साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

स्वघोषित ‘गुफाबासी’ मनुजबाबु मिश्र

Chovar Blues Mobile Size
मनुजबाबु मिश्र

२०४६ सालको जन आन्दोलनपछि राजाले दलको प्रतिबन्ध हटाउने घोषणा गरेको र सम्वैधानिक राजा बन्न मञ्जुर भएको कतिपय कट्टर राजावादीहरुलाई मन परेको थिएन जो राजाको सकृय राजतन्त्रमा विश्वास गर्दथे । त्यसरी मन नपराउने अरुहरुले केके गरे कुन्नी तर मनुजवावु मिश्रले भने यौटा अनौठो निर्णय गरे-गुफावासी बन्ने । अर्थात् उनले आफ्नो निवासमा मात्र आफूलाई सीमित राख्ने कठोर निर्णय गरे । यो वास्तवमै आश्चर्यजनक निर्णय थियो र उनले आफ्नो जीवनकालमा यसलाई आफ्नै किसिम र तर्कले कायम नै गरे ।
मेरो मनुजबाबु मिश्रसँगको परिचय अक्षरबाट भएको हो । उनको चित्रकारिताको विषयमा मलाई खासै ज्ञान थिएन । तर जव उनको कलम निबन्धकारितामा तिब्र रुपमा चल्न थाल्यो, तिनै निबन्धहरुले मलाई तान्यो, मेरो मनलाई तान्यो, मेरो मष्तिष्कलाई तान्यो । उनको निबन्धको घनघोर प्रशंसक थिए नकुल सिलवाल । उनलाई मनुजबाबुको घत लागेको निवन्धका प्रसङ्गहरु सुनाइरहन्थे । र एकदिन नकुल सिलवालले मलाई यी गुफावासीको गुफामा लिएर गए । त्यसअघि उनीसँग मेरो त्यति लामो भेटघाट र भलाकुसारीको संयोग जुरेको थिएन ।
उनको चित्रै चित्रले भरिएको बेडरुममा पुगेपछि म साँच्चै साँच्चै छक्क परेको थिएँ । त्यसदिन मलाई लागेको थियो, बास्तबमा यी मान्छे यो धरतीमा चित्रकारिताकै लागि जन्मिएका हुन् । परम्परावादी वा अन्ध धार्मिक हिसावले हेर्ने हो भने भगवानले उनलाई यो धरतीमा चित्रकारिताकै लागी पठाएका हुन् भन्ने लाग्यो ।
त्यो पहिलो भेटमा थाहा भो, राजा वीरेन्द्रको शुभराज्याभिषेकको लागी दसरथ रङ्गशालामा बनाएर प्रदर्शन गरिएको राजा वीरेन्द्रको २५ फिट अग्लो तस्वीर उनले राखेको कीर्तीमान रहेछ । यति ठूलो तस्वीर कहिल्यै बनेको थिएन भन्ने उनको ठोकुवा थियो । त्यो भन्दा पनि त्यो तस्वीरको संरक्षण नगरिएको र नष्ट भएकोमा उनी असन्तुष्ट मात्र होईन, क्षुब्ध पनि देखिन्थे ।
नकुलजीले अघिल्लो दिन मलाई खवर गर्नु भएको थिएन । म घरमा खाना खाईवरी बसेको थिएँ । तर उनले मनुजबाबुले बोलाउनु भएको छ जाउँ भनेपछि मैले हुन्छ भनेको थिएँ र केहीवेरमा उनको मोटरसाईकलको पछि बसेर हामी मनुजबाबु निवास, गुप्तवासस्थान पुगेका थियौं । त्यहाँ पनि हाम्रो लागि खाना बनेको रहेछ । हामीलाई खाना खाने गरी नै बोलाइएको रहेछ ।
हामीले साथै शान्त दिवाभोजन गर्यौं । खाना खाईसकेपछि पुन: हामीलाई उनले बेडरुममा लगेर बसाए । उनको ओछ्यानको सिरानीमा सन फ्लावर तेलको ग्यालन थियो पानी भरिएको । अनि त्यसमा पाइप लगाइएको । खाटको मुनि खुट्टा तर्फ पनि पाइप लगाएको रित्तो सन फ्लावरको ग्यालेन । मनुजबाबुले बताए-माथिल्लो ग्यालनबाट सुती सुती पानी पिउने अनि खाटमुनिको ग्यालनमा चाहीं राती सुती सुती पाइप लगाएर मुत्र त्याग गर्ने ।
