१. कवितामा आकाश – आर. मानन्धर
आर. मानन्धरको नवीनतम् कृति हो, कवितामा आकाश । मानन्धरले कृतिलाई कविता, चिन्तन र दर्शन गरी तीन खण्डमा प्रस्तुत गरेका छन् ।
“बाँच्ने त हामी धरतीमै हो । तर, बाहिरमात्र होइन, हामीभित्र पनि आकाश छ – आत्मिक आकाश ! त्यहा पनि घाम, जून र ताराहरु उदाउँछन् र अस्ताउँछन् । यो किताब आकाश-काव्य हो ।”, कृतिको अन्तिम पृष्ठमा आख्यानकार अमर न्यौपाने लेख्छन्, “कवितामा भावना र विचारमात्र होइन, चिन्तन र दर्शन पनि हुन्छ । यहाँ कविता त छ नै, चिन्तन र दर्शनको छुट्टै स्वाद पनि छ ।”
आर. मानन्धर नेतृत्व विकास र माइन्डफुलनेसका प्रशिक्षक हुन् । युवावस्थादेखि नै नेपालभाषा सहित्यमा अटुट रुपमा कलम चलाइरहेका उनी नेपाली हुँदै अङ्ग्रेजीमा विस्तार भएका छन् । नेपालीमा यसअघि उनको दर्शन-साहित्यको पुस्तक “क्षितिजको स्पर्श” प्रकाशित छ ।
पुस्तकलाई मञ्जरी पब्लिकेसनले बजारमा ल्याएको हो । १ सय ३६ पृष्ठमा फैलिएको कृतिको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
२. अध्यात्म दर्शन – डा. पवित्र बहादुर खड्का
“अध्यात्म दर्शन” डा. पवित्र बहादुर खड्काको नवीनतम् कृति हो । “सयकडौँ वर्षदेखि मानिसमा भगवान् बुझ्ने विषयमा मतभेद हुँदै आएको छ, शास्त्रमा विभिन्न टकराव हुँदै आएको छ, सम्प्रदाय नै पिच्छे विभिन्न मान्यता स्थापित हुँदै आएको छ ।”, कृतिको प्राक्कथनमा लेखक खड्का लेख्छन्, “मानिसको मनमा भ्रान्ति रहँदै आएको छ । सम्प्रदायको मतभेदलाई चिरेर मानिसलाई स्वतन्त्र विचारमा उत्रन भने त्यति सजिलो छैन, तर यसमा कोसिस गरिएको छ । … यसमा उद्धृत कुराहरु वेद, उपनिषेद्, दर्शनशास्त्र, मनुस्मृति, सत्यार्थप्रकाशको आधारमा, तर्क प्रमाणको आधारमा बताउने प्रयास गरिएको छ ।”
अध्यात्म, धर्म र दर्शनमाथि विवेचना गरिएको यस पुस्तकभित्र “धर्म”, “स्वधर्म”, “हिन्दू धर्म”, “हिन्दू धर्ममा वणर् व्यवस्था”, “आश्रम व्यवस्था”, “ईश्वर”, “उपासना”, “मन”, “आत्मा”, “शास्त्र”, “वैराग्य”, “मोक्ष”, “ज्ञान”, “बुद्धि”, “कर्म”, “भक्ति”, “भक्त”, “साधुसन्त”, “सद्गुरु”, “प्रारब्ध”, “संस्कार”, “दान”, “सुख-दुःख”, “पाल, लोभ, अहङ्कार, माया”, “भोजन”, “मांसाहार”, “पशुबलि”, “शरीर” र “मृत्यु” शीर्षकलाई विभिन्न कोणबाट उपशीर्षकहरुमा प्रकाश पारिएको छ ।
पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो । ६ सय ५१ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ७ सय ९५ रुपियाँ रहेको छ ।
३. मेरो दोस्रो बेलायत यात्रा – डा. गोविन्दराज भट्टराई
प्राडा. गोविन्दराज भट्टराईको नवीनतम् नियात्रा कृति हो, “मेरो दोस्रो बेलायत यात्रा” । यसअघि नै “मेरो पहिलो बेलायत यात्रा” प्रकाशनमा ल्याइसकेका डा. भट्टराईले आफ्नो दोस्रो बेलायत यात्रा सँगालो प्रकाशनमा ल्याएको हुन् ।
