परिच्छेद- १५
आठ बजे कृुतुजोभ प्रात्जेन गाउँनजिक आइपुगे । उनी मिलोरादोभिचको चौथो लस्करअगाडि थिए, जुन लस्करले तल फेदीमा झरिसकेको प्रजेविस्जेम्व्सकीको र लाङ्गेरोनको लस्करको ठाउँ लिनु थियो । उनले सबभन्दा अगाडिको रेजिमेन्टको सलामी लिएर त्यसलाई अगाडि बढ्ने आदेश दिए । त्यो रेजिमेन्टलाई आफैँले नेतृत्व गर्ने उनको सङ्केत थियो । प्रात्नैन गाउँ पुगेपछि उनी रोकिए । प्रधान सेनापतिको समूहका बहुसङ्ख्यक मानिसहरूमध्ये एक जना राजकुमार आन्द्रेइ उनको पछाडि थियो । उ दमित, उत्तेजित र झर्को मानिरहेको अवस्थामा थियो तथापि ऊ चीरप्रतीक्षित अवसर नजिक आइरहेको अवस्थाको मानिसझैँ संयमित र शान्त थियो । उसलाई पूरा विश्वास थियो आजको दिन उसको तुलोन वा अर्कोला पुलको दिन थियो । यो दिन कसरी आउला उसलाई थाहा थिएन तर उसलाई विश्वास थियो पक्कै त्यो दिन अवश्य आउनेछ । हाम्रा सैनिकको अवस्था र उनीहरू बसेको स्थान हाम्रो फौजको कुनै पनि मानिसलाई जत्तिकै उसलाई पनि जानकारी थियो । उसको लागू गर्न नसकिएको व्यक्तिगत रणनीतिक योजना बिर्सिसकिएको थियो । अहिले ऊ वेरोथरको योजनालाई ध्यानमा राखेर सम्भव भएसम्मका यस्ता कठिन परिस्थितिहरू र यस्ता नयाँ योजनाहरूका विषयमा सोचिरहेको थियो, जुन योजनाहरू उसको कुशाग्र बुद्धि र दृढ सङ्कल्पका लागि आवश्यक पर्न सक्थे तल फेदीतिर, बायाँपट्टिको कुहिरोमा गोली चलेको आवाज सुनिँदै थियो । राजकुमार आन्द्रेइलाई लडाइँ त्यही ठाउँमा केन्द्रित होलाजस्तो लागिरहेको थियो । “हामीले त्यहाँ नै अप्ठ्यारो परिस्थितिको सामना गर्नु पर्नेछ,” उसले सोच्यो, “मलाई एक व्रिगेड वा एउटा डिविजन दिएर त्यहाँ पठाउलान् र म हातमा झण्डा लिएर अगाडि बढ्ने छु र मेरो अगाडि जो-जो आउँछन्, सबैलाई समाप्त गरिदिनेछु ।”
राजकुमार आन्द्रेइ अगाडि बढिरहेको फौजको बटालियनको झण्डा देखेर धैर्यता ग्रहण गर्न असमर्थ भयो । ती झण्डाहरू देखेर ऊ विचारमग्न भयो, “सायद हातमा यही झण्डा लिएर मैले सेनाको नेतृत्व गर्नेछु ।”
कुहिरीमण्डल रातले छोडेको अवशेष बिहानीपख शीतविन्दुमा परिणत भएको तुषारो थियो, जो थोपाथोपामा परिवर्तित भइरहेको थियो तर उपत्यकाको सम्पूर्ण परिधिमाझमा त्यो कुहिरो अहिले पनि दूधझैँ सेतो समुद्वका रूपमा फैलिरहेको थियो । हाम्रो फौज झरेको बायाँतिरको समतल भूमि अन्धकारमय थियो । त्यस ठाउँबाट गोली चलेका आवाज आइरहेको थियो । पहाडको माथिमाथि नीलो र निर्मल, आकाश थियो र त्यसको ठीक दायाँपट्टि बृहत् आकारको सूर्य थियो । अगाडितिर, त्यस कुहिरोरूपी समुद्र किनारभन्दा धेरै टाढा वन जङ्गल देखिन्थे, जहाँ दुस्मनको फौज हुनु पर्थ्यो र केही त देखिएका पनि थिए । दाहिनेतिर