अग्लो कद, गठिलो शरीर र बाटुलो अनुहार भएको थानेदार भीडतिर आउँदै थियो । उसको टोपी कानतिर झुकेको थियो । जुँगा कसरी निमोठिएको थियो भने एकातिरको जुँगा माथि फर्किएको थियो र अर्कोचाहिँ तलतिर झुकेको थियो, जसले गर्दा उसको अनुहार एकदम टेढो देखिन्थ्यो । उसको अनुहारमा सधैं एक भद्दा, नीरस मुस्कुराहट फैलिएको हुन्थ्यो । उसले देब्रे हातमा एउटा तरबार समाएको थियो र दाहिने हात बडो जोडले हल्लाउँदै आइरहेको थियो । उसको कठोर दृढ पदचाप स्पष्ट सुनिन्थ्यो । उसलाई बाटो छोड्न भीड हट्न थाल्यो र सम्पूर्ण कोलाहल यसरी शान्त भयो, मानौं सबै कतै जमीनभित्र गायब भएका छन् । सबै गम्भीर थिए । आमालाई लाग्यो, उनका आँखा पोल्दैछन् र निधारको छाला फड्कँदै छ । उनलाई फेरि गएर भीडमा मिसिने इच्छा भयो । उनी अघिल्तिर झुकिन् र आतङ्कित हृदयले निश्चल भएर उभिइरहिन् ।
“क्या हो यस्तो ?” – रिबिनले अगाडि थामिएपछि बडो रवाफिलो तरिकाले उसलाई हेर्दै थानेदारले सोध्यो – “किन यसको हात नबाँधेका ? सिपाहीहरु, लौ यसको हात बाँध !”
उसको आवाज एकदम चर्को र गुञ्जायमान थियो, तर बिलकुल नीरस !
“बाँधिएको थियो, तर जनताले फुकालिदिए !” – एक जना सिपाहीले जवाफ दियो ।
थानेदारले आफ्ना अगाडि अर्धवृत्त रुपमा उभिएको भीडतिर एक दृष्टि फाल्दै भन्यो –
“के रे ? जनताले रे ? के हो यो जनता भनेको ?”
अनि फेरि त्यही एकनासे नीरस स्वरमा सोध्यो –
“को रहेछ त यो जनता ?”
उसले आफ्नो तरबारको बिँडले नीला आँखा भएको किसानको छातीमा घोच्दै भन्यो –
“ए, चुमाकोभ, तिमी नै त होइनौ जनता ? अनि अरु को हो ? तँ मिशिन ?”
थानेदारले एक जना किसानको दाह्री आफ्नो दाहिने हातले समात्यो ।
“चण्डालहरु, सब हाट यहाँबाट । नत्र भने म तिमीहरुको दिमाग ठीक पारिदिन्छु । सबैलाई मजा चखाउँछु !”
उसको व्यवहारमा न क्रोध थियो न त धम्की नै । ऊ बिलकुल आवेशरहित स्वरमा बोल्दै थियो र आफ्ना लामालामा हातले यसरी मान्छेहरुलाई हिर्काउँदै थियो, मानौं यो उसको पुरानो आदत हो । मान्छेहरु टाउको झुकाउँदै पछाडि हटे ।
“तिमीहरु के हेरेर बसेका ?” – उसले सिपाहीहरुलाई भन्यो – “हात बाँध भन्छु उसको !”
थानेदारले एकै सासमा मनपरी गाली ग¥यो, फेरि रिबिनतिर हे¥यो र चर्को स्वरमा भन्यो –
“ए तँ, हात पछाडि फर्का !”
“म हात बाँध्न चाहन्नँ !” – रिबिनले भन्यो – “म भाग्दिनँ, झगडा पनि गर्न चाहन्नँ, केलाई हात बाँध्नुप¥यो र ?”
“के भनिस् रे ?” – उसतिर बढ्दै थानेदारले सोध्यो ।
“जङ्गलीहरु, अझ कति सताउनेछौ तिमीहरुले जनतालाई !” – रिबिनले आफ्नो स्वर ठूलो पार्दै भन्यो – “छिटै तिमीहरुको पालो आउँछ … ।”
थानेदारले उसको मुखमा हे¥यो, उसको जुँगा काँपिरहेको थियो । ऊ एक पाइला पछि हट्यो र चकित हुँदै साँपले जस्तो फुँकार्दै भन्यो –
“सुँगुरको बच्चा ! तेरो यत्रो साहस !”