“मेरा कुनै पनि भ्रमण केवल आत्मतृप्तिका लागि होइनन्, हुने छैनन्”, लेखकीय मन्तव्यमा डा. भट्टराई लेख्छन्, “मेरा सबै भ्रमण पाठकको ज्ञान र सूचनाको निमित्त हऊन्, अन्तरप्रेरणाको निमित्त बनून्, नेपाली यात्रा साहित्यलाई अलिकति भए पनि उठाउनेगरी हउन्, नेपाली जातिलाई अलिकति मात्र भए पनि चिनाउने गरी हऊन्, सधैँ यस्तो उदेश्यले भ्रमणमा रुचि राखेको छु, लेखेको छ ।”
भट्टराईका यसअघि यात्रा/निबन्धात्म कृतिहरुमा “एक्लै एक्लै एक्लै”, “विश्वविद्यालयमा अग्निपूजा”, “सँगै बसौँ यो रात”, “गाधूलिमा दश पाइला”, “मिर्मिरेमा दश पाइला”, “आराधना”, “मेरो पहिलो बेलायत यात्रा”, “शिलाङ, तेजपुर, गुवाहाटी” र “निर्वाचित निबन्धावली” प्रकाशित छन् ।
भट्टराईको “मेरो दोस्रो बेलायत यात्रा”लाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो । २ सय ८६ पृष्ठमा फैलिएको कृतिको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।
४. फुटेका आशाहरु – दिपेन्द्रकुमार चौलागाईँ “चरी”
“फुटेका आशाहरु” दिपेन्द्रकुमार चौलागाईँ “चरी”को लघु-उपन्यास विधाको कृति हो । फुटेका आशाहरु आशा, भरोशा र निराशाको कथा हो । जब व्यक्तिमाथि राखिएको आशा निराशामा परिणत हुन्छ तब टुक्रन्छ मन, चारैतिर व्याप्त हुन्छ निराशा र अँध्यारो । यस्तै यस्तै परिवेशलाई मिहीन ढङ्गले समेटिएको उपन्यास हो “फुटेका सपनाहरु” ।
“नेपालमा गणतन्त्रात्मक कालखण्डको प्रारम्भ भएपछि त्यसका लागि गरिएको भनिएको सशस्त्र राजनीतिक विद्रोहसँग सम्बन्धित थुप्रै साहित्यिक कृतिहरु लेखिएर प्रकाशनमा आएका छन् । त्यसैक्रममा फुटेका आशाहरु पनि आएको छ ।”, शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री लेख्छन्, “राजनीतिबाट चिथोरिएर लड्नु न उठ्नुको दोसाँधमा रहेको समाजको सशक्त चित्रण गरिएको यस उपन्यासको कथा बलियो भए पनि कला कमजोर भएकाले सुगठित कथावस्तु र सुललित शिल्प दुवै खोज्ने बौद्धिक पाठकलाई यसले तृप्ति नदिन सक्छ, तर दुईमध्ये एकमा मात्रै पनि चित्त बुझाउने पाठकका लागिचाहिँ यो राम्रो मानसिक खुराक हुनेछ ।”
पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो । १ सय ३ पृष्ठमा फैलिएको कृतिको मूल्य १ सय २५ रुपियाँ रहेको छ ।
५. पाइलाहरु – हरि खनाल
“पाइलाहरु” हरि खनालको ऐतिहासिक कथासङ्ग्रह हो । पुस्तकभित्र “वीरता र बलिदान”, “श्राप”, “योगमती”, “विश्वासघात”, “आमा गुरुआमा”, “मीतबा”, “बहादुरको अन्त्य”, “प्रेमपागत सम्राट्”, “लुमडीमा काली, बेत्रावती र टिष्टा”, “मृत्युदण्ड”, “स्वाभिमानको मृत्यु”, “खलङ्गाको गर्जन”, “दासलाई लात्ती”लगायत २६ वटा कथाहरु सङ्ग्रहित छन् ।
“प्रस्तुत कथासङ्ग्रह नेपालको इतिहासका घटना र पात्रहरुसँग सम्बन्धित रहेको छ । कथाकारले यहाँ प्रस्तुत गर्नुभएका कुल छब्बीस कथाहरुमा इतिहासका वीरता, बलिदान, श्रद्धा, विश्वास, हत्या, विश्वासघात, शङ्का, राजनीतिक दाउपेच आदि इत्यादिको परिवेशसँग सम्बन्धित छन् ।” पुस्तकको भूमिकामा प्रा.डा. राजेश गौतम लेख्छन्, “तत्कालीन ललितपट्टका शासक वरदेवको वीरता र शत्रुराज्य कास्मीरका मन्त्री देव शर्माको देशभक्तिपूणर् कथा (वीरता र बलिदान) कथाको पहिलो क्रममा रहेको छ । भीम मल्लको वीरता, त्याग र उनीमाथिको विश्वासघात अनि त्यसै परिवेशले उनकी पत्नीलाई जबर्जस्ती सती पठाउँदा शासकहरुलाई मिलेको (श्राप) को कथा दोस्रो कथाको रुपमा सजिएको छ ।”
