…….भए ठाउँसम्म पुग्ने विचार मेरो मगजमा चक्कराउन थालका थियो। तर भाग्न सकिने कुरा पक्का भएपछि मात्रै म बिचार साकार गर्न चाहन्थेँ । पोज्नानसम्म नै जहाँ हामीलाइ एउटा साँच्चैको बन्दीशिविरमा राखिएको थियो, यस्तो कुन राम्रो मौका मैले पाउन सकिनँ। पोज्नान बन्दीशिविरमा यस्तो मौका मिलेको जस्तो मलाई लाग्यो। मई महीनाको अन्त्यतिर हामीलाई बन्दीशिविर नजीक रहेको एउटा सानो
वनमा हाम्रै मरेका साथीहरूलाई गाड्न भनेर चिहान खन्न पठाइयो । त्यस ताका हाम्रा युद्धबन्दीहरू प्रशस्तै नै पखाला लागेर मरे ! म पोज्नानको माटो खन्दै थिएँ, तर आँखा भने चारैतिर घुमाएर हेर्दै थिएँ। मैले के चाल पाएँ भने हाम्रो
पहरा दिइरहने गार्डहरूमध्ये दुई जना एक ठाउँमा बसेर चमेना गर्दै थिए, तेस्रो चाहि घाम तापेर अँघिरहेको थियो । बस्, मैले आफ्नो साबेल थपक्क राखिदिएँ र बिस्तार-बिस्तार एक झाडी पछिल्तिर गएर लुकें,..। अनि सुइँकुच्चा ठोके त्यसै दिशातिर जताबाट सूर्य उदाएथ्यो …।
अवष्य ,नै मेरा गार्डहरूलाई निकै समय बितिसकेपछि मात्र मेरो सम्झना भयो होला । म दुब्लाएर यस्तो सिकुटे भइसकेको थिएँ कि आङमा मेरा करङहरू एक एक गरेर गन्त सकिन्थ्यो । मेरो जीउमा यत्रो तागत कहाँबाट आयो कुन्नि – मैले दिन-भरिमा करीब चालीस किलोमीटर दूरी पार गरिसकेको थिएँ। तर मेरो कल्पना चाहिं साकार हुन सकेन । चौथो दिन जब म त्यस नरकतुल्य बन्दीशिविरबाट निकै टाढा पुगिसकेको थिएँ, दुश्मनहरूले मलाई पक्रिहाले । उनीहरूले शिकारी कुकुरहरूलाई मेरो पीछा गर्न छोडिदिएका थिए। तिनै कुकुरहुरूले मलाई बाली नकाटिएको जईको खेतमा भेट्टाइहाले।
बिहान सबेरै म एउटा खुला खेत नजीक आइपुगेको थिएँ। दिउँसोको उज्यालोमा त्यो खेत पार गर्ने विचार उठ्नासाथ मेरो मन ढुकढुक भयो। त्यहाँबाट जंगलसम्म तीन किलोमीटर जति टाढा हुँदो हो। त्यसैले म जईको खेतमा अग्ला
बोटहरूको माझमा लुकेर पल्टिएँ। दिन बितेपछि त्यहाँबाट निस्केर जाने विचार थियो । त्यहाँ मैले जईको एउटा बाला टिपेर हत्केलामा माडेर गेडा अलग्याएँ। यसरी केही अन्न मेरो मुखमा पर्यो, केही मैले पछिलाई जगेरा भनेर गोजीमा
भरेँ। यत्तिकैमा कुकुरको भुकाइ र मोटरसाइकलको गड्गडाहट मेरो कानमा पर्यो। मेरो मुटु बेसरी ढुकढुक गर्न थाल्यो । किनकि कुकुरहरूको भुकाइ झन् झन् नजीक हुँदै आइरहेको थियो। म उँधोमुण्टो लगाएर पल्टिएँ र दुबै हातले आफ्नो
मुख पनि छोपेँ, ताकि कुकुरहरूले लुछेर मेरो अनुहार कुरूप तुल्याउन नपाउन् ! अनि त कुकुरहरू मेरो नजीक आइपुगे र एक छिनमै उनीहरूले मेरो लुगा लुछाचुँडी गरेर धूजा धुजा पारिदिए । मेरो आङमा एक धरो लुगा पनि बाँकी
नै रहेन र म नांगेझार भएँ । अनि कुकुरहरूले मलाई जईको खेतमा लछार-पछार गर्दै घिसार्न थाले । आखिरमा एउटा बडेमाको कुकुरले मेरो छातीमे नंग्रा गाडेर चिथोर्न शुरू गर्यो र घाँटीतिर पनि नंग्राले च्याप्न थाल्यो । तर अझैं उसले
दाँत भनें गाडेको थिएन।
दुईवटा मोटरसाइकलमा जर्मनहरू त्यहाँ आइपुगे । शुरूमा त उनीहरूले बेसरी मलाई थिलथिलो पारेर चुटे, त्यसपछि ममाथि कुकुरहरू छोडिदिए र मेरो आङ्बाट छाला र मासुका टुक्राहरू उछिट्टिन थाले । रगताम्य भैसकेको मेरो नांगो शरीर मोटरसाइकलमा लादेर उनीहरू बन्दीशिविरमा फर्किए । यसरी
भागेको अभियोगमा मलाई एक महीना कालकोठरीमा बन्द गरियो । तैपनि मेरो प्राणपखेरू उडेन र….. म जसोतसो बाँचें !
