विषयपरिचय
राजबाबु श्रेष्ठ सागर (वि.सं.२०२८) साहित्यको आख्यान र काव्य विधामा कलम चलाउँछन् । गीत मुक्तक गजलका साथै कविताको रचना गर्ने उनले २०७७ सालमा हराएका छोराहरू शीर्षकको कवितासङ्ग्रह प्रकाशित गरेका हुन् । यस सङ्ग्रहमा द्वन्द्वकालीन समय र राजनीतिक, सामाजिक विकृतिप्रति तीव्र व्यङ्ग्य गरिएका कविता सङ्गृहीत छन् । समकालीन नेपाली कवितामा नेपाली समाज, आर्थिक विषमता, राजनीतिक अस्थिरता, शोषण, सत्ताका निम्ति गरिएका हिंसा, विदेशी विस्तारवादी नीतिका विरुद्ध असन्तुष्टि व्यक्त गरिएको पाइन्छ । हराएका छोराहरूभित्रका कवितामा पनि नेपाली वर्तमान राजनीति र त्यसले मानव समाज तथा हृदयमा पारेको प्रभाव, सीमा मिचाइ, विपन्न वर्गप्रति सहानुभूति र शोषकप्रति विद्रोहजस्ता विषय समाविष्ट छन् । विद्रोह प्रगतिवादी साहित्यको एउटा प्रवृत्ति हो । सामाजिक परम्परागत संरचना, आर्थिक विभेद, शोषक र शोषितको अवस्था साथै ठुला देशले साना देशमाथि राख्ने औपनिवेशिक विचारधारा, जातीयताजस्ता पक्षलाई विषयका रूपमा लिई दमनको विरोध गरिनु नै विद्रोही स्वर हो । सामाजिक, राजनीतिक संस्थाप्रति आलोचनात्मक दृष्टि राख्दै वर्तमान साहित्य अगाडि बढेको छ, त्यसमध्ये कविता पनि एक हो । कवितामा मानवजीवनसँग जोडिएका सामाजिक, राजनीतिक पक्षलाई कलात्मक रूपमा प्रस्तुत गरिन्छ । हराएका छोराहरू सङ्ग्रहका कवितामा राजनीतिक, सामाजिक विकृति र विदेशी हस्तक्षेपलाई नाराविरोध नगरी व्यङ्ग्यका माध्यमबाट विद्रोह गरिएको छ जसले गर्दा कविता कलात्मक बन्न सकेका छन् । प्रस्तुत अध्ययनमा यस कवितासङ्ग्रहका कवितामा अभिव्यक्त शासनव्यवस्थाविरुद्ध स्वर र आर्थिक विषमताको स्वरसम्बन्धी आधारभूत अवधारणालाई विश्लेषणको आधार बनाइएको छ । यिनै आधारमा तत्तत् कविताको विश्लेषण गरी हराएका छोराहरू कवितासङ्ग्रहमा सङ्कलित कवितामा राजनीतिक तथा सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक रूपमा विरोध गरिएको निष्कर्ष निकालिएको छ ।
विद्रोही स्वरको अवधारणा
सामाजिक संरचना, राजनीतिक संस्था, संस्कृतिलगायत मानवसँग जोडिएका हरेक मुद्धाप्रति आलोचनात्मक दृष्टि राखी त्यसको परिवर्तनका लागि आवाज उठाउनु विद्रोह हो । यस्तो स्वर २०६२/०६३ पछिका कवितामा टट्कारो रूपमा सुनिन थालेको छ । समकालीन कविहरू वर्तमान राजनीति, सामाजिक परिवर्तनका परिघटना र नवचेतनाबाट बढी अनुप्राणित भई कवितामा पनि राजनीति, आर्थिक, सांस्कृतिक, जातिजस्ता विविध विषयमा विद्रोहको भाव अभिव्यक्त गरेको पाइन्छ । नेपाली राजनीतिमा देखापर्दै गएका कथनी र विभ्रमहरूले आजको कवितालाई सबभन्दा बढी स्पर्श गरेको देखिन्छ । त्यसैले समकालीन कविता कृतिमा ज्यादाजसो वर्तमानका राजनीतिक क्रियाकलाप र अभ्यासप्रति कठोर आलोचना, घृणा र तिरस्कारका भावहरू व्यक्त हुँदै आएका छन् (सुवेदी, २०७४ : ३४) । नेपाली कवितामा राजनीतिक अस्थिरता, कुशल नेतृत्वको अभाव, सत्ता चालकको देशप्रति गैरजिम्मेवारी, जनताको वास्तविक सन्तापसँग साक्षात्कार हुन नसक्नुजस्ता कमजोरीप्रति विद्रोहको भाव अभिव्यक्त गरिएको छ ।
