानमनितो नै फरक भएको मैले देखेकी छु ।
हालै परिचय भएकी मेरी छिमेकीले पक्कै पनि यो कुरा गाउँघरमा सुनाउने छे भन्ने कुराले मलाई दिनभरि हौसला दिइरह्यो ।
साँझ आमाले पशुपतिनाथको महिमा सुनाउनु भयो । मेरी आमालाई नेपाल भन्नेबित्तिकै स्वास्थानी र पशुपतिनाथ याद आउँछ । हजुरआमा भन्नु हुन्थ्यो, ‘नेपाल जान भाग्गेमा लेखेर ल्याउनु पर्छ ।’ आमाले त्यही कुरा मलाई भन्नुभयो । हजुरआमाका साथीसंगीहरु उनीहरुका आमा–बाका पछि लागेर नेपाल छिर्नु भयो रे । धेरैपछिसम्म उहाँ नेपालको कुरा सम्झिबस्नुहुन्थ्यो रे । आज उहाँ हुनु भएकी भए नातिनी नेपाल जाने कुराले कति खुसी हुनुहुन्थ्यो भन्दै आमाले बिगतका कुरा सम्झिरहनु भयो । म नेपाल जाने कुराले मभन्दा आमाको भावुकता बढेको मैले महसुस गरेँ ।
नेपालका लागि हिँड्ने समय अझै एक महिना बाँकी थियो तर आमाको व्यवहार यस्तो थियो, मानौँ म भोलि नै घर छाड्दैछु र पर्सी नै नेपाल पुगिहाल्छु । मैले उहाँलाई भिसा लिनुपर्ने, साथीभाइसँग भेटघाट गर्नुपर्ने धेरै काम बाँकी रहेको बताएपछि आमा बल्ल शान्त हुनुभयो ।
पर्सीपल्टदेखि मेरो तयारीमा तीव्रता बढ्यो । हाम्रो समूहमा को को जाँदै हुनुहुन्छ, सबैको नाम मलाई थाहा थिएन । के के तयारी गर्नुपर्छ, त्यो पनि थाहा थिएन । यसका लागि मैले शिक्षा विभागमा सम्पर्क राखेँ । नेपाली भाषाका लागि दिन रात खटिरहेको मान्मा देशीय गोर्खा हिन्दु महासंघ अन्तरगतको शिक्षा विभागले मलाई नेपाल जान अवसर दिएको थियो । यो संस्थासँग जोडिएर नै मैले नेपाली भाषा राम्रोसँग लेख्न र बोल्न थालेकी थिएँ । यही संस्थाअन्तरगत नेपाली भाषामा डिप्लोमासम्म अध्ययन गर्ने र साहित्य प्रतिको लगावलाई बाहिर ल्याउने मौका पाएकी थिएँ । यसले लगाएको गुण सम्झँदा पनि म भावुक हुने गर्छु ।
शिक्षा विभागबाट मसँग जान लाग्नु भएका साथीहरुको नाम न टोलिफोन प्राप्त भयो । तीमध्ये एकजना सरगमसँग केही दिनअघि सम्पर्क भैसकेको थियो । अर्का एकजना हुनुहुन्थ्यो, भागवत सर । भागवत सरबाट थाहा भयो, उहाँहरु दुवैको पासपोर्ट बनिसकेको रहेछ । उहाँले चाँडै पासपोर्ट बनाउन आदेश जस्तो भनाइ राख्नु भयो ।
भागवत सर नेपाली साहित्य डिप्लोमाका प्राध्यापक हुनुहुन्छ । उहाँहरुकै मिहिनेतका कारण हामी जस्ता पछिल्लो पुस्ताले भाषा र साहित्यका धेरै कुरा सिक्न पाएका छौँ । उहाँले दाेस्राे पटककाे ब्याचबाट साहित्य डिप्लोमा गर्नुभएको थियो । उहाँले स्नातक कक्षा सुरु भएको पाँचौँ संस्करण यता अध्यापकको कार्यवार वहन गरिरहनु भएको छ । आज नवौं ब्याचमा पनि उहाँ आफ्ना अन्य आय आर्जनको बाटो छाडेर आय नहुने भाषा र साहित्यमा लागिरहनु भएको छ । यसपटकको यात्रामा उहाँ पनि हामीसँगै नेपाल यात्रामा हुनुहुन्छ भन्ने कुरा थाहा पाउँदा म हर्षले गद्गद भएँ ।