उनको कुरा सुनेपछि मलाई लागेको दिगमिग अहिलेसम्म पनि सम्झँदा त्यस्तै लाग्छ ।
उनले “ हर्मिताज” को परिकल्पना गरेको पनि सुनाएका थिए, एउटा महत्वाकाँक्षी योजना । उनी नेपालमा भन्दा विदेशमा बढी ख्यातिप्राप्त भन्ने हल्ला थियो काठमाडौंमा । उनका कृतिहरु अन्तरराष्ट्रिय बजारमा महँगोमा बिक्छ भन्ने पनि सुनेको थिएँ । उनीसँगको कुराकानीमा त्यो सही भएको पाएको थिएँ ।
त्यसदिन उनको घरमा गएको विषयलाई लिएर मैले एउटा निबन्ध लेखें-“ तीन छाक भात” । त्यो प्रकाशित पनि भयो । नकुलजी मार्फत उनको आँखामा पनि त्यो निबन्ध पर्यो । खुशी भए रे भनेर नकुलजीकै मुखवाट सुनेको हुँ ।
त्यसपछि मनुजबाबुको गुफामा तारिणीप्रसाद कोइरालाले नख्खु जेलमा लेखेको र जगदम्बा प्रकाशनबाट छापिएको काव्यकृतिको बिमोचन भयो । मनुजबाबु गुफाबासी भए पनि उनी एकान्तवासी भएनन् । उनी साथी भाईहरुलाई बोलाइरहन्थे । पत्रकार, साहित्यिक पत्रकारहरुलाई बोलाइरहन्थे, कति आफैं पनि सोध्दै खोज्दै जान्थे । उनलाई एकान्तवास वा भनौं गुफावास एक्लो, उच्चाटलाग्दो, निरसिलो थिएन । भनौं निरसिलो हुन दिएनन् उनले । उनी आफू गुफावासी भएको घोषणा गरे पनि समाजमा नगए पनि, समाज उनीकहाँ पुग्थ्यो किंवा उनी आफैं निम्तो गरेर वोलाउँथे । त्यसैले कतिपय उनलाई आलोचना गर्नेहरु उनको त्यो “गुफावास” लाई “ढोंग” पनि भन्थे ।
उनी अन्तरराष्ट्रिय कला प्रदर्शनीमा विश्वका विभिन्न मुलुकहरु पनि जान्थे । त्यो उनको गुफावास भित्रै पर्दथ्यो । उनी काठमाडौं वाहिरको साहित्यिक कार्यक्रममा सहभागी पनि हुन्थे । त्यो पनि उनको परिभाषामा “गुफावास” नै थियो ।
कवि द्वारिका श्रेष्ठले आफ्नो “चितवन जङ्गल लज” मा वर्षेनी “ साहित्य बन महोत्सव” को आयोजना गर्थे । त्यस कार्यक्रमका लागि हरेक वर्ष विभिन्न साहित्यकारहरु संयोजक हुने गर्थे । कवि द्वारिका श्रेष्ठको मनोज्ञान बुझेर सकेसम्म पहिला कहिल्यै सहभागी नभएका साहित्यकारलाई निम्त्याईन्थ्यो संयोजक मार्फत । म र ज्ञानुवाकर एकपल्ट अनि म आफू मात्र एक पल्ट गरी २ पल्ट संयोजनकारी भूमिकामा तथा “साहित्य वन महोत्सव” को स्मारिका मैले सम्पादन गरेको हुनाले सम्पादकको हैसियतले एकपल्ट गरी ३ पल्ट म सहभागी हुने मौका पाएको थिएँ साहित्य बन महोत्सवमा र ती मध्ये एकपल्ट मनुजबाबु मिश्र पनि सहभागी थिए । त्यो सहभागिता पछि पनि उनको गुफावासी हैसियतको वारेमा साहित्यिक बृत्तमा रमाइला चर्चाहरु चलेका थिए ।
मनुजबाबु मिश्रको एउटा सिध्दान्त थियो, “ पोट्रेट” भनेको सग्लो जिवित मानिसको सामुन्ने वसेर बनाइनु पर्छ । फोटो हेरेर बनाउनु त मूर्दा हेरेर बनाउनु हो भन्ने उनको मान्यता थियो । उनी हत्तपत्त कसैको पोट्रेट बनाउँदैनथे पनि । तर बनाउँथे भने सामुन्ने बसेर नै, जीवन्त । उनले एकपल्ट साहित्यकारहरुको पोट्रेट बनाउने अभियान शुरु गरेका थिए । गरिमाका तत्कालीन सम्पादक विष्णुबिभू घिमिरेको साथमा उनी पोट्रेट बनाउन पारिजात लगायत कतिपय साहित्यकारहरुको निवासमा पुगेका थिए र पोट्रेट बनाएका थिए ।