यसका साथै वर्तमान समयका कविता राजनीतिक निणर्यमा विदेशी हस्तक्षेप, सीमा मिचाइ आदि औपनिवेशिक प्रवृत्तिको विद्रोहमा उत्रिएका छन् । यी कवितामा राष्ट्रिय स्वाधीनताको भावधारा, असमान सन्धिसम्झौताहरूको विरोध र अन्त्यको माग, सीमा अतिक्रमणको प्रतिवाद, अन्धराष्ट्रवाद र राष्ट्रिय आत्मसमर्पणवादको आलोचना, राष्ट्रहीतविपरितका कार्यहरूको भत्र्सना, साम्राज्यवाद, विस्तारवादको विरोध, भूमण्डलीकरण, नवउदारवाद, र उपभोक्तावादको आलोचना, पूणर् स्वाधीन र जनतान्त्रिक नेपालको स्वप्न आफ्नो स्वप्रतिको गभ्भीरता आदिको रूपमा प्रकट भएको पाइन्छ (गिरी, २०७३ : ८१) । आफ्नो राष्ट्रप्रतिको आघात, हस्तक्षेप, प्रतिगमनको विरोध गर्दै राष्ट्रिय भावको अभिव्यक्ति वर्तमानका कथामा पाइन्छ । छिमेकी देश तथा ठुला देशले नेपाल राज्यको आन्तरिक मुद्धामा देखाउने चासो, निणर्यका क्षेत्रमा गर्ने हस्तक्षेप, राजनीतिक पाटीभित्र ल्याउने खललमाथि समकालीन कविताले चर्को विरोध गरेका छन् । यसै सन्दर्भमा जगदीशचन्द्र भण्डारीले समकालीन नेपाली कविहरूले साम्राज्यवादी हस्तक्षेप र उत्पीडनको विरोधका साथसाथै त्यसलाई सहयोग पुर्याउने सामन्तवादी एवम् दलाल पुँजीपति वर्गको तिखो आलोचना गर्छन् (२०६०, ३८) भन्ने विचार राखेका छन् । वर्तमान समयका कविताले विदेशी हस्तक्षेपका साथै त्यसलाई सहयोग गर्ने राजनीतिक तथा अन्य निकायप्रति पनि व्यङ्ग्य गरेका छन् ।
राजनीतिका साथसाथै सामाजिक विभेद र त्यसप्रति सरकारपक्षको ध्यानाकर्षण नभएकोतर्फ पनि समकालीन कविहरूले आक्रोश व्यक्त गरेका छन् । जनताको दुःख निवारणका लागि युद्ध गरिएको भए पनि साथै देशका निम्ति धेरै नेपाली सहिद भए पनि वास्तवमा जनताको पक्षमा शासन नभएको भन्दै शासकहरू जनतालाई चुसेर मोटाउने प्रवृत्तिको विरोध वर्तमानका कवितामा गरिएको छ । समाजमा दुई वर्ग विकसित छन् । वर्गमा विभाजित समाजव्यवस्थामा एक वर्ग शोषकहरूको र अर्को शोषितहरूको हुन्छ । शासक वर्ग नै शोषक वर्ग हुन्छ र शोषित वर्ग जनता हो (पाण्डेय, २०६७ : १५७) । कवितामा जनतालाई शोषण गर्ने शासकको विरोध गर्दै शासनव्यवस्था परिवर्तन गर्नुपर्ने विचार अभिव्यक्त गरिएको पाइन्छ । वर्तमानका नेपाली कवितामा आर्थिक असमानता, शासकको प्रगति र जनताको दयनीय अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भोक अँगाल्नुपरेको विवशताप्रति तिखो प्रहार गरिएको छ । समाजवादी कविता मानवजातिको साम्यवादी भविष्यप्रति आस्थावान्, सर्वहारा वर्ग र उसको शक्ति, सङ्गठन एवम् सङ्घर्षप्रति विश्वस्त र जीवनप्रति निष्ठावान् हुन्छ (पाण्डेय, २०७३ : ११), कलाकारहरू जनताका ती बिचमा रहनुपर्छ र साहित्यमा राजनीति आम जनताको केन्द्रीय रूपमा अभिव्यक्त हुनुपर्छ भन्ने लू सुनको विचारमा सत्ता र शक्ति तथा जनताप्रति प्रगतिवादी समाजवादी भाव अभिव्यक्त भएको देखिन्छ ।
प्रस्तुत अध्ययनमा प्रगतिवादी साहित्यको आर्थिक असमानता,शक्ति, सत्ता र जनताको सम्बन्ध र विद्रोह, स्वच्छन्दतावादी साहित्यको राष्ट्रवाद, उपनिवेशलाई समर्थन गर्नेप्रति विरोधका आधारमा हराएका छोराहरू कवितासङ्ग्रहका कविताको विश्लेषण गरिएको छ । यहाँ कविता विश्लेषणका लागि विद्रोहसम्बन्धी अवधारणालाई आधार बनाई नेतृत्वशक्तिप्रति विरोध, राजनीतिक पार्टीभित्रको कलह, आर्थिक विषमता, भ्रष्टाचार, जनतामाथि राज्यको शोषण र त्यसको विरोधजस्ता पक्षलाई लिइएको छ ।
हराएका छोराहरू कवितासङ्ग्रहका कवितामा अभिव्यञ्जित विद्रोही स्वर
कवितामा विद्रोहको स्वर पहिलेदेखि नै अभिव्यञ्जित हुँदै आए पनि लोकतन्त्रपश्चात्का कवितामा अझ स्पष्ट देखिन थालेको छ । २०६२/६३ सालको लोकतान्त्रिक आन्दोलनपछि जारी गरिएको नेपालको अन्तरिम संविधान, २०६३ ले स्थापित गरेका राज्यका मूल्य मान्यताहरू, गणतन्त्र, समावेशिता र सङ्घीयताका क्रियाप्रतिक्रियालाई नै समकालीन नेपाली कविताले आफ्नो प्रष्ट आवाज बनाएको छ (एटम, २०७२:३३) । हराएका छोराहरू कवितासङ्ग्रहका कवितामा लोकतन्त्रका लागि गरिएको युद्ध र त्यसको परिणतिपश्चात्को परिस्थितिलाई चित्रण गरिएको छ । जति सङ्घर्ष गरिए पनि जनताको दुःख वास्तविक रूपमा निवारण हुन नसकेको र जनताको त्याग र बलिदान खेर गएको भावका साथै यी कवितामा सत्ताचालकहरूले सहिदका सपना साकार हुन नदिएकोमा विद्रोह गरिएको छ । जनता र देशको विकासका नाममा आफ्ना महŒवकाङ्क्षा पूरा गरेको तर जनता झन् गरिबीमा बाँच्न विवश बनेको परिस्थितिमा यस सङ्ग्रहका कविताले व्यङ्ग्यभाव अभिव्यक्त गरेका छन् । यी कवितामा विशेषतः राजनीतिक व्यवस्था र असमान आर्थिक अवस्थाप्रति विद्रोह प्रकट गरेका छन् । यस अध्ययनमा कवितामा व्यक्त यिनै विद्रोही भावको विश्लेषण गरिएको छ ।