यति भन्दै उसले रिबिनको मुखमा बडो जोडले एक घुस्सा हिर्कायो ।
“घुस्साले सच्चाइ दबाउन सकिन्न !” – रिबिन उसतिर बढ्दै चिच्यायो – “नीच कुकुर, मलाई हिर्काउने तँलाई के अधिकार ?”
“मलाई ? मलाई अधिकार छैन भन्छस् ?” – थानेदारको यो चिच्याहट कुकुरको भुकाइजस्तै लाग्थ्यो ।
उसले फेरि एकपल्ट रिबिनको टाउकोमा निशाना लगाउँदै आफ्ना मुक्का घुमायो । रिबिनले आफ्नो टाउको घुमायो र उसको निशाना चुक्यो । थानेदार लड्खडायो र बल्लतल्ल थामियो । भीडमा कसैले जिस्क्याउँदै हाँसेको आवाज सुनियो र फेरि रिबिनको क्रोधपूर्ण स्वर सुनियो –
“शैतान, लौ मलाई छो त !”
थानेदारले चारैतिर हे¥यो । उसले देख्यो, भीड अझ नजिक स¥यो । मान्छेहरु उसलाई चारैतिरबाट घेर्दै थिए । यो निकै अशुभसूचक र खतरनाक कुरा थियो … ।
“नीतिका, ए नीकिता !” – थानेदारले पछाडि फर्कदै जोडले भन्यो ।
होचो कदको गठिलो शरीर भएको एक जना किसान भीडबाट बाहिर निस्क्यो । उसले भेडाको छालाको कोट लगाएको थियो । जिङ्रिङ्ग परेको कपाल भएको उसको टाउको झुकेको थियो ।
“नीकिता !” – थानेदारले बडो निश्चिन्त भावले आफ्नो जुँगा मुसार्दै भन्यो – “लौ त यसको कन्चटमा एक मुक्का हिर्का, जोडले हिर्का नि !”
किसान अगाडि बढ्यो । रिबिनको अगाडि पुगेर ऊ थामियो र बिस्तारै आफ्नो टाउको उठायो । रिबिनले उसको मुखमा हेर्दै उसमाथि कठोर शब्दहरु वर्षा गर्न थाल्यो –
“भाइ हो ! हेर कसरी यिनीहरु हामीलाई आफ्नै हातले आफ्नो घाँटी दबाउन बाध्य गर्दैछन् ! आँखा खोलेर हेर्नोस् र राम्ररी सोच्नोस् !”
किसानले बिस्तारै हात उठायो र बिस्तारै उसको टाउकामा हिर्कायो ।
“सुँगुरको बच्चा ! कहीँ यसरी पनि हिर्काउँछ ?” – थानेदार चिच्यायो ।
“ए नीकिता !” – कसैले भीडबाट सानो आवाजमा भन्यो – “नबिर्सनू, ईश्वरका अगाडि सबैले जवाफ दिनुपर्छ !”
“हिर्का भन्छु !” – थानेदारले किसानलाई गलहत्याउँदै चिच्यायो, तर किसान टाउको झुकाउँदै त्यहाँबाट हट्यो र खिन्न हुँदै भन्यो –
“अहँ, म यसभन्दा बढ्ता केही गर्न सक्दिनँ … ।”
“के भनिस् रे ?”
थानेदारको अनुहार कालोनीलो भयो । ऊ खुट्टा बजार्दै, गाली गर्दै रिबिनतिर झम्टियो । त्यसपछि घुस्सा हिर्काएको आवाज सुनियो र रिबिन लडखडायो । उसले आफ्नो हात फैलायो, तर दोस्रो घुस्साले रिबिनलाई जमिनमा ढालिदियो । थानेदार अब मनपरी तरिकाले उसको खुट्टा, छाती, पिठ्यू र टाउकामा लात हिर्काउँदै थियो ।
भीडमा क्रोधको एक लहर फैलियो । मान्छेहरु थानेदारतिर बढे । यो देखेर ऊ पछि हट्यो र झट्ट भ्यानबाट आफ्नो तरबार निकाल्दै भन्न थाल्यो – “के हो यस्तो ? विद्रोह गर्दछौ ? हँ हँ, ठीक छ … !”