यात्रा, चित्र अनि चित्रकलालाई छोएर उनले सिर्जना गरेका निबन्धहरुले एकताक उनको निबन्धकार व्यक्तित्व चुल्याएको थियो । उनका अन्तर तरङ्ग, अनुहारका पानाहरु त्यस्तै निवन्धका कृतिहरु हुन् । राजधानीका सबैजसो प्रतिष्ठित पत्रिकाहरुमा उनका निबन्धहरु पढ्न पाइन्थे । उनी कलाकार भन्ने थाहा नपाउनेले पनि उनका निवन्धहरु भने पढेका हुन्थे । उनका निबन्धमा चुम्बकीय आकर्षण थियो ।
तर २०५६ सालमा यी “गुफावासी” चित्रकार निवन्धकार नयाँ अवतारमा देखा परे । त्यो अवतार थियो-उपन्यासकार अवतार । साझा प्रकाशनबाट उनको ”स्वप्न-सम्मेलन” उपन्यास प्रकाशनमा आयो र छोटो समयको अन्तरालमा यो उपन्यास “ टक अफ त टाउन” भयो साहित्यिक बृत्तमा । अद्भूत कल्पनाले भरिएको यो उपन्यास उनको महत्वाकाँक्षी “हर्मिताज” परियोजनासँग सम्वन्धित थियो । हर्मिताजमा पौराणिक-ऐतिहासिक व्यक्तित्वहरु सम्मिलित यौटा सम्मेलनको आयोजनाको परिकल्पना नै यो उपन्यासको अद्भुत कल्पनाशीलता थियो । पुराना पुस्ताका साहित्यकारहरु पनि यो उपन्यासले प्रभावित भए । कमल दीक्षित पनि यो उपन्यासले अत्यन्तै प्रभावित भए । उनले प्रभावित भएर तारिफ र चर्चा मात्र गरेनन्, यस्तो उपन्यास विश्व बजारमा जानुपर्छ भने । त्यसको लागि अङ्ग्रेजीमा अनुवाद हेतु ५० हजार नगद समेत उनलाई दिए । यो यौटा गजवको सुखद परिवेशको निर्मिति थियो मनुजबाबु मिश्रको लागि ।
यो उपन्यास डा. तारानाथ शर्माले अङ्ग्रेजी भाषामा अनुवाद गरे । त्यो अनुवाद बगर पत्रिकामा नकुल सिलवालले प्रकाशन गरे सम्पूर्ण पाठ एकै अङ्कमा र त्यसको अफ प्रिण्ट पुस्तक पनि प्रकाशन गरे-“ द ड्रिम एसेम्बली” । अनुवाद र प्रकाशनका लागि शुरुदेखि अन्त्यसम्मै नकुल सिलवालले सहजिकरण गरेका थिए । अङग्रेजीमा पनि प्रकाशन भएपछि स्वप्न सम्मेलनको चर्चा पुन: चुलियो ।
यसै बीच समय आयो मदन पुरस्कारको घोषणाको । भित्री मनै देखि मदन पुरस्कार लिन्न भन्ने नेपाली साहित्यकार नगन्य छन् नेपालमा बाहिरी रुपमा जतिसुकै मदन पुरस्कार विरोधी भए पनि । वर्षमा एकपल्ट मदन पुरस्कारमय हुन्छ नेपाली साहित्यको वातावरण, यसपाली कसले पाउँछ भनेर । अचानक “स्वप्न सम्मेलन” ले मदन पुरस्कार पाउँछ भनेर अन्दाजवाजहरुले अन्दाज ठोकिदिए । त्यो अन्दाजको डडेलो सल्कियो । थप अन्दाजवाजहरुले क्षेप्यास्त्रै ठोकिदिए, “मदन पुरस्कार भनेको कमल दीक्षित हो, कमल दीक्षित भनेको मदन पुरस्कार हो । अब कमल दीक्षितले पढेर, मन पराएर, किताबलाई अन्तरराष्ट्रिय जगतमा पुर्याउन नगदै पचास हजार दिइसकेपछि यो किताबले मदन पुरस्कार नपाए कुन पुस्तकले पाउने ?”