घोडाका टाप र गाडीका पाङ्ग्राका आवाजका साथ घरीघरी बन्दुकका सङ्गीन चम्काउँदै गार्ड घोडसेना कुहिरो लागेको क्षेत्रभित्र प्रवेश गर्दै थियो । गाउँपारिको बायाँपट्टि पनि घोडसेनाका त्यस्तै विशाल समूह आउँथ्यो र कृहिरोभित्र हराउँथ्यो । अगाडि र पछाडि पैदल सेना बढिरहेको थियो । प्रधान सेनापति फौजलाई आफ्नो अगाडि जान दिँदै गाउँको पुछारमा घोडा रोकेर उभिइरहेका थिए । त्यस दिन बिहानैदेखि कुतुजोभ अशान्त र क्लान्त अनुहारमा देखिन्थे । अगाडि बढेमा केही अवरोध आइपरेजस्तो, विना कुनै आदेश उसको अगाडि हिँडिरहेको फौज एक्कासि रोकियो ।
“उनीहरूलाई बटालियनको लस्कर बनाएरै गाउँ घुमेर अगाडि बढ्ने आदेश देऊ,” घोडा चढेर आइरहेको एक जना जर्नेललाई कुतुजोभले च्यादिउँदै भने। “हजूरले बुझ्नु भएन, ए हजूर, अहिले हामी दुस्मनसँग लड्न गइरहेका छौँ त्यसैले गाउँका गल्लीगल्ली घुमेर सङ्कट मार्ग जानु ठीक छैन ।”
“मैले त फौजलाई गाउँ नाधिसकेपछि बटालियनको रूपमा पुनः सङ्गठित गर्ने विचार गरेको थिएँ हजूर,” जर्नेलले जवाफ दियो ।
कुतुजोभ तीतो हाँसो हाँसे ।
“राम्रो गर्ने भयौ, दुस्मनका अगाडि गएर आफ्नो सेनाको सङ्गठन सुधार्ने काम गर्न लागेर धेरै राम्रो काम गर्ने भयौ ।”
“हजूर, दुस्मन अधेरै टाढा छ । सेनाको व्यवस्थापनअनुसार …..।”
“केको व्यवस्थापनअनुसार ?” कुतुजोभ नराम्रोसँग जङ्गिए ।
“त्यो व्यवस्थापनबारे तिमीलाई कसले भन्यो ….?” “अरू कुरा थाहा छैन, मैले जे भन्छु त्यो गर ।”
“हवस् हजूर ।”
“हरे मित्र, नेस्भित्सकीले राजकुमार आन्द्रेइसँग कानेखुसी गर्यो, “बुढा आज भोटे कुकुरझैँ भएका छन् ।”
मजुरको प्वाँखको कल्की भएको नीलो टोपमा सेतो बर्दी लगाएको एक जना अष्ट्रियाली अफिसर घोडा कुदोउँदै, कुतुजोभसामु आयो र चौथो लस्कर अगाडि बढ्यो कि बढेन भनेर सम्राटको तर्फबाट बुझ्न खोज्यो ।
कुतुजोभ त्यसको उत्तर नै नदिएर चारैतिर घुमे । उनका आँखा राजकुमार आन्द्रेइमाथि परे, जो उनको छेवैमा उभिएको थियो । बोल्कोन्स्कीलाई देखेपछि कुतुजोभको रिस र तुस अलिक केही मत्थर भयो, मानौँ उनलाई यो स्वीकार्य थियो कि जे भइरहेको थियो र जे गरिदैँ थियो, यसमा उनको सहयोगी अफिसरको दोष थिएन । अष्ट्रियाली सहायक अफिसरलाई जवाफै नदिएर उनले बोल्स्कोन्स्कीलाई भने, “जाऊ बाबु, तेस्रो डिविजनले गाउँ पार गर्यो कि गरेन । गएर हेर र उसलाई मेरो आदेश नपाउन्जेल पर्खनु भन ।”
राजकुमार आन्द्रेइ हिँड्न मात्र लागेको थियो, कुतुजोभले उसलाई रोके ।
“र यो सोध्नु कि निसानबाजहरूलाई तैनाथ गरियो कि गरिएन,” उनले थपे । “उनीहरूले के गरिरहेका छन् ? उनीहरू के गर्दै छन् ? उनी आफूसँग आफै भुत्भुताए तर अष्ट्रियाली अफिसरलाई अझ पनि कुनै जवाफ दिएनन् । राजकुमार आन्द्रेइले उक्त आदेश कार्यान्वयन गराउन आफ्नो घोडालाई सर्पट ठोक्यो ।
