नाम सुनेको थिएँ साहित्यिक क्षेत्रमा – प्रतीक ढकाल तर उनीसँग साक्षात्कार हुन सकेको थिएन । कविडाँडा साहित्य–समाज कार्तिक २७–२८, २०७८ द्वारा आयोजित नेपाल–भारत साहित्यिक उत्सवले त्यो स्वर्णिम समय जुटाइदियो । मञ्च एवम् साथीसँगका साहित्यिक विनिमयका सन्दर्भमा जब उनका अभिव्यक्ति सुनेँ उनी प्रखर वक्ता एवम् लेखक रहेछन् भन्ने लाग्यो । मसँग हालै प्रकाशित यात्रा–अनुस्मृति (२०७८) र विवित्सावृत्त (२०७८) का सीमित प्रतिहरू थिए, कसलाई दिऊँ, कसलाई दिऊँ भन्ने लागेको थियो । यस्तैमा उनैलाई एकप्रति त उपलब्ध गराउनै पर्छ भन्ने भयो । उनै सामु पुगेँ र उनका हातमा उपहारस्वरूप यात्रा–अनुस्मृति थमाएँ । उनले कृतिलाई यति प्रेमपूर्वक वरण गरे त्यस्तो मधुरतम् अनुभूति त्यसअघि मैले हजारौँ पुस्तक निःशुल्क वितरण गर्दा पनि प्राप्त गरेको थिइनँ । पछि अर्को कृति पनि दिन नसकेकोमा पछुतो भयो । त्यस्तै सहृदयी पाठकले मात्र कृतिको मर्म बुझ्दछन् भन्ने लाग्यो । पछि निर्मोही व्यासको कृति आवारा बादल (२०७८) को भूमिकाबाट पनि उनको साहित्यिक परिचय पाउँदै गएँ । उनको समृद्ध साहित्यिक व्यक्तित्वले तान्यो । थाहा पाएँ– उनको त्यो उज्यालो कर्णाली (नियात्रा, २०७८) प्रकाशित रहेछ । उनको शैली र सीप पढ्दै र परीक्षण गर्दै केही आफ्ना प्रतिक्रिया दर्शाउन गइरहेको छु ।

उनको त्यो उज्यालो कर्णालीमा जम्मा एक्काइसवटा नियात्रा सङ्गृहीत छन्, जसमा त्यो उज्यालो कर्णाली पनि एक हो । उनले त्यसैलाई कृतिको प्रमुख शीर्षकसमेत बनाउन पुगेका छन् । यसले उनले देखेको कर्णाली उज्यालो छ । कुन–कुन पाटा वा पक्ष उज्याला छन्, के–के वस्तुले कर्णाली उज्यालो छ, कर्णालीका के–कस्ता प्राकृतिक र सांस्कृतिक विशेषता छन् । यिनै तथ्यहरूले कर्णालीलार्इ बुझ्ने उत्सुकता प्रदान गर्छ । एकातिर लेखकको शैलीशिल्पको ज्ञान अर्कातिर कर्णाली नपुग्नेहरूका लागि कर्णालीको बहुआयामिक बोध पढेरै बुझ्ने प्रयत्न गर्दैछु भन्दै कृतिमा प्रवेश गरेँ ।

त्यो उज्यालो कर्णाली मुख्य रूपमा नियात्रापरक कृति हो । ‘नियात्रा’ शब्द सर्वप्रथम जुराउने व्यक्ति हुन् – प्रा. बालकृष्ण पोखरेल, जसले बेलायततिर बरालिँदाको भूमिका लेख्नमा उक्त शब्दको प्रयोग गरेका छन् । ‘यात्रा’ मा ‘नि’ उपसर्ग थपिएपछि त्यसले साहित्यिक सिर्जनात्मकताको सङ्केत गर्छ । त्यसले यात्रा सामान्य होइन विशेष हो, सौन्दर्यपरक हो, आनन्दप्रदायक हो भन्ने विशेष अर्थ द्योतित गर्छ । यात्रामा ‘नि’ उपसर्ग लागी बनेको ‘नियात्रा’ यति रुचिकर र प्रिय हुन लाग्यो लेखकमा नियात्रा र नियात्राकार हुनुमा गौरवको अनुभूति हुन थाल्यो । अन्य विधामा पनि निर्वार्ता, निःसमालोचना, निसंवादजस्ता शब्द प्रयोग हुन थाले । जे होस्, नियात्राले यो सौन्दर्यपरक लेखन हो, सामान्य लेखन होइन । यसमा अनुभव मात्र होइन, विचित्र अनुभूति, भावना वा कल्पनाको संयोजन पनि हुने गर्छ भन्ने बोध गरायो ।