(क) राजनीतिक विकृतिप्रति प्रहार
वर्तमान समयका अधिकांश कवितामा विसङ्गतिपूणर् राजनीतिक अभ्यासप्रति चर्को स्वर अभिव्यञ्जित भएको पाइन्छ । राजनीतिक परिवर्तनपश्चात् नागरिकका समस्या समाधान भई अधिकार प्राप्त हुन्छ र त्यसका लागि राजनीतिक व्यवस्था परिवर्तन हुनुपर्छ भन्दै विभिन्न आन्दोलन गरिए पनि वास्तवमा नागरिक अधिकार प्राप्त नभएको र नेतृत्वकर्ता सत्ताकै निम्ति लडिरहेको वर्तमान समयका कवितामा पहिलेका भन्दा पृथक् खालको परिवर्तन हुनुपर्ने स्वर मुखरित भएको सुनिन्छ ।
हराएका छोराहरू सङ्ग्रहका कवितामा राजनीतिक पाटी्र्रभित्र भइरहेको कलह र मिलन, व्यक्तिगत स्वार्थलाई प्रस्तुत गर्दै त्यसप्रति प्रहार गरिएको छ । ‘मद्य पिएपछि’ कविताको विद्रोही स्वर यस्तो छ :
बडाबा र काकाबा मद्य पिएपछि
कुटाकुट गर्छन् आफैँआफैँमा
जब नशा उत्रिन्छ
मचानबाट हजुरबुबा उत्रिएझैँ गरी
तब दुवैजना दुईतिर उभिएर फरिको बुनिरहन्छन् ।
मानौँ कि,
हिजो भएका कलह
दुवैलाई थाहै नभएझैँ गरी (२१)
यहाँ राजनीतिक विभिन्न पार्टीका व्यक्ति सत्ताको नशामा मातिएर आपसमा झगडा गर्ने र पुनः स्वार्थका निम्ति मिल्ने प्रवृत्तिप्रति माथिको कवितांशले प्रहार गरेको छ । यहाँ राजनीतिक पार्टीबिचको अस्थिर सम्बन्ध, कहिले जुट्ने र कहिले फुट्ने प्रवृत्तिप्रति कविताले चर्को स्वर अभिव्यक्त गरेको छ । आन्दोलन र सहिदको बलिदानपश्चात् राज्य निरङ्कुशताबाट बाहिर आए पनि देशमा नागरिकका दुःख समनका लागि कुनै काम भएनन् साथै राजनीतिक शक्तिमा पुगेपछि सिर्जना भएको दम्भका कारण नागरिकको दुःखमा दृष्टि पुर्याउन नसक्ने मानिस जतिसुकै माथि पुगेको भान भए पनि त्यो उचाइमा पुग्न नसकेको भाव ‘उठेको गधाभन्दा बसेको हात्ती नै अग्लो हुन्छ’ कवितामा यसरी अभिव्यञ्जित छः
आशाको अक्षता मुछेर
भ्यागुताको निधारमा टीको
र कानमा आशीर्वादका जमरा लगाइदिँदैमा
ऊ कहिल्यै राजा नहुँदो रहेछ
यत्ति बुझ्नू सबैले
गधा उठेर जत्तिकै आङ कुप्रो पारी तन्काए पनि
उठेको गधाभन्दा बसेको हात्ती नै
अग्लो हुँदो रहेछ (२४)
यहाँ अयोग्य मानिसलाई राज्य सुम्पिएर सत्ता सञ्चालन गर्न दिए पनि ऊ सच्चा शासक बन्न नसक्ने भाव अभिव्यञ्जित छ । यस कवितांशमा राज्यसत्तामा असल नेतृत्वको अभाव रहेको भन्दै वर्तमानका सत्ताधारीभन्दा पृष्ठभूमिमा रहेका व्यक्ति महान र योग्य छन् भन्ने भाव व्यक्त गर्दै शासकप्रति प्रहार गरिएको छ । व्यक्तिगत स्वार्थपूर्तिका लागि शान्ति, राष्ट्रको नाम जप्दै हिंसा गरेकोप्रति यस सङ्ग्रहका कविता विद्रोह गर्दछन् । पहिले बनेका संरचना र शासकका सालिक ढाल्दैमा गरिबको उत्थान नहुने बरु आन्दोलन, हिंसाले गरिबका सपनाको पनि हत्या हुने भाव ‘देश आफैँ बन्द छ’ कवितामा अभिव्यक्त छ । मान्छेको बली दिएर नेपाल आमा खुसी नहुने तर जाति, धर्मका नाममा गरिएका युद्धले शान्तिका नाममा आतङ्क ल्याउने हुँदा हृदयमा राष्ट्रघात बोकेर बाहिर राष्ट्रवादको नारा लगाउँदै हिँड्नेप्रति कवितामा यस्तो प्रहार गरिएको छ ः
ए मूर्खहरू हो !
बुद्धका नाममा हिंसा मच्च्याएर कसरी देश बन्दछ ?
शान्तिका नाउँमा बारुदका तोप पड्काएर
कसरी शान्ति आउँछ ?
