परिच्छेद-१७

बग्रातिओनले हाँकेको मोर्चाको बायाँ भागमा बिहानको नौ बजेसम्म लडाइँ सुरु भएको थिएन । लडाइँ सुरु गर्ने भन्ने दोल्गोरुकोभको मागप्रति सहमति नजनाउने इच्छा गर्दै र आफैलाई पनि यस जिम्मेवारीबाट पन्छाउने इच्छा गर्दै राजकुमार बग्रातिओनले यस विषयमा प्रधान सेनापतिको राय लिन उनीसमक्ष कुनै मानिस पठाउनु पर्छ भनेर दोल्गोरुकोभसमक्ष प्रस्ताव राख्यो । सेनाको दुई किनारबीचको दुरी छ माइलभन्दा केही बढी थियो, । बग्रातिओनलाई थाहा थियो कि सन्देशबाहक मारिएन भने (सम्भवतः ऊ मारिने छ) र प्रधान सेनापतिलाई फेला पारिहाल्यो भने तापनि (जो सम्भव थिएन) ऊ रात पर्नुभन्दा अगि फर्केर आइपुग्न सक्ने छैन ।

बग्रातिओनले आफ्ना ठूल्ठूला भावशून्य र निद्राले लट्टिएका आँखा आफ्ना अनुचरगणतर्फ लगायो । उसको आँखाअगाडि सबभन्दा पहिले उत्तेजना र आकाङ्क्षाले विह्वल भइरहेको रोस्तोभको बालकको जस्तो अनुहार उपस्थित भयो र उसले उसैलाई पठाई दियो ।

“हजूर, प्रधान सेनापतिसँग भन्दा पहिले मेरो भेट सम्राटसँग भयो भने नि,” टोपीमा हात लगाउँदै रोस्तोभले सोध्यो।
“सम्राट्सँग पनि यही कुरा गरे फरक पर्दैन,” बग्रातिओनले भन्दा पहिले दोल्गोरुकोभले हस्तक्षेप गर्दै जवाफ दियो।
गत रात चौकीको ड्युटीबाट निवृत्त भएपछि रोस्तोभ बिहानसम्म खूब मजाले सुतेको थियो । त्यसैले ऊ खुसी, साहसी र सङ्कल्पले ओतप्रोत, फूर्तिलो आफ्नो सुख-सौभाग्यका बारेमा पूर्ण विश्वस्त भावदशामा थियो, जुन अवस्थामा मान्छेलाई हरेक चिज सम्भव, आनन्ददायी र सरल लाग्दछ ।
उसका सम्पूर्ण आशाहरू त्यस बिहानीमा परिपूर्ण हुँदै थिए । निर्णायक लडाइँ लडिँदै थियो र उसले त्यसमा सक्रिय रूपमा भाग लिइरहेको थियो, त्यति मात्र होइन, अझ ऊ एउटा सबभन्दा बहादुर जर्नेलको गणमा सम्मिलित थियो र त्यसबाहेक उसले प्रधान सेनापतिसमक्ष सायद सम्राट्समक्ष पनि सन्देश लिएर जाँदै थियो । बिहानी सुनौलो थियो, उसको घोडा सुन्दर थियो र उसको हृदय सुख सन्तोषले भरिएको थियो । आदेश प्राप्त भएपछि उसले घोडालाई सर्पट कुदाएर लग्यो । सुरुमा ऊ बग्रातिओनको सेनासँगसँगै अगाडि बढ्यो, जो अहिलेसम्म लडाइँमा, भाग लिएको थिएन र जहाँको तहीँ खडा थियो । त्यसपछिऊ उभारोभको घोडसेनाको क्षेत्रतर्फ बढ्यो । उसले यस सेनालाई चलमल गर्दै
लडाइँमा सामेल हुन तयारी गर्न लागेको अवस्थामा पायो । उभारोभको घोडसेनाबाट अगाडि बढेपछि उसले स्पष्ट रूपमा आफ्नोसामु तोप र बन्दुकहरू पड्केको आवाज सुन्न थाल्यो । गोली चलेको आवाज झन्‌भन्दा झन्‌ चर्को हुँदै गइरहेको थियो ।