‘मोगोकबाट मधु पासपोट बनाउन माण्डले आउँदैछिन्, तिमी र मधुले सँगै बनाउँदा तिमीलाई सुविधा हुन्छ,’ भागवत सरले आदेश जस्तो भनाइ राख्नुभयो ।
मलाई झन् खुसी लाग्यो किनभने मधु दिदी मोकोगकी राम्रो गजलकार हुनुहुन्छ । उहाँले हामीभन्दा अघि नै डिप्लोमा सकेर भाषा र साहित्यको सेवा गरिरहनु भएको छ । केही वर्ष यतादेखि उहाँसँग चिनजान छ । भागवत सरसँगै मधु दिदी पनि हामीसँग जाँदै हुनुहुन्छ भन्ने खबरले मनमा झन् खुसी बढ्यो । मैले उहाँसँग सम्पर्क गरेर यो खुसी प्रकट गरेँ र भागवत सरको कुरा सुनाएँ । उहाँले पनि पासपोर्ट बनाउन चाँडै हिँडिहाल्ने कुरामा सहमति जनाउनु भयो ।
पातलो जिउडालकी मधु दिदी हँसमुख हुनुहुन्छ । म प्रेमपूर्वक उहाँलाई मधुदी भन्छु । उहाँको व्यवहारमा सधैँ अपनत्व देख्न पाइन्छ । त्यसैले यो यात्रा निकै सुखद् हुने अनुमान झन् दोब्बर हुन थाल्यो । पछि छुट्ला भनेर भनिहाल्न मन लाग्यो, मधुदी पनि नेपाली भाषा र साहित्यकी तेस्राे पटककी स्वर्णपदक विजेता हुनुहुन्छ । हाम्रो यात्रामा एकसे एक साहित्यका विद्वानहरु भेला हुनु भएको थियो, म सामान्य केटी कसरी यो टिममा अँटाए हुँली भनेर भगवानलाई धन्यवाद पनि दिएँ ।
जनवरी र फेब्रुअरी महिना माण्डलेमा सबैभन्दा राम्रो मौसम देख्न पाइन्छ । गर्मी महिनामा चालीस डिग्री सेल्सियससम्म तामक्रम पुग्ने मान्डले यो बेला शितल हुँदै थियो । केही दिन यो शितल मौसम अझ गाढा हुन थाल्यो, मानौँ पहाडबाट झरेकी मधुदीलाई ऊ विरानो महसुस गराउन चाहँदैन ।
पासपोर्ट बनाउने दिन म बाल्किनीमा बसेर घाम ताप्दै थिएँ । मधुदीको फोन आयो । उहाँ त हिजै माण्डले आइसक्नु भएको रहेछ । ‘म त हिजै आईं, पासपोर्ट आज बनाऔँ है,’ उहाँले फोनमै हतार देखाउनु भयो ।
म हतारमा उहाँले बोलाएको ठाउँमा पुगेँ । बर्मामा माेगाेक निवासीहरूले पनि माण्डलेमै अाएर सरकारी काम गर्नुपर्छ । कहिलेकाहीँ प्रशासनिक काम गर्ने ठाउँ नजिक हुँदा पनि सजिलै हुने रहेछ । मधुदी ७ घन्टाको यात्रा गरेर पासपोर्ट बनाउन आउनु भयो । म भने एकैछिनमा उहाँको अघि पुगेको थिएँ ।
सामान्य प्रश्न र सरकारी कागजात पेश गरेपछि पासपोर्ट अप्लाई भयो तर पासपोर्ट हात लाग्न भने एक साताको समय लाग्ने रहेछ । जाडोको समय भए पनि काम सकिँदा उज्यालै थियो । यो समयलाई सदुपयोग गर्दै मधुदी र म कुदोट फया (माण्डलेस्थित बर्माकै प्रसिद्ध बुद्ध मन्दिर) दर्शन गर्न पुग्यौँ । उहाँ पहिलो पटक यो मन्दिरमा पुग्नु भएका कारण उहाँको खुसी हेर्न लायक थियो । म भने फुर्सद हुनेबित्तिकै यहाँ पुग्ने भएकाले मलाई सामान्य लाग्छ । हामीले फयामा बसेर एकछिन नेपालका विषयमा कुरा गर्यौँ र काल्पनिक उडान भर्यौँ । उहाँका लागि पनि नेपाल मेरो जस्तै सपनाको देश थियो । उहाँको परिवार पनि उहाँ नेपाल जाने कुराले उत्साहित हुनु भएको कुरा थाहा भयो । हुन पनि कुन त्यस्तो गोर्खाली–नेपाली परिवार होला, जसले नेपालको नामले तरङ्गित गर्दैन ?