उसको आवाज काँप्यो, च्याट्ठियो र धोत्रिँदै बन्द भयो । आवाजको साथसाथै उसको शत्तिः पनि गायब भयो । उसको टाउको झुक्यो, काँध लत्रियो र पछि हट्दै जुवामा हारेको मान्छेले जस्तै चारैतिर हेर्न थाल्यो । ऊ बिस्तारै, सतर्कतापूर्वक पाइला टेक्दै पछाडि हट्यो । पछाडि हट्दै ऊ धोत्रे, भयभीत स्वरमा चिच्याउँदै थियो –
“ठीक छ, लैजाऊ उसलाई, यहाँबाट म जाँदैछु । पाजीहरु, के तिमीहरुलाई थाहा छ ऊ राजनीतिक कैदी हो ? के तिमीहरुलाई थाहा छ, ऊ जारको विरोध गर्दैछ, मान्छेहरुलाई भड्काउँदै हिँड्छ ? तिमीहरुचाहिँ उसको पक्ष लिँदैछौ ? त्यसो भए तिमीहरुले पनि विद्रोह गर्न सुरु ग¥यौ होइन … !”
आमा एकटकले हेर्दै निश्च भएर उभिएकी थिइन्, मानौंं उनको सारा शक्ति कसैले निचोरिदिएको छ । उसको दिमाग बिलकुल खालि थियो, मानौं उनले कुनै भयङ्कर सपना देखेकी थिइन् । उनी त्रास र वेदनामा डुबेकी थिइन् । मानिसहरुको उदास, वेदना र क्रोधले भरिएका आवाजहरु झिँगाको भनभनाहटजस्तो उनका कानमा गुञ्जिँदै थिए । उनले थानेदारको कम्पित आवाज र मान्छेहरुको फुसफुसाहट सुनिन् ।
“यदि ऊ अपराधी हो भने उसमाथि मुद्दा चलाउनुपर्छ … ।”
“हजुर, दया गर्नोस् उसमाथि … ।”
“यसरी मान्छेहरुलाई मनपरी तरिकाले सताउन पाइन्छ … ?”
“यस्तो गर्न पाइन्न ! नत्र जसलाई मन लाग्यो, उसले जथाभावी पिट्दै हिँड्ने छ । यो पनि तरिका हो र … ?”
मान्छेहरु दुई भागमा बाँडिए – एकथरी थानेदारलाई घेरेर चिच्याउँदै थिए र ऊसँग अनुरोध गर्दै थिए । अर्काथरि, जसको सङ्ख्या कम थियो, कैदीलाई घेरेर उभिएका थिए र चुनौतीपूर्ण स्वरमा बडबडाउँदै थिए । यस समूहका केही मान्छेहरुले सहारा दिएर रिबिनलाई उभ्याए र जब सिपाहीहरुले फेरि उसको हात बाँध्ने कोसिस गरे तब उनीहरुले चिच्याउँदै भने –
“पर्खी ज्यानमाराहरु, किन यति हतारो गर्छौ !”
मिखाइलले आफ्नो मुखबाट धुलो र रगत पुछ्यो र चुपचाप चारैतिर हेर्न थाल्यो । आमामाथि उसको आँखा प¥यो । आमा झस्किन् र उसतिर झुक्दै चालै नपाई आफ्नो हात हल्लाइन् । रिबिनले आफ्नो मुख फर्कायो । केही बेरपछि उसका आँखाले फेरि आमालाई भेट्टायो । आमालाई लागयो, ऊ टाउको उठाएर तन्कियो र रगतले पोतिएको उसको गाला काँप्न थाल्यो … ।
“उसले मलाई चिनेछ – के साँच्ची चिनेछ त … ?”
आमाले उसतिर हेरेर टाउको हल्लाइन् । अकधनीय हर्षोल्लासले उनको सम्पूर्ण शरीर काँप्दै थियो । तर एकैछिनमा आमाले देखिन्, नीला आँखा भएको त्योकिसान रिबिनको छेउमा उभिएर उनलाई हेर्दै छ । उसको दृष्टिले एकछिन त आमालाई भयभीत तुल्यायो … ।
“के गरेकी मैले यस्तो ? अब मलाई पनि समात्नेछन् !”
त्यस किसानले रिबिनलाई के हो भन्यो र रिबिनले जवाफमा टाउको हल्लायो ।
“केही छैन !” – रिबिनले कम्पित आवाजमा भन्यो । कम्पनको बाबजुद उसको स्वर स्पष्ट र साहसिलो थियो – “म यस संसारमा एक्लो छैन – उनीहरु दुनियाँभरका मान्छेहरुलाई त गिरफ्तार गर्न सक्दैनन् ! म जहाँजहाँ बसेको थिएँ, त्यहीँत्यहीँ मेरो सम्झना बाँकी रहनेछ ! उनीहरुले हाम्रो गुँड भत्काइदिए । सबै साथीभाइहरुलाई समातेर लगे, तैपनि … ।”
“यी सबै कुरा ऊ मेरा लागि गर्दैछ !” – आमाले अन्दाज लगाइन् ।
“तर अवश्य त्यो दिन आउनेछ, जब चीलहरु स्वतन्त्रतापूर्वक उड्न स्रक्नेछन्, जनताले सबै बन्धनहरु तोड्नेछन् !”