अगाडि बढिरहेको सबै बटालियनलाई पछाडि पार्दै राजकुमार आन्द्रेइले तेस्रो डिविजनलाई भेट्टाएर रोक्यो र आफ्नै आँखाले प्रत्यक्ष देख्यो कि हाम्रो लस्करका अगाडि निसानबाजहरू थिएनन् । रेजिमेन्टको नेतृत्व गरिरहेको रेजिमेन्ट कमाण्डर प्रधान सेनापतिका निसानबाजहरूलाई जहाँ पायो त्यहीँ तैनाथ गर्ने आदेश सुनेर छक्क पर्यो । रेजिमेन्ट कमाण्डरलाई यो विश्वास थियो कि उसका अगाडि अरू सेना थिए र दुस्मन कमसे कम ६ माइल टाढै थियो । वास्तवमा अगाडितिर कुहिरोले डम्म ढाकेको एउटा उजाड ओरालोबाहेक केही देखिँदैनथ्यो । प्रधान सेनापतिका तर्फबाट निसानबाजहरूको तैनाथीका बारेमा भूल सुधार गर्ने आदेश दिएर राजकुमार आन्द्रेइ घोडा सर्पट दगुराउँदै फिर्ता आयो । कुतुजोभ त्यतिन्जेल त्यही ठाउँमा थिए । उमेरका हिसाबले थलथले भएको उनको बुढो शरीर घोडाको काठीमा नै आधार लिइरहेको थियो । उनका आँखा बन्द थिए र उनी थकित भावमा हाइ काढ्दै बसिरहेका थिए । फौजीहरू अगाडि बढिरहेका थिएनन् । बन्दुकका कुन्दा भुइँमा अड्याएर उनीहरू उभिइरहेका थिए ।
“ठीक गर्यौ एकदम ठीक गर्यौ,” उनले राजकुमार आन्द्रेइलाई भने र एक जना जर्नेलतर्फ फर्किए, जो हातको घडी हेर्दै, बायाँ किनारका सबै लस्कर तल फेदीमा झरिसकेका हुँदा अब हामी पनि अगाडि बढ्नु पर्छ भन्दै थियो ।
“समय धेरै बाँकी छ बुझ्नु भो,” हाइ काढ्दै कुतेजोभले भने । “धेरै समय बाँकी छ अझै,” उनले दोहोर्याए ।
ठीक त्यही बखत, कुतुजोभका पछाडि, धेरै टाढा, रेजिमेन्टले सलामी दिँदै र खुसीले उफ्रिदै निकालेको आवाज सुनियो र त्यो आवाज अगाडि बढिरहेको रसियाली सेना भएको ठाउँबाट निकै टाढासम्म फैलिएको थियो र लामो लश्करमा तेज गतिले नजिकनजिक आइरहेको थियो । यो स्पष्ट थियो कि उनीहरूले सलामी दिइरहेको मानिस तेज गतिले अगाडि बढ्दै आइरहेको थियो । जब त्यस रेजिमेन्टका सैनिक, जसका अगाडि कृतुजोभ उभिएका थिए, सलामी दिँदै चिच्याउन थाले, कुतुजोभले आफ्नो घोडा एकातिर हटाएर लगे र टाउकोमा हात राख्दै पछाडितिर फर्केर हेरे । प्रात्नेन गाउँबाट आउने सडकमा अनेक रङ्गका लुगा लगाएका घोडसवारहरू अगाडि बढेर आइरहेजस्तो लाग्थ्यो । तीमध्ये दुई जना सँगसँगैजस्तै घोडा बढाउँदै अगाडि आए । एक जना मजुरको प्वाँख टाँसेको सेतो टोप र कालो बर्दीमा सजिएको थियो र जुर्रें पुच्छर र खैरो रङ भएको घोडा चढेको थियो र अर्को चाहिँ सेतो बर्दीमा थियो र कालो रङको घोडा चढेको थियो । आफ्ना अनुचर गणका साथ आइरहेका यी दुई सम्राट् थिए । कुतुजोभले एउटा अनुभवी र पुरानो फौजी अफिसरको