यी सबै कुराको सम्झना गर्नु मलाई निकै गाह्रो पर्छ, भाइ ! युद्धबन्दीको हैसियतले मैले के कस्तो दुःख यातना भोग्नु परेको थियो त्यसको बयान गर्नु त झन् असह्य नै हुन्छ। त्यहाँ जर्मनीमा हामीसँग कसरी जनावरसँग जस्तै व्यवहार गरियो ? हाम्रा साथीभाइहरूलाई त्यहाँ नाना प्रकारले सास्ती खेलाएर कसरी मारिदिने गरिएको थियो ? के कस्ता अमानवीय सासना भोग्नु पन्यो? यी सबै कुराको सम्भ्ना
हुँदा कलेजा नै फूट्ला जस्तो हुन्छ र घाँटीमा सास अड्केर
असह्य उकुसमुकुस हुन्छ।
दुई वर्षे युद्धबन्दी हुनु पर्दा मैले कहाँ कहाँ मात्रै पो पुग्नु परेन त ! आाधा जर्मनी त अवश्य नै पार गरे हुँला मैँले। सैक्सोनीमा मैले सिलिकेट पत्थरको कारखानामा काम गरेँ । रूर जिल्लामा एउटा खानीबाट कोइला झिर्के। बाभारियामा ढाड निहुँराएर माटो, खन्दा खन्दा कुप्रो समेत भइयो । केही समयसम्म थुरीगेनमा पनि खटिएँ। शैतानलाई नै थाहा होला, जर्मनीमा मैले कहाँ कहाँ मात्र पसीना चुहाउँदै हिंड्नु परेन । ठाउँ, ठाउँमा प्रकृतिको छटा बेग्लाबेग्लै ढंगको देखियो, तर जसरी उनीहरूले हामीलाई गोलीले उडाउने गरेका थिए र थिल्थिलो पारेर पिट्ने गरेका थिए त्यो सबैतिर एकनासको थियो, भाइ ! जसरी ती यमदूतहरूले हामीलाई पिटेर नर्कको यातना भोगाए , त्यसरी त यहाँ हामीकहाँ कसैले जनावरलाई समेत पिट्दैन। मुक्का चखाए, लात मारे, कोर्रा: ठोके, फलामको डंडाले पिटे। जे हातमा पाउँथ्यो त्यसैले बजाउँथे बजियाहरू ! बन्दुकको कुन्दा र काठको लट्ठीले हिर्काउनु
भनेको त सामान्य कुरो थियो ।
उनीहरू हामीलाई कित पिट्थे भने हामी रूसी थियौं, किनकि हामी अझै पनि संसारमा बाँचिरहेकै थियौं, किनकि हामी ती हरामजादाहरूको निम्ति काम गर्दथ्यौं ! उनीहरू हाम्रो आङमा सुम्लो उठ्ने गरी कुट्थे, यस कारणले कि हाम्रो
हेराइ उनीहरूलाई मन पर्दैनथ्यो , हाम्रो हिँडाइको चाल पनि उनीहरूलाई रूचिकर थिएन, हामी जसरी मोडिन्थ्यौं त्यो पनि उनीहरूलाई मन पर्ने खालको हुँदैनथ्यो …। उनीहरू पिट्ने गर्दथे, ताकि कुनै दिन हाम्रो शरीरबाट ज्यान निस्केर
जाओस् ! उनीहरू कुट्ने गर्दथे, ताकि हामीले रगत छादेर मर्नु परोस् र रगतको फाल्साले हाम्रो घाँटीमा सास रोकियोस् ! मलाई लाग्छ, जर्मनीमा हामी सबैलाई जलाउनको तिम्ति चाहिने जति भट्टी पनि शायद थिएन क्यारे… ।
हामी जहाँ गए पनि खाना एउटै किसिमको पाउँथ्यौं धुँटो मिलाइएको डेढ सय ग्राम “एरजीत्ज ” रोटी र गाण्टेमूलाको पन्याँलो झोल। कतै कतै खानको निम्ति उमालेको पाती दिइन्थ्यो भने कतै त त्यो पनि पाइँदनथ्यो। के कुरा गर्नु र यी सबैको ? तिमी आफैं विचार गर ! लडाइँ शुरू हुनुभन्दा अघि मेरो तौल छ्यासी किलोग्राम थियो भने शरद लाग्दा नलाग्दै पचास किलोग्रामभन्दा बढ्ता बाँकी रहेन । केवल : हाडछाला मात्रै बाँकी रहन गएको थियो जीउमा र आफ्नै हाडखोड बोक्न समेत आच्छु आच्छु पर्दथ्यो। यति हुँदाहुँदै पनि काम नगरी सुखै थिएन, तर मुख खोल्न चाहीं मनाही थियो । फेरि काम पनि यस्तो दिइन्थ्यो जुन तामेल गर्न त गाडी तान्ने खच्चरलाई समेत मुश्किल-मुश्किल पर्दथ्यो । सेप्टेम्बरको शुरूमा हामी १४२ जना सौभियत युद्धबन्दीहरूलाई क्यूस्ट्रित नजीकैको बन्दीशिविस्बाट ड्रेज्डन नजिकै रहेको ‘ बी-१४’ भनिने बन्दीशिविरमा पठाइयो । त्यस बेला….
क्रमश……
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।