बिहानको शीतल हावामा पहिलेजस्तो अनियमित अन्तरमा दुई तीन गोली र त्यसपछि तोपका एक-दुई गोला चलेको आवाज मात्र होइन, प्रात्जेनको अगाडि, पहाडको ओरालोबाट एकै साथ चलाइएका बन्दुकका गोलीका पर्रा र बीचबीचमा तोपका गर्जनसमेत यति बिध्न सुनिन थाल्यो कि तिनलाई एक एक गरी छुट्याएर सुन्न असम्भव थियो किनभने ती गर्जन एउटै गर्जनमा एकाकार भइरहेका थिए । रोस्तोभले एकपछि अर्को गर्दै बन्दुकबाट निस्केका धूवाँ र बादलजस्तो बनेर एकआपसमा मिसिएको तोपबाट निस्केको धूवाँ पनि स्पष्ट रूपमा देख्न सक्थ्यो । र, यसका साथै उसले उडिरहेको धूवाँको बीचमा सङ्गगीनहरूको चमकका सहायताले पैदल सेनाको ठूलो समूह र हरिया रङ्गका बाकसहरूका साथ तोपखानाको साँगुरो लामअगाडि बढिरहेको पनि बुझ्न सक्थ्यो ।

रोस्तोभले यथार्थमा त्यहाँ के भइरहेछ भनेर हेर्ने उद्देश्यले एउटा ढिस्कोमा एकै छिन घोडा अड्यायो । तर उसले जति प्रयास गरे पनि त्यहाँ के भइरहेछ भनेर अलिकति पनि बुझ्न सकेन । धूवाँको बादलभित्र कुनै किसिमका मान्छेहरू ओहोरदोहोर गरिरहेका देखिन्थे । अगाडि र पछाडिबाट केही सेना यताबाट उता आउने र जाने गरिरहेका थिए । तर ती मान्छेहरू को थिए ? किन त्यसो गरिरहेका थिए ? र कता जाँदै थिए ? बुझ्न असम्भव थियो । यी दृश्यहरू र आवाजले रोस्तोभको हृदयमा कुनै किसिमको त्रास र विषाद उत्पन्न गर्न सकेन बरु उल्टै उसको मानसिक रूपमा आत्मबल र शारीरिक रूपमा ऊर्जा बृद्धि गर्न सहायक सिद्ध भए ।

“ठोक, ठोक, बढ अगाडि, अगाडि,” शब्दहरूलाई उसले मन मनमा आदेश दिन्थ्यो र फेरि आफ्नो घोडा सर्पट दगुराउँदै फौजहरूले लडाइँ लडिरहेको ठाउँतर्फ ऊ झन्‌झन्‌ अगाडि बढ्थ्यो ।

“त्यहाँ के भइरहेछ, मलाई थाहा छैन तर जे भइरहेछ, राम्रै भैरहेछ थाहा छ,” उसले सोच्यो ।

अष्ट्रियाली सेना केही अगाडिबाट निस्केपछि रोस्तोभले अगाडिको पङ्तिकत्र गार्ड सेना लडाइँमा सम्मिलित भइसकेको देख्यो ।

“यो त अझ राम्रो कुरो भयो । म यिनीहरूले नजिकैबाट लडिरहेको देख्न पाउने भएँ,” उसले सोच्यो ।

ऊ मोर्चाको अगिल्लो पंक्तिमा नै घोडा दगुराइरहेको थियो । केही मान्छेहरू घोडा दगुराउँदै ऊ भएतिर आए । यिनीहरू हाम्रा उलान (जारपरिवारको घोडसेना) थिए जो हमला गरिसकेपछि अव्यवस्थित चालमा फर्किरहेका थिए । रोस्तोभ उनीहरूबाट अलग्गियो । उसले नचाहँदा-नचाहँदै पनि एक जना घोडसेना रगतमा मुछिएको देख्यो तर ऊ घोडा दगुराउँदै आफ्नो बाटो लाग्यो ।

“भलाई यसको कुनै अर्थ छैन,” उसले सोच्यो । यसपछि केही सय पाइलाजति पर पुग्दा उसले आफ्नो बायाँतिरबाट पूरा मैदान नै ढाकेर, चम्किला सेता बर्दी लगाएका र काला रङ्गका घोडा चढेका घोडसेना डुल्की चालमा घोडा दगुराउँदै सोझै आफूतिर आइरहेको देख्यो । रोस्तोभले यी घोडसेनाबाट पन्छिने सुरले आफ्नो घोडा पूरा शक्तिका साथ दगुरायो । ती घोडसेना त्यही गतिमा अगाडि बढिरहेको भए सायद रोस्तोभ उनीहरूबाट अलग्निन सक्थ्यो होला तर उनीहरूले पनि आफ्ना घोडा झन्‌ तेज गतिमा दगुराइरहेका हुँदा केही घोडाले त सर्पट लिन लागिरहेका थिए । रोस्तोभलाई घोडाका टाप र हतियार बजेको आवाज एकदम नजिक आइपुगेजस्तो लाग्यो र उसले उनीहरूको घोडा र उनीहरूको आकृति मात्र होइन सम्पूर्ण अनुहार नै झन्‌भन्दा झन्‌ स्पष्ट रूपमा देख्न थाल्यो । तिनीहरू हाम्रा गार्ड घोडसेना थिए, जो आफूहरूतर्फ बढ्दै आइरहेको फ्रान्सेली घोडसेनामाथि जाइलाग्न गइरहेका थिए ।