बनाउनु नै छ भने देश पहिले
ढलेका दशगजाहरू उठाउन सिक
बनाउनु नै छ भने देश पहिले
आफ्नै छातीभित्र देशभक्तिका बिउ उमार्न सिक
बनाउनु नै छ भने देश पहिले
मन्दिरका आस्थाका पुजारी बदल्न सिक
बदल्नु नै छ भने देश पहिले
रोप टुँडीखेलमा शान्तिका बोधिवृक्ष
बुद्ध फेरि जन्माइरहनु पर्दैन
गर सुरक्षा आफ्नै दिदी र बहिनीका आबरुको
अनि बोक झण्डा सिङ्गो राष्ट्रको
र चौडा बनाऊ गोरेटा बाटाहरू विकासका
उठाऊ गुम्बा शान्तिका
देश बनाउनु पर्दैन
देश आफैँ बन्दछ । (२७)
प्रस्तुत कवितांशमा देशमा शान्ति ल्याउने र देश बनाउने बहानामा गरिएको युद्धले झन् विनाश निम्त्याएको, त्रास फैलाएको हुँदा देशभक्ति बोलीमा नभई हृदयमा हुनुपर्ने भाव अभिव्यक्त छ । देशको सीमा मिचिएको, चेलीहरू बलात्कार र हत्याको सिकारमा परेको अनि देशभक्ति छोडेर साम्प्रदायिक भावना विकास भएको समयमा देश बन्न नसक्ने र यी सबै रोकिएमा देश आफैँ बन्ने र कसैले बनाउन नपर्ने भाव यहाँ अभिव्यञ्जित छ । देशको सिमाना मिचिएर नेपाल र नेपालीको पहिचान गुम्न लाग्दा पनि सत्ताको खेल खेल्ने र देशको पीडा नबुझी आफ्नो स्वार्थका निम्ति नाटक गरिरहेका नेतागणलाई ‘भन न सरकार तिमी कस्ता जात हौ’ कविताले व्यङ्ग्य गरेको छ । देशमा हत्या, हिंसा, बलात्कारका घटना घटिरहेको र अपराधीलाई सजाय नदिई संरक्षण दिएकामा यो कविताले आवाज उठाएको छ । छिमेकी राष्ट्रले नेपालको सिमाना मिचिरहेको अवस्थामा सरकारले देश बचाउने नीति नल्याएको र भाषण गरी समय खेर फालेकामा विद्रोही भाव अभिव्यक्त भएको सन्दर्भ यस कवितामा यसरी आएको छः
आफ्नै आमाका हातखुट्टा र छाती हुन् लिपुलेक
लिम्पियाधुरा र कालापानी
भन न सरकार !
तिमी आफ्नै आमा च्यातिरहँदा
देख्न सक्दैनौ भने
किन लिएर आयौ
ती तिम्रा एकजोर आँखाहरू ?
मौन बस्नु नै थियो भने
किन ब्युझाउँछौ तिमी मुर्दा नाराहरू
जसको कुनै अस्तित्व छैन देशमा
किन फलाक्छौ उखान र टुक्काहरू
आज देश दुखिरहँदा
तिमी विकलाङ्गझैँ रङ्गमञ्चमा अभिनय गरिरहेछौ
भन न सरकार !
तिमी यस देशका हो कि होइनौँ ? (३५)
यहाँ जुनसुकै भूमि पनि देशकै अङ्ग भएकाले त्यसमा चोट पर्दा सबैको हृदय दुख्नुपर्ने हो तर सरकारमा बस्ने व्यक्तिले आँखा चिम्लिएर नदेखेझैँ गरी मौन बसेकामा तिमी यस देशका हौ कि होइनौँ ? भन्दै प्रश्न गरिएको छ । राजनीतिक परिवर्तन ल्याउने नाउँमा जनतालाई सडकमा ल्याएर आन्दोलनमा सहभागी गराउने तर आफू सत्तामा पुगेपछि जनताको योगदान, त्याग र बलिदान बिर्सिएर आफ्नो स्वार्थ पूरा गरिरहेका शासकप्रति ‘कस्तो भोक हो त्यो’ कवितामा आवाज उठाइएको छ जुन यस प्रकार छ:
आफ्नै हातका डमरू सम्झी बजाउनु बजायौ
आफ्नै बाँदर सम्झी मलाई नचाउनु नचायौ
सम्झ त एकफेर
कस्तो भोक हो त्यो ?
आफू अघाउनलाई नङ्ग्य्राउनु नङ्ग्य्रायौ ।
सम्झ त एकफेर
जाऊ त एकफेर
तिम्रो नोस्टाल्जिक दुनियाँमा
जहाँ भोकहरू खर्कमा चरेर अघाउनु अघाए । (३७)
यहाँ आफ्नो स्वार्थ पूरा गर्नका लागि अरूको शोषण गर्ने र आफ्नो स्वार्थ पूरा भएपछि बेवास्ता गर्ने स्वार्थी प्रवृत्तिमाथि प्रहार गरिएको छ । अरूलाई शोषण गरेर आफू सत्तामा पुग्ने र त्यहाँ पुगेपछि पहिलेका सबै बिर्सिएकालाई कविताले स्मृतिमा फर्कन र जनताको अवस्था हेर्न अनुरोध गरेको छ । सत्ता र शक्तिको नजिक हुनेले धेरै पाए तर त्यसबाट किनारीकृत भएका र देशका लागि ज्यानको बली दिने सहिदले सहिद सर्वनाम बाहेक अरू केही पाउन नसकेको भाव ‘सहिदको एक सर्वनाम’ कवितामा अभिव्यक्त छ । सहिदको त्याग र बलिदानले देशमा परिवर्तन आएको तर आफ्नै स्वाभिमान् झुकाएर प्रसिद्ध बनेका शासकहरू सहिदको सपना बिर्सिएर आफ्नै संसारमा रमाएकोमा विद्रोहको भाव कवितामा यसरी अभिव्यक्त छ :
ए झन्डा झुकाएर
प्रसिद्धि कमाउनेहरू हो
भन त तिमीहरूले केके पाका’छन् ?