यात्रा खासमा आँखा, मन र मस्तिष्कको त्रिआयामिक समन्वयात्मकताको गतिशीलतात्मक प्रस्तुति हो । आँखाले देख्नु पर्यो, मनले भोग्नु पर्यो र मस्तिष्कले समीक्षकीय रूपमा छान्नु पर्यो र सिर्जनात्मक स्वरूपमा ढाल्नु पर्यो । आँखा, मन र मस्तिष्कको तादाम्य रहेन भने त्यो नियात्राको सफल कृति हुन सक्दैन । यस दृष्टिले हेर्दा त्यो उज्यालो कर्णाली खरो रूपमा उत्रिएको एक सफल कृति हो ।

प्रा. कपिल अज्ञात

कुन शीर्षकमा के–कस्ता कुराको बयान छ त्यतातिर नगई उनको नियात्रा कलामै केन्द्रित हुँदैछु । नेपाली इतिहास, संस्कृति र प्रकृतिलाई गहिरिएर अध्ययन गरिसकेका उनी अधिकांश स्वरूपलाई नियाली सकेर अनुभवको क्षितिजलाई फराकिलो तुल्याउँदै घनीभूत पृष्ठभूमि भएका बौद्धिक विवेचक रहेछन्, जुन वस्तु वा विषय उनका सामु पर्छ त्यसलाई अनेक कोणबाट केलाउने सामर्थ्य राख्दा रहेछन्, जुन वस्तु वा विषयको बोध गर्नु छ र पाठकलाई पनि त्यसको सटीक परिचय गराउनु छ भन्ने मूल विषयमा केन्द्रित भई अतिशय भावुकता र कल्पनाको उपयोग नगरी वस्तुबोध गराउनु नै नियात्राकारको मूल उद्देश्य हो भने त्यसमा उनी निकै सफल देखिन्छन् । आँखा, मन र मस्तिष्क तीनैको उपयोग र सन्तुलनमा आफ्नो अभिव्यक्ति कलाको सीप र शब्द–चयनको चातुर्यले विषयलाई रोचक र ज्ञानप्रद तुल्याउँदै कथ्यलाई स्पष्ट र पारदर्शी तुल्याएका छन् ।

जुम्लामा पनि अभाव, गरिवी र अनेकौँ समस्याहरू नभएका होइनन् तर नकारात्मक पक्षतर्फ नगई सकारात्मक सोच र दृष्टिबाटै अवलोकन गरिरहेको तथ्य शीर्षकले नै दर्शाएको छ । यस लेखनका पछि अर्को के उद्देश्य पनि देखिन्छ भने जुम्लाको समृद्धि र सौन्दर्यको पाटो खुलाएपछि जुम्ला पर्यटकीय आकर्षणको केन्द्र बनोस् । धनले समृद्ध व्यक्तिहरू सौन्दर्यपानको खोजीमा विदेश चहार्छन्, आफ्नै देशभित्र लुकेका कति प्रदेशहरू छन् तिनको अवलोकनले आनन्दको शिखर आरोहण गर्न सकिन्छ भन्ने हेतु पनि यहाँ निहित देखिन्छ । बयानकै क्रममा प्रकृतिसँग संवाद गर्न एकल यात्राको सार्थकता पनि उनले दर्शाएका छन् । चित्रणका क्रममा पानीसँग जोडिएका शब्दको शोधखोजको विवरण प्रस्तुत गर्दै उनले प्रसङ्गअनुसार व्यङ्ग्यको पाइन पनि हाल्दै गएका छन् ।