गार्ड घोडसेना आफ्ना घोडा सर्पट दगुराइरहेका थिए तर आफूहरूलाई केही नियन्त्रण पनि गरिरहेका थिए । रोस्तोभले उनीहरूको अनुहार राम्ररी देख्न सकिरहेको थियो र उनीहरूको एक जना अफिसरले “आक्रमण गर” भनेको आदेश पनि सुनिरहेको थियो, जुन अफिसरले आफ्नो घौडा पूर्ण गतिका साथ दगुराइरहेको थियो । रोस्तोभ यी घोडसेनाले फ्रान्सेलीहरूमाथि आक्रमण गर्दा आफू पनि त्यही घानमा पिसिउँला भन्ने डरले आफ्नो घोडा त्यो मोर्चासँगै घोडाको तागतले भ्याएसम्म दगुराउन लाग्यो तैपनि ऊ उनीहरूको बाटोको सीमाबाट बाहिर निस्कन सकेन ।

गार्ड घोडसेनाको विशाल शरीर र छ्याके अनुहार भएको सबभन्दा अन्तिम घोडसेनाले रोस्तोभलाई आफ्नो अगाडि देखेर रिसले आँखा तर्यो किनभने दुवै जना आपसमा ठोक्किने सम्भावना प्रवल थियो । यस गार्ड घोडसेनाले रोस्तोभ र उसको बेदुइन घोडालाई निश्चय पनि भुइँमा कतै पछारिदिने थियो होला (रोस्तोभले आफू र आफ्नो घोडालाई यी भीमकाय मान्छेहरू र उनीहरूको घोडाको तुलनामा अत्यन्त पुड्का र दुर्बल भएको अनुभव गन्यो । यदि ऐन-मौकामा यस घोडसेनाको घोडाको आँखाअगाडि उसले आफ्नो छडी नउज्याएको भए ।) त्यो जङ्गी कालो घोडा सोह्र हात उफ्रेर कान फट्फटाउँदै तर्स्यो । तर छ्याके घोडसेनाले जोडसँग ऐडी हान्यो र घोडा पुच्छर नचाउँदै र गर्धन अगाडितिर तेर्स्याउँदै पहिलेभन्दा द्रुतगतिमा दगुर्न लाग्यो । ती घोडसैनिक अगाडि बढेका मात्र थिए, रोस्तोभले उनीहरूले “हुर्रे” भन्दै कराएको सुन्यो । र पछाडि फर्केर हेर्दा ती गार्ड घोडसेनाहरू रातो स्कन्धाभरण लगाएका कुनै अपरिचित घोडसेनाहरूमा समाहित भएको उसले देख्यो , सायद ती फ्रान्सेलीहरू थिए । त्यसबाहेक उसले अरू केही पनि देख्न सकेन त्यसको लगत्तै कतैतिरबाट तोपहरू पड्कन थाले र सबैथोक त्यसको धूवाँबाट निस्केको बादलमा विलुप्त भएर गए ।

त्यो क्षण, जुन क्षण उसलाई पछाडि छोडेर गएको घोडसैनिक धूवाँको बादलभित्र कतै हराएथ्यो, रोस्तोभको मनमा उनीहरूकै पछाडि लाग्ने कि आफूलाई जहाँ र जुन काम गर्न पठाइएको छ त्यतातिर लाग्ने भन्ने पीरले पिरल्यो । त्यो घोडसेनाले वास्तवमा फ्रारान्सेलीहरूको सातोपुत्लो उडाएको थियो । तर यति ठूलो सङ्ख्यामा सुन्दर अनुहार भएका, दिलका धनी र उमेरले उन्मत्त अफिसर र सिपाहीहरू, जो हजारौँ रुबल पर्ने आफ्ना घोडा दगुराउँदै उसकै अगाडिबाट बढेका थिए, अठार जना मात्र जीवित थिए ।