म त भन्छु,
तिमीहरूले सर्वस्व पाएका छौ
तर, जसले देशका निम्ति आफूलाई नै बलि दिए
उसले केवल सहिदको एक सर्वनाम पाको’छ । (३९)
यहाँ शासकले आफ्ना चाहनानुसार धेरै पाएका होलान् तर जसले देशका निम्ति आफ्नो आहुति दियो त्यसले सहिदको नामबाहेक अरू केही पाएको छैन भन्दै विद्रोही विचार अभिव्यक्त गरिएको छ । देश र जनता पीडित रहेको वर्तमान परिवेशमा पुलिस प्रशासन, सेना, समर्थक जनताले नेतामाथि जीवित र मृत दुवै अवस्थामा सलामी ठोकेको, जनता र देशप्रतिको जिम्मेवारीबोध नगरी सत्ताको अन्धसमर्थन गरेकोमा ‘ठोक सलामी ए मलामीहरू हो’ कविताले प्रहार गरेको छ । सहिदले आफ्नो जीवन त्यागेर सुरक्षित बनाएको देश आफ्नो स्वार्थका लागि प्रयोग गरिरहेको र अन्य व्यक्तिले त्यसमा समर्थन गरेकोमा कवितामा यसरी आक्रोश पोखिएको छ :
कुनै एक दिन देशै बिक्री हुनेछ यिनैका हातबाट
ठुला ठेकेदारहरूका हातमा
त्यस दिन,
आर्यघाट पनि स्वतः बिक्री हुनेछ
फेरि कुन घाटका चितामा सुताएर सलामी ठोक्छौ ?
ए बर्दी लगाउनेहरू हो !
ठोक सलामी !
जिउँदो हुँदा पनि ठोक सलामी
मरेपछि पनि ठोक सलामी
आफ्नै देशका समृद्धिका
रुखहरू जरैदेखि ढाल्नेहरूलाई । (४६)
यहाँ देशका जडिबुटी, नदीलगायत अमूल्य सम्पत्ति विदेशमा बिक्री भइरहेको वर्तमान परिस्थितिमा अब कुनै दिन शासकका हातबाट देश नै बेचिन सक्ने र सुरक्षाकर्मी जो देशको रक्षार्थ खटिएका छन् उनीहरूले अन्धसमर्थन गर्ने र सलामी ठोकिरहने भन्दै आवाज उठाइएको छ । शासकहरू जीवित हुँदा पनि सलाम ठोक्ने र मरेपछि पनि सलाम ठोक्ने, समृद्धिको अन्त्य गरी विनास निम्त्याउनेहरूकै समर्थनमा जुट्नै सबैप्रति यो कवितांशले व्यङ्ग्य गरेको छ । सबै भोको भएको र आफूले भोक मेटाउन सबैले खाने र त्यसको अन्त्य नहुने वस्तु खाएको तर सत्ताधारीले आफ्नो भोक मेट्न धेरै जनतालाई खाएको, उनीहरूको सपना खाएको तर पनि भोक नमेटिएको भाव ‘तिमीले आफैँले आफैँलाई खायौ’ कवितामा अभिव्यञ्जित छ । आफ्नो स्वाभिमान् गुमाएर नेपाली जनताको सपना हत्याउनेप्रति कविताले यसरी विद्रोह गरेको छ :
पूर्व खायौ
पश्चिम खायौ
सपना खायौ
समृद्धि खायौ
सत्र हजारका सपना खायौ
यहाँसम्म कि,
आफ्नै स्वाभिमान खायौ (५०)
यहाँ देशको विकास र समृद्धिका लागि सत्र हजार नेपालीले आफ्नो जीवनको बलिदान दिएर सहिद बनेको सन्दर्भ र त्यस बलिदानको मूल्य नबुझी आफ्नै स्वार्थमा निमग्न शासकप्रति प्रहार गरिएको छ । देशपरिवर्तन र नागरिक शासनको कल्पना गर्दै भएको २०६२/६३ को आन्दोलनमा सत्र हजार नेपालीले ज्यान गुमाउनुपरेको तर लोकतन्त्र प्राप्तिपश्चात् ती सहिदका सपना साकार हुन नसकेको भन्दै कवितामा संसद, व्यवस्थापिका, न्यायपालिका सबै हराएको भाव ‘सहिदका घाइते पाइलाहरू’ कवितामा व्यक्त छ । जनताको प्रतिनिधित्व गरी कानुन निर्माणका तहमा रहेको व्यवस्थापिका जनतामुखी नभई सत्तामुखी भएको स्वर यस कवितामा यसरी अभिव्यञ्जित छ :
साँच्चै भनूँ,
बानेश्वरभित्रभित्रै व्यवस्थापिका नै हराएपछि
आफ्नै देशभित्र हराएका सहिदका
घाइते पाइलाहरूले टेकेका रगताम्मे
ती राता डोबहरू खोजिरहेछु । (५३)
यहाँ सहिदले आफ्नो रगत बगाएर ल्याएको लोकतन्त्रलाई त्यसको कार्यान्वयनमा बसेका शासकहरूले बिर्सिएपछि देश झनै अन्योलमा परेको व्यवस्थापिकाले आफ्नो भूमिका निर्वहन गर्न नसकेको र जनताले समृद्धि, न्याय, अभिभावकत्व पाउन नसकेको सन्दर्भमा कवितामा सहिदका घाइते पाइलाका रक्तिम डोबको खोजी गरिएको छ । सत्ता चलाउने दक्षता नभएकाले देशको विकास र जनताको सपनालाई गन्तव्यमा पुर्याउन नसक्ने र सत्ताका निम्ति होडबाजी भएकाले अदक्ष व्यक्तिले सत्ता छोडेर दक्ष व्यक्तिलाई सुम्पिनुपर्छ भन्ने स्वर ‘आततायीहरू’ कवितामा अभिव्यक्त छ । सहिदका सपना पूरा गर्न र देश चलाउन नसक्नेले सत्ता छोड्नुपर्ने र योग्य व्यक्ति शासक बन्नुपर्ने आवाज यस कवितामा यसरी उठाइएको छ :
ए सारथि !