शैलीमा आफ्नो अगाडिको सेनालाई “सावधान खवरदार” भन्ने आदेश दिएर आफूले पनि सम्राटहरूका सामु उपस्थित भएर सलामी दिए । उनको सम्पूर्ण व्यवहार र अनुहारको छविले अचानक एउटा अर्कै किसिमको रूप ग्रहण गर्यो । उनी कुनै प्रकारको प्रतिक्रिया नजनाई एउटा सोझो र इमान्दार आज्ञाकारी सैनिकको रूपमा प्रस्तुत भए । उनले देखाएको अति आदर र सम्मान अलेक्जेण्डरलाई अलि खल्लो लागे तापनि कुतुजोभले उनको नजिकै गएर उनलाई सलामी टक्रयाए ।
सम्राट्को उज्यालो र भर्भराउँदो अनुहारमा देखिएको यो खल्लो प्रभाव निर्मल आकाशमा उठेको कुहिरोको अवशेषजस्तै एक पटक ज्वलन्त भयो र फेरि हरायो । ओल्मुजको युद्धमैदानमा भएको अवस्थामा भन्दा, जहाँ बोल्कोन्स्कीले उनलाई विदेशमा पहिलो पटक देखेको थियो, सन्चो नभएको कारण उनी केही दुब्लाएजस्तो देखिन्थे । तर उनका खैरा आँखामा तेज र विनम्रताको उही झलक थियो र उनका पातला ओठमा विभिन्न भाव-परिवर्तनका सम्भावना, उदात्तता र यौवनको निर्दोष भाव छरपष्ट थियो ।
ओल्मुजमा सेना निरीक्षण गर्दाको समय सम्राट् धेरै तेजस्वी देखिएका थिए भने अहिले झन् धेरै तेजिला र उत्साहपूर्ण देखिन्थे । दुई माइल,जति घोडा दगुराएका कारण उनको अनुहारमा लाली चढेर आएको थियो । घोडा रोकेपछि उनले गहिरो तथा लामो सास फेरे र, घुमेर आफ्नोजस्तै आफ्ना सहायक अनुचरगणहरूका अनुहारमा हेरे, जार्तोरिस्की, नोभोसिल्तेज, राजकुमार बोल्कोन्स्की, स्ट्रौगोनोभजस्ता महङ्गा महङ्गा र मूल्यवान पोशाकमा सजिएका, तन्नेरी जवानहरू अत्यन्त मायालु ढङ्गंमा पालनपोषण गरिएका, फूर्तिला र सर्पट दगुर्दा पसिनाले भिजेका घोडामा चढेर मुस्कुराउँदै र अन्तर्क्रिया गर्दै सम्राट्का पछाडि उभिएका थिए । राताराता गाला र लाम्चो अनुहार भएका तन्नेरी सम्राट् फ्रान्सिस् आफ्नो असाध्यै राम्रो कालो घोडामाथि तनक्क तन्केर बसेका थिए । उनी केही विचार गर्दै आफ्नोवरिपरिको वातावरण नियाल्दै थिए । उनले सेतो बर्दी लगाएको एक जना सहायक अफिसरलाई बोलाएर उसँग केही प्रश्न सोधे । “उनीहरू कति बेला प्रस्थान गरे” सायद उनले यही विषयमा सोधे होलान्, राजकुमार आन्द्रेइले सोच्यो । उसले आफ्नो पूर्वपरिचित सम्राट् फ्रान्सिसलाई देखेर बुनमा भएको भेटघाटको स्मरण गर्दै आफ्नो मनको अन्तर्मुस्कान लुकाउन सकेन । सम्राटको अनुचरगणका सदस्यहरूमा गार्ड सेनाका एक से एक रसियाली र अरष्ट्रियालीका साथै अन्य रेजिमेन्टका अफिसरहरू पनि थिए । तिनीहरूमध्ये बुट्टा भरिएका पोशाकले सजाइएका जारका सुन्दर घोडाहरू हाँक्ने सइसहरू पनि समावेस थिए । गुम्सिएको काठको झ्याल खोल्दा कोठाभित्र बाहिरको ताजा हावाको अनुभूति भएजस्तै घोडाहरू सर्पट दगुराउँदै यहाँ आएका यी जवानहरूको आगमनले कुतुजोभका खिन्न भएका अनुचरगणमा जोस, जाँगर, उत्साह र सफलताको विश्वास पलाएर आयो ।