प्रायः नियात्रामा दृश्यचित्रणको आधिक्य रहन्छ । भूगोल र प्रकृतिकै दर्शनमा यात्रीहरू प्रस्थान गर्छन् । अनेकौँ शब्द र वाक्यले अभिव्यक्त गर्न नसकेको तथ्य एकै दृश्यले प्रकट गर्न सक्छ । यहाँ नियात्राकारले अधिक दृश्यचित्रहरू समेट्न कथ्यलाई पुष्टि गर्नु त छँदैछ जुम्लाको पर्यटकीय आकर्षण बढाउनु पनि रहेको छ । लेखकले मुख्य–मुख्य महत्त्वपूर्ण स्थानको चित्र खिँचेर पर्यटकीय विवरणका मालाका रूपमा उनी तत्तत् स्थानको मार्गचित्रसमेत प्रस्तुत गरेका छन् । यस दृष्टिले लेखक एक साहित्यिक यात्री मात्र नभई पर्यटकीय योजनाकार समेत रहेका देखिन्छन् । यस दृष्टिले यो नियात्रा प्रतिवेदनको दस्तावेजजस्तो पनि हो ।

नियात्राकार सुस्तमनस्थितिमा होइन सक्रिय मनस्थितिमा यात्रा गर्छ । ऊ समयको गतिसँग चुक्यो भने न पत्रकार बन्छ, न नियात्राकार । एक–एक क्षण उसका निम्ति बहुमूल्यवान् हुन्छ । यात्राको प्रस्थानविन्दुदेखि गन्तव्यसम्म ‘म यात्री हुँ’ भन्ने हेक्का राखेन भने ऊ सफल नियात्राकार बन्न सक्दैन । नियात्राकार पनि पर्वतारोही जस्तै न हो सर्वाङ्ग सहज र सचेत रहेर चलेन भने विजयश्री हासिल गर्न नसकी बीचैमा दुर्घटित हुनसक्छ त्यस्तै नियात्राकार पनि सर्वदृश्य र घटनाहरूप्रति सजग र सचेत रहनुपर्छ । यस तथ्यलाई यहाँ प्रतीक्षारत रहँदा लेखक स्वयंले पनि स्पष्ट पारेका छन् ।

एकपछि अर्को गर्दै दशवटा नियात्राकै कृति निकालेका नियात्राकार प्रतीक ढकाल साँच्चिकै शब्दशक्तिका अभिधा, लक्षणा, व्यञ्जना सबै खेलाएर यहाँसम्म आइपुगेका रहेछन् । पदीय दृष्टिले पनि नेपाल सरकारका उच्च अधिकारी एवं साहित्यिक लेखन क्षेत्रमा पनि सिद्धहस्त बनिसकेको रहस्य मामाभान्जीको भेटघाटबाट खुल्यो । यस्ता लेखन समृद्ध नियात्राकारको एकसम्म कृति अहिलेसम्म पनि नपढ्नु मेरै शोधखोज र पठनको कमजोरी हो भन्ने महसूस गर्दै धन्न खोजी गरेर अहिले यो एक कृतिरत्नको पहिचान र पारखको प्रयत्न गर्दैछु । रत्नको चमकबाट त्यसका विशेषता खुट्याउन सक्ने आफू अब्बल बन्नुको दावा गर्न नसके पनि पेशाले नै मलाई त्यो सौभाग्य प्रदान गरेको हुँदा आफ्नो बुद्धिबर्कत देखाउने चेष्टा गरिरहेँछु ।

भाषाप्रति सजग र सचेत रहन सकेन भने पनि लेखक सफल हुन मुस्किल पर्छ । उनमा भाषिक क्षमता कतिसम्म छ भने एक पेशागत प्राध्यापकले तर्क गर्न नसकेको कुरा उनले तर्क गरिरहेछन् । भाषिक नियमलाई निहित स्वार्थमा भत्काउनु हुँदैन भन्ने पनि जिकिर गरिरहेका छन् । अकाट्य तर्कहरूले भाषाका मठाधीशहरूलाई नाजवाफ तुल्याइरहेका छन् । कृति पठनीय मात्रै होइन उत्तिकै मननीय पनि रहेको छ । यसले आनन्द मात्र होइन ऊर्जा दिने समेत काम गर्दछ । पढ्दै जाँदा गद्यधाराका सशक्त आख्यान लेखक कृष्ण धरावासीको मुक्त पाटो जब पढ्न पुगेँ प्रतीक त प्रतिभा, व्युत्पत्ति र अभ्यास तीनैले निकै माथि पुगेका व्यक्तित्व रहेछन् । वाक्शक्ति पनि त्यस्तै प्रखर सिर्जनाशक्ति पनि उत्तिकै उर्वर प्रशासनिक क्षमता पनि त्यत्तिकै सशक्त रहेछ । उनको बहुआयामिक क्षमताको व्यक्तित्व पाएर मेरो अनुमान मिथ्या गएन भन्ने कुराले बडा सन्तोष लाग्यो ।