भोभो, रथलाई विश्राम देऊ
फेर्नु छ मलाई अब्बल सारथि
र जन्माउनु छ एउटा कुन्तीपुत्र अर्जुन (५५)
यहाँ देश वा शासन सक्तालाई रथको संज्ञा दिई जोसँग शासन कौशल छैन उसले पद छोड्नुपर्ने र योग्य व्यक्तिलाई सत्ता चलाउन ठाउँ दिनुपर्छ भन्ने आवाज उठाइएको छ । देशको भूमि मिचिएको र त्यसमा कुनै चासो नदेखाएका सरोकारवालाप्रति ‘पिँजडाभित्रको स्वतन्त्रता’ कविताले व्यङ्ग्य गरेको छ । लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालको भएको र वर्तमान समयमा त्यो भूमिमाथि हस्तक्षेप भएको तर सत्ताधारीलाई त्यसको कुनै असर नपरेको भाव यस कवितामा चित्रित् छ । मिचिएको भूमिमा, पोखिएको र त्यो भूभाग च्यातिँदा शासकमा पीडा हुनुपर्ने र आफ्नो गुम्न लागेको स्वाभिमान बचाउन प्रयत्न गर्नुपर्नेमा मौन बसेको देख्दा कविताले विद्रोह गरेको छ । सहिदको रगत, आमाको चित्कार सहिदको बलिदानले पाएको यो राज्यलाई स्वार्थपूर्तिका लागि प्रयोग गर्नेप्रति कवितामा यस्तो प्रहार गरिएको छ :
ए कानहरू हो !
किन सुन्दैनौ हँ ?
चिहानबाट आएका सहिदका आवाजहरू
ए आँखाहरू हो !
किन देख्दैनौ हँ ?
सहिदका छातीका आलो घाउबाट
बगेका रगतका अरुण र कणर्ालीहरू
ए बरफहरू हो !
किन पोल्दैन हँ ?
तिमीहरूका छाती
मेरोझैँ स्वाभिमानको आगोले (५९)
यहाँ सहिदले बगाएको रगत अझै ताजा रहेको तर त्यो नदेख्ने, सहिदको क्रन्दन पुकार नसुन्ने शासकप्रति प्रश्न गरिएको छ । आँखा, कान र हृदय भए पनि त्यसमा स्वाभिमान र इमानको सञ्चार नहुनेप्रति आक्रोस व्यक्त गरिएको छ । आम जनताको हृदय स्वाभिमानको आगोले जलिरहेको तर सत्तामा बस्नेहरू शान्त र निर्जीव बनेकामा कविताले प्रहार गरेको छ । सहिदको बलिदानसँगै देशको विकास र नागरिकको सपना पनि सुषुप्त बनेको, सहिदको त्याग अर्थहीन बनाइएकामा ‘भन तिमीले देशलाई के दियौ कवितामा यसरी प्रश्न गरिएको छ :
म निदाएसँगै मेरो देश पनि निदायो
म सहिद भएसँगै मेरो देश पनि सहिद भयो
तिमी अझै सोधिरहेछौ
तिमीले देशलाई के दियौ भनेर ?
मैले आफैँले आफैँलाई आहुति दिएँ
मैले आफैँ र आफ्नै स्वाभिमान दिएँ
अब तिमी भन,
तिमीले देशलाई के दियौ ?
केवल धोकासिवाय
सक्छौ भने एकफेर तिमी
मजस्तै सहिद भएर देखाऊ । (७१)
यहाँ देश समृद्ध बन्ने सपना सहिदसँगै सहिद भएको र देशका निम्ति आफ्नो जीवनको बलिदान दिने सहिदलाई के गर्यौ र भन्ने प्रश्न गर्नेप्रति प्रहार गरिएको छ । सहिदले देशका लागि आफ्नो जीवन अर्पण गरेको, आफ्नो स्वाभिमान दिएको भन्दै सत्ताचालकले देशका लागि के दियौ भनी सहिदका तर्फबाट प्रतिप्रश्न गरिएको छ । हृदयमा देशभक्ति, स्वाभिमान छ भने आफूजस्तै सहिद बनेर देखाउन चुनौति दिँदै कवितामा शासकले देश र जनतालाई धोकासिवाय केही नदिएकोमा आक्रोश व्यक्त गरिएको छ । यसरी देशको स्वाभिमान, सहिदको सपना र जनताको भरोसा लुटेर आफ्नो स्वार्थमा लिप्त हुने शासकलाई हटाउनुको विकल्प नरहेको भाव ‘भोकाएका कुर्सी’ कवितामा यसरी अभिव्यक्त छ :
भोकाएका बुढा कुर्सी अनि तिनमा लुकेर बसेका
रगत चुस्न पल्केका उडुस र उपियाँलाई
कुर्कुच्चाले विष्ठा निस्कने गरी नरगडेसम्म
हाकिम फेर्नुको कुनै विकल्प छैन । (७३)
यहाँ भ्रष्टाचार र सत्ता, सम्पत्तिको भोकमा डुबेर उडुस, उपियाँझैँ जनताको रगत चुस्न पल्केकाहरूलाई अवशेष पनि नरहने गरी हटाउनुको विकल्प छैन भन्ने भाव अभिव्यञ्जित छ । समग्रमा देशको समृद्धि, जनताको प्रगति र समानताका निम्ति सहिदको बलिदानबाट लोकतन्त्र ल्याए पनि जनताको स्तरमा सुधार नभएको, शासकले आफ्नो स्वार्थमात्र पूरा गरेको वर्तमान राजनीतिक परिवेशप्रति यस सङ्ग्रहका कविताले आवाज उठाएका छन् ।
(ख) आर्थिक विपन्नताको स्वर