मैले यिनीहरूको डाहा गर्ने कामै छैन । मेरो पालो आफै आउँदैछ । हुन सक्छ, सम्राट्सँग मेरो तत्काल भेट पनि होस्‌,” मनमा यस्तो कुरा खेलाउँदै रोस्तोभले घोडा अगाडि बढायो ।

पैदल गार्डसेनाको नजिक आइपुग्दा उसले थाहा पायो उनीहरूको लगभग चारैतिर तोपका गोली बर्षिरहेका थिए तर यो कुरा उसले तोप पड्केको आवाज सुनेर थाहा पाएको होइन सैनिकहरूको अनुहारमा प्रकट भएक्रो छटपटी र अफिसरहरूको अनुहारमा अस्वाभाविक सैनिक उत्तेजना देखेर थाहा पाएको हो ।

पैदल गार्डसेनाको एउटा पंक्तिपछाडिबाट उसले आफूलाई कसैले नाम काढेर बोलाएको सुन्यो ।
“को हो हँ ?” उसले बोरिसलाई चिनेन ।
“म भन्दै छु, हामीहरू सबभन्दा अगाडिको पंक्तिमा थियौँ । हाम्रो रेजिमेन्टले आक्रमण गन्यो,” बोरिसले भन्यो । उसको अनुहारमा खुसीको, झलक थियो, जुन झलक लडाइँमा पहिलो पटक हिस्सा लिएका तन्नेरी युवकहरूको अनुहारमा हुन्छ ।
रोस्तोभले घोडा रोक्यो ।
“गजब भएछ,” “अरू कस्तो-कस्तो भयो त ?” उसले सोध्यो ।
“हामीहरूले उनीहरूलाई बेसरी लखेट्यौं । कुनै गफाडीजस्तै प्रफुल्लित हुँदै बोरिसले भन्यो । “तिमी कल्पना गर्न सक्छौ ?”
अनि बोरिसले बयान गर्न लाग्यो- कसरी आफ्नो ठाउँमा खडा भएको गार्डसेनाले आफ्नोअगाडि देखेको फौजलाई अष्ट्रियाली फौज ठान्यो र यो फौजद्वारा अचानक चलाइने तोपका गोलाबाट नै आफूहरू दुस्मनको नजिकै छौँ भन्ने जानकारी पायो र उसलाई अप्रत्यासित रूपमा लडाइँमा होमिनु पन्यो । बोरिसको पूरा बयान नसकिँदै रोस्तोभले आफ्नो घोडा बढायो ।
“तिमी कहाँ जाँदै छौ ?” बोरिसले सोध्यो ।
“सम्राद्कहाँ एउटा जरुरी सन्देश लिएर जाँदैछु ।”
“उहाँ त्यहीँ अगाडि हुनुहुन्छ,” बोरिसले भन्यो । रोस्तोभले “हिज हाइनेस कहाँ” जाँदैछु भनेजस्तो सुनेर बोरिसले ग्राण्ड ड्युकतर्फ इसारा गर्दै भन्यो, जो हेल्मेट र गार्ड घोडसैनिक ज्याकेट लगाएर, आफ्नो काँध उचाल्दै र आँखीभौँ खुम्च्याउँदै उनीहरूभन्दा सय हात जति पर उभिएका थिए । उनले एक जना सेतो बर्दी लगाएको अष्ट्रियाली अफिसरलाई झपारिरहेका थिए, जसको अनुहारको रङ्ग फुङ्ग उडेको थियो ।
उहाँ त ग्राण्ड ड्युक हुनुहुन्छ तर म त प्रधान सेनापति अथवा सम्राट्कहाँ पो जानु पर्ने,” रोस्तोभले भन्यो र घोडा बढाउने सुर गत्यो ।
“काउन्ट ! काउन्ट ।” बोरिस जत्तिकै खुसी मुद्रामा अर्को तर्फबाट चिच्याउँदै र दगुर्दै बेर्ग आयो । “काउन्ट ! मेरो दाहिने हातमा गोली लागेको छ,” उसले वरिपरि रुमालले बाँधेको रगताम्य हात देखाउँदै भन्यो । तैपनि म मोर्चामा डटिरहेको छु । काउन्ट, अहिले म बायाँ हातले तरबार चलाउँछु । बेर्ग परिवारका सबै सदस्य बहादुर योद्धा भएका छन्‌ ।”