लेखक हुनु भनेको ज्ञानको विस्तार गर्न सक्नु हो । लेखनमा सम्बन्धित विषयको पृष्ठभूमि वा अनुभव सन्निहित रहेछ भने त्यसले तुलना गर्ने, पुष्टि गर्ने र स्पष्ट पार्ने अवसर पाउँछ । त्यसले उसको सिर्जनात्मक क्षमतालाई पनि अभिवृद्धि गर्दछ । लेखकमा ऐतिहासिक र सामयिकताको यथेष्ट ज्ञान र अनुभव छ जसबाट लेखकले उपयुक्त किसिमबाट बिस्तार पाएको छ । यस दृष्टिले उनका नियात्रा सन्देशप्रद मात्र नभई ज्ञानप्रद पनि रहेका छन् । पाठकले दृश्यबोध मात्र नभै लेखकमा सञ्चित ज्ञानबोध पनि गर्दै जान्छ । ऊ पढेर आनन्दित मात्र हुँदैन ऊर्जाशील समेत बन्दछ । यसरी पाठकको मनलाई पङ्क्ति–पङ्क्तिले तानेर समग्र सारसन्देशमा चुर्लुम्म पारिदिन सक्नु लेखकका लेखनीय कलाको सार्थकता हो । गहकिलो वा कसिलो लेखनले नै पाठकको ध्यान तान्न सक्छ । यस रूपमा लेखक निकै सफल देखिन्छन् ।

लेखनमा व्यङ्ग्यको पाइन मात्र होइन हास्यको रौनक पनि थप्न सकियो भने कथ्यमा बडो रोचकता आउँछ । यस मामिलामा पनि लेखक खप्पिस देखिन्छन् । एक रसमा मात्र होइन बहुरसमा रोचकता भर्न सक्ने सीप, सामर्थ्य उनमा देखापर्छ । लेखकले आफ्नो लेखनमा जसले रसिक प्रवृत्ति वा प्रकृति उतार्न सक्यो त्यही लेखनमा पाठकको उत्सुकता बढ्छ । रचनात्मक तत्त्वमा जे–जति मरमसला अपनाएर रचना आस्वाद्य बन्छ ती अनेक विधि र तत्त्व लेखकले अपनाएका छन्, जसबाट उनका नियात्रा खँदिला र गहकिला मात्र नभई रसिला र चोपिला समेत हुन पुगेका छन् । लेखकले आफ्ना चारित्रिक विशेषता मात्र दर्शाउँदैन आफ्ना कमजोरी र लतहरूको पनि उजागर गर्छ । लेखकको त्यो इमान्दारी हो । इमान्दारी भनेर उसले छरपष्ट रूपमा आफूलाई नङ्ग्याउँदैन । केही सीमा र मर्यादाको हेक्का राखेर हुनेसम्म र सुहाउँदोसम्मका कमीहरूको पनि उत्खनन गर्छ र पाठकबाट सहानुभूति प्राप्त गर्न सफल हुन्छ । त्यो उसको कुशलता हो । प्रतीकका कृतिमा यी सबै गुण र विशेषताहरू देख्न र बुझ्न सकिन्छ ।

मानिसले प्रकृतिबाटै सिक्छ र प्रकृतिबाटै सिर्जनात्मक शक्ति प्राप्त गर्दछ । मानिसको परम गुरु नै प्रकृति हो । उनी मूलतः प्रकृतिप्रेमी र संस्कृतिप्रेमी साहित्यकार हुन् । प्रकृतिको सौन्दर्यपान गर्न कैयौँ दिनका कष्ट बेहोर्न पनि तत्पर हुन्छन् र कोशौँ दूर यात्रा गर्न पनि हौसिन्छन् । प्रकृति र संस्कृतिकै रङ्गले उनका रचनाहरू रङ्गिएका छन् । महङ्गो–महङ्गो भाडा तिरेर पनि उनी आफ्नै राजीखुशीले रारा पुगेका छन् । प्रकृतिलाई नै सिर्जनाकारक र सौन्दर्यको स्रोत मान्ने उनी संस्कृतिप्रति उत्तिकै सचेष्ट छन् । प्रकृति र संस्कृतिबाटै हाम्रो गौरव, गरिमा र स्वाभिमान सुरक्षित रहन्छ भन्ने उनको धारणा पाइन्छ । लेखकले प्रकृति र संस्कृतिका कुरा मात्र होइन विकृति र विसङ्गतिका कुरा पनि दर्शाएका छन् । प्रकृति दोहन गर्ने, ताल दोहन गर्ने, राज्यकोष दोहन गर्ने आदि अनैतिक र अनियन्त्रित दोहनका गतिविधिलाई प्रसङ्गअनुसार स्पष्ट्याएका छन् । शब्दशृङ्खलाबाट कसैलाई रिझाउने र वैयक्तिक रूपबाट कसैलाई बिझाउने काम नगरी स्वाभिमानी लेखकको दायित्व र कर्तव्यलाई पूर्णतया निर्वाह गरिरहेका देखिन्छन् ।