आम जनताको आर्थिक समृद्धि र निम्न वर्गका मानिसको उत्थानका निम्ति समयसमयमा आन्दोलन गरिँदै आइएको छ । विद्रोह गरी राजनीतिक परिवर्तन भए पनि जनताको अवस्थामा कुनै सुधार नआएको यथार्थको चित्रण र शासक भोगविलासमा मत्त भई जनताको भोक बुझ्न नसकेको भन्दै वर्तमानका कविताले विद्रोहको आवाज उठाउँदै आएका छन् । हराएका छोराहरूभित्रका कवितामा पनि भोकका लागि जनताले गर्नुपरेको सङ्घर्ष प्रस्तुत गर्दै शासकप्रति व्यङ्ग्य गरिएको छ । भोक मेट्न फुटपाथमा उभिन बाध्य हुनुपरेको, त्यहाँ बस्दा बलात्कार, दुव्र्यवहारको सिकार हुन विवश व्यक्तिको यौवन चोरिए पनि भोक नचोरिएको पीडादायी अवस्थाको चित्रण गर्दै त्यसतर्फ राज्यको दृष्टि पुग्न नसकेको स्वर ‘मेरा भोकहरू भोकभोकै निदाउँछन्’ कवितामा अभिव्यक्त छ । आफ्नो भोक मेट्न नसकी छटपटाएका मानिसमा अरू कुनै भोकले स्थान लिन नसकेको भाव कवितामा यसरी चित्रित छ :
मेरा भोकहरू जहिल्यै भोकभोकै निदाउँछन् ।
थाहा छैन मलाई
कहाँ हुन्छ यौवनको उदर
र कहाँ लाग्छ यौवनको भोक
मलाई त यत्ति थाहा छ
केवल मलाई भोक लाग्छ भोक
र त विछ्याउँछु आफ्ना ती भोका भोकहरू
असरल्ल पारेर सहरका फुटपाथहरूमा (२३)
यहाँ भोक पनि भोकभोकै निदाउन विवश भएको मार्मिक अवस्थाको चित्रण गरिएको छ । पेटको भोक मेट्न नसकेको अवस्थामा यौवनको भोकको अनुभूति गर्न नसकिएको र आफ्नो भोक भेट्नका निम्ति फुटपाथमा बस्न विवश हुनुपरेको वर्तमान अवस्थाको चित्रण गर्दै कविताले त्यो भोक देख्न र मेट्न नसक्ने शासकप्रति व्यङ्ग्य प्रहार गरेको छ । त्यस्तै देशमा गरिबी झन् बढदै गएको, भोकका कारण शरीरको लाज पचाएर नाङ्गो हुनुपरेको विवशता साथै सभ्यता र संस्कृति हराएर सहर सबै नाङ्गो भएको वर्तमान परिवेशको चित्रण गर्दै आफूभित्र अनेकन व्यथा भएको स्वर विपन्न वर्गका मान्छेका कोणबाट ‘फेरि मलाई दिगम्बर हुनु छैन’ कवितामा अभिव्यक्त गरिएको छ । भोकको छटपटी मेट्नका निम्ति यौनव्यापारको सिकार हुनुपरेको तितो यथार्थमाथि कविताको स्वर यस्तो छ :
ए लाज !
आऊ न छोपिदेऊ मेरा सम्पूणर् दिगम्बरहरू
सभ्यताको खास्टो बनेर
अभाव र भोकहरूमा फेरि मलाई दिगम्बर हुनु छैन
सभ्यताकै दोसल्ला च्यातेर
कसरी म यौन व्यापारको बिगुल फुकूँ हँ ? (६४)
आफूमा पनि लाज रहेको तर भोक र अभावका कारण निर्वस्त्र हुँदा यौनको सिकार हुनुपरेको यथार्थ माथिको कवितांशमा चित्रण गरिएको छ । सभ्यता, लाज, घिन बिर्सिएर दिगम्बर हुन नसकिने तर भोक र अभावका कारण यौनव्यापारमा लाग्न विवश हुनुपरेको अवस्थामा यस कवितांशमा भोक भेट्नका निम्ति कसरी यौनव्यापारमा लागौँ भन्दै प्रश्न गरिएको छ । हाम्रो समाजमा एकातिर सत्ताको भोक छ भने अर्कोतर्फ खान नपाउनुको पीडा छ । सत्ताको भोक मेट्न दौडिएकाले निम्न वर्गका मानिसको भोक कुल्चिरहन्छन् र बधाईको सङ्गीतमा नाचिरहन्छन् । एक पेट भर्न र घाम छेल्न आमाको मायालु काख र थोत्रो मजेत्रो भए पुग्ने तर देश भोकाएको र सपनाको समाधि भइरहेको परिस्थितिमा नेतागण बधाईका उन्मादमा रमाइरहेकोप्रति ‘म एउटा भोको पेट’ कविताले व्यङ्ग्य गरेको छ । नेताहरूको भोक मेटिनुसँग आफ्नो भोकको कुनै सम्बन्ध नभएको भाव कवितामा यसरी अभिव्यञ्जित छ :
भोकहरूलाई नै भोकहरूले कुल्चिएर
बधाईका उन्मादहरू रमाइरहेछन्
तर, बधाईका भोजनहरूले
मेरा भोकहरू कहिल्यै अघाएनन्
म त बिरामी देशलाई बोक्दाबोक्दा
बिसाउने ठाउँ नपाएको एउटा गरिब ढाक्रे
घामै छेल्ने थियो भने त
मेरै आमाको पसिनाले भिजेका
जीणर् मजेत्रो नै काफी थियो नि (७७)
यहाँ नेताहरू सत्ताको भोक मेट्न सम्पूणर् जनताको भोक कुल्चिएको र आफूले विजयको उत्सव मनाएको भाव व्यक्त छ । नेताको विजय र सत्ताको भोकसँग जनताको भोक सम्बन्धित नभएको र उनीहरूको भोक मेटिँदा जनताको भोक झन् बढ्दै गएको भाव व्यक्त गर्दै कवितांशमा देशका सम्पूणर् गरिब वर्गको प्रतिनिधित्व गरेको ढाक्रेको आक्रोश चित्रित् छ । घाम छेल्नका निम्ति आफ्नी आमाको पसिनाले निथ्रुक्क भिजेको जीणर् मजेत्रो भए पुग्ने तर भोक मेट्नका निम्ति त्यो पनि पर्याप्त नभएको आवाज कवितामा व्यक्त गरिएको छ । नेताहरू आफ्नो स्वार्थ पूरा गर्नका निम्ति सहिदको त्याग, जनताका सपना, देशको सिमाना बेचेको भन्दै मादकतामा रमाएकालाई कवितामा यस्तो प्रश्न गरिएको छ:
ए टीकारेहरू हो !