बेर्ग अरू केही भन्दैथियो तर रोस्तोभ उसंको कुरा पनि पूरा नसुनी अगि बढ्यो । गार्ड रेजिमेन्ट र खाली मैदान पार गरेपछि घोडसैनिकहरूको हमलामा भएजस्तै, फेरि मोर्चाको अग्रिम सीमामा नपुगियोस्‌ भनेर रोस्तोभ त्यस ठाउँको वरिपरि पूरा घुम्यो, जहाँबाट बन्दुक र तोप पड्केको सबभन्दा ठूल्ठूला आवाज आइरहेका थिए र क जगेडा सेनासँगसँगै अगाडि बढ्यो । उसले अचानक हाम्रोअगाडि र हाम्रो सेनाको पछाडि, नजिकै कतै, बन्दुकका गोली चलेको आवाज सुन्यो, जहाँ उसले शत्रुका सेना होलान्‌ भनेर कल्पना पनि गरेको थिएन ।

यो के हुन सक्छ त ?,” उसले सोच्यो । “हाम्रो सेनाको पछाडि-पछाडि शत्रु सेना ?,” यो हुनै सक्तैन ।” अचानक स्वयम्‌ आफ्नो र पूरा लडाइँको परिणामको विषयमा सोचेर ऊ एकदम आत्तियो । “तर जेसुकै होस्‌,” उसले मनमनै सोच्यो “अब यहाँ वरिपरि घुमेर जानु बेकार छ । मैले प्रधान सेनापतिलाई यहीँ नै फेला पार्नु पर्छ र यदि सबैथोक खतम भइसकेको रहेछ भने मैले पनि बाँकी बचेकाहरू सबै सँगसँगै मर्नुपर्छ ।”

रोस्तोभको मनमा उब्जेको दुर्भाग्यसम्बन्धी पूर्वभावना, जतिजति प्रात्जेन गाउँ पछाडिको क्षेत्रमा ऊ बढ्दै जान्थ्यो, जहाँ अनेक किसिमका सेना थिए, उतिउति प्रमाणित हुँदै गइरहेथ्यो |

“यसको अर्थ के हो ? यो के भइरहेको हो ? उनीहरूले कोमाथि गोली वर्षाई रहेका छन्‌ ? गोली वर्षाउने को हुन्‌ ? रोस्तोभले आकुलव्याकुल अवस्थामा आफ्नो नजिकैबाट दगुरिरहेका रसियाली र अष्ट्रियाली सेनाहरूसँग सोधपुछ गरिरह्यो !”

“राक्षसहरूलाई नै थाहा होला ! उनीहरूले सबैलाई मारिसके ! सबथोक खतम  भइसक्यो !” ती दगुरिरहेका र रोस्तोभले झैँ केही कुरा नबुझेका सिपाहीहरूको भीडले रसियाली, जर्मनेली र चेकोस्लोवाकियाली भाषामा जवाफ दिए ।

“गोली ठोक- जर्मनेलीहरूलाई,” एक जना चिच्यायो ।
“यी गद्दारहरूलाई राक्षसहरूले मारुन्‌ !”

“यी रसियालीहरूलाई झुण्ड्याएर मार !” एक जना जर्मनेली पनि चिच्यायो । सडकमा थुप्रै सिपाहीहरू हिँडिरहेका थिए । गाली-गलौच, रोदन-क्रन्दन र चीत्कारले एउटा कोलाहलको रूप लिइरहेको थियो । गोली चलेको आवाज बन्द हुँदै गयो । रसियाली र अष्ट्रियाली सैनिकहरू आपसमा गोली हानाहान गरिरहेका रहेछन्‌ भन्ने कुरा रोस्तोभले पछि गएर बुझ्यो ।

हे भगवान्‌ ! यो सब हुनुको अर्थ के हो ?” र यहाँ जे भइरहेछ, सम्राट्ले कुनै पनि क्षण यिनीहरूले यस्तो गरेको देख्न सक्ने छन्‌ ! तर होइन, यिनीहरू केही बदमासहरूको झुण्ड मात्र -हुन सक्छन्‌ । पछि गएर सबैथोक ठीक भइहाल्छ । यो राम्रो कुरो होइन॑, हुँदै होइन । जे होस्‌, तर म यहाँबाट जतिसक्यो छिटो निस्कनु पर्छ,” रोस्तोभले सोच्यो ।
हाम्रो पराजय हुने र हाम्रो सेनाले लडाइँको मैदान छोडेर भाग्ने, कुरा रोस्तोभको दिमागमा आउनै सक्तैनथ्यो । उसले फ्रान्सेली तोप र सिपाहीहरूलाई प्रात्जेन पहाडमा, जहाँ उसलाई प्रधान सेनापतिलाई खोज्ने आदेश दिइएको थियो, देखे पनि उसलाई विश्वास लागेन । ऊ विश्वास गर्न चाहँदैनथ्यो ।