समय नजिकिँदै जाँदा हाम्रो सात जनाको सानो टोली म्यान्माको चार कुनाबाट तयार हुन थाल्यो । यति बेलासम्म हामीसँग सातौं ब्याचबाट नेपाली साहित्य डिप्लोमा गर्ने राजन ढकाल पनि जाने कुरा थाहा भयो । उनी हाल प्यींउल्वीमा नवौं ब्याचका प्यींउल्वीन्का विद्यार्थीहरुलाई अध्ययन गराउँछन् । उनको एउटा गजल सङ्ग्रह प्रकाशित छ । तर जब जब मैले यो गजल संग्रह पढ्न नपाएको गुनासो गर्छु, उनी चाँडै उपलब्ध गराउने आश्वासन दिन्छन्, जो अहिलेसम्म मैले पढ्न पाएको छैन । जे होस्, यही बहानामा उनको र मेरो कुरा हुने गर्दथ्यो । तर उनी पनि हाम्रो टोलीमा सामेल हुने कुरा मेरा लागि सुखद् हुन पुग्यो ।
जनवरी २६ तारिख विश्व साहित्य सम्मेल सुरू हुने निश्चित थियो । हामी भने १९ तारिखअघि यात्रा अघि बढाउन सक्ने अवस्थामा थिएनौँ । कारण थियो, नवौं नेपाली साहित्य माध्यामिक परीक्षाको तयारी । मबाहेक सबै जना गुरुबा गुरुमा हुनुहुन्थ्यो । समयमै परीक्षा सक्ने र समयमै नेपाल पुग्नुपर्ने बाध्यताका कारण हामीले कामको बाँडफाँड गर्यौँ । यसका लागि म र सीमा गुरुमाले भिसाको काम गर्ने र बाँकीले परीक्षा सञ्चालन गर्ने कुरामा सहमति भयो ।
सीमा साँवा लिम्बु गुरूमासँग पनि मेरो पुरानै परिचय हो । नेपालीहरुको ठूलो बस्ती रहेको मिचिनामा बस्ने सीमा केन्द्रीय शिक्षा विभागको सहसचिव हुनुहुन्छ । त्यसबाहेक म्यान्मारको महान चाड हौरीमा आयोजन गरिने नेपाली शिक्षण शिविरकी प्रमुख शिक्षिका पनि । म्यान्माको किरात संघकी सचिव हुनुअघि उहाँले आठौँ ब्याचमार्फत नेपाली साहित्यमा डिप्लोमा गर्नु भएको थियो । सन् २०१७ मा भएको प्यींउल्वीस्थित दुर्गा भवनमा भएको शैक्षिक तालिममा गाँसिएको हाम्रो मित्रता अझै कायम छ ।
सीमा गुरुमा भिसा अप्लाई गर्न मिचिनाबाट माण्डले आउनु भयो । माण्डले यस्तो सहर हो, जसलाई नटेकी बर्माको अर्को सहर पुग्न सकिँदैन । मध्य बर्मामा रहेकाले पनि एउटा राज्यका मानिस यहाँ आउनै पर्ने बाध्यता छ । यहाँ आयार्जनका स्रोत पनि प्रशस्त छन् । कतिपय जिल्ला अञ्चलास्तर सरकारी काम यसैको अधीनमा छन् । यसैको केन्द्रमा पर्छ माण्डले । मोगोकजस्ता नेपाली बस्ती बाक्लो भएको सहरबाट पनि युनिभर्सिटी पढ्न यहीँ आउनु पर्छ । राजधानी याङ्गुन देशको पुछारमा थाइल्याण्ड नजिकै भएकाले पनि देशका सबैजसो शहरी आवश्यकता माण्डलेले पूरा गर्दै आएको छ ।