एउटी आइमाईले एक बाल्टिन पानी लिएर आइन् र रिबिनको मुख धुन थालिन् । उनी बीचबीचमा सुस्केरा हाल्थिन् र बडबडाउाथिन् । उनको यो मधुर करण क्रन्दनमा मिखाइलका शब्दहरु कसरी मिसिए भने आमाले उनीहरुबीचको भेद छुट्याउन सकिनन् । थानेदारको पछाडिपछाडि किसानहरुको एक समूह त्यतातिर आयो ।
“कैदीलाई लिएर जान गाडा ल्याओ । अब कसको पालो हो ?” – कसैले चिच्याउँदै भन्यो ।
त्यसपछि थानेदारको स्वर सुनियो । अब उसको स्वर एकदम बदलिएको थियो । उसले रुष्ट स्वरमा भन्यो –
म तँलाई हिर्काउन सक्छु, तँ मलाई सक्दैनस् । फेरि हिम्मत नगरेस्, गधा कहीँका !”
“ए त्यसो पो रहेछ ! तँ के ठान्छस् आफूलाई – भगवान्को अवतार ?” – रिबिनले चिच्याउँदै भन्यो ।
अस्पष्ट आवाजहरुको प्रवाहमा उसको आवाज डुब्यो ।
“काका, ऊसँग बहस नर्गनोस्, ऊ जे भए पनि हाकिम हो … !”
“हजुर, ऊसँग नरिसाउनुहोला ! अहिले उसको होसहवास ठीक छैन … !”
“चुप लागे भैहाल्यो नि, कस्तो उल्लू रहेछ !”
“अहिले तँलाई सहर लानेछन् … ।”
“सहरमा कानुनको बढी विचार गरिन्छ !”
मानिसहरुको आवाज विनय र अनुरोध थियो । यी सबै आवाजहरु मिलेर एक अस्पष्ट गुञजनको रुप लिँदै थियो, जसमा आशाको कुनै झलकसम्म थिएन । पुलिसहरुले रिबिनको ाहात समातेर उसलाई अड्डातिर लगे र माथि पुगेपछि कोठाभित्र पसाले । किसानहरु बिस्तारौ यताउता लाग्न थाले, तर आमाले देखिन् – नीला आँखा भएको त्यो किसान उनीतिर आउँदै थियो । आमा टाउको झुकाएर उसतिर हेर्दै थिइन् । आमाका खुट्टा काँप्न थाले र निराशाले उनको हृदयको समस्त शक्ति चुस्न थाल्यो । आमाका आँखाअगाडि अन्धकार फैलियो । उनलाई बान्ता होलाजस्तो भयो ।
“मैले यहाँबाट हट्नुहुन्न !” – उनले सोचिन् – “कदापि हट्नु हुन्न !”
उनी बार समातेर प्रतीक्षा गर्न थालिन् ।
थानेदार बरन्डामा उभिएर हात हल्लाउँदै गाली गर्दै थियो, अब फेरि उसको आवाज पहिलेको जस्तै नीरस र निर्जीव लाग्थ्यो ।
“तिमीहरु एकदम बेवकुफ छौ, सुँगरका बच्चाहरु ! केही थाहा नपाइकन जहाँ पायो, त्यहीँ हात हालछौ ! गधाहरु, थाहा छ यो सरकारी मुद्दा हो ! तिमीहरुले मेरो दयामायाका लागि मलाई धन्यवाद दिनुपर्छ, मेरा अगाडि घुँडा टेक्नुपर्छ, नत्र म सबैलाई गिरफ्तार गर्न लाउँछु । सबैलाई कालापानी पठाइदिन्छ … ।”
पन्ध्र–बीस जना किसानहरु टोपी फुकालेर उभिएका थिए र उसको कुरा सुन्दै थिए । बादल झन्झन् तल सर्दै गयो र अन्धकार बढ्दै गयो । नीला आँखा भएको किसान बरन्डामा आयो, जहाँ आमा उभिएकी थिइन् ।
“देख्यौ, के हुँदै छ … ?”
“हो ।” – आमाको आँखामा हेर्दै सोध्यो –
“के काम गर्नुहुन्छ,”
“किसान आइमाईहरुसँग लेस किन्ने काम गर्छु र घरेलु कपडा पनि किन्ने गर्छु … ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