भन्देऊ न कोही मलाई
मैले आफैँलाई बेचेका दामले
एक डोको ब्लाक लेबल आउँछ कि आउँदैन ? (८५)
यहाँ सत्ता र ऐश्वर्यको मात लागेका नेता, मन्त्रीलाई आफ्नो मूल्य सोधिएको छ । मलाई बेचेको पैसाले ब्लाक लेबल आउँछ कि आउन्न भन्दै आफूलाई मूल्यहीन सम्झिएकाप्रति व्यङ्ग्य प्रहार गरिएको छ । भ्रष्टाचार र घुसखोरीमा लिप्त व्यक्तिलाई मलाई बेचे एक डोको ब्लाक लेबल आउला भन्दै कवितामा आफूलाई बेचेर भए पनि उनीहरूको माग पूरा गर्नुपर्ने विवशताप्रति विद्रोही स्वर अभिव्यक्त गरिएको छ ।
निष्कर्ष
सामाजिक, राजनीतिक, सांस्कृतिक, आर्थिक आदि क्षेत्रमा देखिने द्वन्द्व, असमानता र विरोधबाट स्वरनिर्माणको आधार निर्माण हुन्छ । सामाजिक जीवनका परिघटना, राजनीतिक क्रियाकलाप, आर्थिक विषमता, साँस्कृतिक दमनलाई विषय बनाएर वर्तमानका कविता लेखिएको पाइन्छ जसमध्ये राजबाबु श्रेष्ठ सागरको हराएका छोराहरू कवितासङ्ग्रह पनि एक हो । यस सङ्ग्रहमा सङ्कलित पचपन्नओटा कवितामा विविध खालको स्वर अभिव्यक्त भएको छ । यस अध्ययनमा सो सङ्ग्रहमा सङ्गृहीत विद्रोहको स्वर अभिव्यञ्जित कविताको मात्र विश्लेषण गरिएको छ । प्रस्तुत सङ्ग्रहका कवितामा राजनीतिक गतिविधिप्रति व्यङ्ग्य गरिएको छ । सत्ताका निम्ति गरिने द्वन्द्व, परिवर्तनका नाममा गरिने युद्ध र त्यसबाट नेपाली जनतामा पर्न गएको नकारात्मक प्रभावको चित्रण गर्दै देशमा जतिसुकै राजनीतिक परिवर्तन भए पनि जनताको वस्तुस्थितिमा कुनै परिवर्तन आउन नसकेको विरोधको स्वर यस सङ्ग्रहका अधिकांश कवितामा अभिव्यञ्जित छन् । सहिदको बलिदानको सम्मान हुन नसकेको, जनताको सपना लुटिएको, देशको सिमाना मिचिँदा पनि राज्य मौन बसेकोजस्ता विषयमाथि कविताले प्रहार गरेका छन् । यसका साथै यस सङ्ग्रहका कवितामा आर्थिक विषमतालाई पनि अभिव्यक्त गरिएको छ । जनता भोकभोकै बस्नुपरेको अवस्थामा नेता आफ्नो स्वार्थपूर्तिका निम्ति अग्रसर भएको, जनताले भोक मेट्ने नाउँमा बालात्कारको सिकार हुनुपरेको विवश अवस्थाको चित्रण गर्दै कवितामा कोही विलासी जीवन बिताउने र कोही भोकै बस्नुपर्ने विभेदकारी नीतिमाथि प्रश्न उठाइएको छ । यसरी प्रस्तुत कवितामा राजनीतिक विकृतिको स्वर र आर्थिक विषमताको स्वर अभिव्यक्त भएको छ ।
सन्दर्भग्रन्थ सूची:
एटम, नेत्र (२०७२), ‘समकालनि नेपाली कविताका स्वरहरू’, काव्य विमर्श, नेपाल प्रज्ञा – प्रतिष्ठान ।
गिरी, अमर (२०७३), समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष,साझा प्रकाशन ।
गौतम, दीपक (२०६४), समकालीन प्रगतिवादी नेपाली कथाका प्रवृत्ति, डा. दीपक गौतम
पाण्डेय, मैनेजर (२०६७), साहित्य र सर्वहारा (निनु चापागाईं, सम्पा., माक्र्सवादी साहित्यचिन्तन), साझा प्रकाशन ।
भण्डारी, जगदीशचन्द्र (२०६०), पृथक् सृजनः पृथक् निरूपण, मुन्नी भण्डारी ।
श्रेष्ठ, राजबाबु सागर (२०७७), हराएका छोराहरू, बिएन पुस्तक संसार प्रा.लि ।
सुवेदी, केशव (२०७४), ‘समकालीन नेपाली कवितामा परिवर्तनका स्वर’, काव्यविमर्श, नेपाल प्रज्ञा प्रतिष्ठान
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।