यो कुरा मनुजबाबुको कानमा नपुग्ने कुरै थिएन । उनलाई पनि यसपालीको मदन पुरस्कार पाउँछु भन्ने लाग्न थाल्यो । मनमा जे भए पनि उनलाई मुखले अग्रिम बधाई दिनेहरुको लर्को लाग्न थाल्यो । उनलाई मदन पुरस्कारले पूरै गाँज्यो । उनी आफैंले पनि यसो सूत्र लाएर बुझ्ने प्रयास गरे र सकारात्मक जवाफ पाए । अग्रिम बधाई पाए ।
तर २०५६ सालको मदन पुरस्कार “ अतिरिक्त अभिलेख” कविता सङ्ग्रहका लागि कवि दिनेश अधिकारीले पाउने घोषणा भयो । यो घोषणाले मनुजबाबु मिश्रलाई साफ तोड पर्यो । अघिल्लो साँझ सम्म अग्रिम बधाई दिनेहरुको फोन आउन छोडेको थियो । उनले पक्कै पाउने विश्वासमा वसेकाले उनलाई चोट परेको अनुभव भयो र यो असन्तुष्टिलाई उनले आफुभित्र सम्हालेर राख्न सकेनन् र यौटा लेख लेखेर त्यो असन्तुष्टि छताछुल्ल पारे । यो लेख प्रकाशित भएपछि कमल दीक्षित पनि दु:खी भए । एक पल्ट मैले यो सन्दर्भ कोट्याउँदा उनको भनाई थियो, “ त्यो उपन्यास मलाई मन परेको हो । मन परेकै भएर तारिफ गरेको हुँ र अनुवादका लागि मैले पैसा पनि दिएको हुँ । त्यसको मतलव मैले मदन पुरस्कार दिन्छु भनेको हो र थोडै । मैले दिएर दिईने हो र ! कस्ताकस्ता दिग्गज जाँचकीहरु हुन्छन् । किन उहाँले लेख्नु भयो मलाई त आश्चर्य लाग्यो ।“
यो प्रसङ्गले मनुजवावु मिश्र र कमल दीक्षित वीचको मीठो सम्बन्धलाई भने निश्चित रुपले तिक्त बनाइदियो ।
यसै सिलसिलामा सन् १९९९ मा साहित्यतर्फको नोवेल पुरस्कार पाउने गुन्टर ग्रासको उपन्यास “ द मिटिङ एट टेलगेट” पढेपछि भने म झसङ्ग भएँ । यो उपन्यास र स्वप्न सम्मेलनको कथ्याधार समान छ । गुण्टर ग्रासको उपन्यासमा सन् १६४७ मा जर्मनीका विभिन्न भागवाट भाषा साहित्यको छलफलका लागि बैठक गर्दछन् । यो सम्मेलन सिमोन दाखले आयोजना गरेका थिए । स्वप्न सम्मेलनमा पनि हर्मिताजमा दिवङ्गत प्रतिभाहरुको आत्माको बैठक बस्तछ । यो साम्यता किन ? यो संयोग मात्रै थियो कि प्रभाव ? यसले मलाई धेरैदिनसम्म रिंगाइरह्यो । तर पछि मैले सुनें, मनुजबाबुले “स्वप्न सम्मेलन” लेख्नुअघि त्यो उपन्यास पढेका थिएनन् रे !
“स्वप्न सम्मेलन” मनुजवावु मिश्रको एकमात्र उपन्यास हो । त्यो उपन्यासले सानो तिनो हलचल ल्याइदियो नेपाली साहित्यमा, मनुजबाबुको लेखन यात्रामा र मदन पुरस्कारमा पनि ।
चित्रकलाको क्षेत्रमा उनीद्वारा लिखित “ विश्व चित्रकलाको ईतिहास” महत्वपूर्ण ग्रन्थ हो । यसको महत्व र उँचाई निकै अग्लो र फराकिलो थियो ।
लेखनमा यता यसरी लागे पनि मनुजबाबुको चित्रकारितामा पूरै निरन्तरता थियो । विदेशी चित्रकारहरु उनलाई खोज्दै हर्मिताज आउँथे । उनले बनाएको त्यो संसारको सम्राट उनै थिए ।
उनी गुफावासी भएकोमा, बहुदल बिरोधी भएकोमा कतिपय पोलिटिसियनहरु खुशी थिएनन् । बि.सं. २०७३ सालको दशैंको शुभकामना दिनका लागि के.पी. शर्मा ओली मनुजबाबुको गुफावासमा पुगेका थिए । दशैंको शुभकामना दिने क्रममा उनले “ वहुदल बिरोधी मान्याता” मा पुनर्विचार गर्न आग्रह गरेका थिए । तर उनले आफ्नो निवाससम्म आएकोमा धन्यवाद दिएर त्यस आग्रहलाई टारिदिएका थिए ।
२०७३ साल असोजमा मनुजबाबुको आत्मकथात्मक कृति “ हर्मिताज:अढाई दशक गुफामा” बिमोचन भयो । विमोचन गरे शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले । प्रमूख वक्ता थिए-डा.तारानाथ शर्मा । पुस्तकको प्रकाशनको चाँजोपाँजो थियो घोष्ट राईटिङ्ग नेपालको । त्यो समारोहमा मनुजबाबु मिश्रका छोरा रविन्द्र मिश्रले पनि पिताको वारेमा बोले । तर जसको आत्मकथा हो उनी चाहीं अनुपस्थित थिए । कारण उनी गुफावासी भएकाले गुफामै वसे । पुस्तक बिमोचन चाहीं सार्वजनिक समारोहका वीच भयो ।
यी गुफावासी कलाकार तथा साहित्यकारको २०७५ साउन २३ राती हृदयाघातका कारण निधन भयो ।

प्रतिक्रिया
Loading...