सीमा गुरुमा भारतको भिसाको लागि यहाँ आउनुको कारण पनि यही थियो । नेपालको भिसाका लागि भने राजधानी याङ्गुन पुग्नुपर्दथ्यो तर एउटा कार्यक्रममा अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक सङ्घ केन्द्रीय अध्यक्ष सागर घिमिरेसँग भेट भएपछि भने उहाँले हाम्रो टाउको हलुका बनाइदिनु भयो । ‘म रंगुन जाँदैछु, त्यहाँ मैले चिनेको राजदूत भीम उदासजी हुनुहुन्छ । त्यसैले भिसाको काम म गर्दिन्छु । हतार भएकाले तपाईंहरु अरु काम गर्नुहोला, नत्र भ्याइँदैन ।’
अध्यक्ष नै भिसाका लागि रंगुन गएपछि हामीलाई निःशुल्क भिसा मिलेछ । नेपालमा हुने साहित्य सम्मेलनमा सहभागी हुने कारणले पनि निशुल्क भिसा मिलेकाे थाहा भयाे । अध्यक्ष ज्यूले याे कुरा फोनमै सुनाउँदा हामी खुसी भयौँ । नेपालले हामीलाई माया गर्छ भन्ने यो संकेत थियो । यो कुरा नेपालमा रहनु भएका हाम्रा शिक्षा प्रमुख ज्ञान सरलाई सुनायौँ । त्यसपछि परीक्षामा लाग्नुभएका सबै साथीहरुलाई पनि । यसरी नेपालको भिसाको काम पनि सकियो ।
ठीक एक सातापछि परीक्षाको काम सकेर सबैजना माण्डले भेला हुनुभयो । यो जनवरी १९ तारिख बिहान ११ बजेतिरको समय थियो । अब भारतको भिसा लगाउनुपर्ने थियो । यहीँ भेट भयो, हाम्रो यात्राका सबैभन्दा महत्त्वपूर्ण व्यक्ति भीम पाण्डे । उहाँ एक–दुई पटक नेपाल गैसक्नु भएका कारण हाम्रो पथप्रदर्शक पनि हुनुहुन्थ्यो । मैले उहाँलाई पहिलो पटक भेटेका कारण नमस्ते बाहेक अरु कुरा सोध्ने आँट थिएन । तर नेपाल पुगिसकेको व्यक्ति भएकाले मेरो ध्यान उहाँतिर अलि बढी खिँचिएको थियो । सायद उहाँले नेपालका बारेमा केही भन्नुहुन्छ कि भन्ने आशा मनमा थियो । उहाँ केन्द्रीय सांस्कृतिक विभागको प्रमुख हुनुहुन्छ भन्ने कुरा पनि त्यही बेला थाहा भयो । उहाँ मेचिनामा नेपाली भाषा र साहित्य अध्यापन गराउनु हुँदाे रहेछ ।
हामी पूरा तयारीका साथ लगेजसहित भारतको काउन्सिलर अफिस गएका थियौँ । समयमै भिसा हात पर्यो भने चाँडै निस्कनुपर्छ भन्ने योजनाका साथ तर भिसा लिन महाभारत भयो । इण्डियन काउन्सलिड्ले सबैलाई फरक फरक ठाउँमा राखेर निकै बेर केरकार गर्यो । अनेक प्रश्न सोध्यो । अन्त्यमा त्यही दिन भिसा नमिल्ने जानकारी दिइयो । बरु भोलिपल्ट ३ बजे मात्र बोलाइयो ।
खासमा हामी भारतको बाटो हुँदै नेपाल छिर्दैथियौँ । सम्भवतः भारतको बाटो हुँदै नेपाल छिर्ने हामी पहिलो टोली थियौँ । र, उनीहरुका लागि पनि यो फरक अनुभव थियो । त्यसैले पनि हाम्रालागि धेरै सोधपुछ भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।