“यो कथा हो । कथामा कल्पना स्वभाविक हो तर ऐतिहासिक कथाभित्र गरिने कल्पना केवल प्रस्तुतीकरण र घटित घटनाका पात्र तथा समयसँग रहन्छन् ।”, लेखकीयमा हरि खनाल लेख्छन्, “मैले सकेको प्रयास गरेको छु । यसलाई कथाका रुपमा ग्रहण गरिदिनुहुन अनुरोध गर्दछु ।”
पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले बजारमा ल्याएको हो । २ सय २० पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ५० रहेको छ ।
६. प्रशान्तको तीरैतीर – गीत रेग्मी
प्रवासमा रहेर लामो समयदेखि साहित्य कर्म गरिरहेकी स्रष्टा गीता रेग्मीको नियात्रा कृति हो, “प्रशान्तको तीरैतीर” । सङ्ग्रहमा “मन आधाआधा भो”, “अस्पतालको दुख”, “स्याउबारीमा दुखेको मन”, प्याराको आगमन भिभिड लाइट”लगायत ३३ वटा नियात्राहरु सङ्ग्रहित छन् ।
“अस्ट्रेलियाका बारेमा धेरैले लेखेका छन् तर गीताको यो कृतिले ती अरु कसैले पनि नदेखेको पाटोको चित्रण गरेको छ ।”, पुस्तकको अन्तिम पृष्ठमा प्रशिद्ध नियात्राकार प्रतीक ढकाल लेख्छन्, “यो आफैँमा एउटा नलेखिएको कथा हो जो गीताको कलमबाट मात्र बाहिरिएको छ । कुनै पनि ठाउँका बारेमा कि त देख्नेलाई थाहा हुन्छ, कि त भोग्नेलाईः तर यो किताबकी गीतालाई द्रष्टा र भोक्ता दुवैको रुपमा देख्न सकिन्छ ।”
यसअघि रेग्मीका परिचय (कथासङ्ग्रह), पश्चिमाहरुको देशको देशमा (नियात्रासङ्ग्रह), पत्थरै पत्थर (नियात्रासङ्ग्रह) का साथै संयुक्त लेखनीमा केही कृतिहरु प्रकाशित छन् ।
पुस्तकलाई ओरिएन्टल पब्लिकेसनले प्रकाशनमा ल्याएको हो । १ सय ६० पृष्ठमा फैलिएको कृतिको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।
७. यता हुँदा उताको झझल्को – डा. देवेन सापकोटा
“यता हुँदा उताको झझल्को” नवीन शैली र संरचनामा लेखिएको डा. देवेन सापकोटाको नियात्रा कृति हो । कृतिमा पढ्दै जाँदा कतै गहिरो दर्शन पाइन्छ त कतै कविताहरुले हृदयलाई झंकृत गराउछन् । पुस्तकका विषयवस्तुहरु विभिन्न अध्यायअन्तर्गत राखिएको हुँदा कताकता एउटै कुरो दोहोरिएजस्तो पनि लाग्छ । पुस्तकमा भारतीय शब्दहरुको प्रयोग खुकुलो रुपमा गरिएको छ ।
“डा. सापकोटाले नेपाली माध्यममा पढेका होइनन् भन्ने कुरा यस नियात्राको भाषाले भन्दैन । भाषामा मिठास छ, प्रस्तुतिगत निपुणता छ ।”, भूमिकामा डा. इन्दु प्रभा देवी लेख्छिन्, “कतैकतै एक दुइटा भाषिक त्रुटि छाडेर समग्रमा यो कृति सराहनीय छ । उनको अन्तर्दृष्टि, सूक्ष्म निरीक्षण चेतना र घटनाक्रमको विश्लेषण क्षमताले पाठकलाई सँगसँगै रालेको यात्रा गराउँदछ, उनकै पछिपछि होइन साथसाथै अमेरिका घुमाउँदछ ।”
पुस्तकलाई पुर्वायण प्रकाशनले बजारमा ल्याएको हो । २ सय ९ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय नेपाल रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।