“किन सुरु नगरेको मिखाइल इलारीओनोभिच ?” सम्राट् अलेक्जेण्डरले सम्राट् फ्रान्सिस्तर्फ शिष्टतापूर्वक हेर्दै तुरुन्तै कुतुजोभलाई सोधे ।
“म हेर्दै छु सम्राट्,” कुतुजोभले आदरपूर्वक झुक्दै जवाफ दिए ।
सम्राट्ले आँखीभौँ खुम्च्याउँदै नसुनेजस्तो गरेर कान थापे ।
“पर्खेर हेर्दैछु, सम्राट् हजूर” कुतुजोभले फेरि जवाफ दिए । (राजकुमार आन्द्रेइले कुतुजोभले अस्वाभाविक रूपमा हेर्दै छु भनेर जवाफ दिदा माथिल्लो ओठ लेप्य्राएको ख्याल गरेको थियो) “महाराज, अझैसम्म हाम्रो सम्पूर्ण लस्कर एकमुष्ठ जम्मा भएको छैन ।”
सम्राट् जारले कुतुजोभको बयान त सुने तर कुतुजोभको जवाफ उनलाई रुचिकर नभएजस्तो बुझिन्थ्यो । सम्राट्को आफ्ना कुप्रे कुम जुर्क्याए र कुतुजोभका कुरा चित्त नबुझेजस्तो गर्दै उनको नजिकै उभिइरहेको नोभोसिल्तसेभतर्फ हेरे ।
“तिमीलाई थाहा छ मिखाइल इभारिऔनोभिच, हामीहरू (रसियाको परेड मैदानमा) सम्राज्ञीको मैदानमा त छैनौँ, जहाँ सबै रेजिमेन्ट जम्मा भएपछि मात्र परेड सुरु हुन्छ,” जारले सम्राट् फ्रान्सिस्तर्फ अर्को नजर लगाउँदै भने, मानौँ उनले आफ्नो कुरामा सहमति नजनाए पनि कम्तीमा उसको कुरा मात्र सुने पनि हुन्थ्यो भन्ने आशय प्रकट गरिरहेका हुन् । सम्राट् फ्रान्सिस्ले यताउति हेरिरहे तर उनले सम्राट् अलेक्जेण्डरका कुरामा ध्यान दिएनन् ।
“त्यसै भएर मैले सुरु नगरेको हुँ, सम्राट्,” कुतुजोभले उच्च स्वरमा भने ताकि सम्राट्ले उनको कुरा नसुन्ने सम्भावना नै नहोस् । उनको अनुहार फेरि खुम्चियो । “सम्राट्, मैले यसकारण सुरु गरिरहेको छैन कि हामी यहाँ परेडको लागि आएका पनि होइनौ र साम्रज्ञी मैदानमा पनि छैनौँ ।”
कुतुजोभले साफ-साफ र स्पष्ट शब्दमा भने । सम्राट्का अनुचरगणले एक-आपसमा आँखा जुधाए । उनीहरू सबैको अनुहारमा असन्तोष र विरोधको भावना झल्किन्थ्यो । कुतुजोभ जतिसुकै ठूला र बुज्रुक भए पनि उनले कुनै हालतमा पनि यस्ता प्रयोग गर्नु हुँदैनथ्यो,” सबैको मुखाकृतिले यही भनिरहेको थियो ।
सम्राट्ले निकै ध्यान दिँदै कुतुजोभले अरू पनि केही भन्छन् कि भनेर सुन्ने आशयले उनका आँखामा एकटक हेरिरहे । तर कुतुजोभले आदरपूर्वक आफ्नो शिर झुकाइरहे र उल्टै सम्राट्ले केही भन्छन् कि भनेर सुन्ने आशयले पर्खी रहे । त्यस बीचको मौनता एक मिनेटजति कायम रह्यो ।
तर यदि तपाईंले आदेश दिनुहुन्छ भने सम्राट्, कुतुजोभले टाउको ठाडो पार्दै र एउटा हरिलट्क तथा वादविवाद द्रतिवाद केही नगर्ने र सामान्यतया आफूलाई दिइएको आदेश मात्र पालना गर्ने पहिलेको जर्नेलको जस्तै स्थितिमा आफूलाई प्रस्तुत गर्दै भने ।