पूर्वीय काव्यशास्त्रका आचार्य जगन्नाथले सिर्जनाका तीन कारक बताएका छन्– (१) प्रेरणाकारक, (२) निमित्तकारक र (३) उपादानकारक । प्रेरणाकारक प्रेरित वस्तुबाट, निमित्तकारक कुनै नैमित्तिक घटनाप्रसङ्गबाट, उपादानकारक अध्ययन स्रोतसामग्रीबाट सिर्जनाको आधार प्रस्फुटित हुन्छ । यात्राबाट नवीन दृश्य घटना आदिबाट प्रेरणा मिल्दछ । प्रेरणा प्राप्त गर्नका निम्ति यात्रा गर्नुपर्ने र यात्राबाटै सिर्जनाको मूल फुट्ने हुँदा नै पहिले कहिल्यै नदेखेका स्थान र दृश्यहरूको अवलोकनले सिर्जनात्मक ऊर्जा प्राप्त हुन्छ । यात्राको यही महत्त्वलाई आत्मसात् गरी राहुल साङ्कृत्यायनले अथातो घुमक्कड जिज्ञासा भनेका हुन् तसर्थ सिर्जनशील उत्साहीहरू जीवनमा नवीन–नवीन यात्राको थालनी गर्दछन् । नियात्राकार प्रतीकले पनि सिर्जनात्मक उद्देश्य राखेर कर्णालीको सेरोफेरोमा यात्रा गरेको देखिन्छ । नेपालको प्रकृति र संस्कृतिलाई नै श्रीसम्पत्ति सम्झने उनले आफ्नो ऊर्जाशील सीप, सामर्थ्यको लेखनीद्वारा महत्त्वपूर्ण तथ्यहरूको उत्खनन गर्दै सृष्टि र दृष्टि दुवै रम्य भएको धारणा व्यक्त गरेका छन् । स्वदेशकै प्राकृतिक सौन्दर्यलाई आत्मसात् गरी तदनुरूप योजना तय गर्न सके अष्टसिद्धि प्राप्त हुने तथ्य पनि बताएका छन् तथा आफ्नो इतिहास, प्रकृति र भूगोलको उपेक्षा गर्न नहुने तथ्य पनि सगर्व प्रस्तुत गरेका छन् । असीम सौन्दर्यमयी भूगोलका विशिष्टता त दर्शाएकै छन् नै उनले जातीय संस्कृतिको सुन्दर टिप्पणी पनि यसप्रकार प्रस्तुत गरेका छन्– “नेवार भनेको जाँगर हो; नेवार भनेको सक्रियताको अर्को नाम हो; आर्थिक गतिविधि हो; नेवार भनेको संस्कृति हो र सारमा नेवार भनेको उद्यमशीलताको अनुशीलन गर्ने प्रवृत्ति पनि हो” (पृ. १२२) । एक बाहुन चरीले नै नेवारको गौरव गर्ने अभिव्यक्ति चिर्बिराउनु लेखकीय धर्मकै महान् उदारता हो भन्ने बुझ्न सकिन्छ ।

