उमेशचन्द्र अधिकारी पछिल्लो समय चर्चामा आएका कार्टुनिष्ट हुन् ।
धनकुटामा जन्मिएका अधिकारीलाई सानैदेखि चित्र कोर्न मन पथ्र्यो । पञ्चायत कालिन समयमा हुर्किएका उनलाई चित्रकलाका गुरु, चित्र जान्ने, बुझ्ने, सिकाउने कोही थिएनन् ।
धनकुटाको सल्लेरीमा रहेको सरस्वती प्राविमा उनी एक कक्षामा भर्ना भएका हुन् । त्यहाँ राजाको सवारी हुने हुँदा उनले त्यो बेला हेलिकोप्टरको चित्र धेरै नै कोर्ने गर्थे । उनी भन्छन्, ‘त्यो बेला हेलिकोप्टर आउने जाने गरेको र उडेको धेरे देखेकाले नै म त्यसको चित्र बढी कोर्थेँ ।’
बाल्यकालमै उनले राजा महेन्द्रलगायत विभिन्न व्यक्तिका चित्रहरु कोर्ने गर्थे । उनी सम्झन्छन्, ‘त्यतिबेला कपी र कालाेपाटीमा चित्र काेर्न आवश्यक रंग र कलरपेन्सिल हुँदैनथ्यो, त्यही पनि पाटीमा अक्षर कोर्ने, विभिन्न चित्र कोर्ने गरिन्थ्यो । त्यसैले बच्चादेखि नै मलाई कलाको रुचि रहेछ ।’
उनी तीन कक्षामा पढ्दा नै जिल्लास्तरीय चित्रकला प्रतियोगिता भयो । उनकी बिमला श्रेष्ठ गुरुआमाले गोकुण्डेश्वर बालमन्दिरमा लैजानुभयो । जिल्ला भरिका कलाकारहरु भेला भएका थिए । उनलाई त्यहाँ नेपालको झण्डा बनाउन दिइएको थियो । राष्ट्रिय झण्डा बनाएर उनी जिल्ला प्रथम भए । उनले पुरस्कारस्वरुप नोटकपी र प्रमाणपत्र पाएका थिए । यसपछि त उनी यस्ता चित्र बनाउन हौसी हाल्थे ।
पछि उनका बुबाआमा जागिरको सिलसिलामा धनकुटाबाट बसाइँ सरेर भोजपुरको दिङ्ला पुगे । उनी पनि उतै गए । उनी त्यहाँ पाँच कक्षामा भर्ना भए । उनले त्यहाँ मान्छेहरुको चित्र कोर्ने, रङ पोत्ने जस्ता काम पनि गर्न थाले । साथीहरुको कपीमा पनि चित्र कोर्ने गर्न थाले । पेपर काटेर चित्रहरु बनाउँथे उनी ।
हुँदाहुँदा उनलाई त मूर्तिकलामा पनि रुचि जाग्न थाल्यो । सात कक्षामा पढ्दा उनले कालो माटो खोजेर ल्याएर राधाकृष्णको मूर्ति पनि बनाए । उनले त्यो मूर्तिहरु ५० रुपैयाँ गोटामा बेच्न थाले । उनले हनुमानलगायत विभिन्न धेरै मूर्तिहरु बनाए । त्यसै समय उनले ब्यानर पनि बनाउन थाले । उनी भन्छन्, ‘सात कक्षादेखि मैले आफूलाई चाहिने खर्च जुटाउन थालिसकेको थिएँ ।’ उनी चित्र मूर्ति बनाउँदा हेर्ने देख्ने मानिसहरुबाट पाएको स्याबासी नै उत्प्रेरणाको स्रोत मान्छन् ।
उनका बुबाले पेपरमा पेनले विभिन्न धर्साहरु कोर्दा पनि उनलाई चित्रहरु जस्तै लाग्थे । उनी आफ्नो बुबालाई पनि प्रेरणाको स्रोत मान्छन् ।
एसएलसी पास गरेपछि अधिकारीलाई पनि ललितकला पढ्न काठमाडौँ आउन मन लाग्यो । उनी यहाँ आएर बस्ने ठाउँको व्यवस्था गरेर घर फर्किँदा उनका बुबाले उनलाई कमर्स पढ्न भन्नु भयो र उनी यता नआई धनकुटा क्याम्पसमा आइएड भर्ना भएर उतै पढ्न थाले । उनको रुचि कलामा भएकाले उनले त्यहाँ आर्टिस्ट खोज्न थाले । पुराना आर्टिस्टहरु श्रीकृष्ण जोशी, उपेन्द्र दुखीलगायत व्यक्तिहरुसँग उनले संगत गर्न थाले । उनी भन्छन्, ‘उहाँहरुको सल्लाह सुझावले आफूलाई निखार्दै लगेँ ।’