म उनले आफ्नो घोडाको लगाम समाते र रेजिमेन्टको कमाण्डर मिलोरादोभिचलाई बोलाउँदै अगाडि बढ्ने आदेश दिए ।
सेना फेरि अगाडि बढ्न लाग्यो । नोम्गोरोदका दुई बटालियन र अपसेरोनको रेजिमेन्टको एक बटालियन सम्राट्का छेउबाट अगाडि बढ्न लागे । जसै अपसेरोनको बटालियन अगाडि बढ्यो, फौजी ओभरकोटविना, बर्दी मात्र लगाएर, छातीभरि पदक र तक्माहरू भिरेर, शिरमा अगाडि-पछाडि चुच्चो पारेको बडेमानको कल्कीले शोभित सानदारको टोप ढल्काएर राताराता गाला भएको मिलोरादोभिच तेज गतिमा अगाडि आयो र जोडदार सलामी मार्दै सम्राट्का सामु घोडा रोक्यो ।
“तिमीलाई ईश्वरले साथ दिउन्, जर्नेल !” सम्राटले भने ।
“महाराज, हामीले त्यो सबै गछौँ, जो गर्न सम्भव छ,” उसले प्रफुल्ल हुँदै जवाफ दियो । उसको कमजोर फ्रान्सेली लवज सुनेर सम्राटका अनुचरगणहरूका बीच व्यङ्ग्यात्मक मुस्कानको लहर चल्यो ।
मिलोरादोभिचले हठात आफ्नो घोडा मोड्यो र सम्राट्को भन्दा अलिकति पछाडि लगेर रोक्यो । जारको उपस्थितिले उत्साहित भएका अपसेरोन रेजिमेन्टका मान्छे बडो आनन्दले कदम मिलाइमिलाई सम्राट् र उनका अनुचरगणका अगाडिबाट बढिरहेका थिए ।
“भाइ हो,” मिलोरादोभिचले आत्मविश्वासका साथ ठूल्ठूलो र प्रफुल्लित आवाजमा चिच्याउँदै सैनिकहरूलाई सम्बोधन गर्यो । ऊ बन्दुकबाट निस्केको अगिनवर्षा लडाइँको सकारात्मक अवस्था, सुभोरोभको समयको अपसेरोनको बटालियनका उसका साथीहरूको रवाफ र फूर्तिसाथ सम्राट्हरूका सामु अगाडि बढिरहेको दृश्य देखेर यति उत्तेजित भएको थियो कि उसले सम्राट्को उपस्थिति पनि भुसुक्कै बिर्सेको थियो ।
“हेर केटा हो, तिमीहरूले कब्जा गर्न लागेको, यो पहिलो गाउँ त होइन नि,” ऊ चिच्याउँदै बोल्यो ।
“हामी ज्यानको बाजी लगाएर लड्ने छौँ,” सिपाहीहरूले एक स्वरमा प्रत्युत्तर दिए । जारको घोडा त्यो अप्रत्यासित आवाज सुनेर झस्क्यो । रसियामा परेड निरीक्षण गर्दा र अस्टरलिजको मैदानमा भएको परेडमा पनि सम्राट् यही घोडामा चढेका थिए ।
यस घोडाले सम्राट्रको बायाँ गोडाको आघात सहँदै, रसियाको परे डमैदानमा जस्तै यहाँ पनि गोली चलेको आवाज सुनेर कान फट्फटाउँदै, यिनी गोलीहरूका पर्राको परवाह नगरेर सम्राट् फ्रान्सिस्को कालो घोडाको निकटताको अनुभव: पनि नगरेर र आफ्नो मालिकले आजका दिनमा सोचिरहेको, भनिरहेको र अनुभव गरिरहेको सबै कुराको महत्त्व नबुझेर अहिले पनि मालिकलाई आफ्नो पीठमा बोकिरहेको थियो ।
सम्राट् आफ्ना गणहरूमध्ये, ४ जनाको मुखतिर मुस्कुराउँदै फर्के र अपसेरोन रेजिमेन्टका फूर्तिला सैनिकहरूलाई सङकेत गर्दै सँग केही कुरा गरे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।