नियात्राभित्र खोजी गरेका नामवाची शब्दको ओइरो लगाएर पनि लेखकले पाठकलाई अचम्भित तुल्याएका छन् । कतै पानीसँग जोडिएका नामवाची शब्द छन्, कतै कोटसँग जोडिएका शब्द त कतै ढुङ्गासँग गाँसिएका शब्दहरू छन् । कतै पालिकासँग जोडिएका शब्द, कतै लेकसँग थपिएका विशेषणहरू त कतै मगरभाषावाची ‘वाङ’ सँग जोडिएका नामवाची शब्दहरू छन्, त्यस्तै ‘हवा’सँग जोडिएका शब्दहरू, ‘वाडा’सँग जोडिएका शब्दहरू छन् । यसले अध्ययन र शोधखोजको गहनतालाई दर्शाएको छ । कहीँ अभिव्यक्तिगत छटा कवितात्मक रूप दिएर कथनलाई उत्कर्ष रूपले सिँगारेका छन्, जस्तैः “जो एक टुक्रा कपडा भेटे पनि कट्टु सिलाएर कसैका पुर्खाको लाज बचाइदिन्थे, जो एक टुक्रा सुनचाँदीबाट इच्छित गहना बनाएर हाम्रा पुर्खाको बिहेबारीको बाटो फुकाइदिन्थे, जो एक टुक्रा काँचो छाला भेट्दा पनि खुशी भएर कसैका खुट्टालाई काँढाबाट बचाउने जुत्ता बनाइदिन्थे” (पृ. ११८) ।

कर्णाली एक नदी मात्र नभई सभ्यता नै हो । यो सिन्धुघाटी, मोहनजोदाडो, अजन्ता, हडप्पा वा द्रविड सभ्यताजस्तै हो भनेर उनले कर्णालीको उज्यालो पक्षलाई उजागर गरेका छन् । यस सन्दर्भमा क–कसले कर्णालीको खोज गरे उनले तिनको उल्लेख गर्नसमेत छोडेका छैनन् । यस दृष्टिले यो एकातिर साहित्यिक कृति मात्र नरहेर इतिहास र संस्कृतिको महत्त्वपूर्ण ग्रन्थ बन्न पुगेको छ । एकै कृतिबाट सर्वपक्ष उजागर गर्ने क्षमता दर्शाउनु लेखकीय प्रतिभा र विद्वत्ताको सुन्दर परिचायक एवं परिणाम हो । यस कृतिमा लेखकको समीक्षकीय तीव्रचेतले पनि निकै काम गरेको पाउन सकिन्छ । कर्णालीमा सौन्दर्यको स्वरूप र सभ्यताको सुन्दर जग मात्र होइन दुःख र व्यथाका अनेकौँ कथा पनि छन्, तिनको पनि लेखकले सङ्केत गरेका छन् ।

बहु ज्ञानगुनले समृद्ध उक्त कृति पढ्दै जाँदा कृतिकार बहुआयामिक व्यक्तित्वले समृद्ध देखिन्छन् । उनी साहित्यिक उत्प्रेरक, सांस्कृतिक अन्वेषक तथा इतिहासविद् त हुँदै हुन् यहाँ राजनीतिक विश्लेषकका रूपमा पनि देखिन्छन् । नयाँ नेपाल बनाउने आशा र अपेक्षा राखेर कतिले जिउज्यान होमेर लडे तर अहिलेको परिणाम हेर्दा ती सबै गतिविधि बित्थामा गएको देखिन्छ, अन्तमा भएको छ हात लाग्यो शून्य । पहिलेका एक राजाबाट अहिले सयौँ नवराजाहरू जन्मिँदै, हुर्किँदै मोजमस्तीमा रहेको देख्दा आन्दोलन र योजना सबै प्रयोग भई आफ्ना सपनाको मलामी आफै गएका देखिन्छन् भन्दै लेखकले सही तथ्यप्रति गहिरो प्रकाश पारेका छन् । कर्णालीको प्रेमनदीमा आफूलाई डुबाएर आत्मसमीक्षा गरेका लेखकीय अभिव्यक्ति पनि निकै मननीय देखिन्छन् । उनले कथ्यलाई सरस तुल्याउने क्रममा प्रसङ्गअनुसार बीचबीचमा तुक्का, किस्सा वा ठट्यौली पनि प्रस्तुत गरेका छन् । सधैँ सत्य, न्याय र समानताका पक्षमा उभिने लेखक छोरा र छोरीमा विभेद देख्न चाहँदैनन् । यसै कृतिका माध्यमबाट सामाजिक विकृति उधिनेर तिनमा सुधारको आकाङ्क्षा पनि राखेका छन् । साहित्य दर्पण मात्र होइन मार्गदर्शन पनि हो भन्ने सन्देश मुखरित गर्दै सामाजिक जागरणको भूमिका पनि निर्वाह गरेका छन् । बीचबीचमा प्रसङ्गअनुसार लोकगीतका फाँकी उनेर कथ्यलाई रोचकताले भरिपूर्ण तुल्याएका छन् । कमी–कमजोरी जहाँ पनि रहन सक्छन्, तिनको खोज र पहिचान गरी तिनलाई हटाउँदै गई समाजलाई सभ्य र सुसंस्कृत तुल्याउनु पर्छ भन्ने उनको ध्येय रहेको पाइन्छ ।