उनले विभिन्न कलाकारहरुसँग घुम्ने, आर्ट ग्यालरीहरु घुम्ने गरेर आफ्नो सीपलाई अझै राम्रो बनाउने प्रयास गरिरहे । कलाकार भनेर पनि चिनिँदै गए ।
उनी धनकुटामा हुँदा नै चोकचोकमा गाईजात्रा हुन्थ्यो । त्यो गाईजात्राका बेला गाईजात्रा पत्रिका र भाँडभैलो पत्रिका हेरेरे विभिन्न कलाकारहरुसँग मिलेर कार्टुन बनाउन सुरु गरे र चोकचोकमा कार्टुन टाँस्न थाले । मान्छेहरुले राम्रो छ भनेर प्रशंसा गर्दा उनलाई त्यसबाट थप प्रेरणा पाउन थाले र उनी कार्टुनमा समेत आकर्षित हुन थाले ।
२०५२ सालमा उनले तुलसी मेयर स्कुलमा नेपाली पढाउन थाले । त्यहाँ उनले विद्यार्थीहरुलाई आर्ट पनि सिकाउने गर्थे । त्यही बेला उनी एमाले पार्टीको निकट भए । यसपछि उनले पार्टीका लागि पुत्लादेखि झण्डा, व्यानरदेखि भित्तेलेखनसम्मको काम गरे ।
त्यसपछि उनी २०५७ सालमा धनकुटाबाट काठमाडौं आउने योजना बनाए । चर्चित साहित्यकार लैनसिंह वाङ्देललाई भेट्ने रहरले उनी काठमाडौँ आउन चाहन्थे । वाङ्देलसँग फोन संवाद भएपछि उनी काठमाडौँ आए । त्यहाँ उनले सबै आर्टिस्टहरुलाई भेटेपछि महसुस भयो, मैले त अझै धेरै काम गर्नुपर्छ भन्ने लाग्यो । यसपछि उनी त्रिभुवन विश्वविद्यालयमा भर्ना भएर नेपाली विषयमा थप अध्ययन गर्न थाले भने कलालाई पनि निरन्तरता दिए । उनी कला एकेडेमी धाउने, कला प्रदर्शनी गर्ने, हेर्ने, कलाकारहरु भेट्ने, कला आन्दोलनमा सहभागिता जनाउने पनि गर्न थाले ।
टियुमा पढ्दा पनि उनले त्यहाँ भएको विकृतिका बारेमा साथीहरुसँग मिलेर कार्टुन बनाएर टाँस्ने काम गरे । त्यहाँ उनले त्यस्ता कार्टुनका प्रदर्शनीसमेत गरे ।
कला गतिविधि अगाडि बडाउँदै आफ्नो पढाइ पनि उनले सके । बीचमा उनले शुभतारा विद्यालयमा कला पढाउन थाले । त्यसपछि उनी त्यहाँ बाँधिए । कुनै कला गतिविधिमा भाग लिन सकेनन् र बीचमा त्यसै हराए ।
मान्छेका लागि पैसा मात्र सबैथोक होइन रहेछ भन्ने उनलाई लागेपछि जागीर छोडे । त्यो बेला बालसाहित्यका लागि चित्र बनाउने काम भने जारी राखे । यसमा केही सन्तुष्टि पाउन थालेपछि कलेजमा एक समय पढाउने र बाँकी समय चित्र कोर्नमा नै व्यस्त हुन थाले ।
यसबीचमा देशको राजनीति र समाज यति मैलो देखे कि चित्र बनाएर मात्र आफ्नो जिम्मेवारी पूरा हुँदैन भन्ने उनलाई लाग्यो । त्यसपछि उनी पुनः कार्टुन पनि कोर्नुपर्छ भन्ने लागेपछि उनी कार्टुन कोर्नतर्फ लागे । उनले ‘निरन्तर’ भन्ने पत्रिकामा कार्टुन बनाउन थाले । साप्ताहिकमा पनि कार्टुन बनाउन थाले उनले । त्यसपछि उनलाई आर्थिक दैनिकमा कार्टुन बनाउने मौका मिल्यो । त्यहाँ उनले १० वर्ष कार्टुन कोरे । अहिले भने उनी नौ महिनादेखि रातोपाटी अनलाइनमा कार्टुन कोरिरहेका छन् ।
रातोपार्टीमै बनाएको उनको एउटा कार्टुन निकै विवादित बन्यो । अबको क्रममा भने उनी आफ्ना कमजोरीलाई सच्याउँदै लैजाने र विकृति विसंगतिका विरुद्धमा कार्टुनले नै गतिलो झापड हान्ने उनी बताउँछन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।