अन्तमा भनौँ उनले बनाउँदा–बनाउँदै यो ऊँट पो बन्यो कि ! भन्ने सन्देह प्रकट गरे पनि यो ऊँट होइन प्राकृतिक परी हो, कर्णाली संस्कृतिकी चरी हो, जात्रा होइन समृद्ध नियात्रा नै हो । नियात्राको खरो र दह्रो कृति हो यो । भाषिक सौन्दर्य र आफ्नै मौलिक स्वर–शैली र शैल्पिक उचाइ प्राप्त गरेको एक निख्खर कृति हो । यो खाँटी नियात्राको मानक आधारको कृति हो । साहित्यिक जाम्बवन्त मित्रहरूका बीच उनी हनुमान नै हुन्, जो अनुमान लगाएर सात समुद्र नाघ्न सक्छन् र महापर्वत उचालेर सञ्जीवनी बुटी ल्याउन सक्छन् । उनी नियात्राका फाँटमा तारानाथ शर्मापछि उदाएका एक अवतारी पुरुष नै हुन् भने पनि फरक नपर्ने देखिन्छ । उनका गुणात्मक विशेषतालाई सोझै सकार्नुभन्दा उनका मानक कृति पढेरै आत्मसात् गर्नु साहित्यिक पाठक हुनुको धर्म र कर्तव्य ठान्दछु । अहिले नेपालीमा नियात्रा र आख्यानका निकै कृतिहरू प्रकाशित हुने गरेका छन् । लेखक र पाठकको रुचि त्यतैतर्फ बढ्न थालेको छ । नियात्राका जति धेरै विशेषता प्रतीककका कृतिमा देखापरेका छन् त्यति अन्य लेखकका कृतिमा पाइनु दुर्लभ नै देखिन्छ । प्रतीक आफ्नो प्रतिभा र कर्मले स्वनामधन्य तुल्याउने नियात्रा परम्परामा उच्च श्रेणीका लेखक हुन् भन्ने बहसले न्यायमूर्तिलाई फैसला निरूपण गर्न पनि सहजै होला भन्ने विश्वास राख्दछु ।

“यो क्षेत्र त हाम्रो लुकेको स्वर्ग हो, साङ्ग्रिला हो, धर्तीमुनिको अभिलेख हो र समृद्धि प्राप्तिका लागि अनन्त भावनाको बीज पनि हो । यो नेपालको एक मात्र त्यस्तो क्षेत्र हो जसले सिङ्गो मुलकको कायापलट गरिदिन सक्छ” भन्ने लेखकको आत्मकथ्य एवं धरावासीका मुक्तपाटोका कथनप्रति सही थप्दै म पनि मान्छु यो नियात्राका माध्यमबाट कर्णालीको इतिहास र संस्कृतिको वैभवको उत्खनन गरिएको महत्तम कृति हो ।

साहित्यिक ऋषि भुवनहरि सिग्देलको सटीक र सारपूर्ण कथनप्रति सहमत हुँदै उहाँको सारगर्भित सन्देश सबैले बुझून् भन्ने उद्देश्यसँग समेत समर्थन जनाउँदै उक्त कथनलाई पनि यहाँ उद्धृत गर्दछु । “यसमा कर्णालीको जीवन देखेँ, आह्लादित प्रकृति हेरेँ, खसजातिका पितापुर्खाले बनाएका भाषा, साहित्य र कलाका गाथा पढ्दा गौरव महसूस गरेँ । गरिबी, विकटता र अभावलाई नेपथ्यमा राखेर बहुआयामिक खोज र अनुसन्धानका लागि सकारात्मक पाटोको तस्वीर कुशल लेखकले चिन्न सक्छ भन्ने उदाहरण यो किताब हो ।” कृतिभित्रको समग्र सार खिचेर एकै वाक्यमा भन्नु पर्दा यो साहित्य, इतिहास र संस्कृतिको बहुआयामिक विशेषताले घनीभूत महत्तम कृति हो ।